१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मधेसमा आगो लगाएर देश बन्छ ?

गंगा बीसी

गतसाता नेपाली राजनीतिमा तीन ठूला घटना भए । एमालेको मेची–महाकाली अभियानको क्रममा सप्तरीमा प्रहरीको गोली लागी पाँच जनाको मृत्यु भयो । कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सशस्त्र सीमाबलको गोली लागी एक नेपालीले ज्यान गुमाए ।

मधेसमा आगो लगाएर देश बन्छ ?

यता राजधानीमा राप्रपा अध्यक्ष कमल थापा सरकारमा सामेल भए । पछिल्लो समय भएका यी राजनीतिक घटनाले वैशाख अन्तिम साता घोषणा भएको स्थानीय निकायको निर्वाचनबारे सूचकको रूपमा काम गर्नेछ ।

सप्तरीको सभामा प्रधानमन्त्रीले कुनै पनि हालतमा गोली नचलाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । त्यहाँ सभा चलुन्जेल संयम रहेको प्रहरी सभा सकिएपछि किन आक्रामक भयो, जसले प्रदर्शनमा सहभागी नभएका व्यक्तिसमेत गोलीबाट मारिए । यो घटनाले स्थानीय निकायको निर्वाचनको तयारीलाई केही हदसम्म बिथोल्यो । सप्तरी घटनापछि मधेसी दल थप आक्रोशित बने । उनीहरूले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए । सरकारले सप्तरी घटनामा मारिएका परिवारलाई दस लाख रुपैयाँ दिने र घटनाको सत्यतथ्य छानबिन गर्ने काम सुरु गरिसकेको छ । यसले सप्तरीको आक्रोश केही मत्थर गरे पनि मधेसभित्र विद्रोहका झिलिङ्गा भने रहिरहेका छन् । मधेसलाई खरबारीको आगोको झिल्को बनाउने काम अहिले पनि राजनीतिक दलहरूबाट भइरहेको छ । मधेसमा आगो लगाएर देश बन्दैन, न संघीयता नै बलियो हुन्छ । मधेसको आक्रोशको आगो निभाउने उपाय नै वार्ता र सहमति हो ।

नेपाली राजनीतिमा केही समययता मधेस केन्द्रबिन्दुमा छ । आगामी निर्वाचन हुने वा नहुनेबारे पनि मधेसको राजनीतिलाई हेरेर विश्लेषण गर्ने गरिएको छ । नेपाली राजनीतिको भविष्य निर्धारण गर्ने साँचोको रूपमा मधेस रहे पनि मधेसी दल असन्तुष्ट हुँदा राजनीतिले सही निकास पाउनसकेको छैन । यो साँचो सही ढंगले चले मुलुकको राजनीति सही मार्गमा अघि बढ्नेछ, गलत परे राजनीति झन् अस्थिर हुनेछ । विगतमा बेला—बेला मधेसलाई बिभिन्न पक्षबाट आफ्नो अनुकूल प्रयोग गरिँदै आएका छन् । त्यसले मधेसलाई बेला—बेला अस्थिर बनाएका उदाहरण छन् । यतिबेला पनि कुनै न कुनै रूपमा मधेसलाई अस्थिर बनाउने शक्ति सक्रिय भएको हुनुपर्छ । मधेसको राजनीति सही ढंगले सदुपयोग भए संघीयता कार्यान्वयन गर्ने औजार बन्नेछ, त्यसो नभए घातक हतियारसमेत हुन सक्नेछ । 

पछिल्लो हिंसा हुनुमा एमाले र मधेसी दलको हठले केही काम गरेको छ । हरेक आन्दोलनमा निरीह मधेसीको बलिदान हुन्छ, तर त्यसले मधेसीको हितभन्दा पार्टी वा नेताविशेषले स्वार्थ पुरा गरेका तितो यथार्थ हामीसँग छ । यसले मधेसी जनतालाई आक्रोशितमात्र बनाएको छैन, चिन्तित पनि बनाएको छ । मधेसमा बग्ने पानी नेपालकै हो, मधेसमा चल्ने हाजा हाम्रै हो । मधेसी कसैका गोटी होइनन्, उनीहरूको आफ्नै विवेक छ । मधेसी विवेकमाथि कसैले खेलवाड गर्नु हुँदैन । 

खतराचाहिँं मधेसी र गैरमधेसी रङ लगाएर विभाजन ल्याउने षड्यन्त्रका कारण छ । यो प्रवृत्तिले राजनीतिक स्थिरता हुन नदिने प्रयास गरिरहेको छ । मधेसलाई राजनीतिक स्वार्थको रूपमा प्रयोग गर्ने र मधेसको अधिकारप्रति असहमति जनाउने कार्यले अन्तत: मुलुकलाई नोक्सान भएको छ । मधेस मुलुकको अभिन्न अंग हो, त्यसलाई त्यत्तिकै माया र स्याहार गर्नु आवश्यक छ । त्यो कांग्रेस, एमाले, माओवादी, मधेसी सबैले आत्मसात गर्न आवश्यक छ । 

आम जनताको चाहना स्थानीय निर्वाचन हो, सप्तरी घटनाका कारण यो निर्वाचन नबिथोलियोस् भन्ने चिन्ता सर्वत्र छ । करिब दुई दशकपछि हुनगइरहेको स्थानीय निर्वाचन सिंगो मुलुकले चाहेको छ । मधेसले पनि स्थानीय निर्वाचन नचाहेको होइन, मधेसका केही चासो र सरोकारका विषय छन् । ती विषय संविधान संशोधनमार्फत सम्बोधन होउन् भन्ने चाहना मधेसी दलको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेसी दलका मागप्रति सकारात्मक हुँदाहुँुदै पनि पुरा गर्नसकेका छैनन् । मधेसी दलसँग एजेन्डामा निकट भए पनि उनी त्यसलाई संविधान संशोधनमार्फत पुरा गर्ने अवस्थामा अझै सक्षम भइसकेका देखिँदैनन् ।

यही बेला राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्री तथा स्थानीय मन्त्रीको हैसियतले सरकारमा सामेल हुनु सामान्य विषय होइन । प्रधानमन्त्री प्रचण्डको डुंगामा थापा सवार भएपछि उनको सरकार केही समय सुरक्षित हुनसक्ला । तर संविधान संशोधन नहुँदासम्म त्यसको खास अर्थ हुँदैन । कांग्रेस, माओवादी र राप्रपाको गठबन्धनले संविधान संशोधन भई कार्यान्वयन भए सुखद क्षण हुनेछ । त्यसो नभए प्रचण्ड सरकारको केही समय आयु बढ्ने त छ, तर मुलुकका लागि खासै हितकारी काम हुने देखिँदैन । थापा यस्ता राजनीतिक खेलाडी हुन्, जसले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई सरकारमै रहेर तिलाञ्जली दिन पछि पर्दैनन् । राप्रपा अर्थात् थापाको राजतन्त्र र हिन्दु धर्मप्रति कार्यदिशा स्पष्ट छ, जुन माओवादीको कार्यदिशाको ठिक विपरीत छ । माओवादी र राप्रपा दुई विपरीत धु्रवका राजनीतिक पार्टी हु्न्, दुई विपरीत ध्रुवबीच हुने एकताले सुखद परिणाम दिएमा अर्को सुखद संयोग हुनेछ । 

प्रधानमन्त्री प्रचण्डले राप्रपाका बलमा संविधान संशोधन गर्नसके संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण उपलब्धि हुनेछ । संविधान संशोधनमार्फत मधेसी दललाई निर्वाचनमा आउन वातावरण बनाउनसके प्रधानमन्त्री प्रचण्ड यो कार्यकालमा सफल हुनेछ । तर धेरैको मनमा यसबारे आशंका कायमै छ । सरकार जति लम्बिए पनि निर्वाचन गराउन नसके प्रचण्डलाई राजनीतिक रूपमा खासै फाइदा हुने छैन । त्यसबेला निर्वाचन नहुने अवस्थामा सरकारमा बसिरहने नैतिक आधार हुने छैन । 

प्रकाशित : चैत्र ८, २०७३ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?