१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुई सय वर्षका कार्ल मार्क्स

बसन्त बस्नेत

कार्ल माक्र्स जन्मेको शुक्रबार ठीक २ सय वर्ष टेक्दै छ । आजैदेखि यो वर्षभरि उनको दोस्रो जन्मशताब्दी नेपाल र अन्यत्र मनाउन सुरु भएको छ । ‘संसारका श्रमिक एकजुट हौं’ नारामा असंख्य ठूला–साना टुक्रामा छरिएका माक्र्सवादी पार्टीका नेताहरू यसपालि आफ्ना भीष्म पितामह माक्र्सको नाममा एकैठाउँ जुटेको सन्दर्भ यहाँनेर रोचक छ ।

दुई सय वर्षका कार्ल मार्क्स

कार्ल मार्क्स जन्मेको शुक्रबार ठीक २ सय वर्ष टेक्दै छ । आजैदेखि यो वर्षभरि उनको दोस्रो जन्मशताब्दी नेपाल र अन्यत्र मनाउन सुरु भएको छ । ‘संसारका श्रमिक एकजुट हौं’ नारामा असंख्य ठूला–साना टुक्रामा छरिएका मार्क्सवादी पार्टीका नेताहरू यसपालि आफ्ना भीष्म पितामह मार्क्सको नाममा एकैठाउँ जुटेको सन्दर्भ यहाँनेर रोचक छ ।

अर्को सन्दर्भ पनि छ । मार्क्सेली विचारधाराको फेर समाउँदै लेनिनले सोभियत रूसमा अक्टोबर क्रान्ति सफल पारेको यसै वर्ष १ सय वर्ष पुग्यो । भनिन्छ, बितेका दुई शताब्दीमा मार्क्समाथि जति समर्थन/आलोचना भयो, त्यति कुनै पनि व्यक्ति र विचारमाथि भएन । बीबीसीले अघिल्लो सहस्राब्दी सकिन लाग्दा सन् १९९९ मा एउटा ‘ग्लोबल–सर्भे’ गर्‍यो । त्यसको विषय थियो, ‘बितेको एक हजार वर्षका सर्वाधिक महान दस चिन्तक को–को हुन् ?’ अल्बर्ट आइन्स्टाइनलाई निकै फराक अन्तरले दोस्रो वरीयतामा पछि छाड्दै मार्क्स एक नम्बरमा आए । तेस्रोमा आइज्याक न्युटन थिए, चौथोमा डार्बिन, अनि दसौंमा फ्रेडरिख नित्से ।

आज संसारको आम जनमतमा मार्क्सवादी विचारधारा उति लोकप्रिय छैन, तर मार्क्सले अघि सारेको दार्शनिक, अर्थराजनीतिक प्रस्थापना अझै महत्त्वका साथ विमर्श गर्ने चलन छ । सन् २०१३ मा ‘क्यापिटल इन द ट्वेन्टी फस्र्ट सेन्चुरी’ लेखेर तहल्का मच्चाएका थोमस पिकेटीले त्यसै पुस्तकको एउटा सन्दर्भमा भनेका छन्, ‘अर्थशास्त्रीहरूले मार्क्सले दिएका उदाहरणबाट आज पनि धेरै प्रेरणा लिन सक्छन् ।’ पिकेटी आफैंले कैयन ठाउँमा आफ्नो तर्कलाई पुट दिन मार्क्सलाई अघि सारेका छन् । विश्वको पहिलो महाशक्ति अमेरिकामा मार्क्सवादी पार्टी कहिल्यै मूलधारमा छैन, तर त्यहाँको एकेडेमियाका प्रभावशाली १० चिन्तकमध्ये ७ जना मार्क्सवादी रहेको दाबी गरिन्छ ।

जर्मनीको त्रियेरस्थित यहुदी परिवारमा सन् १८१८ मे ५ जन्मेका मार्क्स लेखन, पत्रकारिता हुँदै युरोपको तत्कालीन समाज, अर्थतन्त्र र दर्शनशास्त्रको अध्ययनमा होमिए । उनका कृतिमध्ये जर्मन आइडियोलोजी, दास क्यापिटल, कम्युनिस्ट घोषणापत्र मुख्य छन् । सर्वकालीन मित्र फ्रेडरिख एंगेल्ससँग सहकार्यमा कम्युनिस्ट घोषणापत्र लेख्दा मार्क्स केवल ३० वर्षका थिए ।

उनले अघि सारेको सर्वहारा वर्गको राज्यसत्ता निर्माण गर्ने धारणाको आलोचना गर्दै उदार प्रजातन्त्रवादीले त्यो अर्को खाले अधिनायकवादी विचार भएको भनी आलोचना गरे । उनी भने त्यो अधिनायकवाद नभई संसारका ९० प्रतिशतभन्दा बढी श्रमिक वर्गको लोकतन्त्र भएको दाबी गर्दै रहे ।

मार्क्सले आजसम्मको मानव इतिहास वर्गसंघर्षको इतिहास भन्दै एक सूत्रमा अथ्र्याए । ‘थेसिस अन फायरबाख’ लेख्दै आजसम्म दुनियाँबारे व्याख्या गर्ने काम बढी भएको, दुनियाँ बदल्ने मूल काम छुटेको भन्दै त्यसका लागि चिन्तकहरूलाई आह्वान गरे । मार्क्सले पत्ता लगाएको अतिरिक्त मूल्यको सिद्धान्त आज पनि अर्थशास्त्रमा उच्च महत्त्वका साथ पढाइन्छ ।

तत्कालीन राज्य सञ्चालकहरूको प्रतिबन्ध, निर्वासनबीच मार्क्सको विचार युरोपका अरू देशतिर सल्किँदै गयो । उनी अखबार र मुखपत्रहरूमा लेख्न थाले । सम्भ्रान्त परिवारकी ४ वर्ष जेठी जेनी वेस्टफालेनसँग बिहे गरे । लेखनको पारिश्रमिक बाहेक कमाउनेतिर उनको ध्यान गएन । आफ्नो एकसुरे आनीबानी, पुस्तक प्रेम, शोधकार्यले नामी उनको कमजोर पक्ष र चारित्रिक बद्नामीको अर्को खण्ड पनि छ । यी सबका बीच मार्क्स आजपर्यन्त कतै रोमान्टिक हिरोका रूपमा पुजिन्छन्, कतै हिंसालाई राजनीतिक कलेवर दिएर चोख्याएको भन्दै उनलाई दोषी चित्रित गरिन्छ । र मार्क्सका नाममा संसारैभरि पार्टी छन् । विश्वविद्यालय, एकेडेमी, साहित्य, सिनेमा, रंगमञ्च आदिमा कुनै न कुनै खाले मार्क्सवादी चिन्तनको दबदबा जारी छ । त्यसलाई मार्क्सवादीहरू ‘मार्क्सेली विश्वदृष्टि’ भन्छन् । जुनसुकै समस्याका उत्तरहरू मार्क्सकै पाठहरूभित्र खोज्ने उनीहरूको परम्परा छ ।

मार्क्स आफूलाई अन्तर्राष्ट्रियतावादी भन्थे । जर्मनीमा जन्मेर बेल्जियम, फ्रान्स, बेलायत निर्वासित उनको कुनै देश थिएन । आज राष्ट्रवादको कडा नारा दिनेमा मार्क्सवादी पार्टीहरू कम छैनन् । सोभियत संघ ढल्ने बेलासम्म अर्को देशलाई प्रधानशत्रु किटान गरेर त्यसविरुद्ध जनता उक्साउने क्रम जारी थियो । चीन, ल्याटिन अमेरिकातिरका आन्तरिक उकुस–मुकुसहरूलाई त्यहाँका कम्युनिस्ट पार्टीले अमेरिकाविरोधी राष्ट्रवादको आवरणले लुकाछोपी गरेका छन् । छिमेकमा भारतको नक्सलवादी आन्दोलनले कुनै बेला ‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ नारा दियो, तर भारतीय राष्ट्रिय स्वतन्त्रता संग्रामका गौरवमय ‘आइकन’हरूलाई खुइल्याउने नारा दियो । छिमेकीहरूका यी दुवै अमिल्दा कर्म न्यायोचित ठहर्‍याउन बितेर गइसकेका उनै मार्क्सलाई अघि सारियो ।

नेपालमा मार्क्स पछ्याउने वामपन्थी जनमत वर्चस्वमा छ भनी दाबी गर्ने गरिन्छ । भलै मार्क्सवादी पार्टीहरूले मार्क्सकै विचारमा मनाएर जनतालाई आफूतिर आकृष्ट गर्न खोजेको अलि कमै देखिन्छ । यहाँ मार्क्सका वर्गवादी चेलाभुलाहरू एकतिर छन्, जो समाजका सम्पूर्ण प्रश्नहरूको जवाफ ‘वर्ग’बाहेक अरू केहीमा नहुने ठान्छन् । श्रमिक वर्गबारे तिनको चिन्ता भाषणहरूमा झल्कन्छ । यो बेग्लै हो, तिनीहरूको उठबस अक्सर मध्यम र उच्च–मध्यम वर्गसित रहेको तिनकै कार्यकर्ताको आरोप छ । कम्युनिस्ट पार्टीका नेताहरू मार्क्सले लक्षित गरेको वर्गप्रति जवाफदेही छैनन् भन्ने तिनको व्यवहारले दर्साउँछ ।

अर्काथरी चेलाभुलाहरू मार्क्सको नाममा रोमाञ्चित हुन सुरु गर्दै कालान्तरमा बाटो र लक्ष्य बिर्सेको ड्राइभरझैं दिग्भ्रमित छन् । तिनको दृष्टिमा इलाका, नश्ल र समुदायवाद बाहेक मार्क्सको अर्को सत्य थिएन/छैन । अरू कतिपय देशमा झैं कम्युनिस्ट वा वामपन्थी हुनु भनेको कार्ल मार्क्सको विचार मान्ने पार्टीको सदस्य हुनु भन्ने आम अर्थ लगाउने गरिन्छ । र यो वामपन्थको धुमिल र अस्पष्ट हुँदै गएको चित्र अहिले हाम्रा सामु छ । मार्क्स निरन्तर मुक्त मानवको कुरा गर्छन् । उनलाई अपव्याख्या गर्नेहरूले मानिसको स्वतन्त्रता र मुक्तिको चाहनालाई झन् बन्धनतिर धकेल्ने गरेको इतिहास साक्षी छ ।

विश्व हल्लाउने दार्शनिकको २०० औं जन्मशताब्दी मनाउनेबारे मार्क्स स्वयं जन्मेको त्रियेर सहरमा दुईमत नै नहुनुपर्ने हो । तर चीनले आफ्नो देशका मूर्तिकार वु वेशेनले बनाएको २१ फिट अग्लो मार्क्सको मूर्ति उक्त सहरलाई उपहार दिने भएपछि सहरवासी विभाजित भए– आफ्नो सहरका मार्क्सको मूर्ति चीनबाट स्वीकार गर्ने कि नगर्ने भनेर । अन्तिममा त्रियेरका मेयर वोल्फ्राम लेइबेले निर्णय दिए, ‘यो सहरका सबैभन्दा महत्त्वपूर्ण नागरिकमध्ये मार्क्स एक थिए, उनको मूर्ति किन लुकाएर राख्नु ?’

लेइबेले पत्रकारसँग भने, ‘मार्क्सले कसैलाई मारेनन्, नत उनी सधैंभरि हिंसाका पक्षधर नै थिए । उनी महान दार्शनिक थिए ।’ मार्क्सको सहरमा भने सामाजिक लोकतन्त्रवादी पार्टीले जितेको छ, लेइबे त्यसै पार्टीका मेयर हुन् । तर रेइनर मार्ज नामक एक अधिकारकर्मीले मूर्ति ल्याउने कार्यको तीव्र विरोध गरे । एनपीआरडटओआरजी नामक एक जर्मन अनलाइनले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘मार्क्सको मूर्ति ठड्याउन हामीलाई समस्या छैन, तर यो मूर्ति त्यस्तो देशबाट आउँदै छ, जहाँ अहिले पनि मार्क्सको विचार बोक्ने पार्टी सत्ता चलाउँछ, अनि त्यहाँ सधैं मानवअधिकार उल्लंघन हुन्छ ।’

मार्क्सले आजसम्म असमाधेय विश्व इतिहासको समाधान साम्यवाद भने । मानिसको श्रमशक्तिमाथि मेसिन हावी भएयता संसारको बदलिँदो चेहरासँगै साम्यवाद झन् टाढा पुग्दो छ, तर मार्क्सले सारेका श्रमिकहरूको संघ बनाउने प्रस्ताव, अधिकारका लागि लड्ने प्रस्ताव, अनि कामदार वर्गको लोकतन्त्रको प्रस्ताव झन् सान्दर्भिक बन्दै छन् । कम्युनिस्ट पार्टीहरू पुरानै अवस्थामा छैनन्, ती कित पुन:संरचित छन्, कि विघटित । तर अर्को पाटो पनि छ, समाजवादी र गैरसाम्यवादी पार्टीहरूले थुप्रै मार्क्सेली मान्यताहरू आफूभित्र समेटेर हिँडेका छन् । पुँजीवादी भनिएको अमेरिका आज समाजवादका थुप्रै विशेषता बोकेर खडा छ, अनि समाजवादी भनिएका देशहरूले उदार लोकतन्त्रका मान्यताहरू आफूभित्र समाहित गर्दै हिँडेका छन् ।

यति हुँदाहुँदै पनि मार्क्सलाई आज पनि जस्ताको त्यस्तै अन्धानुकरण गर्ने लहर जारी छ । आज हाम्रासामु उभिएका प्रश्नहरूलाई आजकै सामयिकतामा जवाफ खोज्ने सिर्जनशील बाटोमा मार्क्सवादीहरूको ध्यान कम छ । मार्क्स उनीहरूका लागि खोपीमा सजाइने देउता बन्न पुगेका छन् । अनि उनका निश्चित सूत्रहरू महाधिवेशन, चुनावजस्ता भोजभतेर, पूजाआजामा गाइने कर्मकाण्डीय मन्त्र । के यस्तो विचारको जडताबाट हाम्रा कतिपय मार्क्सवादी निक्लन नसक्नुमा कतै मार्क्सकै गल्ती त थिएन ? एक जना अग्रज वामपन्थी लेखक कुराकानीका क्रममा व्यंग्य गरिरहन्छन्, ‘कार्ल मार्क्सको सबैभन्दा ठूलो गल्ती– तिनले युरोपको अर्थराजनीतिक विश्लेषण लेखे, नेपाल परिचय लेखिदिएनन् ।’

प्रकाशित : वैशाख २२, २०७४ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?