३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रस्ताव फिर्ता होस्

गौरीबहादुर कार्की

अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ति विरुद्धको विवादमा ३१ भदौ २०७३ मा प्रधानन्यायाधीश सुशीला कार्की समेतको पूर्ण इजलासले पुनरावलोकन गर्ने अनुमति प्रदान गरेदेखि नै सुशीला कार्कीमाथि सत्ताधारी दलहरू रुष्ट हुन थालेका हुन् ।

प्रस्ताव फिर्ता होस्

लोकमानमाथि महाअभियोग दर्ता भए तापनि अगाडि बढाउने कुरामा राजनीतिक दलहरू उदासीन रहे । लोकमानलाई सर्वोच्चले अयोग्य ठहर्‍याएपछि आफ्नो नाक जोगिएको भनी प्रधानमन्त्री प्रचण्डले निल्नु न ओकल्नु भएको महाअभियोग सम्बन्धमा प्रतिक्रिया दिनुभएको थियो ।

सर्वोच्चले लोकमानलाई अयोग्य हुने ठहर्‍याएपछि बिचौलिया, दुई नम्बरी, राज्यस्रोतमा हालीमुहाली गर्नेहरू तिलमिलाउन थाले । जुन स्रोतले लोकमानलाई प्रमुख आयुक्तमा नियुक्ति गरायो, अहिले तिनीहरू नै सुशीला कार्कीको भ्रष्टाचारमा असहनशीलताले स्वार्थ सिद्ध हुन नसकेकोमा एकजुट भएर महाअभियोगको हतियार प्रयोग गर्न सफल भए । महाअभियोग विशुद्ध राजनीतिक कारणले आएको छ । यसमा देखाइएका कारणहरू पनि सतही र आधारहीन छन् ।

भ्रष्टाचार र सुशासन विरुद्धका मुद्दामा सुशीलाका पालामा थालिएका कदमले सत्तासीनहरूमा ज्वरो फुटेको देखियो । एक वर्षयता एक तिहाइ भ्रष्टाचार मुद्दा किनारा लगाइयो । उनी निवृत्त हुनुअघि नै केही भ्रष्टाचार मुद्दा पेसीमा लाइनमा छन्, ती मुद्दालाई प्रभावित पार्ने गरी महाअभियोग ल्याइएको छ ।

सुशीला कार्कीले भ्रष्टाचार मुद्दामा असहनशीलता देखाएपछि नेपाल बार, लोकमान लगायत प्रहरी प्रमुखका मुद्दाका जयबहादुर चन्द पक्षका वरिष्ठ अधिवक्ताहरू र महान्यायाधिवक्तासमेत कांग्रेस सभापतिकहाँ प्रधानन्यायाधीशविरुद्ध उजुर गर्न गएका थिए । प्रधानन्यायाधीश वा कुनै न्यायाधीशउपरको उजुरी सुन्ने निकायको रूपमा राजनीतिक दल र उसका सभापतिलाई बनाइयो । त्यही उजुरी नै महाअभियोगका रूपमा परिणत हुन पुग्यो ।

अदालत भित्रको इजलास तोक्ने कुरामा पनि मुद्दाका पक्ष र राजनीतिक दलको निर्देशनमा नगरेकोमा सुशीला दोषी हुन पुगिन् । अमुक मुद्दामा अमुक न्यायाधीशलाई राखिनुपर्ने भन्ने मुद्दाका झगडिया र राजनीतिक दलको भनाइ नमानेकोमा प्रधानन्यायाधीशलाई दोषी मानियो ।

महाअभियोग संवैधानिक प्रक्रिया भए तापनि राजनीतिक स्वार्थको लागि त्यसको प्रयोग विश्वमा कतै गरिँदैन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आआफ्नै क्षेत्राधिकार हुन्छन् । अन्य दुई अंगले गरेका कामको संवैधानिकता जाँच्ने अधिकार भने न्यायपालिकालाई मात्र हुन्छ । व्यवस्थापिकाले बनाएको ऐन संविधानसँग बाझिएकोमा प्रधानन्यायाधीश हरिप्रसाद प्रधान र विश्वनाथ उपाध्याय लगायतको पालादेखि नै अमान्य ठहर्‍याइँदै आएको छ । त्यस्तोमा विधायिकाको अधिकार हनन र हस्तक्षेप भएको मानिँदैन ।

त्यस्तै कार्यपालिकाले पञ्चायतकाल, बहुदलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको विभिन्न नियुक्ति, अवकाश, भारतसँग गरेको टनकपुर बाँधको पानीको बाँडफाँड लगायतको सन्धिलगायत निर्णयहरू हाम्रो सर्वोच्च अदालतले बदर गर्दै आएको छ । अल्पमतका एमाले प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद् विघटनसमेत २०५२ भदौ १२ मा सर्वोच्च अदालतले बदर गरेको थियो । अदालतका यस्ता कामकारबाहीप्रति असहमति जनाउँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले न्यायपालिकाको अधिकार कटौती गर्नुपर्ने तथा सर्वोच्च अदालतलाई राजदरबारकै शाखाका रूपमा सार्नुपर्ने समेत भन्नुभएको थियो ।

जसरी हालसालै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद् अधीनस्थ राख्नुपर्छ भन्नुभएको थियो ।

आफू सत्तामा बसेको बेला न्यायपालिका अर्थात् अदालत आवश्यक पर्दैन । सत्ता बाहिर भएको बेला न्याय माग्न जाने ठाउँ नै अदालत हो । राजनीतिक दलले न्याय दिन होइन भन्ने कुरा त सबैलाई घामजत्तिकै थाहा छ । नेताले भनेको नमानेको, प्रधानमन्त्रीले भनेको नमानेको, प्रधानमन्त्री लगायतका दूतलाई प्रधानन्यायाधीशले भेट्न नमानेको, फोनमा कुरा गर्न नमानेकोमा त सुशीला कार्कीजस्तो निर्भीक र स्वच्छ न्यायमूर्तिको प्रशंसा गर्नुपर्छ । राजनीतिक दलका नेताको निर्देशन र इसारामा चल्ने र उनीहरूका प्रियपात्र भइदिने हो भने त जनताको न्यायको धरोहर मर्न जान्थ्यो । सर्वोच्च अदालत राष्ट्रिय सतर्कता केन्द्रसरह प्रधानमन्त्री कार्यालय मातहत हुन जान्थ्यो । केही अघिका गन्हाएका साधु हुँ भन्ने प्रधानन्यायाधीश जस्तै सुशीला पनि हुन्थिन् ।

कुनै सामान्य फौजदारी मुद्दामा त प्रमाणले कसुर गरेको देखिने अवस्थामा मात्र कारबाही अगाडि बढाइन्छ भने महाअभियोगमा भने अभियोग लाग्ने बित्तिकै निलम्बन गर्ने त्रुटिपूर्ण संवैधानिक व्यवस्थाको आडमा न्यायपालिकालाई आफ्नो निर्देशनमा चलाउन सत्ताधारीहरू लागिपरेका छन् । के प्रधानन्यायाधीशले प्रधानमन्त्रीले भने बमोजिम काम गरिदिनुपर्ने हो त ? कार्यकारी अधिकार प्रयोगमा कानुनले कुनै मापदण्ड पालना गर्नु नपर्ने गरी स्वेच्छाचारी हुन छुट दिएको छ ? त्यस्तो मापदण्ड प्रयोग नगरी गरेको प्रहरी प्रमुखको नियुक्तिमा मापदण्ड प्रयोग गरेर पुन: निर्णय गर भन्नु कदापि हस्तक्षेप र शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत हुँदैन ।

अदालतका आन्तरिक कामकारबाही दलहरूको जानकारीमा कसरी पुग्यो ? मुद्दा तोक्ने काम प्रधानन्यायाधीशको हो । कुन मुद्दा कुन न्यायाधीशलाई तोक्ने उनको अधिकार हो । अन्य न्यायाधीशले आफूले अमुक मुद्दा मैले हेर्न पाउनुपर्छ भनी माग्ने होइन । मुद्दाका पक्ष वा सरोकारवाला नेपाल बारका वकिल वा राजनीतिक दलले अमुक न्यायाधीशको इजलासमा मुद्दा तोक्नुपर्छ भनी निर्देशन गर्ने पनि होइन । कनकमणि दीक्षित वा लोकमान वा प्रहरी प्रमुख वा प्रेरणा राणाका मुद्दा अमुक न्यायाधीशलाई तोकिएन भनेर गुनासो गरिनु उचित होइन ।

प्रधानन्यायाधीशले अन्य न्यायाधीशलाई निर्देशन दिने कुरै हुँदैन र दिएमा पनि कसैले मान्दैन । सुशीला कार्कीले मुद्दा हटाउन लगायत वकिलका कुरा सुनिनन् होला, बोली खरो र रुखो भयो होला, तर यस्ता व्यवहार दलको अफिसमा पुग्नु सोही कुरालाई महाअभियोगका आधार बनाउनु लोकलाई हँसाउनु हो । न्याय निरूपण गर्ने उनको निष्ठाप्रति आरोप लगाउन सकिएको छैन । विगतका साधु हुँ भन्नेले गरेजस्तो व्यवहार र क्रियाकलाप नगर्नु नै उनको कमजोरी हुन गयो । सतीले सरापेको देशमा यस्तै हुने रहेछ !

प्रहरी प्रमुख विवादको मुद्दा अझै सर्वोच्च अदालतमा चलिरहेको छ । अदालतमा विचाराधीन मुद्दाको विषयलाई लिएर संसद्मा छलफल गर्न पाइँदैन । सर्वज्ञरत्न तुलाधरविरुद्ध राष्ट्रिय पञ्चायत भएको मुद्दामा न्यायमूर्ति विश्वनाथ उपाध्यायको नजिर नै कायम छ ।

अहिले जनता स्वतन्त्र न्यायपालिकाको पक्षमा जागेका छन् । पूर्वप्रधानन्यायाधीशहरू, डा. गोविन्द के.सी., कृष्ण पहाडी आदिजस्ता सामाजिक अभियन्ताहरूलगायत सबै क्षेत्रका जनता जागेका छन् । समग्रमा आम नेपालीको चाहना बुझेर यो झुटो महाअभियोग फिर्ता गर्नुपर्छ । र, यथावत् रूपमा प्रधानन्यायाधीश सुशीला कार्कीलाई काम गर्न दिनुपर्छ ।

कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : वैशाख २२, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?