कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उस्तै मतदाता, उस्तै उम्मेदवार

जनकराज सापकोटा

स्थानीय तहको चुनावले नेपाली समाजलाई जरैदेखि हल्लाइदिएको छ । सरसर्ती हेर्दा दूरदराजका गाउँ पनि यति सक्रिय देखिन्छन् कि यसले नेपाली समाजलाई वर्षौंसम्म गतिशील बनाइराख्नेछ । गाउँ र सहरका ससाना भट्टीदेखि चियापसल र चौतारासम्म उपस्थित हुन सक्नेले कुरा गर्ने नवीन विषय पाएका छन् ।

उस्तै मतदाता, उस्तै उम्मेदवार

एकअर्काको खिसिट्युरी नै सही, मान्छे मुठ्ठी कसेर, तिघ्रा ठट्टाएर वादविवाद गरिरहेका भेटिन्छन् । तर के यतिका आधारमा भन्न सकिएला, बदलिएको नेपाली समाजमा स्थानीय तहको चुनावले बदलिँदो दिनको संकेत गरेको छ ? 

स्थानीय तहको चुनावको रिपोर्टिङका क्रममा भूकम्पले अति प्रभावित पाँच जिल्लाका झन्डै दर्जन गाउँ घुम्दा देखियो, गाउँ गतिशील छ, तर पानीको छालजस्तो यस्तो गतिले बदलिँदो समाजको संकेत गर्दैन । गाउँ फेरिएका छन्, मान्छे पनि फेरिएका छन्, तर यसको निष्कर्ष आशालाग्दो देखिँदैन । किनकि सबैजसो उम्मेदवारसँग कुनै नयाँ नारा छैन । सबैसँग जसरी हुन्छ, चुनाव जित्ने तीव्र आकांक्षा र हुटहुटी छ । तर यस्तो हुटहुटी र ऊर्जाका पछाडि समाज बदल्ने आँट र जोखिम मोल्ने क्षमताभन्दा टिकिराख्ने र शक्तिको घेराभित्र बसिराख्ने लोभ धेरै छ । 

दशक लामो द्वन्द्व, दशक लामो संक्रमण र विपत्तिले थिलथिलो बनाएका गाउँहरूमा चहलपहल छ । मतदातासँग आक्रोश पनि छ, दलहरूप्रतिको अविश्वास पनि छ । तर त्यस्तो आक्रोश र अविश्वास स्थानीय तहमा शक्तिको अभ्यास गरिरहेका दलका उम्मेदवार वा टाठाबाठाका अघि मुखर हुन सक्दैन । खुसखुसे आक्रोश र तिक्तताले समाजलाई दीर्घकालीन फाइदा पुर्‍याउन सक्दैन । गाउँमा जे विषयमा छलफल भइरहेका छन्, ती सतही र छिपछिपे ज्ञानमा आधारित छन् । पेचिला प्रश्नहरू छैनन् । कि अफवाहहरू छन् कि आक्षेप । 

आफ्नो आक्रोश र असहमति पनि खुलस्त राख्न नसक्ने समाजबाट धेरै अपेक्षा गर्न सकिँदैन । चुनावको मुखमा हाम्रो समाजको यस्तो प्रवृत्ति झनै धेरै सतहमा देखिएको छ । उत्तर दिनै नपर्ने भएपछि उम्मेदवारहरूलाई पनि हाइसन्चो छ । आश्वासन मात्रै दिए सबै खुसी हुने समाज बदलेर तिनीहरू जोखिम मोल्दैनन् । केही पठित र तन्नेरी मतदातामा आक्रोशको पारो अलिक बढी छ । तर उनीहरूको असन्तुष्टि सामाजिक सञ्जालमा चुहिएर सकिएको छ । 

खाडी देशमा पसिना बगाइरहेका तन्नेरी नभएको गाउँ छैनन् । तिनैले पठाएको पैसाले गाउँको अर्थतन्त्र चलयमान भएको छ । तर तिनै तन्नेरीलाई विदेश पठाउन गाउँदेखि सहरसम्मै फैलिएका दलालले पासो थापेका छन् । त्यस्ता दलाल राजनीतिक र प्रशासनिक शक्तिसँग निकट छन् । तिनैले चर्को ब्याजदरमा ऋण उपलब्ध गराउने पेसा चलाएका छन् र त्यसैका आधारमा गाउँमा शक्तिको अभ्यास गरिरहेका छन् । भूकम्पले विथोलिएका पहाडका गर्भहरू अझै पनि भर गर्न सकिने गरेर उभिएका छैनन् । भूकम्पपछि पानीको संकट धेरैजसो पहाडी गाउँहरूमा अल्पकालीन र दीर्घकालीन रूपमै देखिएको छ । भूकम्पपछि स्थानान्तरणमा परेका कैयन बस्तीको स्थायी थातको टुंगो लागेको छैन । टिनका टहराहरूले गाउँको मौलिकता सखाप भएको छ । स्थानीय उत्पादनका भरमा धानिएका गाउँका भान्छा बजारको मुख ताक्ने भएका छन् । जलवायु परिवर्तनको मार र त्यसले उत्पन्न गराउने जोखिमका विषय दैनिक जीवनमा देखिन थालेका छन् । सानो होस् वा ठूलो, धेरैजसो गाउँमा गाडी पुग्न थालेका छन् । त्यस्ता गाडीले सरकारले तोकेको भन्दा चर्को दरमा भाडा असुल्छन् । तर यी सबै विषय उम्मेदवारको समझमा छैनन् । अनि मतदाता यस्ता समस्याका भोक्ता त हुन्, तर यी विषयमा उम्मेदवारसँग छलफल गर्ने तागत उनीहरूसँग छैन । अधिकांश उम्मेदवार सडक, पानी र बिजुली बत्तीकै नारामा रमाएका छन् । उनीहरूसँग कुनै नयाँ विषय छैन, किनकि उनीहरूसँग देख्ने पुरानै सपना छ ।

मतदाताको आक्रोश र छटपटी घरको चौघेरा कटेर बाहिर निस्कन सक्दैन । किनकि नेपाली समाजको परम्परागत शक्तिको चौघेरो उस्तै छ । आपत् पर्दा सापटी माग्न जाने ठाउँ एउटै छ, पीर पोख्न जाने घरहरू तिनै छन् । गुहार माग्दा स्वर सुन्ने मान्छे उनै छन् । शक्तिको स्रोत नै नफेरिएपछि मतदाता आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्न किन नहिचकिचाउन् ? 

कहीं कतै मान्छे त फेरिएका छन्, तर प्रवृत्ति उस्तै छ । चुनावी शैली र प्रवृत्ति त फेरिएको छैन नै, हाम्रा मतदाता पनि फेरिएका छैनन् । अनुहार त बदलिएको छ, तर कसलाई किन मत हाल्ने भन्ने विषयमा उनीहरू स्पष्ट छैनन् । मत माग्नेको आधार के हो ? आफूले किन एउटालाई छनोट गरेँ र अरूलाई किन गरिन भनेर उनीहरू भन्न सक्दैनन् । धेरैजसो मतदाता तथ्यभन्दा भावनामा बहकिएका छन् । कोही परिवारका अगुवा वा आफन्तको दबाबमा छन् । दबाबको यस्तो घेरा परिवारभित्र र आफन्त र समाजका ठूलाठालुसम्म फैलिएको छ । 

स्थलगत रिपोर्टिङका क्रममा भेटिएका कैयन स्थानीयले आफ्नो क्षेत्रबाट उठेका विभिन्न दलका उम्मेदवार चिनेका सम्म पनि थिएनन् । चिनेकाहरूलाई पनि उम्मेदवारको पृष्ठभूमि थाहा थिएन । धेरथोर पृष्ठभूमि थाहा हुनेलाई भने तिनीहरू किन र कसरी योग्य वा अयोग्य हुन् भन्ने तथ्यगत आधार थाहा थिएन । उनीहरूलाई आफू कुनै दलको समर्थक किन भएँ भन्ने पनि थाहा छैन । किन भइन भन्ने पनि थाहा छैन । जे थाहा छ, त्यो तथ्य, तर्क र विवेकको कसीमा कमजोर छ । त्यसैले भन्न गाह्रो छैन, गाउँ फेरिएका छन्, तर मान्छे फेरिएका छैनन् । 

निरक्षर, वृद्ध, अशक्त र धेरैजसोको अवस्था झनै निम्छरो छ । उनीहरूका आफ्ना मौलिक बुझाइ छैनन् । मौलिक छनोट पनि छैनन् । उनीहरू अरूकै बुझाइमा वर्षौंदेखि बाँचेका छन् । अरूकै आदेशमा वर्षौंदेखि चलेका छन् । 

आफ्ना खुट्टामा उभिन नसक्ने, आडभरोसाका विकल्प नभएका मान्छेसँग छनोटको अवसर हुँदैन । यस्तो विकल्पहीनताले हामीले खोजेको परिवर्तन र हामीले अपेक्षा गरेको सामाजिक गतिशीलतालाई रोकिरहेको छ । 

चुनावका मुखमा उठाइनुपर्ने विषय कित विषयान्तर भएका छन् कि विषयान्तर पारिएका छन् । प्रभावीहरू तिनै छन्, जो आफ्नो ज्ञानको सीमितताभित्र सिंगो समाजलाई राख्न चाहन्छन् । उनीहरू आफूले जानेको विषयभन्दा बाहिरको विषयमा छलफल र बहस चाहँदैनन् । जो यस्तो चाहन्छन्, तिनीहरू हामीले सपना देखेको प्रणालीभित्र अट्दैनन् । के चुनावपछिका दिनमा पनि नेपाली समाजले खोजेको गतिशीलता कायम रहला ? हामी र हामी पछिका पुस्ताले खोजेको कल्पनाशीलता हाम्रो समाजभित्र अट्न सक्ला ? 

प्रकाशित : वैशाख ३०, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?