सामाजिक सञ्जालबारे सचेतता
इन्टरनेटले व्यापकता पाएसँगै विभिन्नखाले सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । मोबाइल फोनमै इन्टरनेट सुविधा उपलब्ध हुन थालेपछि विशेष गरी फेसबुकको प्रयोग गाउँ–सहर सर्वत्र पुगेको छ । सामाजिक सञ्जाल धेरैका लागि आपसी अन्तरक्रिया बढाउने, घनिष्ठता बढाउने र सूचना आदानप्रदान गर्ने माध्यम बनेको छ ।
यसलाई कतिपयले अपराधको माध्यमसमेत बनाएका छन्, यसबाट अन्य विभिन्न विकृति पनि सिर्जना भएका छन् जुन चिन्ताको विषय हो । सामाजिक सञ्जाल दुरुपयोग नियन्त्रणका लागि राज्यबाट पहल भए पनि प्रभावकारी देखिएको छैन । अपराधका घटना र उजुरी पर्ने क्रम बढ्दो रूपमा समेत देखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने भएको छ ।
सामाजिक सञ्जाल विशेष गरी फेसबुकमार्फत ठगीमा परेको भन्ने उजुरी प्रहरीमा बाक्लै पर्ने गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसारमा फेसबुकमार्फत भएको ठगीमा परेकामा अधिकांश महिला छन् । नेपाली नागरिक विदेशीबाट समेत ठगीमा परेको देखिएको छ । ब्युरोले साउनयताको आठ महिनामा भएका भर्चुअल ठगीमा अनुसन्धान गरिरहेको पाँच घटनामा मात्रै पीडितले ६४ लाख गुमाएको देखिएको छ । यसबीचमा दर्ता भएका सात घटनामा पीडितले ७० लाख गुमाएको दाबी छ । संगठित रूपमै फेसबुकमार्फत ठग्ने गरेको पनि पाइएको छ । कतिपयलाई विभिन्न आश्वासन दिएर विदेशसमेत पुर्याएर अलपत्र पारिएका छन् जसको पुष्टि दिल्लीस्थित नेपाली दूतावासमा एक वर्षमा २० जनाले दिएको उजुरीले पनि गर्छ । सामाजिक सञ्जालकै माध्यमबाट व्यक्तिहत्यासम्मका घटना भएको पनि देखिएको छ । कतिपयले सामाजिक सञ्जाललाई गालीगलौज गर्ने, हिंसा फैलाउने, क्षेत्रीय, सामाजिक, धार्मिक ध्रुवीकरण बढाउने माध्यम बनाएका छन् । यस्ता प्रवृत्तिका व्यक्तिले नक्कली वा अरू कसैका नाममा खाता खोल्ने गरेको देखिन्छ । सामाजिक सञ्जालको प्रयोगले सामाजिक अवस्थिति र सद्भाव नै बिथोलिनसमेत सक्ने देखिएकाले जटिल समस्या निम्तिनुअघि नै प्रभावकारी नियमन गर्न आवश्यक छ ।
इन्टरनेटको दुरुपयोग नियन्त्रण गर्न सरकारले कानुन बनाएको छ । विद्युतीय कारोबार ऐनले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर भनेको छ । यही कानुनअनुसार प्रहरीले थुप्रैलाई कारबाहीको दायरामा समेत ल्याएको छ तर त्यसले अपराध घटाएको छैन । महानगरीय प्रहरी अपराध महाशाखाकै अनुसार पनि आर्थिक ०७१/७२ मा साइबर अपराधसम्बन्धी करिब ३ सय उजुरी परेकामा ०७२/७३ मा साढे ६ सय उजुरी परे जबकि चालु आर्थिक वर्षको ६ महिनामै साढे पाँच सय उजुरी परेका छन् ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता कानुनी प्रावधान र कारबाहीबारे बेखबर छन् । लापरबाहीपूर्ण तरिकाले सामाजिक सञ्जाल प्रयोग गर्छन् । समाजमा राम्रै हैसियत बनाएका व्यक्तिहरूसमेत गैरजिम्मेवार ढंगले प्रस्तुत भएको देखिन्छ । अरूको आश्वासनलाई शंकाका दृष्टिले हेर्न र गलत क्रियाकलाप भए सम्बन्धित ठाउँमा उजुरी गर्न अभ्यस्त देखिँदैनन् । सामाजिक सञ्जाललाई अपराधको माध्यमका रूपमा प्रयोग गर्ने क्रम बढिरहेका बेला निर्दोष व्यक्तिसमेत फस्न सक्ने जोखिम छ । दुरुपयोग रोक्न प्रयोगकर्ता नै मुख्य जिम्मेवार हुनुपर्छ । सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्न र अरूबाट ठगिन वा फस्नबाट जोगिन आफैं सचेत हुनुपर्छ । फेसबुक जुनसुकै उमेरका व्यक्तिले पनि प्रयोग गरिरहेको देखिन्छ । आफ्ना छोराछोरीबाट दुरुपयोग नहोस् भन्नेमा अभिभावकहरूले पनि निगरानी गर्न आवश्यक छ । सामाजिक सञ्जालको दुरुपयोगले अपराध बढाएको भन्दै विभिन्न क्षेत्रबाट बेला–बेला सञ्चालन हुने गरेका अभियानलाई व्यापकता दिनुपर्ने भएको छ । राज्यका तर्फबाट पनि नागरिकलाई सचेत बनाउने खालका सामग्रीको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ र निगरानीमा ध्यान दिन पनि उत्तिकै खाँचो छ ।
प्रकाशित : चैत्र ७, २०७३ ०८:४०