१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

असुरक्षित सडकमा खुइलिएको जेब्राक्रस

प्रतिमा राई

काठमाडौं — काठमाडौंका सडकभरि अटेस-मटेस कुदिरहेको सवारी साधन र ध्वनि प्रदूषणले पैदलयात्रु आक्रान्त छन्। ठाउँ‘–ठाउँमा भएका आकाशे पुलले पैदल यात्रुलाई बाटो काट्न केही सजिलो र सुरक्षित बनाए पनि धेरैजसो ठाउँमा सवारी साधनको चापले वल्लो छेउबाट पल्लो छेउ पुग्न हम्मे पर्छ।

असुरक्षित सडकमा खुइलिएको जेब्राक्रस

बाटो काट्न सजिलोका लागि जेब्राक्रस भए पनि चालकले बेवास्ता गर्दै पैदल यात्रुलाई अझ उछिन्दै सवारी साधन कुदाउँदै लाने चलन छ।

ट्राफिक प्रहरी भएका ठाउँमा बटुवालाई बाटो काट्न सजिलो हुन्छ। तर सबै जेब्राक्रसतिर ट्राफिक प्रहरी उभिएका हुँदैनन्। अनि यहाँका अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन्। दरबार मार्गस्थित ट्राफिक कार्यालय अगाडिको जेब्राक्रसमा समेत सवारी साधनका चालकले पैदल यात्रुको झुन्डलाई बेवास्ता गर्दै गाडी अगाडि बढाएको देखिन्छ। विशेषगरी काठमाडौंमा बाटो साँघुरो र बिग्रिएको कारणले भन्दा पनि सडकभरि अव्यवस्थित तरिकाले छरिएर गुडिरहेको सवारी साधनको अत्यासलाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने गरिएको कारणले सवारी साधन दुर्घटना हुने गरेको पाइन्छ। यसै क्रममा चालक र सवारी साधनबाट यात्रा गरिरहेका यात्रुमात्र नभई सडकमा हिँडिरहेको निर्दोष बटुवासमेत मृत्युको मुखमा पर्ने गरेका छन्।

काठमाडौं सहरभित्रका जेब्राक्रसहरूमा सम्बन्धित निकाय ट्राफिक प्रहरी कार्यालयले विशेष अवलोकन र अनुगमन गर्नुपर्ने जरुरी देखिन्छ। जेब्राक्रसमा सुरक्षित तरिकाले बाटो काट्न पाउनु बटुवाको अधिकार होइन र? हो भने चालकहरू किन ट्राफिक नियम पालन गर्दैनन्? अनि सम्बन्धित निकायले पनि किन कडाइका साथ प्रभावकारी रूपमा नियम पालन गर्न बाध्य बनाउनसकेका छैनन्? यस्ता प्रश्न दिनदिनै जोखिम मोलेर हिँड्नुपर्ने सर्वसाधारणले गर्दै आएका हुन्। त्यही पनि सम्बन्धित निकायकामा राम्रोसँग पुग्न नसकेर होला, सडकको पैदलयात्रा सुरक्षित हुनसकेको छैन। 

हुन त धुलो, धुवाँ खपेर बीच सडकमा अहोरात्र खटिरहेका ट्राफिक प्रहरीको प्रयासलाई कम आँक्न मिल्दैन। खासगरी सवारी चालकले ट्राफिक नियम पालन गर्न नचाहने र मौका पाउने बित्तिकै ट्राफिक प्रहरीको आँखा छलेर आफ्नैमात्र सजिलोका लागि सार्वजनिक सडकमा मनोमानी सवारी साधन कुदाउने प्रवृत्तिले गर्दा नै सडक असुरक्षित बनेको हो। पैदल यात्रुले पनि आकाशेपुल र जेब्राक्रस प्रयोग नगरी जथाभावी सडकमा बाटो काट्नु भनेको ट्राफिक नियम विपरीत हो। यस्ता पैदल यात्रु प्रशस्तै देखिए पनि आकाशेपुल प्रयोग गर्ने र जेब्राक्रसबाट मात्रै बाटो काट्ने सभ्य पैदल यात्रुको संख्या पनि कम भने छैन यो सहरमा। तर यस्ता यात्रुका लागि पनि जेब्राक्रस सुरक्षित र सहज बन्न नसक्दा उनीहरू आफू मर्कामा परेको महसुस गर्छन्।

खासगरी सिंहदरबार अगाडि, पुतलीसडक, चक्रपथ, थापाथली, गौशाला, नक्साल लगायतका केही विशेष क्षेत्रमा ट्राफिक प्रहरीको भरपुर प्रयासले सवारी साधन र पैदल यात्रुको चापलाई सक्दो सन्तुलन गरेको देखिन्छ। यस्ता ठाउँतिर ट्राफिक प्रहरीको आडमा पैदल यात्रुलाई पनि बाटो काट्न सजिलो हुने गरेको छ। तर सधैं सवारी साधनको भिडभाड र सडकको क्षमताभन्दा बढी चापमा गुडिरहेका कतिपय धेरै चोकमा ट्राफिक प्रहरीको उपस्थिति नदेखिँदा सवारी साधनबीच नै एकअर्काेलाई ठक्कर दिने वा पैदल यात्रुलाई अप्ठेरोमा पार्ने गरेको पाइन्छ।

विशेषगरी सार्वजनिक सवारी साधन यस मामिलामा अगाडि छन्। सडकमा आवश्यकताभन्दा बढी हर्न बजाएर रफ्तारमा मोटरसाइकल हाँक्ने पनि प्रशस्त छन्। त्यस्ता मोटरसाइकल चालकलाई कारबाही गर्न जरुरी छ। सवारी साधन वा सडक दुर्घटनाको सिकार सधंै चालकको गल्तीले मात्र नभई अन्य चालकको गल्ती वा लापरबाहीले पनि हुने गरेको छ। किनभने सबै चालक बेहोशी र लापरबाही पनि हुँदैनन्। सवारी साधनका चालक जोकोहीले पनि सधैं होशियारका साथ ट्र्राफिक नियम पालन गरे भवितव्यबाट हुने बाहेक सितिमिती सडक दुर्घटना नै हुने थिएन। चालकले बिर्सनै नहुने कुरा के हो भने आफू बेहोश र लापरबाही भए आफ्नोमात्र नभई निर्दोष अरु कसैको समेत ज्यान जान सक्छ। ट्राफिक नियम पालना गर्न बनेको हो। साना–ठूला भनाउँदा सबैले समान रूपले सडकको नियम पालन गर्ने हो भने सबैको लागि भलाइ हुन्छ। एक चालकको लापरबाहीको सिकार अरु बन्न सक्छ भने अन्य चालकको लापरबाहीको सिकार कुनै दिन आफ्नै परिवार बन्न सक्छ। 

ट्राफिक प्रहरी कार्यालयले पनि आवश्यक सबै ठाउँतिर ट्राफिक प्रहरीको उपस्थिति गराउनुपर्ने आवश्यक छ। यसो गर्दा चालक र पैदल यात्रु दुबैको लागि राहत हुन्छ। अर्को कुरा, अहिले धेरै ठाउँतिरका सडकमा जेब्राक्रसका लागि पोतिएको सेता रङ खुइलिएको, मेटिएको र उडेको पाइन्छ। जसले गर्दा जेब्राक्रस हो-होइन, चालक र पैदल यात्रु दुबैलाई ठम्याउन मुस्किल हुने गरेको छ। जेब्राक्रसलाई सधैं चुस्त बनाइराख्नु सम्बन्धित निकायको काम होइन र? 

प्रकाशित : चैत्र ११, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?