२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

त्रिशूल

विमल निभा

काठमाडौं महानगरपालिकाको मेयर एवं उपमेयरको उम्मेदवारीमा नेकपा एमाले र कमल थापाको गाई छाप राप्रपाको सुमधुर गठजोडले व्यक्तिगत तवरमा मलाई असाध्यै हौस्याएको छ । कतै मेरो सुषुप्तावस्थाको त्यो पुरानो एमालेपन हठात् जागेको त होइन ? यही सुखद उत्साहको अतिरेकमा बौरिएर म एक परिचित एमाले कमरेडको घरमा पुगेँ ।

त्रिशूल

‘अभिवादन कमरेड ।’
‘अभिवादन ।’ मलाई आफ्नो घरमा साक्षात पाएर पहिले त उनी अचम्मित भए, त्यसपछि मुस्कुराएर भने, ‘यतिका दिनपछि मकहाँ निभाजी ?’
‘त्यति दिन कहाँ भएको छ र कमरेड ?’
‘वर्षौं भइसकेको होला, निभाजी ।’
‘त्यो त हो कमरेड ।’
‘अनि आज किन त ?’
म अलिकति लज्जित भएँ । यसका साथै धेरै चुपचाप पनि भएछु क्यारे ! एमाले कमरेडले मेरो अनुहारमा हेरेर भने, ‘तपाईले त हामीसँग सम्पर्क गर्न पनि चटक्कै छाडिदिनुभयो, निभाजी ।’
‘कहाँ छाडेको छु र कमरेड ?’ मैले मुख 
खोलँें, ‘यी लुरुलुरु–लुरुलुरु हिँडेर आइपुगेँ नि म तपाईकहाँ !’
उनी हलुका ढंगले मुस्कुराए ।
‘अब तपाईहरूकहाँ नआएर कहाँ जाने त मैले ?’ मैले ससम्मान आफ्नो टाउको झुकाएर भनें, ‘आउनै पर्‍यो नि कमरेड ।’
‘राम्रो गर्नुभयो ।’ उनको साविक बमोजिमको मुस्कान केही बाक्लो भयो अहिले,’ भन्नोस्, के काम छ, निभाजी ?’
‘कामहरू त थुप्रै छन् ।’ मैले भनेंँ, ‘तर आज म अर्कै कामले आएको हुँ कमरेड ।’
‘त्यही त, के काम हो ?’
‘वास्तवमा म कुनै कामले आएको होइन कमरेड ।’
यो सुनेर एमाले कमरेड थोरै सतर्क भए । यसो भारी टाउको उचालेर पावरदार चस्माबाट मलाई हेर्न थाले र अलिक बेरपछि भने, ‘त्यसो भए यहाँ किन आउनुभएको हो, निभाजी ?’
‘के म तपाईकहाँ आउनु हुँदैन र कमरेड ?’
‘होइन–होइन, आउनु हुन्छ ।’ उनी हडबडाए, ‘किन आउनु हुँदैन ?’
‘त्यसैले म आएको हुँ कमरेड ।’
यसपालि एमाले कमरेडले केही भनेनन् । अर्थात् विलकुलै चुपचाप रहेर यस्तै चिन्तनजस्तै केही गर्न थाले । याने चिन्तनको विशेष एमालीय भंगिमा । यो ध्यानस्थ मुद्रा लम्बिँदै गएकोले मैले नै केही भन्नुपर्ने भयो, त्यसकारण भनेंँ, ‘असलमा म तपाईहरूलाई एक थान बधाई दिन भनेर आएको हुँ कमरेड ।’
‘केका लागि यो बधाई निभाजी ?’
‘यो समसामयिक बधाई हो, कमरेड ।’
‘ठिक छ, तर केका लागि बधाई हो ?’
‘काठमाडौं महानगरपालिकाको उम्मेदवारीका लागि बधाई हो, कमरेड ।’ मैले भनेंँ, ‘तपाईहरूका उम्मेदवारीको मौलिक स्टाइल मलाई मनपर्‍यो ।’
‘कस्तो मौलिक स्टाइल ?’ उनी एक्कासी सशंकित देखिए अब, ‘उम्मेदवारीको के मौलिक स्टाइल गर्‍यौं, हामीले ?’
यो प्रश्नको कुनै उत्तर दिने प्रयास गरिन मैले । यसको विकल्पमा केही मुस्कुराएँ । उनी मलाई सशंकित आँखाले लगातार हेरिरहेका थिए । केही समयपछि सोही मुस्कानसहित भनेँ मैले, ‘तपाईहरूले अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा पुराना पञ्चहरूका पार्टी राप्रपासँग मिलेर चुनाव लड्न लागेको मलाई राम्रो लागेको छ, कमरेड ।’
‘धन्यवाद ।’ उनी गम्भीर भए एकाएक, ‘यही समयको माग हो, निभाजी ।’
‘यो समयको मागको जोडदार समर्थन गर्दै म आफ्नो तर्फबाट एकथान माग थप्न चाहन्छु कमरेड ।’
‘के माग निभाजी ?’
‘हेर्नाेस्, राप्रपासँगको यो प्रिय मिलिमतोलाई स्थायित्व प्रदान गर्न तपाईहरूले आफ्नो हँसिया–हथौडा भएको झण्डामा एउटा अर्काे जिनिस त्रिशूल थप्नुपर्ने छ ।’ मैले भने, ‘यसो भएको खण्डमा त्यो हँसिया, हथौडा र त्रिशूलयुक्त झण्डा बोकेर म तपाईहरूसँग मेयर–उपमेयरको प्रचार–प्रसारमा सशिर हिँड्न तयार छु, कमरेड ।’
‘तपाईले के भन्न खोज्नुभएको हो, निभाजी ?’ उनको अनुहार बिग्रियो ।
‘यो नयाँ खालको माक्र्सवादी–लेनिनवादी झण्डा हुनेछ ।’
‘यस्तो नचाहिंँदो कुरो नगर्नाेस्, निभाजी ।’
‘म त सही नै कुरा गरिरहेको छु, कमरेड ।’
‘तपाई मलाई जिस्क्याउन आउनुभएको हो यहाँ ?’ उनी पुरै भड्किएका थिए ।
‘होइन, होइन ।’ मैले भने, ‘म त एक भूतपूर्व खाँट्टी एमाले भएको नाताले तपाईहरूका समय सुहाउँदो प्रगतिशील कामलाई खुला दिलले सघाउन आएको हुँ कमरेड ।’
एमाले कमरेड एकजोर अति क्रुद्ध आँखाले मलाई हेरिरहेका थिए । अब उनको अस्वाभाविक तवरले लाम्चो हुँदै गएको बहुदलीय जनवादी मुखारविन्दबाट ‘गेट–आउट’ निस्कन बेर थिएन । त्यसउसले पहिले नै म एमाले कमरेडको घरबाट फटाफट बाहिर निस्किएँ । 

प्रकाशित : वैशाख २३, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?