१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अरु केही भएन

सिउँडी
विमल निभा

एक दिन नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीको पेटेन्ट चुटकुलामा सुटुक्क राष्ट्रियता पस्यो। अनि असाध्यै रमाएर घर–घर डुल्न थाल्यो।

अरु केही भएन

(एक) 

कहिले ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको लैनचउरस्थित भव्य घरमा भने कहिले चित्रकार एवं निबन्धकार मनुजबाबु मिश्रको बौद्ध, महाँकालको ‘मोन्टाज’ नामक घरमा।

कविवर माधवप्रसाद घिमिरेको उहिलेको राजतन्त्रप्रदत्त राष्ट्रकवित्वले कमरेड खड्प्रसाद शर्मा ओलीको अहिलेको अति उत्साहित बालसुलभ राष्ट्रियतालाई घरी–घरी आत्मीय आशिर्वाद दियो। त्यसपछि यो मुलुकमा एकपटक फेरि राजतन्त्र नआएसम्म आफ्नो घरबाट पटक्कै बाहिर ननिस्कने चित्रकार एवं निबन्धकार मनुजबाबु मिश्रको कडा कसमले पनि घरको आँगनसम्म हिँंडेर आइपुगेको कमरेड ओलीको नयाँ–नयाँ अस्तित्वमा आएको कलिलो राष्ट्रियतालाई गुलियो चियासँगै टन्नै पौष्टिक चमेना खुवाएर पठायो।

यो देखेर राष्ट्रियता सँगसँगै यो घरदेखि त्यो घरसम्म अटुट हिंँडिरहेको कमरेड खड्गप्रसाद शर्मा ओलीको पेटेन्ट चुटकुला अत्यन्तै दंगदास थियो– के म साँच्चिकै राष्ट्रिय स्तरको भइसकेंँ त? अर्थात् राष्ट्रिय चुटकुला। अर्काे शब्दमा अखिल नेपाल राष्ट्रवादी चुटकुला। वाह !

(दुई)
कमरेड खड्गप्रसाद शर्मा ओलीसँग नेकपा एमालेको सर्वाेच्च अध्यक्ष पदको प्रतिस्पर्धात्मक चुनावमा नराम्ररी पराजित कमरेड माधवकुमार नेपालको पराजय एकदिन ‘पराजयता’को अन्तिम किनारामा पुग्यो। अनि त्यहीं टुक्रुक्क बसेर गम्भीरतापूर्वक सोच्न थाल्यो, कमरेड माधवको पराजयता– कमरेड ओलीको राष्ट्रियता त दिन–प्रतिदिन बढ्दै गइरहेको छ बा ! यस्तो हँुदै जाने हो भने त यो कमरेड ओलीको बढ्दो राष्ट्रियताले राष्ट्रको सीमा पनि सजिलैसित नाघेर अन्तर्राष्ट्रिय राष्ट्रियता हुन बेर छैन। र यता म भने यो राष्ट्रको सधैंभरि पराजितको पराजित नै ! हे प्रभु, यो कस्तो बहुदलीय जनवादी अन्याय † यो दु:खियामाथि कृपा गर, दयानिधान !

केही बेरपछि कमरेड माधवकुमार नेपालको पराजयता एक्कासी खुसी भएर बुरुक्क उफ्रियो। वास्तवमा ऊ अर्थात कमरेड माधवको पराजयता आफ्नो सोचको एउटा ठोस निष्कर्षमा पुगिसकेको थियो। तात्पर्य के भने कमरेड ओलीको राष्ट्रियता अन्तर्राष्ट्रिय हुनासाथ यस राष्ट्रको राष्ट्रियता डल्लै मेरै भागमा। मेरो मतलव, नेकपा एमालेको राष्ट्रियता। यो त खास्साको खुसीको कुरो हुने भएन र? कमरेड माधवको पराजयता खुसीको उत्कर्षमा पुगेर विलकुलै सोचमुक्त भइसकेको थियो।

(तीन)
एकदिन नेकपा एमालेको सिनियर नेता कमरेड जेएन खनाल उर्फ कमरेड झलनाथ खनालको साविक बमोजिमको सिनियरिटी निकै उदास–उदास भयो।

यसको कारण के भने नेकपा एमालेमा एकातिर कमरेड खड्गप्रसाद शर्मा ओलीको जब्बर पक्ष रहेको छ भने अर्काेतिर कमरेड माधवकुमार नेपालको गच्छे बमोजिमको जुझारु विपक्ष। अनि म याने कमरेड जेएनीय सिनियरिटीचाहिँं कहाँ? अर्थात् विशुद्ध भूमिगत कालमै पार्टी महासचिवको परम दायित्व बहन गरिसकेको कमरेड जेएन खनालको सिनियरिटी कहाँ? मतलव यत्रो गह्रुंगो पार्टीगत सिनियरिटी कहाँ? जहाँ भए पनि ऊ एकदिन दुवै पक्ष र विपक्षको ठिक्क बीचबाट फुत्त निस्केर फेरि पार्टीको लिडर हुनेछ। सिनियर लिडर। अर्थात पक्ष र विपक्ष, दुवैभन्दा मास्थिर। सिनियर शिरोमणि।

यही सोचेर नेकपा एमालेको सिनियर लिडर कमरेड जेएन खनाल उर्फ कमरेड झलनाथ खनालको सिनियरिटी चरम सन्तुष्ट देखियो।

(चार)
नेकपा एमालेको प्रथम उपाध्यक्ष कमरेड वामदेव गौतमको कुनै बेलाको पुरानो मालेपन एकदिन जागृत भयो, अचानक। 

त्यही मालेपन, महाकाली सन्धि बेलाको नेकपा एमालेबाट सहसा छुट्टिएर बनेको मालेपन, कमरेड वामदेवको चम्किलो तारा छाप मालेपन। (यसलाई केही समयपछि खुद नेकपा मालेका तत्कालीन महासचिव कमरेड वामदेवले अकस्मात मृत्युप्रदान गरेर हत्तपत्त आफू नेकपा एमालेमा पुन: प्रवेश गरेका थिए।)

अब कमरेड वामदेव गौतमको मालेपनले आफ्नो यामानको टाउको उचालिसकेपछि एकपटक फेरि माले पार्टी त अस्तित्वमा आउनैपर्‍यो नि ! यही कमरेड वामदेवमा सहसा जागेको मालेपनले तय गर्‍यो। अनि यस पटकको माले पार्टीको यस्तो नाम राखिने भयो– नेकपा माले (एमाले)। यसउसले अब कमरेड वामदेवले नयाँ नेकपा माले (एमाले) लाई नेकपा एमालेमा समावेश गराउनै परेन। यसको अर्थ के हो भने तमाम खाले झन्झट समाप्तम् !

(पाँच)
एकदिन कमरेड खड्गप्रसाद शर्मा ओलीको राष्ट्रिय चुटकुला, कमरेड माधवकुमार नेपालको पराजित पराजयता, कमरेड जेएन खनाल उर्फ कमरेड झलनाथ खनालको सिनियर सिनियरिटी र कमरेड वामदेव गौतमको हठात् जागेको मालेपन.....।

एकदिन, हो, एकदिन नेकपा एमालेको अस्थायी हेडक्वाटर, धुम्बाराहीमा के भयो भने— के भयो, भयो.....बस भयो। अरु केही भएन।

प्रकाशित : चैत्र १२, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?