कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नश्लवादको संकीर्णता

मेखराज परियार

वर्तमान समय र सन्दर्भमा नेपाल राष्ट्रको स्थायित्व, दिगो विकास, स्थायी शान्ति र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ भन्ने बहसको थालनी गर्ने बेला भैसक्यो । मुलुकले प्राप्त गरेका उपलब्धि जनाधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानता र समानुपातिक समावेशीकरण, विधिको शासन, न्याय स्वतन्त्रता, जनतामा निहित सर्वाभौमसत्ता जस्ता महत्त्वपूर्ण अधिकार सहितको संविधान कार्यान्वयन गरी राष्ट्रको अग्रगामी भविष्य निर्माण गर्ने मार्गमा अघि बढ्नु जरुरी छ ।

नश्लवादको संकीर्णता

त्यस दिशातर्फ राजनीतिक दल, नागरिक समाज, सरकार र मातहतको शक्ति सचेत हुनैपर्ने बाध्यता छ । नेपाल र नेपाली जनताको सुन्दर भविष्यको रूपरेखा यसरी नै कोरिने र ग्यारेन्टी गर्नैपर्ने स्थिति छ । समृद्धि फगत कोरा राजनीतिक नाराले प्राप्त हुन सक्दैन । आत्मनिर्भर, सम्पन्न, शक्तिशाली, जनप्रेमी, स्थायी, सक्षम राष्ट्र निर्माण प्रमुख सर्त हो । हामी मुलुकको समृद्धिका निम्ति संकीर्णताबाट मुक्त हुन जरुरी छ ।

नश्लीय संकीर्णता
हाम्रा सबै जातीय मुक्ति आन्दोलनले नश्लीय पहिचानको खोजी गरिरहेका छन् । जाति, जनजाति, दलित, लोपोन्मुख जाति, बञ्चित वर्ग–समुदाय, सीमान्तकृत जाति, क्षेत्रको आवाज, आन्दोलन र मुक्ति संघर्षले सफलताको मृगतृष्णा त देखेको छन् । तर समानता र समावेशीकरणको मूल एजेन्डा नश्लवादलाई समाप्त गर्नेभन्दा स्थापित गर्ने किसिमको देखिन्छ । जातीय र नश्लीय विभाजन, उच्च र नीचको गलत परम्परा, गैरमानवीय भावना र व्यवहार बोकेर, राष्ट्रको समृद्धि भन्नु दिवास्वप्ना मात्रै हुनेछ । मानव नै जात, मानव नै धर्म, मानव नै वर्ग, क्षेत्र, समुदाय र पहिचान हो । यस प्रकारको मूल धारा निर्माण गरी अघि बढ्न ढिला हुँदैछ । 

हिन्दु वर्णाश्रम जातीय व्यवस्थाले कामको आधारमा वर्ग विभाजन गर्‍यो । त्यही कामको विभाजनलाई षड्यन्त्रपूर्वक ‘नश्ल’मा परिणत गरी विभेदी कानुन निर्माण गरी जातीय क्रूरता लादिएको हो । उत्पत्तिको हिसाबले भिन्न स्थानबाट आएका मानिस फरक मातृभाषा, चालचलन, बनोट, संस्कार, मान्यताबाट प्रभावित हुनपुगे । त्यो त प्रकृति, संस्कृति र राजनीतिको कारणले पारेका प्रभावमात्रै हुन् । विज्ञानले मानवको फरक र भिन्न–भिन्न नश्ल भेट्टाउँदैन । त्यो कृत्रिम, भ्रम र षडयन्त्र मात्रै हो । नश्लवाद जातीयवादभन्दा खतरनाक छ । 

रूपरंग, कद बनोट, लवज प्राकृतिक हुन् । वर्ण, मूल्य, मान्यता, परम्परा, संस्कृति, राजनीति र आचरण इत्यादि कृत्रिम र मानव सिर्जित हुन् । खुला, विभेदरहित, समानता, मानवतावादी समाज र राष्ट्र निर्माणमा अब नजुटे कहिले जुट्ने ? संकुचित नियन्त्रित कुनै एक आस्था र मान्यतालाई प्रोत्साहन गर्ने, एक नश्ल या जातिको बर्चस्य स्वीकारेर लोकतन्त्र जीवित रहँदैन । नियन्त्रित शासन व्यवस्थामा लोकतन्त्रको जीवन होइन, मृत्यु हुन पुग्छ । श्रम र सीप, ज्ञान र विवेक, बुद्धि, कला, मानवता, भावना सबै मानव हुनुको गुण हुन् । 

भाग्यवाद र भ्रमको संकीर्णता
मुलुकको संविधान ऐन, कानुन र व्यवस्थाले जातीयवादमा नश्लवाद अन्त्य गरेको छ । त्यति मात्रै होइन, कुनै पनि जातिले थर परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ । कथित दलित या विभेदमा पारिएका जातिका व्यक्तिले आफ्नो नागरिकतामा अन्य थर लेखाउन पाउने व्यवस्था प्रगतिशील हो । यो विशेष अवसर पनि हो । भाग्यवाद, रुढीवाद, कुसंस्कारबाट ग्रसित समाजमा दमाई, कामी इत्यादि थर लेख्न र भन्न नछाड्ने या त्यसैलाई पहिचान मान्ने प्रवृत्ति गलत हो । नीच बुझाइ पनि गौरव या पहिचान हुनसक्छ ? थर परिवर्तनलाई सदुपयोग गर्नु जरुरी छ । 

युगौंदेखि एउटा चर्चित मान्यता बोकाइएको छ । जातीय उच र नीच त कर्म (काम) को आधारमा हुन्छ, जन्मको आधारमा होइन । यही सत्य हो भने कुनै पण्डितले आफ्नो सन्तानलाई कर्मको आधारमा शूद्र घोषणा गरेको र शूद्रलाई शिक्षादीक्षाको आधारमा पण्डित घोषणा गरिएको भारत वर्षमा कुनै उदाहरण छैन । त्यसकारण अब जात या थर परिवर्तन पण्डितले होइन, आफै गर्न पाउने व्यवस्था भएको छ । थर व्यक्तिको अधिकार र स्वेच्छा हो । यस विषयलाई कानुनले मान्यता दिएको छ । प्रश्न उठ्छ, यस पंक्तिकारले आफ्नो कति पुस्तालाई दलित थरले विभेदी बनाइराख्ने ? परिवर्तन गरे २–३ पुस्तापछि विभेद आफैं समाप्त भएर जानेछ । मिहेनत र परिश्रमको सट्टा भाग्यवादमा भरोसा राख्ने हो भने हाम्रो उन्नति सम्भव छैन । भाग्य आफैं निर्माण गर्ने हो, कर्म गरेर । 
आफू कमजोर, असक्षम, अबला हुँ भन्ने भावनाको विजारोपण रोक्नुपर्छ । जन्म त केवल मानवको भएको हो । तर विभेदी, सामन्ती, परम्परा र शासन पद्धतिले श्रेणी बनाएको छ । त्यसलाई आफैं र आफ्नै जीवनमा परिवर्तन गर्ने अठोट गर्नु जरुरी छ । मिहेनत परिश्रम, ज्ञान, सीप, सद्भाव, उद्यमशीलताले मानिसलाई सक्षम र सफल बनाउँछ, नकि भाग्यमा जे छ, त्यही !

क्षेत्रीय अतिवादको संकीर्णता
अमूक जाति शासक हुने, तिनको सन्तान–दरसन्तानको जन्मजात शासनमा अधिकार रहने सामन्ती व्यवस्था अन्त्य भइसक्यो । अब योग्यता, क्षमतामा मात्रै शासन गर्ने अधिकार प्राप्त हुन्छ । वंश, नश्ल, कुलघराना र प्रवृत्तिको निरन्तरता या शासक बन्ने आकांक्षा कोही कसैले पाल्न जरुरी छैन । छायामा परेका केन्द्रका नजरमा दुर्गम लाग्ने क्षेत्रको अब बन्ने संघीय शासन प्रणाली, प्रदेश सरकार, स्थानीय सरकारले समानुपातिक विकास गर्नेछ । केन्द्रीकृत शासन पद्धतिको विस्थापन गरी संघीय शासन पद्धति यसैकारण लागु गरिएको हो । मधेस, हिमाल र कतिपय पहाडले क्षेत्रीय रूपमा अपहेलित र अविकसित हुनपुगेको गुनासो समाप्त हुनेछ ।

क्षेत्रीयताभित्र पनि नश्लीय संकीर्णता छ नै, जहाँ नश्लवादको सकीर्णता छ, त्यहाँ समानता, मानवता समाप्त हुने गर्छ । धर्म, जाति, वंश इतिहास, देउता या यस्तै भ्रमको आडमा नश्लीय संकीर्णता लाद्न सामन्तहरू अझै सफल भइरहेकै छन् । सहिद, वीर–वीराङ्गनाको रगत–पसिनाबाट प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई समृद्धितर्फ अघि बढाउन अब सबै किसिमको संकीर्णतालाई त्याग्ने हिम्मत गर्नुपर्छ । मानवअधिकार, शान्ति, समानता, विभेदबाट मुक्ति, शोषण, दमन, हिंसारहित समाज निर्माणका निम्ति अबको पुस्ता र समग्र राष्ट्र अग्रसर नहुने हो भने फेरि पनि अन्त्यहीन द्वन्द्वमा मुलुक फँस्ने निश्चित छ । न्यायमूलक, विधिको शासन, समानतामूलक समाज र राष्ट्रले मात्रै प्रगतिको पथमा अघि बढ्न सक्छ । 

प्रकाशित : चैत्र २३, २०७३ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?