अस्पतालको हेलचेक्रयाइँ

अखण्ड भण्डारी

काभ्रेकी उमा निरौला स्वास्थ्य जाँच्न फागुन १९ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज गइन् । धेरैखाले परीक्षण गराइन् । रगतको रिपोर्टमा क्रिटिनाइन ६.२४ देखियो । महिलामा यो ०.४ देखि १.१० भित्र हुनुपर्छ । १.६ देखि ७ को बीचमा हुनुपर्ने युरिया ९.६ पाइयो ।

यो रिपोर्ट देख्नासाथ त्यहाँका एकजना डाक्टरले तुरुन्त मृगौला रोग विशेषज्ञलाई देखाउन सल्लाह दिए । क्रिटिनाइन त्यति धेरै हुनुको अर्थ मृगौला कामै नलाग्ने अवस्थामा पुग्नु हो भनेर उनले अथ्र्याए । काठमाडौंमै भएका आफन्तले उनलाई जँचाउन लगेका थिए । उनले तुरुन्त घरमा खबर गरिदिए । घरबाट तत्कालै आएर छोरा–छोरीले विशेषज्ञहरूको परामर्श लिए । उनीहरूकै सल्लाहमा एक निजी अस्पतालका मृगौला रोग विशेषज्ञकहाँ लगे । 

‘टिचिङ हस्पिटलको रिपोर्टमा शंका गर्न मिल्दैन’, ती डाक्टरले बिरामीलाई सोझै भनेछन्, ‘तपाईंका दुवै मृगौला कामै नलाग्ने अवस्थामा पुगेछन् । अब डाइलोसिस सुरु गर्नुपर्छ । चाँडै प्रत्यारोपणका लागि मृगौलाको खोजीमा लाग्नुहोला ।’ उनले मृगौला मात्र होइन, मुटु र अन्य अंग पनि खराब भएको निचोड सुनाए । ६४ वर्षीया बिरामीले डाक्टरको आधा भाषा बुझिन्, आधा बुझिनन् । तर, यति चाहिँ बुझिन्– आफ्ना महत्वपूर्ण अंग फेल भएछन् । उनी तनावले असिनपसिन भइन् । परिवारका सदस्य र आफन्तको अवस्था उस्तै थियो । कुन अंग कुन अवस्थामा पुगेका रहेछन् भन्न यकिन गर्न डाक्टरले भिडियो एक्सरे लिन चाहे । त्यसमा दुवै मृगौला एकदम राम्रा देखिए । तैपनि डाक्टर टिचिङकै रिपोर्टको पछि लागिरहे ।

आफन्त भने नाम चलेको ल्याबमा रगत लिएर पुगे । क्रिटिनाइन ०.७ देखियो, जुन अत्यन्त ‘नर्मल’ थियो । युरिया पनि ‘नर्मल’ नै पाइयो । त्यो रिपोर्ट हेरेर पनि डाक्टर निरोगी भएको निष्कर्षमा पुगेनन् । किनकि, टिचिङकै रिपोर्टलाई उनले बढ्ता जोड दिए । एक सातामा तेस्रो ठाउँमा देखाउन उनले सल्लाह दिए । चैत १ गते अर्को भरपर्दो ल्याबमा जँचाउँदा क्रिटिनाइन ०.८ पाइयो । अनि मात्र डाक्टरले भनेछन्, ‘टिचिङको रिपोर्ट गलत नै रहेछ ।’

अस्पतालको हेलचेक्य्राइँका कारण आएको गलत रिपोर्टका कारण निरौला परिवार करिब दुई साता तनावमा गुज्रियो । विभिन्न अस्पताल, क्लिनिक र ल्याब धाउँदाको हजारौं खर्च त छँदै छ । छोराहरू, छोरी र परिवारका अन्य सदस्यले गुगलबाट उपचारका अनेकन उपाय खोजे । ‘कुन देशमा लग्यो भने प्रभावकारी उपचार सम्भव छ भनेर हामीले सर्च गर्‍यौं’, छोरा प्रवीणले भने, ‘केही रात निदाउनै सकिएन ।’ 

धन्न मृगौला यस्तो रोग थियो, जसमा तत्काल औषधी चलाइएन । नत्र उनले बेकारमा कडा औषधीसमेत सेवन गर्नुपर्ने हुन सक्थ्यो । उक्त रिपोर्टबारे डाक्टरहरूको ठम्याइ छ– कि परीक्षण गर्ने उपकरण बिग्रियो, कि रगत साटियो । उपकरण बिग्रिएको भए त्यहाँ धेरैको गलत उपचार भइरहेको छ । साटिएको भए कम्तीमा दुई जनाले यो अवस्था भोगे । निरौलाको रगत जसको नाममा पर्‍यो उनी निरोगी भएर घर फर्किए ।

जसको रगत निरौलाको नाममा आयो, त्यही कारण उनी बिरामी बन्नु पर्‍यो । बिरामीले बेलामा उपचार पाएनन्, स्वस्थ व्यक्तिले दु:ख पाउनु पर्‍यो (शिक्षण अस्पतालले यसबारे आफैं अनुसन्धान गर्न चाहे रसिदमा ३३६५३२/२७५२ वा सी–१५६ नम्बर लेखिएको छ, खोज्न सक्नेछ) । अस्पतालले निरोगी व्यक्तिलाई त्यस्तो रिपोर्ट दिने भूल त गरेकै छ, विशेषज्ञ चिकित्सकले बिरामीलाई रोगबारे जानकारी दिने शैली पनि ठीक छैन । स्वयं बिरामीलाई सोझै भनिन्छ, जुन झिरले हानेभन्दा कडा हुन्छ ।

सेवामूलक निकायमा व्यावसायिकताको अभावका कारण यस्ता घटना देख्न–सुन्न पाइरहन्छन् । आफ्नो रिपोर्ट सुनेर बिरामी बेहोस भएका र पछि अर्को ठाउँमा अर्कै रिपोर्ट आएका उदाहरण पनि प्रशस्तै छन् । अधिकांश ल्याबको भर छैन, डाक्टरले पनि तिनलाई मान्यता दिंदैनन् । तर, जुन ल्याबलाई सबैले पत्याउँछन्, विश्वास एवं ग्रहण गर्छन्, त्यहींको त्रुटिपूर्ण हुनु दु:खद हो ।

कमाएको विश्वसनीयता बचाइरहन अस्पताल प्रशासन विशेष चनाखो हुनुपर्छ । अलि गहन प्रकृतिका रोग प्रमाणित भएमा दोहोर्‍याएर परीक्षण गरी परिणाम सुनाउने प्रणाली निर्माण गर्न सकिन्छ कि ? वा, बिरामीको रगत साटिनै नसक्ने गरी प्रणाली बनाउन त पक्कै सकिन्छ ।
आफ्नो शरीरको भित्री अवस्था पहिचान गर्ने निकाय अस्पताल नै हुन् । त्यसको उपचार गर्ने चिकित्सक हुन् ।

मानव जीवनसँग जोडिने हुनाले अस्पताल र चिकित्सकले झुक्किएर पनि हेलचेक्य्राइँ गर्नु हुँदैन । स्वास्थ्यकर्मीको सानो गल्ती कसैको जीवनका लागि ठूलो अभिशाप बन्न सक्छ । उमाजस्ता कति उमा होलान्, जसले गलत रिपोर्टका भरमा गलत उपचार भोगिरहेका छन् । परिवारका सदस्य शिक्षित र सक्षम भएकाले उमाका हकमा बेलैमा तथ्य पहिचान सम्भव भयो । यस्ता कति सर्वसाधारण अस्पताल पुग्छन्, जसले अन्य डाक्टरलाई ‘हो कि होइन’ सोधेर जति ठाउँ भन्यो, त्यति–त्यति ठाउँ पुगेर भनेजति जँचाउन सकुन् ? त्यसैले कृपया, सावधानी अपनाइदिनुहोस्, जसका कारण रोगीले निरोगी र निरोगीले रोगी साबित भई पीडा भोग्नु नपरोस् । 

प्रकाशित : चैत्र ७, २०७३ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

मतदाता शिक्षामा ढिलाइ नगरौं

शान्ता मरासिनी

काठमाडौं — मतदाताहरूलाई कानुन निर्माणमा सहभागिता, कानुनको शासन, संविधान र संविधानका अन्तरवस्तु, राजनीतिक प्रणाली, शासकीय व्यवस्था, निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, निर्वाचनका चरण र प्रक्रियाबारे सचेत गराउनु, जानकारी दिनु, उत्साहित तुल्याई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता गराउन सञ्चालन गरिने शिक्षा नै मतदाता शिक्षा हो ।

त्यसैले निर्वाचन आयोगले मतदातालाई कसरी भोट हाल्ने मात्र सिकाएर पुग्दैन, उनीहरूलाई किन भोट हाल्ने भन्ने कुरा पनि सिकाउन जरुरी छ ।

एउटा मतदाताले अबको प्रजातान्त्रिक शासनमा भोट कसरी हाल्ने भन्नेमात्रै जानेर पुग्दैन, निर्वाचन किन ? भोट कसलाई र किन हाल्ने ? समेत जान्नु जरुरी छ । जुन कुराको सम्पूर्णत: जानकारी बृहत नागरिक शिक्षाको माध्यमबाट मात्रै सम्भव छ । नागरिक शिक्षाका विषयलाई चरणबद्ध रूपमा आम नागरिकसमक्ष लाने प्रमुख जिम्मेवारी सरकार, निर्वाचन सञ्चालन गर्ने निकाय, ओभर साइट एजेन्सीहरू, नागरिक समाज, राजनीतिक दल एवं सामुदायिक संगठनको रहन्छ । नागरिक शिक्षालाई बृहत रूपमा समुदायसमक्ष लाने लामो र निरन्तर प्रयास आवश्यक हुन्छ । मूलत: प्रजातान्त्रिक मुलुकहरूको लोकतान्त्रिक अभ्यास हेर्दा नागरिक शिक्षालाई प्रभावकारी बनाउन निम्न चरण उपयोग गर्ने गरेको पाइन्छ ।

मतदाता सूचना : शासनमा सहभागिताको सुरुवात गर्नलागेका १८ वर्ष उमेर पुगेका नागरिकलाई निर्वाचनमा आकर्षित गरी लोकतान्त्रिक अभ्यासमा समाहित गराई असल प्रतिनिधि छनोट गर्न तिनलाई लक्षित गरी नामावली दर्ता प्रक्रियाका विविध पक्षबारे आधिकारिक सूचना दिने कार्यक्रम हो । यस्तो कार्यक्रम खासगरी निर्वाचन सञ्चालन एवं व्यवस्थापन गर्ने निकायले निरन्तर रूपमा सञ्चालन गर्ने गर्छन् ।

मतदाता शिक्षा : आम मतदातालाई मतदानको लागि उत्साहित बनाउँदै तयारी अवस्थामा रहने बनाउन, निर्वाचनमार्फत लोकतन्त्रप्रति विश्वास बढाउन विशेषगरी निर्वाचन र लोकतन्त्र, प्रतिनिधित्व प्रणाली र मानवअधिकार, सार्वभौम मताधिकार, मौलिक हक, मतको गोपनीयता, मतपत्रको प्रयोग, बदर मत न्युनीकरण गर्ने, परिचयपत्र, मतदान गर्ने मिति, समय र स्थान, मतदाता पहिचानका आधार लगायत विषयमा दिइने जानकारीमूलक आधिकारिक सूचना दिने कार्यक्रम मतदाता शिक्षा हो । मतदाताका लागि अत्यावश्यक यस्तो जानकारी निर्वाचन व्यवस्थापन गर्ने निकायले निर्वाचनको केही समयअघि सञ्चालन गर्ने गर्छन् ।

निर्वाचन शिक्षा : निर्वाचन शिक्षा मतदाता शिक्षाभन्दा ब्यापक रूपमा र मतदातासहित मतदाता हुन योग्य हुँदै गरेका समूह समेतलाई समेटेर सञ्चालन गरिन्छ, जसमा संवैधानिक एवं राजनीतिक विकासक्रम, निर्वाचन र लोकतन्त्र, प्रतिनिधित्व, समावेशीकरण, सामाजिक मूल्य, मतदाताका हक, अधिकार र कर्तव्य आदिबारे सुसूचित एवं पैरवी गरिन्छ । मूलत: यसमा स्कुल स्तरका बालबालिका एवं मतदाता र मतदाता सूचीमा सूचीकृत हुन छुटेका वर्ग एवं समुदायका नागरिकलाई समेटेर सञ्चालन गरिन्छ ।

नागरिक शिक्षा : यसभित्र मतदाता सूचना, मतदाता शिक्षा र निर्वाचन शिक्षा लगायत राज्यको मूल कानुन, नागरिक अधिकार, कर्तव्य र दायित्व, सामाजिक एवं राजनीतिक मूल्य, निर्वाचन र लोकतन्त्र, समावेशीकरण, प्रतिनिधित्वको सिद्धान्त र समानुपातिक प्रतिनिधित्व, लैंगिकता, सूचनाको हक, राष्ट्रिय हित, एकता र अखण्डताजस्ता राज्य एवं नागरिक सरोकारका विषय समेटी व्यापक रूपमा सञ्चालनको कुरा समावेश गरिन्छ । यसको एकमात्र ध्येय नागरिकको उच्चतम गुणस्तरीय जीवनका लागि राज्य र नागरिकका तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ र क्षमताका क्षेत्र पहिचान र सही उपयोगमार्फत राष्ट्र निर्माण र समृद्धि हो । 
२०१५ सालको संसदीय निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, मतपत्र, भोट हाल्ने तरिकाबारे निर्वाचन आयोगले सर्वसाधारणलाई सुसूचित गरेको पाइन्छ । २०४६ पछिका निर्वाचनमा राजनीतिक दलहरूले पनि आ–आफ्ना घोषणापत्रमार्फत मतदातालाई सुसूचित गर्ने गरेका थिए ।

संविधानसभा निर्वाचन २०६४ र ०७० मा औपचारिक रूपमै निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । मतदाताहरूको भाषिक रुचि एवं उमेर र क्षेत्र पहिचान गरी सत्र भाषामा मतदाता सूचना सामग्री निर्माण गरी प्रकाशन र प्रसारण गरी स्वयम्सेवकमार्फत गाउँ—गाउँमा पुर्‍याउनसकेका कारण बदर मतको प्रतिशत न्युन गर्नसकेको थियो । मतदाता निर्वाचनका साधन र साध्य दुवै हुन् । लामो समयको पर्खाइपछि सरकारले २०७४ वैशाख ३१ गते ७४४ इकाइका लागि घोषण गरेको स्थानीय निर्वाचनका कारण आम मतदाता उत्साहित भएका छन् । करिब १ करोड ४० लाख मतदाता, करिब २१ हजार मतदान केन्द्रको सेरोफेरोमा मतदाता शिक्षा केन्द्रित हुनुपर्ने देखिन्छ । यो जटिल कार्य हो । मतदाताको वास्तविक पहिचानका लागि निर्वाचन आयोगले मतदाताको फोटो, औंठाछाप एवं तीनपुस्ते विवरण सहितको मतदाता नामावली (परिचयपत्र) तयारी भइरहेको बताएको छ ।

तोकिएको स्थानीय निर्वाचनमा प्रयोग हुने मतपत्र धेरै ठूलो र जटिल, एउटै मतपत्रमा धेरै उम्मेदवारका चुनावचिन्ह रहने हुँदा मतदातालाई आफ्नो उम्मेदवार खोज्न समय लाग्ने देखिन्छ भने मतदाता अल्मलिन पुगी मत धेरै बदर हुन सक्नेतर्फ सचेत हुँदै यस पटकको मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगको प्रयासले मात्रै सम्भव देखिँदैन । यसमा सञ्चार माध्यम, युवा वर्ग, महिला समूह, सामुदायिक संस्थाहरूको सक्रियता जरुरी छ । मतदानलाई मात्रै केन्द्रित गरेर हेर्ने हो भने नमुना मतदानमा ज्यादा केन्द्रित गर्नुपर्ने देखिन्छ ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्