१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उत्तरायण, धूलो र रंगमञ्च

अभि सुवेदी

चैत १९ गते सर्वनाम थिएटरमा यसै नाट्य संस्थाका कलाकार राज शाहले लेखेको र निर्देशन गरेको ‘बुख्याँचा मन’ नामको नाटक हेर्न गएको थिएँ । अशेष मल्लले ‘आज हामीले सर्वनाम बनाएको पैंतिसौं वर्षको दिन हो’ भन्दै मलाई पनि नाम लिएर त्यो साझा स्मृतिमा आबद्ध गराए । म एकाएक भावुक र किञ्चित चकित भएँ ।

उत्तरायण, धूलो र रंगमञ्च

म नाटक हेर्न त्यही बेला पुगेको सञ्जोग थियो वा बालकृष्ण समले भनेजस्तो ‘नियमित आकस्मिकता’ थियो, भन्न सकिन । अशेषले थपे, ‘हाम्रो रङ्गमञ्चको प्रजातन्त्र र मानिसको मुक्तिको निम्ति काम गरेको इतिहास छ ।’ मलाई थाहा छ, यो सम्पूर्ण कालभरिकै म पनि त्यसको एकजना साक्षी छु ।

मैले सर्वनामका धेरै नाटक हेरेँ, यसका सेमिनार र छलफलमा सामेल भएँ । अनेक समीक्षा र लेख लेखेंँ । म त्यहाँ बस्ताबस्तै भावुकताबाट इतिहाससँग संवाद गर्न पुगेंँ । राजको नाटक दलित विषयमाथि चल्दै गयो । तिनको नाटक गर्ने र लेख्ने तरिका मलाई मनपर्‍यो । दलित पात्रलाई ल्याउने बित्तिकै उसलाई एउटा निरीह मानव, प्राचीन रोमको ‘होमो सासर’जस्तो शिर झरिसकेको मानिसको रूपमा चित्रण गरिन्छ । एउटा मानिस हुँदै हारिसकेको पात्रजस्तो चित्रित हुन्छ, दलित । तर काजीसँग मित्रता गरेर आफ्नो व्यक्तित्वलाई आत्मविश्वास र प्रतिष्ठाबाट जीवन्त बनाउने दलितलाई राजले मूलपात्र बनाएका छन् । राजले अभिनय गरेको त्यो मानिसको छोरा काजीकी छोरी लिएर भागेपछि समाजसँग लड्ने अवस्थामा दमाहा जोडजोडले एकतमाससँग बजाएर उनले गरेको अभिनय अब्बल छ । मलाई बेर्टाेल्ट ब्रेख्तको ‘मदर करेज’ नाटकमा आफू अलग्गिएको कुरालाई विद्रोह गरी नगरा बजाएर सहर थर्काउने मदर करेजको सम्झना भयो ।

राजले यो नाटकमाथि केही ठाउँमा अझै काम गर्नुछ । ऊ विद्रोह गर्छ, तर काजीसँगको सहजतालाई उसले गुमाएको छैन । आज नेपालको राजनीतिले धेरै बहस जन्माएको छ । धेरै संशोधनका कुरा उठेका छन् । तर दलितको अति आवश्यक मौन विद्रोह र उनीहरूको मानवीय मर्यादामाथि दलहरूका, संविधान र समाजका कार्यक्रम मौन छन् । केही छन्, तर पुग्दैनन् । 

अशेष भाइ नेपाली काङ्ग्रेसको नजिकका मानिस थिए । मलाई सबै सम्झना हुन्छ, तर तिनले त्यस भित्रको लोकतान्त्रिक चिन्तालाई वरण गरेर रङ्गमञ्च बनाए । अब बनिने नेपाली समाज कस्तो हुनेछ, अनि लोकतान्त्रिक मूल्यहरू कस्ता हुनेछन्, कल्पना गरेर कुनै एउटा चित्र बनाउन सकिँंदैन ।

रङ्गमञ्चलाई नै लिएर मानिसको स्वतन्त्रता, लोकतन्त्रले दिएको अवस्था वाचाल बनाउने प्रयास गरेका छन्, सर्वनामजस्तै अरू रङ्गसाधकहरूले पनि । तर अहिले लोकतन्त्रका आधारहरू छन् पनि छैनन् पनि । ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’, कवि ईश्वरवल्लभ दाइको किताबको शीर्षकले पहिले नै भनिसकेको कुरा हो । विश्वेश्वरप्रसाद कोइरालालाई लिएर कुरा गर्नुपर्छ । यो देशका मानिसको मुक्तिको कुरा गर्न जस्तोसुकै भए पनि स्थापित गरिएको अदालतलाई स्वीकार गरी बीपी बयान दिन गएका थिए ।

तिनले अप्रिल ९ देखि मे १७, १९७७ सम्म आफूले अदालतको सम्मान गरेकाले देखाए, किनभने लोकतन्त्र र अदालतको सम्बन्ध बलियो छ । स्वतन्त्र अदालत लोकतन्त्रको आत्मा हो । डोनल्ड ट्रम्पको मुड्याहा आदेशलाई संघीय अदालतले खारेज गरेको देख्यौं । हामीले बीपीको अदालतको बयानमा त्यही कुरा देखाउन २०७२ सालको भदौ र असोजमा ‘सान्दाजुको महाभारत’ नाटक गर्‍यौं । प्रस्ट छ, नेपालमा उनको दल र अरूले पनि यो बीपीले भनेको सम्बन्धलाई तोडेको दिन लोकतन्त्र सकिनेछ । अशेष त्यही रङ्गकर्मीले बुझेको र अभिनय गरेको मुक्तिको समयलाई सम्झाएर निस्के । नाट्य एकेडेमिक मेघराज अधिकारी र मैले त्यसैसँग जोडेर नाटक हेर्‍यौं र छलफल गर्‍यौं । 

इतिहासकार हेडेन ह्वाइटले ‘ट्रपिक्स अफ डिस्कोर्स...’ भन्ने किताबमा भनेझैं अहिले नेपालको इतिहास बनिँदैछ, जसमा माक्र्सवादी, लोकतन्त्रवादी, समाजवादी, पुरातनवादी सबैले देखेको इतिहासवादका कुरा त्यो सबैले बुझेर लेखिने इतिहासमा आउँछन् । अहिले नेपालमा क्रान्तिकारी, पुरातन संरचनावादी, लोकतन्त्रवादीहरू सबै मिसिएर काम गर्दैछन् । लोकतन्त्रको यो राम्रो अभ्यास हो, मान्नुपर्छ । तर इतिहासको गति कसले कतातिर लाने हुन्, अहिले नेपालमा सबैभन्दा अनिश्चित विषय भएको छ । 
ह्वाइटको विचारमा यस्तो खिचातानी साधारण इतिहासको निर्णायक मोड हो, इतिहासवादको होइन ।

अहिले हामी कहींको टनेल कति किलोमिटर छेडिन बाँकी छ भन्ने सधैंभरि उठेका कुरा गरेर त्यो खुल्ने आशामा अनन्त धुलोभित्र निस्सासिएर बसेका छौं । त्यो अमूक टनेल खुल्ने प्रतीक्षामा भएका सडकहरू पनि भत्काइसक्यौं, खनिसक्यौं । कहींबाट त्यो खुल्नेछ, बाबु हो, खुल्नेछ भन्ने अभिव्यक्ति र खुल्न त खुल्ला नि भनेका प्रश्न सुन्छौं । यो परिस्थितिमा अर्कातिर पनि टनेल छन् । ती हामी देख्दैनौं । ती हामीले नदेखका टनेलहरूमा अर्बौं रुपियाँको कारोबार हुन्छ, अनि त्यहाँ शक्तिका सम्झौता हुन्छन् । 

एउटा आफ्नो पढ्ने अभ्यासको कुरा राख्छु । म एक पटकमा निकैवटा किताब एकैसाथ पढिरहेको हुन्छु । अब त यस्तो लाग्छ, एउटामात्र किताब लिएर त्यसमा मात्रै डुबेर पढ्नु खासै गम्भीर कर्मजस्तो लाग्दैन । यसपालि यसै सञ्जोगले ढड्डु र मसिना किताब परेका छन् । ‘इमोसन्स इन रिचुअल्स...’, ‘नेपाली पेन्टिङ्स (चित्रकार)’, ओम श्रेष्ठ रोदनको निबन्ध संग्रह ‘भनौं कि नभनौं’, खगेन्द्र केसीको ढड्डु आत्मसंस्मरण ‘२००७ सालको क्रान्ति र २०१७ सालको कू’ छन् ।

त्यस बाहेक आफूले मुक्त हुन पढ्ने जेन काव्य र पल सेलानका कविता सिरानी छेउमा राखेकै हुन्छु । तर कहिलेकाहीं म अखबारका लेख र समाचारका शीर्षक हेरेर पछि पढ्न राख्छु र केही दिनपछि पढ्छु । ती शीर्षक र तिनमा रहेको विषयमा कहिलेकाहीं आनकातान फरक पर्छ । तर मेरो मनमा अमूक शीर्षकले मात्रै पनि त्यो नपढिन्जेल अनेक विचारका चक्रवात उठाइरहन्छ । यो एउटा रमाइलो कुरा पनि हो र एउटा सिर्जनशील द्वन्द्व पनि हो । अक्षर र मौनताको सम्बन्ध अनौठो हुन्छ । कहिलेकाहीं पढेर पनि त्यो चिरिंँदैन, कहिले पेटबोली नपढिकन शीर्षकले थाहा हुन्छ । त्यो कुरा अर्कै हो । तर यसपालि मेरो मनमा अक्षर र मौनताको द्वन्द्व अनौठो किसिमले चलिरह्यो । सुधीर शर्माको ४ चैत, २०७३ को कान्तिपुरमा प्रकाशित एउटा लेखको शीर्षकले मलाई समात्यो । शीर्षक थियो, ‘प्रचण्डको उत्तरायण’ ।

त्यसैगरी सञ्जीव उप्रेतीको लेख ‘दंगल मनोविज्ञानको मार’ (कोसेली, फागुन २१) र एउटा यस्तै ‘नगरकोटीका १८ नेता’ भन्ने शीर्षकहरूले मलाई पहिले पनि झुक्याएका थिए । नगरकोटीको उपन्यास ‘मिस्टिका’को विमोचनको खबर रहेछ, भदौ २०७२ सालको । सोचेको थिएँ, सञ्जीवले फिल्ममाथि यसपालि लेखेछन्, किन यसरी लेखे, त्यो पनि अमूक हिन्दी फिल्ममाथि भन्ने ठानेको थिएँ । पढेपछि थाहा भयो, त्यो लेख यही साल फागुनको दोस्रो साता काँकडभिट्टामा रिडर्स झापाद्वारा आयोजित तेस्रो कला साहित्य उत्सवमा उनले पाएको अनुभवमाथि लेखिएको रहेछ । मानिसको आफ्नो विचारको उच्चताबारे जुधेर जित्नैपर्ने मनोग्रन्थिलाई राख्न सञ्जीवले त्यो फिल्मको उपमा भनौं मेटाफोर प्रयोग गरेका रहेछन् । 

तर सुधीर शर्माको शीर्षकले मलाई निकै दिन हल्लायो । टेबुलको एक छेउमा त्यो लेख राखेको थिएँ । हरेक पटक शीर्षकसँग मेरा आँखा जुध्थे । भीष्म उत्तरायण पर्खेर बसे । त्यो समयमा भीष्मले महत्त्वपूर्ण राजनीतिक ज्ञानका कुरा सुनाए । शान्ति पर्वमा भनिएका कुरामा युद्धभन्दा ध्यान र ज्ञानको कुरा बढी थियो । महाभारतको यो खण्डमा बुद्ध धर्मको प्रभाव सिधै देख्नेमध्ये भारतका विद्वान आशिष नन्दी पनि हुन् । अनि प्रचण्डलाई भीष्मको पाठमा राखेर कल्पना गरेंँ । लेख अझै पढेको थिइन । सुधीरले भनेका होलान्, विचार गरेंँ, यी प्रचण्डले पनि अनेक पटक विवेक र कर्मको द्वन्द्वमा परेर समर क्षेत्रमा काम गरे ।

प्रचण्डको पनि शान्ति पर्व आरम्भ भयो । यिनले पनि आफूले देखेको भविताको कल्पना, एउटा माओका सैद्धान्तिक काल्पनिकीमा देखिएको समाजको रचना गर्ने कल्पनाभन्दा अलग राजनीतिक बाटो लिए । प्रचण्डले पनि भीष्मले जस्तै कति कुरा हेरेर पनि देखेनन् । मैले यस्तो पनि कल्पना गरेँ, सायद सुधीरले भनेका होलान्, अब प्रचण्ड ज्ञान र कर्मको गोधूलीमा प्रवेश गरे । अब मानिस यिनकोमा शान्ति र मुक्ति विषयमा ज्ञानका कुरा सुन्न भेला हुनेछन् । तर लेख पढेपछि थाहा भयो । यो उनको चीन भ्रमणको विषयमा लेखिएको रहेछ । मेरा कल्पनामा प्रचण्डको अवतार योभन्दा बढी रञ्जित थियो । 

प्रचण्डको उत्तरायणले उनलाई भीष्म बनाउँदैन, नत अघिका क्रान्तिकारी र लोकतन्त्रवादी नै भीष्म भए । दक्षिणायनको कुरा पनि उठ्छ । मैले यही बीचमा प्रमोद मिश्रले लेखेको एउटा राम्रो लेख ‘काठमाडौं पोस्ट’ (मार्च ३०, २०१७) मा पढेंँ । तिनले सल्लाहका रूपमा निकै कुरा भनेका छन् । प्रमोद भन्छन्, नेपालले असली हिन्दुस्तान हुने असम्भव प्रयास नगर्नु, त्यो हुनै सक्तैन । अनि यसले कल्याण पनि हुँदैन ।’ यसरी यो पन्ध्र दिनको पाठ महायात्रामा मलाई नेपाली इतिहासको रङ्गमञ्चभित्र पसेको अनुभव भएको छ ।

प्रकाशित : चैत्र २१, २०७३ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?