१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लोकतन्त्रको सर्त : विधिको सम्मान

नेपाल संघीय रूपान्तरणको सङ्‍घारमा उभिएको यस समयमा नेपाली जनता र समग्र विश्‍वको नजर नेपालमाथि केन्द्रित छ । विधिको शासनको सम्मान गरेर, सरकारका तीन अङ्ग (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका) को स्वतन्त्रतालाई मान्यता दिई भ्रष्टाचार गर्ने अनि कानुन मिच्नेलाई जवाफदेही बनाएर नेपाल पनि अन्य जवाफदेही लोकतान्त्रिक मुलुकले अपनाएको बाटोमा हिँड्ला कि भनी हामी हेरिरहेका छौँ ।

लोकतन्त्रको सर्त : विधिको सम्मान

एकातिर आशावादीहरूले यस दिशामा उच्च आशा लिएका छन् भने अर्कोतिर नकारात्मक सोच राख्‍नेहरूले तयारी गरिरहेको भविष्यमा नेपाल नाम मात्रका लोकतान्त्रिक मुलुकहरूसँग त्यस बाटोमा हिँड्नेछ, जहाँ भ्रष्टाचारी गतविधिलाई छुट मिल्छ, ठगतन्त्रले राजनीतिक प्रक्रियालाई उलटपुलट पार्छ र अपराधको प्रत्युत्तरमा दण्डहीनताले प्रश्रय पाउँछ । केही राजनीतिक नेतालाई आफ्नो दल वा व्यक्तिगत हितका लागि गलत बाटो अपनाउन मन लाग्ला । तर लोकतान्त्रिक व्यवस्थामा मतदाताहरूले गैरजिम्मेवार र निजी स्वार्थको मात्र ख्याल गर्नेहरूलाई आफ्नो मताधिकार प्रयोग गर्दै निस्तेज गर्न सक्छन् । यस वर्ष नेपाली मतदाताले मतदान गरिरहेका छन् । यो नै लोकतन्त्रको आफै सच्चिने प्रणालीको खुबी हो, तर लोकतन्त्र आफैमा फस्टाउन सक्दैन । लोकतन्त्रमा खेलका नियमहरूको पालनाप्रति इमानदार आचरणको आवश्यकता पर्छ । सबै नागरिकको स्वच्छ र समान सहभागिता सुनिश्‍िचत गर्न समथर खेलमैदान चाहिन्छ । त्यसका लागि विधिको शासनको खाँचो पर्छ ।

विन्सटन चर्चिलको भनाइमा लोकतन्त्र ‘सरकारको सबैभन्दा खराब स्वरूप हो, तर समय–समयमा परीक्षण भएका अन्य सबै स्वरूपभन्दा यो उत्तम व्यवस्था हो ।’ लोकतन्त्र अव्यवस्थित खेल हो भन्ने उनको मान्यता थियो । तर सबै जनाले नियम पालना गरी खेलेमा लोकतन्त्र धरतीकै उत्कृष्ट खेल हो, जसले शान्ति, विकास र स्थायित्वलाई स्थापित गर्ने सम्भावना बोकेको हुन्छ । संविधानले सीमा तोक्छ, कानुन खेलको नियम हो र न्यायाधीशहरूले रेफ्री (निर्णायक) को भूमिका निर्वाह गर्छन् । प्रशस्त उतार–चढाव र ठेलमठेल भए तापनि त्यस्तो खेल उल्लासपूर्ण र हार्दिक हुन्छ । तर त्यस खेलमा सबैका लागि स्वच्छ तथा समथर खेलमैदान र सहभागिताको अवसर हुनुपर्छ । जब खेलाडीले निषेधित क्षेत्रमा पाइला टेकेको वा नियम उल्लङ्‍घन गरेको फैसला निर्णायकले गर्छ, खेलाडीहरूले आफूलाई त्यो फैसला मन नपरेकै आधारमा निर्णायकलाई हटाउन पाउँदैनन् । उनीहरू लाइन (रेखा) भन्दा बाहिर गएर खेल्न पाउँदैनन् र दण्डहीन बन्दै नियम मिच्न पाउँदैनन् । नत्र देशले विश्‍वसनीय र व्यवस्थित लोकतन्त्रको लाभ र मुख्य जग नै गुमाउनुपर्ने हुन्छ । त्यो लोकतन्त्र होइन । त्यो त एक फरक र खतरनाक खेल हो, जसले थप नियम उल्लङ्‍घन, अन्योल र प्रतिशोध निम्त्याउँछ, आफूले अन्यायपूर्ण रूपमा हारिरहेका छौँ भन्ने मान्यता राख्‍नेहरूबाट । नेपालले सीमित जनसङ्ख्याको मात्र सेवा गर्ने पूर्वाग्रही शासनले नारेको जुवा फुकाइसकेको छ । अबको प्रश्‍न के हो भने नेपालले बलिया लोकतान्त्रिक संस्था निर्माण गरेर ती व्यक्तिहरूको सपना साकार पार्न सक्ला, जसले यस रूपान्तरणका लागि बलिदान गरेका थिए ? यस खेलमा प्रक्रिया महत्त्वपूर्ण छ ।

संयुक्त राज्य अमेरिकामा २४० वर्षभन्दा अघि लेखिएको विश्‍वकै पुरानो जीवित संविधान सहितको लोकतन्त्र छ । तर नेपालले झैँ अमेरिकाले पनि प्रशस्त चुनौती व्यहोरेको छ । ती चुनौती धेरैजसो विधिको शासनको सम्मान नहुँदा उत्पन्न भएका थिए । बलिया संस्थाहरूमा जरो गाडेको विधिको शासनको पुनर्बहाली गर्दै ती चुनौतीलाई सम्बोधन गरियो । जसरी नेपाल राजनीतिक शक्ति र विद्यार्थी युनियनहरूको कानुनविहीनतासँग सङ्‍घर्ष गरिरहेको छ, जसले विद्यार्थीको शिक्षामा प्रतिकूल असर पर्नेगरी विस्फोटक पदार्थको प्रयोग गर्ने तथा हिंसाको धम्की दिने गरेका छन्, त्यसैगरी सन् १९६० को दशकमा अमेरिकामा पनि क्रुद्ध भिडहरू देखिए, जो अल्पसङ्ख्यक समुदायका बालबालिकालाई विद्यालय जानबाट बञ्चित गर्न चाहन्थे । जसरी नेपालले अहिले राजनीतिक दल वा नेताहरूको प्रभावमा राज्य निकायका प्रमुखहरूको नियुक्ति, महाअभियोग र बरखास्तीका प्रयासको सामना गरिरहेको छ । त्यसैगरी सन् १९३० को दशकमा अमेरिकामा तत्कालीन राष्ट्रपतिले एक गोप्य रूपमा बनेको योजनाको खुलासा गरेको देखियो, जस अन्तर्गत उनको कदमलाई समर्थन गर्ने न्यायाधीशहरूसहित सर्वोच्च अदालतलाई विस्तार गर्ने योजना थियो । जसरी नेपालमा तरकारी आपूर्तिदेखि यातायात र शिक्षाको क्षेत्रसम्म नागरिकलाई शोषण गर्ने राजनीतिक रूपमा संरक्षित उत्पादक संघहरूको समस्या छ, त्यसैगरी अमेरिकामा पनि एक माफिया सङ्गठन थियो, जुन ६ दशकभन्दा लामो समयसम्म फस्टायो । तर अन्तत: लोकतन्त्रको शक्ति र विधिको शासनप्रतिको समर्पणका कारण अफ्रिकी मूलका अमेरिकी बालबालिकाले पढ्न पाए, सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या बढाउने योजना विफल भयो र कानुन कार्यान्वयन गर्ने निकायहरूले अमेरिकी माफियाको ढाड भाँचे । अमेरिका यस्ता चुनौतीलाई परास्त गर्दै उँभो लाग्यो र आशाजनक रूपमा नयाँ समस्यालाई सम्बोधन गर्न अझै राम्रो तयारीमा जुट्यो । हाम्रो सङ्‍घर्ष सकिएको छैन । तर हामीसँग विधिको शासनको जगमा बनेका बलिया संरचनाहरू छन् र हाम्रो देशको एकतालाई अझै मजबुत बनाउन हामी हरेक दिन कार्यरत छौँ । लोकतन्त्रलाई अझै बलियो बनाउने दिशामा काम गर्दै विधिको शासनप्रति दृढ सम्मान व्यक्त गर्नाले नेपाललाई आफ्नो पूर्ण सम्भावना हासिल गर्न मद्दत मिल्नेछ ।

शासनको यन्त्रलाई राजनीतिबाट मुक्त गर्न सम्भव छ । राजनीतिक दलहरू मानिसलाई सङ्गठन गर्न र आफ्ना विचार व्यक्त गर्न उपयोगी हुन्छन् । तर शुद्ध दलीय राजनीति हावी भएमा त्यस यन्त्रमा खिया लाग्छ । चुनाव जित्‍न दलका नेताहरूलाई गोप्य रूपमा नगद रकम बुझाउनु सच्चा लोकतन्त्रको अपमान हो । यसले गर्दा पहिलाको खर्च र नाफा असुल्ने नाममा थप भ्रष्टाचारले निरन्तरता पाउन सक्छ । त्यसभन्दा पनि खराब कुरा के छ भने आफ्नो समुदायप्रति समर्पित बलिया उम्मेदवारहरू बहिष्करणमा पर्छन्, जसले गर्दा नेपालको सफलताको लागि अति आवश्यक नेतृत्व त्यसै खेर जान्छ । हिंसा कहिले पनि अभिव्यक्तिको स्वीकारयोग्य माध्यम बन्न सक्दैन । जबर्जस्तीपूर्ण, आपराधिक र हिंसात्मक उपायलाई नागरिक समाजले अस्वीकार गर्न‘ सही हो । आगामी आठ महिनामा नेपालले स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचनमा मतदान गर्दैछ । यस सन्दर्भमा अमेरिकाको आशा के हो भने नेता र राजनीतिक दलका सदस्यहरूले अनैतिक र आपराधिक जुक्ति अपनाउने दलीय अवसरवादीहरूको सार्वजनिक रूपमा भत्र्सना गर्नेछन् र मतदाताले पनि यस्ता अभ्यासबाट लाभान्वित हुने उम्मेदवारहरूलाई अस्वीकार गर्नेछन् ।

व्यक्तिगत समुन्नतिका लागि पदको सुविधा प्रयोग गर्ने वा अरूलाई प्रताडित बनाउन आफ्नो पोसाकको शक्ति दुरुपयोग गर्नेहरूलाई न्यायको कठघरामा ल्याउन सकिन्छ । दण्डहीनता क्‍यान्सर जस्तै हो । यो रोग फैलिँदै जान्छ र यसले सरकारलाई कमजोर बनाउँछ । भ्रष्टाचारी र दोषीलाई फेला पारी पदबाट हटाउने कार्य पीडादायी र कष्टकर हुनसक्छ । तर पनि रोगलाई बिग्रन नदिन र समग्र राष्ट्रको दीर्घकालीन स्वास्थ्यका खातिर यस्तो कार्य प्राय: आवश्यक हुन्छ । नेपालको सफलताका लागि दोषीहरूलाई जवाफदेही बनाउन सक्ने नेताहरूको खाँचो छ ।

राज्यका तीन अङ्गका आआफ्नै अनिवार्य भूमिका हुन्छन्, जसलाई सफल लोकतन्त्रमा सम्मान गर्न‘ अपरिहार्य छ । व्यवस्थापिकाले कानुनहरू पारित गर्छ, तर यो संविधानको नियमभित्र सीमित हुन्छ । कार्यपालिकाले इमानदारीपूर्वक र पूर्वाग्रहबिना कानुनलाई लागु गर्छ । स्वतन्त्र न्यायपालिकाले सबै जनाले कानुनको पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्छ । सरकारको कुनै एउटा अङ्गमा मात्र खतरनाक रूपमा नियन्त्रण नथुप्रियोस् भनी शक्ति पृथकीकरण गरिन्छ । प्रत्येक अङ्गले अन्य अङ्गमा मात्राभन्दा बढी शक्ति जम्मा भएको छ कि भनी जाँच गर्छ ।

लोकतान्त्रिक व्यवस्थामा देश कुनै एक नेता वा दलको निजी सम्पत्ति हुँदैन । शासन चलाउनेहरूलाई शासनको शक्ति मतदाताले विश्‍वाससाथ सुम्पिएका हुन्छन् । देशमा तिनै मतदाता अर्थात् जनताको सामूहिक स्वामित्व हुन्छ । चुनावी प्रचार–प्रसार र मतदान प्रक्रिया अघि बढ्दै गर्दा नेपाली जनतासँग नेताहरूलाई यो भन्ने मौका छ कि उनीहरूलाई जवाफदेही बनाइनेछ । उनीहरूले नियम मिचे भने उनीहरूलाई जवाफदेही बनाइनेछ । उनीहरूले जनताको स्वार्थलाई बिर्सेर बाझिएका स्वार्थहरूको पक्षपोषण गरे भने उनीहरूलाई जवाफदेही बनाइनेछ । उनीहरूले खेलमा धाँधली गरे भने उनीहरूलाई जवाफदेही बनाइनेछ । उनीहरूले अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन सकेनन् भने उनीहरूलाई जवाफदेही बनाइनेछ । लोकतन्त्र अव्यवस्थित हुन्छ र हुनुपर्छ पनि । तर यो न्यायसङ्गत पनि हुनुपर्छ । लोकतान्त्रिक व्यवस्थामा विधिको शासनमार्फत मात्र जनताले भ्रष्टाचारको जरा उखेल्न सक्छन्, सबैको अधिकार र कल्याणको प्रबद्र्धन गर्न सकिन्छ र शक्तिशालीले कमजोरमाथि दमन गर्ने मौका पाउँदैनन् । संयुक्त राज्य अमेरिकाले नेपाललाई ७० वर्षदेखि साथ दिँदै आइरहेको छ । नेपाली जनताले सुशासन र विधिको शासन सहितको समृद्ध भविष्यको जग बसाल्दै गरिरहेको यस विशेष वर्षमा हामी ऐक्‍यबद्ध भई उनीहरूको साथमा उभिएका छौँ ।

टेपलेट्ज नेपालस्थित अमेरिकी राजदूत हुन् । 

प्रकाशित : जेष्ठ २, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?