कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला जनसंख्यामा धेरै, मतदातामा कम

अमृता अनमोल

जनगणना २०६८ अनुसार रूपन्देहीको कुल जनसंख्या ८ लाख ८० हजार १ सय ९६ छ । त्यसमा महिला ४ लाख ४८ हजार ३ जना छन् । ४ लाख ३२ हजार १ सय ९३ पुरुष छन् । यो हिसाबले रूपन्देहीमा पुरुषभन्दा महिलाको संख्या १८ हजार बढी छ ।

महिला जनसंख्यामा धेरै, मतदातामा कम

यसमध्ये करिब १५ प्रतिशत पुरुष देशबाहिर रोजगारीमा गएका छन् । उमेरका हिसाबले वयस्क महिला धेरै छन् । 

जो निर्वाचनमा भाग लिन पाउँछन् । जनसंख्यामा वयस्क महिला धेरै हुँदाहुँदै पनि मतदाता नामावलीमा भने महिला कम छन् । यहाँका ४ लाख ५८ हजार ६ सय १६ मतदातामध्ये महिला जम्मा २ लाख २० हजार १ सय १६ छन् । पुरुष मतदाता भने २ लाख ३८ हजार ४ सय ९५ छन् । यो हिसाबमा महिला मतदाता १८ हजारले कम छन् । सख्यागत रूपमा धेरै हुँदाहुँदै पनि महिला मताधिकारको अवसरबाट बञ्चित भएका छन् । यस्तो किन त ? यसको सरल जवाफ छ, धेरै महिला नागरिकताविहीन हुनु । नागरिकताविहीन महिलालाई मतदाता नामावलीमा समेट्न नसकेको निर्वाचन कार्यालय बताउँछ । यसले यसअघि मतदान गरेका धेरै महिला पनि योपटक मतदान गर्ने अवसरबाट वञ्चित भएका छन् । 

मतदाता नामावलीमा व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने समेत व्यवस्था थियो । सामाजिक संरचनाका कारण आफै मतदाता संकलन केन्द्रमा जान नसक्ने मधेसी र मुस्लिम महिला पनि मतदाता हुनबाट रोकिएका छन् । त्यस्तोमा नवविवाहिता धेरै छन् ।

रूपन्देहीका ग्रामीण भेगका कतिपय मुस्लिम र मधेसी समुदायमा अझै पनि महिलाको नागरिकता बनाउने चलन छैन । सानैमा छोरीको बिहे हुने भएकाले मुस्लिम र मधेसी मूलका अधिकांश महिलाको माइतीमा नागरिकता बन्दैन । उनीहरूको नागरिकता बन्ने र बनाउने ठाउँ पतिको घर हो । महिलालाई समान रूपले नहेर्ने चलनका कारण उमेर पुगेका र बिहे भएका महिला पनि नागरिकताविहीन भएका हुन् । 

नागरिकता बनाइदिए महिला अंशियार हुन्छन् भन्ने पितृसत्तात्मक सोच छ । घरपरिवारले सनाखत गर्न नमान्दा नागरिकता बनाउन बाहिर निस्केका महिला पनि पुन: चुप लागेर बस्न बाध्य छन् । यसले पनि महिलालाई मतदाता बन्नबाट रोकेको छ । असल उम्मेदवार छान्ने वा आफै उम्मेदवार बन्नसक्ने अवसरबाटै वञ्चित भएका छन् । मतदाता नबन्दा उनीहरू राष्ट्रिय परिचय पत्रबाट समेत वञ्चित भएका छन् ।

मर्चवारी गाउंँपालिका १ मा सबैभन्दा कम महिलाले मतदाता गर्न पाउनेछन् । पुरुष २ हजार ७४ मतदाता रहेकोमा महिला १ हजार १ सय ४९ जनामात्रै छन् । मधेसी र मुस्लिमको बाहुल्य रहेको मर्चवारी गाउंँपालिकाकै कुल मतदाता १७ हजार ८ सय २२ छन् । महिला जम्मा ७ हजार १ सय १ छन् । पुरुष १० हजार ७ सय २१ छन् । मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको मायादेवी गाउँपालिकामा पनि महिला मतदाताको संख्या निकै कम छ । कुल २० हजार ६ सय ४२ मतदातामध्ये महिला जम्मा ८ हजार ५ सय ८९ छन् ।

 पुरुष मतदाता भने १२ हजार ९२ छन् । कोटहीमाई गाउँपालिकामा ११ हजार ७ सय ५२ पुरुष मतदाता रहँदा महिलाको संख्या जम्मा ८ हजार ३ सय ५५ छ । गैडहवा गाउँपालिकामा १२ हजार ८ सय ६४ पुरुष मतदाता रहेकोमा महिला मतदाता जम्मा ९ हजार १ सय २० छन् । हालको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित साविकका गाविस करौता, बोगडी, तेनुहवा, जोगडा, कम्हरिया, गोनाहा, सक्रनौपकडी, असुरैना, रायपुर लगायतमा महिलाको सख्या कम छ । बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, सैनामैना लगायतका पहाडी मूलका बसोबासी रहेका क्षेत्रमा भने पुरुषभन्दा महिला मतदाता धेरै छन् ।

मतदाता नामावली संकलन गर्दा रूपन्देही जिल्ला निर्वाचन कार्यालयसँगै नागरिकता बनाउने जिल्ला प्रशासन कार्यालयका कर्मचारी समेतको घुम्ती टोली वडा–वडामा पुगेको थियो । नागरिकता नहुनेलाई प्रक्रिया पुर्‍याएर गाउंँबाटै नागरिकता बनाइदिने र मतदाता नामावलीमा नाम लेखाइदिने व्यवस्था पनि थियो । टोलीले नागरिकता नभएकै कारण मतदान अधिकार छुट्ला भन्ने डरले गाउंँका ठूलाबडालाई पनि महिला सबैको नागरिकता बनाउन र मतदाता नामावलीमा नाम लेखाइदिन आग्रह गरेको थियो । तैपनि केहीले आफ्नो परम्परा भन्दै महिला पठाएनन् ।

रूपन्देही देशकै बढी मतदाता रहेको जिल्लामध्ये तेस्रोमा छ । सचेतनाका कार्यक्रम हुने जिल्लामध्ये पनि अग्रपंक्तिमा छ । कुनै पनि नागरिक नागरिकताविहीन नहुन् भन्ने उद्देश्यले राज्यले पछिल्लो समय थुप्रै चेतना र पहुँचका कार्यक्रम चलाएको छ । टोल स्तरसम्म सामाजिक परिचालनका कार्यक्रम पुर्‍याएको छ । कार्यक्रम सामाजिक संरचना बदल्न सक्ने खालका नहुँदा पनि धेरै महिला नागरिकता बनाउने र मतदान गर्ने अवसरबाट छुटेका छन् । 

प्रकाशित : वैशाख २२, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?