जन्मजात र जन्मपछिको अपांगता

बालिका थपलिया

अपाङ्गता शब्द एउटा भए पनि यसका हाँगाबिँगा एकदम धेरै छन् । शरीरको कुनै पनि अङ्गमा कमी–कमजोरी आएर दैनिक जीवनको सरल कार्यसम्पादनमा कठिनाइ उत्पन्न हुनुलाई अपांगता भनिन्छ । जुनसुकै व्यक्तिमा पनि अपांगता हुनुको पछाडि धेरै कारण जोडिएका छन् ।

यी कारण बुझ्न विस्तृत एवं संवेदनशील अध्ययन आवश्यक पर्छ । समग्रमा कारक तत्त्वहरू अध्ययन गर्दा अपांगतालाई दुई किसिममा बाँड्न सकिन्छ । पहिलो, जन्मजात अपांगता र दोस्रो, जन्म पश्चातको अपांगता । जन्मजात अपांगताको सम्बन्ध आमाको गर्भसँग रहेको हुन्छ । जन्म पश्चातको अपांगतामा चाहिँ अन्य बाह्य तत्त्वले प्रभाव पारेको हुन्छ । 

जन्मजात समस्या आउनुमा गर्भावस्था तथा त्यसभन्दा अगाडिको गडबडीले मुख्य भूमिका खेलेको हुन्छ । २३ जोडा क्रोमोजोममध्ये २२ जोडा शरीरका अरू कार्यका लागि हुन्छन्, तर १ जोडाचाहिँ सेक्स क्रोमोजोम हुन्छ । श्रीमान–श्रीमतीको सम्पर्क भएपछि गर्भ बन्ने प्रक्रियाका बेला उक्त क्रोमोजोममा गडबडी आए बच्चामा अपांगता हुने सम्भावना प्रबल हुन्छ । गर्भ रहनु अघि अथवा गर्भ रहेका बेला आमालाई गम्भीर किसिमको रोग लागे समस्या उत्पन्न हुनसक्छ । उच्च रक्तचाप, उच्च ज्वरो, छारेरोग, यौनरोग, मलेरिया, रक्तअल्पता, इन्सेफलाइटिस, एचआईभी एड्स आदि जन्मिने बच्चाको लागि खतरनाक सावित हुन सक्छन् । त्यसैले सचेत भएर बेलामै औषधी–उपचार गर्नु अत्यन्त आवश्यक छ । गर्भवती अवस्थामा सुर्ती–चुरोट, जाँड–रक्सी, अन्य किसिमका लागुपदार्थ सेवन गर्दा अनि एक्स–रे गर्नुको साथसाथै विषादीजन्य चिज छुँदा पनि बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ । गर्भवती अवस्था महत्त्वपूर्ण र कोमल भएकाले बढी खट्नुपर्ने काम, गह्रौं चिजबिज उचाल्नुपर्ने कामदेखि पनि एकदम जोगिनुपर्ने हुन्छ । आमाले बढी धुवाँ हुने ठाउँमा काम गर्दा पनि बच्चाको श्वास–प्रश्वासमा प्रत्यक्ष असर पर्छ । आमाको विवाह नजिकको रगतको नाता पर्ने मानिससँग भएको छ भने पनि जिन मिल्ने हुनाले बच्चा अपांगतासहित जन्मिन सक्छ । आमाबाबुमा अपांगता छ भने बच्चालाई वंशाणुगत रूपमा सर्न पनि सक्छ । 

Yamaha

स्वस्थ बच्चालाई जन्मदिन आमाको उमेर पनि परिपक्व हुनुपर्छ । बीस वर्षभन्दा अघि र पैंतीस वर्षभन्दा पछि बच्चा जन्माउँदा पनि अपांगता हुने सम्भावना उच्च हुन्छ । गर्भ रहेको बेला नियमित गर्भ जाँच गराउनु अत्यन्त जरुरी छ । गर्भ रहेदेखि नौ महिनाभित्रमा कम्तीमा पनि चारपटक गर्भ जाँच गराउनुपर्छ । पहिलो गर्भ–जाँच ४ महिना लागेपछि, दोस्रो गर्भ–जाँच ६ महिनामा, तेस्रो गर्भ–जाँच ८ महिनामा र चौथो गर्भ–जाँच ९ महिना लागेपछि गर्नुपर्छ । यो गर्भ–जाँच गराए बापत सरकारले ४ सय पुरस्कार दिने व्यवस्था गरेको छ । सरकारी अस्पतालमा बच्चा जन्माउन आउने महिलालाई हिमालको हकमा १५ सय, पहाडको हकमा १ हजार र तराईको हकमा ५ सय रुपैयाँ दिने गरिन्छ । भिडियो एक्स–रे गरेर बच्चाको स्थिति के कस्तो छ भनेर पहिचान गर्न सकिन्छ । शैक्षिक चेतनाको कमीका कारण आइरन, क्याल्सियम उचित तरिकाले नखाँदा पेटभित्र बच्चाको वृद्धि विकास राम्ररी हुन पाउँदैन । गाउँघरतिर आइरन, क्याल्सियम खायो भने बच्चा ठूलो भएर जन्माउन गाह्रो हुन्छ भन्ने चलन पनि छ, तर त्यो सोचाइ गलत हो । आइरन, क्याल्सियमको नियमित सेवनले बच्चालाई अपांगताबाट जोगाउन धेरै सहयोग पुग्छ । पहिलो गर्भावस्थामा टीटी खोप अनिवार्य दुईपटक लगाउनुर्छ । दोस्रो गर्भावस्थामा एकपटक लगाए पुग्छ । 
बच्चालाई अस्पतालमा जन्मदिँदा अपांगताबाट जोगिन धेरै सहयोग पुग्छ । जन्मिनासाथ बच्चामा केही समस्या आयो भने उपचार गर्न सजिलो हुन्छ । बच्चा जन्मिने बित्तिकै रोएन भने बौद्धिक अपांगताको समस्या आउने सम्भावना उच्च हुन्छ । बच्चालाई जबर्जस्ती औजारले तानेर जन्मदिँदा पनि चोटपटक लागेर समस्या उत्पन्न हुनसक्छ । नौ महिना पुरा नपुगी बच्चा जन्मिनु, बच्चाको तौल २.५ केजीभन्दा कम्ती हुनु, लामो समयसम्म आमालाई प्रसव व्यथा लाग्नु अथवा जन्मिने बेला आएको अन्य कुनै किसिमको कठिनताले अपांगतामा ऊर्जा थप्न सक्छ । त्यसैले बेलामै होसियार रहनुपर्छ । 
बच्चा जन्मिएपछि पनि ध्यान दिनुपर्ने धेरै कुरा छन् । जन्मिएको २८ दिनभित्रमा जन्डिस, ज्वरो, निमोनियाजस्ता रोग लागे अपांगता हुनसक्छ । त्यसैले बच्चालाई सुरक्षित र न्यानो पारेर राख्नुपर्छ । नछुटाइकन खोपको मात्रा पुरा गर्नुपर्छ । बच्चा ५ वर्षको हुँदासम्म नियमित रूपमा वर्षको दुईपटक भिटामिन ए र पोलियो थोपा खुवाउनुपर्छ । 

बच्चाको जन्म स्वस्थ रूपमा भएको छ भने पनि परिवारमा गरिबी, शिक्षाको कमी, पारिवारिक तनाव आदि कारणले जन्म पश्चातसमेत अपांगता हुनसक्छ । बच्चाले आमाको दूधदेखि लिएर उचित पालनपोषण नपाउँदा कुपोषणको सिकार बन्न बाध्य हुनुपर्छ । कुपोषणले बच्चाको सर्वाङ्गीण विकासमा प्रत्यक्ष असर पार्छ । आज हामीमा अपांगता छैन भन्दैमा भोलि हुनसक्दैन भन्ने कुनै ग्यारेन्टी गर्न सकिँदैन । जीवनको जुनसुकै मोडमा हामीले विभिन्न किसिमका अपांगताको सामना गर्न बाध्य हुनुपर्छ । त्यसले घृणा गर्नुको साटो यसलाई निम्त्याउने तत्त्व र यसको समाधानबारे जानकारी राख्नु एकदम आवश्यक छ । 

जन्मपश्चात अपांगता हुनसक्ने मुख्य कारण दुर्घटना हो । लडेर, जस्तै– रुखबाट, भर्‍याङबाट, बार्दलीबाट, ट्वाइलेटमा आदि । सवारी साधनमा भएको दुर्घटनाका कारणले शरीरका अङ्गमा चोट पुर्‍याएर अङ्गभङ्ग हुन सकिन्छ । कसैको हातखुट्टामा असर पर्छ, कसैको शरीरमा र कसैको दिमागमा असर पर्न सक्छ । विभिन्न किसिमका रोग जस्तै– पोलियो, कुष्ठरोग, हात्तीपाइले, ढाडको टिबी, रिकेट्स, हाई ब्लड प्रेसर, क्यान्सर, नशासम्बन्धी रोग, मानसिक रोग, हड्डी खिइने रोग, हड्डी पाक्ने रोग, जथाभावी ढङ्गले लागुपदार्थको सेवन आदिले हामीलाई अपांगताको मोडमा धकेलिदिन सक्छन् । बढी जाँड–रक्सी, चुरोट, ड्रग्स आदिको सेवन गर्नेहरू नशाको असरले गर्दा अपांग बन्न पुग्छन् । 

यी दुई किसिमका अपांगतालाई पूर्णतया उन्मूलन गर्न नसके पनि रोकथामचाहिँ गर्न सकिन्छ । त्यसैले यिनीहरूका बारे जनमानसलाई जानकारी दिएर समाधानको उपाय खोज्न एकदम जरुरी छ ।

अपांगताका जराहरू पत्ता लगाएर ती जरा काट्न निक्कै ठूलो कदम चाल्नुपर्ने हुन्छ । अपांगतासम्बन्धी जनचेतनामूक कार्यक्रम विभिन्न किसिमका सञ्चार माध्यमबाट प्रसारण गर्दा देशको कुना–कुनामा फैलिन्छ । नाटक, सडक नाटक, गीत, कविता, छलफल तथा अन्तरक्रिया, होर्डिङ बोर्ड, पर्चा, वाल पेन्टिङ आदि सचेतना फैलाउने प्रमुख माध्यम हुन् । यी माध्यमलाई हरेक ठाउँमा परिचालन गरेर दिलोज्यानले हामी खट्यौं भने यो अपांगता रोकथाम सम्बन्धी अभियानलाई केही हदसम्म भए पनि सफल बनाउन सकिन्छ । 

 

प्रकाशित : चैत्र १६, २०७३ ०७:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जीवनका सहयात्री सहयोगी सामग्री

बालिका थपलिया

शरीरको कुनै पनि भागमा समस्या आएर आफ्नै अङ्गले काम गर्न नसक्ने भएपछि परिस्थितिलाई सहज बनाउन व्यक्तिपिच्छे कुनै न कुनै सामग्रीको आवश्यकता पर्छ ।

ती सामग्रीलाई सहयोगी सामग्री भनिन्छ । विभिन्न प्रकारका अपाङ्गता भएकाहरूको लागि सहायक सामग्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । यिनीहरूले दैनिक जीवनका कठिनाइ समाधान गर्न सहयोग गर्छन् । अपाङ्गता नभएकाहरूले पनि अवस्थाअनुसार यस्ता सामग्रीहरू प्रयोग गर्न सक्छन् ।

दृष्टिविहीनले आफ्नो जीवनलाई केही सहज बनाउन सेतो छडी प्रयोग गर्न सक्छन् । यसलाई ट्याक—ट्याक बजाएपछि अगाडि अग्लो, होँचो, साँघुरो, फराकिलो अनि कोही आइरहेको छ कि भनी महसुस गर्न सक्छन् । उनीहरूले हिँड्ने विशेष खालको बाटोलाई ‘टेकटाइल’ भनिन्छ । यस्तो बाटो चिल्लो नभई भाग—भाग छुट्टिएको हुन्छ । सहरका कुनै—कुनै मेनरोडको छेउ फुटपाथमा यस्तो बाटो देख्न सकिन्छ । न्युन दृष्टि हुनेहरूले हेर्न सजिलो बनाउन म्याग्निफाइङ ग्लासको प्रयोग गर्न सक्छन् । कान कम्ती सुन्नेहरूले श्रवण यन्त्रको प्रयोग गर्न सक्छन् । यसलाई कानमा लगाएपछि अलिअलि सुन्न सक्छन् र सञ्चारको समस्या केहीमात्र भए पनि घट्छ । इसाराको सट्टामा दोहोरो कुरा गर्न सकिन्छ । 

उठेर ट्वाइलेटसम्म पनि जान नसक्नेहरूलाई ट्वाइलेट चेयरको सुविधा उपलब्ध गराउनसके जीवनयापनमा केही हदसम्म सरलता थपिन्छ । अग्लो ट्वाइलेट प्यानको पहुँच नभएका, घुँडा नखुम्चिने समस्या भएकाहरूका लागि पनि यो सामग्री लाभदायक सावित हुन्छ । मस्तिष्क पक्षाघात तथा मांसपेशी विचलन भएका बच्चाहरूले बस्न लगायत पढ्न र लेख्न सजिलोका लागि विशेष कुर्सीको सहयोग लिन सक्छन् । अन्य शारीरिक समस्यामा पनि यसले काम दिन्छ । त्यस्तै शरीरभन्दा उँधोको भाग चल्न नसक्ने समस्या हुनेहरूका लागि ह्विलचेयरले अग्रणी भूमिका खेल्छ । ह्विलचेयर विशेषगरी दुई प्रकारका हुन्छन् । एउटा हातले चलाएर गुडाउने, अर्को विद्युतीय शक्तिले गुड्ने । पक्षाघात भएको, मांसपेशीसँग सम्बन्धित समस्या भएको, खुट्टाको हड्डी भाँच्चिएको, नशासम्बन्धी समस्या, सन्तुलन अथवा हिँडडुल गर्न समस्या, लामो दूरी हिँड्न कठिन भएको अवस्थामा यसको प्रयोग गर्न सकिन्छ । 

तत्काल हुने चोटपटक, छोटो समयका लागि हुने चोटपटक, एउटा वा दुइटा खुट्टामा समस्या छ भने बैसाखीको प्रयोग गर्न सकिन्छ । बैसाखी पनि विभिन्न प्रकारका हुन्छन् । बाथरोगका बिरामीले पनि यसको सदुपयोग गर्न सक्छन् । कँुजोपन अथवा दुखाइको कारणले गर्दा हात, कुहिनो र नाडीका जोर्नीहरूको भार लिन नसक्ने अवस्थामा पनि हिँडडुल गर्न यसको सहयोग लिन सकिन्छ । अलिअलि हिँड्न सक्नेहरूलाई हिँडाइमा सन्तुलनमा राख्न तीनखुट्टे अथवा चारखुट्टे लठ्ठी प्रदान गर्न सकिन्छ । खुट्टामा अन्य समस्या भएकाहरूले विभिन्न प्रकारका विशेष जुत्ता लगाउन सक्छन् । खुट्टा लुला भएकाहरूले हिँड्न बनाइएका वाकर, वाकिङ फ्रेमजस्ता सामग्रीहरूलाई दैनिक जीवनमा सदुपयोग गर्न सक्छन् । बराबर लेभल भएको प्यारालाल बारको प्रयोगले पनि हिँड्ने बानीको विकास गर्न सहयोगी भूमिका खेल्छ । भर्खर जन्मिएका बच्चाहरूलाई हिँड्ने बानीको विकास गराउन वाकरको सहयोग लिने चलन बढिरहेको छ । यदि कुनै पनि व्यक्तिको एउटा खुट्टा छैन भने कृत्रिम खुट्टा पनि लगाउन सकिन्छ । हात छैन भने कृत्रिम हातको प्रयोग गर्न सकिन्छ । कुनै खुट्टा छोटो भएमा सुज राइजको (जुत्ताको उचाइ बढाउने) सहयोग लिँदा हिँडाइमा सन्तुलन मिल्छ र ढाड दुख्ने सम्भावना कम हुन्छ । 

सहायक सामग्रीहरू प्रयोग गर्ने निश्चित नियम हुन्छ । जथाभावी प्रयोग गर्‍यो भने समस्या बढ्छ । पहिला—पहिला काठका मात्र सामग्रीहरू पाइन्थे । ती चलाउन सजिला थिएनन् । तर अहिले धातु अथवा रबरका आधुनिक खालका, आवश्यक परेका बेला साइज घटाउन/बढाउन, होँचो/अग्लो बनाउन मिल्ने खालका हुन्छन् ।

यिनीहरूलाई प्रयोग गर्ने विधि जानेर मात्र चलाउनुपर्छ । नत्रभने शरीर अझ बढी असन्तुलित हुन्छ । समग्रमा सहायक सामग्रीहरूलाई जीवनको लागि सहयात्रीको रूपमा लिन सकिन्छ । फरक—फरक प्रकारका अपाङ्गताको लागि यिनीहरू दैनिक साथी बन्न पुगेका छन् । तर यिनीहरूबारे धेरैले जानकारी लिन पाएका छैनन् र साथसाथै सुविधा पनि भोग्न पाएका छैनन् ।  

प्रकाशित : माघ २०, २०७३ ०८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT