१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपालसँग छिमेकीका गुनासा

टीका धमला

हाम्रो अस्थिर राजनीतिले गर्दा चीन र भारतको द्वन्द्वको कारण नेपाल कदापि नबनोस् ।

नेपालसँग छिमेकीका गुनासा

कुनै पनि देशको आन्तरिक सुरक्षा र समग्र विकासको लागि छिमेकी देशहरूसँग सुमधुर सम्बन्धको विशेष भूमिका रहने गर्छ । उदाहरणका लागि स्वीट्जरल्यान्डलाई लिन सकिन्छ । युरोपका साना राष्ट्र मध्येको एक स्वीट्जरल्यान्ड आन्तरिक रूपमा आफ्नै परिवेशको स्थायी राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले गर्दा तथा फ्रान्स, जर्मन, इटाली, अष्ट्रियाजस्ता छिमेकीहरूसँग समान व्यवहारबाट एक विश्वासिलो मुलुकका रूपमा रहेको सर्वविदितै छ । एसियाका दुई उदीयमान राष्ट्र चीन र भारतको बीचमा रहेको तथा आफ्नो छुट्टै पहिचान भएको नेपालमा आएको अस्थिरताबाट भने दुबै छिमेकीहरू चिन्तित देखिएका छन् । 

केही दिनअघि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा भए–गरेका कुराहरूबाट नेपालको राजनीतिमा एउटा नयाँ तरंग आएको छ । चिनियाँ सैन्य आयोगका सदस्यसमेत रहेका रक्षामन्त्री च्याङ वान क्वानसहितको भ्रमण टोलीसँग २०७३ चैत १० गते रक्षामन्त्री सहितको द्विपक्षीय औपचारिक छलफलमा उठेका कुराहरूबाट चीनको विशेषगरी सुरक्षाका मामिलामा नेपाल सरकारप्रति गुनासो भएको देखिन्छ । हालका ठूला दल र नेतृत्वप्रति संकेत गर्दै चिनियाँ रक्षामन्त्रीले स्वर्गीय राजा वीरेन्द्रको सबल नेतृत्वको पटक–पटक प्रशंसा गरे । हालका ठूला दल र नेतृत्वले ‘एक चीन नीति’प्रति जतिसुकै प्रतिबद्धता जनाए तापनि चिनियाँ पक्षबाट यसमा विश्वास र भरोसा गरिएको देखिएन । बरु राजा वीरेन्द्रको छिमेकीहरूसँगको व्यवहारमा, क्षेत्रीय राजनीतिक सन्तुलनमा र विश्व राजनीतिमा पनि देखिएको सन्तुलित र दरिलो अडानले नेपालको समग्र विकास र राष्ट्रियताको लागि अहम् भूमिका रहेको खुलासा गरे । यसका साथै भारत निर्वासित दलाई लामाका समर्थक खम्पाहरूले नेपालको उत्तरी भूमि प्रयोग गरी चीनविरुद्ध बिभिन्न क्रियाकलाप गर्दा राजा वीरेन्द्रबाट बाह्य शक्तिको दबाब हुँदाहुँदै पनि खम्पाविरुद्ध नेपाली सेना प्रयोग गरी नि:शस्त्रीकरण गराइएको चर्चा गर्दा नेपाली पक्ष नाजवाफ भएको प्रसंग केही सञ्चार माध्यममा आइसकेको छ । 

चीनले नेपाललाई पहिलादेखि नै सामरिक दृष्टिकोणबाट आफ्ना एक दर्जनभन्दा बढी छिमेकी देशहरूमध्ये विशेष महत्त्वको मान्दै आएको पाइन्छ । यसै सन्दर्भमा माओत्सेतुङले चीनको समग्र विकासका लागि ‘तिब्वत चीनको लागि हातको हत्केला हो भने नेपाल, सिक्किम, भुटान, लद्दाख र अरुणाञ्चल हत्केलाका पाँच औंलाहरू हुन्’ भनेका थिए । आजसम्म पनि चीनले यो सोच बिर्सेजस्तो लाग्दैन । 

आजको दिनमा नेपाल चीनको लागि सुरक्षाको दृष्टिकोणबाट कति महत्त्वपूर्ण छ भन्ने कुरा चीन सरकारलाई सल्लाह दिने चाइनिज पिपुल पोलिटीकल कन्सल्टेटिभ कन्फरेन्सका विदेश मामिलाका सदस्य हुआङ योईले ५ माघ २०७३ मा नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्ताबाट पनि केही कुरा झल्कन्छ । उनले भनेका छन्, ‘चीनको वान बेल्ट वान रोड रणनीतिमा नेपालको स्थान उच्च छ ।’ यस्तै उनले भारततर्फ अंकित गर्दै भनेका छन्, ‘नेपालले एउटा छिमेकीसँग मात्रै सम्बन्ध राखोस् भन्ने हिसाबले कसैले पनि हेर्न हुँदैन... नेपालको उत्तरी छिमेकमा चीन पनि छ भन्ने कुरा भारतले बुझिदिनुपर्छ ।’ यी अभिव्यक्तिबाट चीन नेपालमा अहिले भइरहेको अस्थिर र असहज परिस्थितिलाई टुलुटुलु हेरेर नबस्ने संकेत देखिएको छ ।

चीनझैं दक्षिण छिमेकी भारत पनि २०६२/६३ पछिको नेपालका राजनीतिक दल र नेतृत्वहरूप्रति चिन्तित र निराश रहेको कैयांै अभिव्यक्तिहरू आएका छन् । आफ्नो पहिलो नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा व्यक्त गरेका कुराहरू, नयाँ संविधान बन्दाका बखत र संविधान जारी हुँदाका बेलासमेत भारतका कैयौं गतिविधिबाट धेरै कुराहरू स्पष्ट भएका छन् । संविधान जारी भइसकेपछि क्षेत्रीय, जातीय, भाषा र अन्य कुराहरूबाट नेपालमा दिनानुदिन चर्कंदै गएको आन्तरिक द्वन्द्वले दक्षिणी छिमेकी पनि चिन्तित भएको पाइन्छ । 

२०६२/६३ पछि केही कुराहरू भने स्पष्ट भएका छन् । पहिलो कुरा, २००७ देखि २०६३ सालसम्म आइपुग्दा राजसंस्था हुँदाका बखत कुनै पनि राजाहरूले विशेषगरी राष्ट्रियताको सवालमा देशले हार्नेगरी कहिल्यै कसैसँग सौदाबाजी गरेनन् । दोस्रो कुरा, पञ्चायत कालदेखिका र विशेषगरी २०४७ पछिका विभिन्न दलका नेतृत्वहरूले नेपालको समग्र विकास गर्न र छिमेकी देशहरूसँग विभिन्न रूपमा सम्बन्ध बढाउन खोज्दा राजा बाधक भए भन्ने कुरा भित्री र बाहिरी रूपमै गुनासो गरेको सुनिन्थ्यो । तर आजको दिनमा आएर हेर्दा त्यो वास्तविकता होइन रहेछ भन्ने स्पष्ट देखियो । तेस्रो कुरा, छिमेकी र केही अन्य अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले पनि नेपालमा विभिन्न निकायमा विकास गर्ने निहुँमा सम्मिलित हुनखोज्दा राजनीतिक दल र नेतृत्वहरू सहमत हुने तर राजा बाधक भए भन्ने आशय यदाकदा देखिन्थ्यो । त्यो पनि होइन रहेछ भन्ने कुरा आज स्पष्ट हुँदै गएको छ ।

सरसर्ती हेर्दा नयाँ संविधान जारी भएपछि आजसम्म आइपुग्दा समस्या संविधानभित्रै देखिएको छ । हामी सबै नेपालीको चिन्ता र छिमेकीहरूको गुनासो नयाँ संविधान कार्यान्वयन हुन नसकेकै कारणले गर्दा हो । संविधान सरसर्ती पढ्दा जति राम्रो लाग्छ, कार्यान्वयन गर्न खोज्दा द्वन्द्व बढ्दै जाने देखिन्छ । संविधान जारी भएपछि नेपालको एउटा सिंगो राष्ट्रवाद हुनुपर्नेमा तराईको राष्ट्रवाद, पहाडको राष्ट्रवाद, हिमालको राष्ट्रवाद, खस–आर्यको राष्ट्रवाद, जनजातिको राष्ट्रवाद इत्यादि देखियो । त्यस्तो राष्ट्रवादभित्र खेलिरहेका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू नेपाली राजनीतिमा मात्र असर नपारी नेपालको सामरिक महत्त्वलाई प्रयोग गरी एसियाकै राजनीतिलाई नियन्त्रण गर्न खोजेको संकेतहरू पनि देखिएका छन् । एसियाको राजनीतिमा मात्रै नभई भूराजनीतिमै नेपालको सामरिक महत्त्व विभिन्न कारणहरूले गर्दा बढ्दै गएको देखिन्छ । यसैकारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालमाथि प्रभुत्व जमाउन बिभिन्न उपायहरू अपनाएको संकेतहरू देखिएका छन् । यसै भएर होला, हाम्रा दुबै छिमेकीले नेपालप्रति विशेष चासो र गुनासाहरू खुल्ला रूपमै व्यक्त गर्न थालेका छन् । 

एकातिर छिमेकीहरूको गुनासो बढ्दै गएको छ, अर्कोतिर नेपालको सिंगो राष्ट्रियता कमजोर भई आफ्नै परिवेशको सामाजिक संरचना भत्कँदै गएको छ । यसलाई सच्याउन हामी कसैले पनि हारजितको कुरा नगरी बृहत रूपमा सर्वपक्षीय छलफल गरी सबै अटाउने ढंगले संविधानका मूलभूत विषयमै संशोधन गर्नुपर्ने देखिन्छ । यसो नगरी जबर्जस्त रूपमा यही संविधान लागु गर्न खोजिएमा हाम्रो आपसी द्वन्द्वलाई प्रयोग गरी नेपाल क्षेत्रीय शक्तिको मात्र नभई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको पनि फुटबलको मैदान नहोला भन्न सकिन्न । भोलिका दिनमा यसमा नेपाल, भारत र चीन तीनै पक्ष सचेत हुनैपर्छ । 

धमला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।

प्रकाशित : चैत्र ३०, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?