महिनावारी र ‘पाप’

डा. अरूणा उप्रेती

भारतको आसाममा हिन्दुहरूले असाध्यै मान्ने कामाख्यादेवीको मन्दिर असारमा ४ दिन बन्द हुन्छ । किनभने असार महिनामा देवीको महिनावारी हुन्छ भन्ने विश्वास छ । यो बेला कसैले पनि देवीको दर्शन पाउँदैन । देवीको अनुमानित योनिको अगाडि पुजारीले सफा कपडा राखिदिन्छन् र ४ दिनपछि ‘रगतले भिजेको कपडा’ भक्तजनलाई बाँडिन्छ ।

देवीले महिनावारीका बेला प्रयोग गरेको कपडा पाइयो भने भाग्योदय हुन्छ भन्ने जनविश्वास छ । ‘त्यो रगतले भिजेको कपडा लिन चाहने भक्तको भिड हुन्छ । सानो–सानो टुक्रा पारेर बाँडिन्छ, ताकि यस्तो दिव्य प्रसाद सबैले पाउन सकुन् । तर पनि कतिजना भक्तजन यो दिव्य प्रसाद पाउनबाट बञ्चित हुन्छन् र अँध्यारो अनुहार लिएर फर्कन्छन्,’ मन्दिर घुमाउन लैजाने व्यक्तिले मलाई भनेका थिए, ‘कति भक्त त रातिदेखि नै लाइन बस्छन् ।’

कति जनाले त यही बेला आसाममा ब्रह्मपुत्र नदीको पानी पनि केही रातो हुन्छ, देवीको महिनावारीको रगतले भन्ने विश्वास गर्छन् । भक्तजनले देवीको महिनावारी भएको उत्सव मनाउँछन्, उनको रगतले भिजेको कपडा भाग्योदय भनेर राख्छन् । नेपालको सुदूर पश्चिम र कर्णालीमा चाहिँ त्यही महिनावारीलाई अपवित्र मानेर घरबाट धकेलेर बाहिर छाउगोठमा बस्न लगाउँछन् । किशोरी र महिलाको जीवनमा रोग, अपमान, यौन शोषण र मृत्युको खतरा ल्याइदिन्छन् ।

Yamaha

यो त महिनावारीप्रति दोहोरो चरित्र देखाएको भएन र ? ढुर्गाकी देवीको महिनावारीचाहिँ पवित्र, जीवित देवीको महिनावारीचाहिँ अपवित्र ? सुदूर पश्चिमको छौपडीबारे पहिले मैले बोल्दा र लेख्दा त्यहाँका कतिपय राजनीतिक नेता र पत्रकारले भनेका थिए, ‘तपाई बेकारमा छौपडीबारे लेखेर सुदूर पश्चिमलाई बदनाम गर्न‘हुन्छ । अहिले त पश्चिममा यो व्यवस्था हटिसकेको छ । अब अरू कुरा लेख्नुस् । सुदूर पश्चिमको सुन्दरताबारे, विकासबारे ।’

मैले उनीहरूलाई के जवाफ दिनु थियो र ? छौपडीमा बसेका बेला दुई युवतीको मृत्यु भएको खबर पढेर उहाँहरूलाई पक्कै पनि लाग्यो होला, ‘ओहो, हाम्रो सुन्दर पश्चिममा त अझै पनि महिलालाई महिनावारीका बेला अपवित्र मानेर छाउघरमा राख्ने चलन त रहेछ नि ।’
मैले बारम्बार भन्दै आएकी छु, ‘महिनावारीमा अपवित्र मानेर छाउगोठमा राख्ने चलन सुदूर पश्चिममा छ । तर त्यही मानसिकता बोकेर काठमाडौं र अन्य सबै ठूला–साना सहर र गाउँमा महिलालाई महिनावारी हुँदा अपहेलना गर्ने चलन त सबै ठाउँमा छ नि ।’

यही अवहेलनाबाट बच्न र दसैंको बेला दक्षिणा र मिठो खाना पाइँदैन भन्ने डरले मैले पहिलोचोटी महिनावारी हँ‘दा र त्यसपछि ३ वर्षसम्म पनि घरमा कसैलाई भनिन । त्यो बेला मैले मन्दिर गएर पाप गरें भन्ने कसैलाई लाग्न सक्छ, तर मैले कहिले पनि त्यसको लागि अपराधबोध गरिन । अहिले चाहिँ एउटै कुराले म छक्क पर्छु, ४ दशकअघि जब नेपालमा अहिलेको जस्तो स्यानिटरी प्याड आइसकेको थिएन, मैले कसरी महिनावारी व्यवस्थापन गरेँ होला ? अलिअलि याद छ, आमाको पुरानो सुती धोती र पुरानो सिरकको खोल च्यातेर प्रयोग गर्थेँ । प्रयोग गरेपछि ती कपडा धँ‘दा घरमा पत्ता लगाउँछन् भनेर कागजमा पोकापारी स्कुलमा लगेर फोहोर फ्याल्ने भाँडोमा हाल्थेँ । त्यसो गर्दा पनि कसैले देख्ला कि भन्ने भय भने भइरहन्थ्यो । 

त्यो बेला एक गलत सामाजिक मान्यताविरुद्ध थाहै नपाएर एक प्रकारको विद्रोह गरेकी रहेछु । धन्य, मेरा छोरीहरूलाई त्यो विद्रोह गर्न‘परेन । उनीहरूलाई लऽकाएर कपडा फ्याल्नु परेन । उनीहरूले अरू किशोरीजस्तै ‘म नछुने भएँ, मलाई भोक लाग्यो आमा, खाजा वा खाना देऊ न’ भनेर माग्नु परेन । किनभने उनीहरूले महिनावारी भएका बेला अपवित्र भइन्छ भन्ने सिक्दै सिकेनन् । उनीहरूले महिनावारी प्राकृतिक कुरा हो, यो बेला सफा बस्नुपर्छ, पौष्टिक खाना खानुपर्छ, पेट दुखे तातो पानीले सेक्नुपर्छ र अझ कम नभए दुखाइ कम हुने औषधी खानुपर्छ भन्ने बेलैमा सिके । 

तर अपशोच यो छ कि अझै पनि धेरै किशोरी र महिला महिनावारीका बेला अपमानित हुन्छन् । उनीहरूको स्वास्थ्यमा नराम्रो असर पार्ने संस्कृति पछ्याइन्छ । काठमाडौंमा बसेका पढेलेखेका विभिन्न सरकारी अफिस र अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने महिला पनि सुदूर पश्चिमको छौपडीचाहिँ नराम्रो तर आफ्नो घरमा भनेर बारेको चाहिँ राम्रो भन्छन् । केही दिनअघि एक दिदीसँग यही विषयमा कुराकानी हँ‘दा उहाँले भन्नुभएको थियो, ‘म अरू कुरा त मान्दिन, तर महिनावारी हँ‘दा पूजापाठ गर्न र भान्छामा छुन भने सक्दिन । मेरी छोरी बंैककमा काम गर्छिन् । म त उनलाई पनि नेपाल आउँदा महिनावारी भएका बेला भान्छामा नआउन, पूजाकोठमा पनि नजान भन्छु ।’ मैले उनलाई कामाख्या देवीको महिनावारीको किंवदन्ती सुनाए र सोधेँ, ‘के तपाई असारको बेला महिनावारी भएकी कामाख्यादेवीको महिनावारीको रगतले भिजेको टालो भक्तजनले लिए जस्तै गरेर लिनुहुन्छ ?’ अनि मैले आफूले महिनावारी हुँदा कसैलाई पनि नभनेको कुरा बताएँ । उहाँले विस्फारित नेत्रले मलाई हेर्नुभयो । सबैलाई मेरो प्रश्न छ, के मैले महिनावारीका बेला छुट्टै नबसे, भान्छामा छोए, मन्दिर गए पाप लाग्छ ? नेपालका विभिन्न जनजातिका महिलाले पनि त महिनावारी बार्दैनन् । उनीहरू पापी भए त ? महिनावारीका बेला छौपडीको विरोध गर्नेहरूले आफ्नो मानसपटलमा रहेको छौपडीचाहिँ कहिले हटाउने ?

प्रकाशित : जेष्ठ २, २०७४ ०८:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आमाको दूध र नागरिकता

डा. अरूणा उप्रेती

२०७२ असार २६ गते भीम रावलले ‘किन नेपाली महिलाले आफ्ना सन्तानलाई आमाको नामबाट नागरिकता दिन पाउनु हुँदैन ?’ भनी लेख्नुभयो । सोही असार ३१ गते सपना प्रधान मल्ल र मैले संयुक्त रूपमा ‘नेपाली महिलाले आफ्ना सन्तानलाई नागरिकताको अधिकार दिन पाउनुपर्छ’ भनी कान्तिपुरमा नै रावललाई पत्र लेख्यौं ।

निकै चर्चा–परिचर्चा भए, त्यो लेखको बारेमा । कान्तिपुरमा रजनीले आफ्ना सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन नपाएको सन्दर्भ पढ्दा त्यो लेखको याद आयो र अर्काे पनि सम्झना आयो, नेपाली महिलाले कहिल्यै पनि पहिलो दर्जाको नागरिक बन्ने सौभाग्य पाउने छैनन् । 

नेपालका सबै वामपन्थी नेताले भाषण छाँट्दा ‘महिलालाई समान अधिकार दिन्छौँ’ भनी बारम्बार माक्र्स र लेनिनका उदाहरण दिइरहन्थे र दिइरहन्छन् । कुनै पनि वामपन्थी नेता यस्ता छैनन् होला, जसले ‘उठ दिदी–बहिनी हो, हामी तिम्रो साथ दिन्छौँ’ भनी भाषण नगरेका हुन् । झन् माओवादी नेताहरूको त कुरै नगरे हुन्छ । उनीहरूले त यस्तो कुरा गर्थे, मानौँ उनीहरू सत्तामा आएपछि कानुनी रूपमा महिला र पुरुषमा कुनै भेदभाव नै हुने छैन । हिसिला यमी र बाबुराम भट्टाराईले त ०४६ सालको आन्दोलनको बेला पनि बारम्बार यस्ता अभिव्यक्ति दिइरहे । ०४६ को आन्दोलनमा नेताहरूले ‘आमा, दिदी–बहिनी, कुटो–कोदालो हातमा लिएर बाहिर निस्क, बच्चालाई काखीमा च्यापेर बाहिर निस्क, यही मौका हो, महिलाले आफूलाई पुरातन संस्कारबाट मुक्त गराउने’ भनी भाषण दिए । ‘गाउँ गाउँबाट उठ...’ दिदी–बहिनी हो, उठ भनेर गीत–संगीत धन्काए र जब ०४६ सालको आन्दोलन सफल भयो, उनीहरूले आफ्नो वाचा भुसुक्कै बिर्सिए । 

महिलाको सम्पत्तिको अधिकार, गर्भपतनको कानुनी अधिकार लिन हामीले निकै ठूलो संघर्ष गर्नुपर्‍यो । त्यो केही सफल भयो । तर नागरिकताको मुद्दामा चाहिँ नेताहरू मुख लुकाएर बसे 
माओवादीले युद्ध गरेको बेला फेरि महिलालाई नागरिकतामा समान अधिकार दिन्छौँ भनी अनेक वाचा गरे । सबै वामपन्थी दलले पनि हो–मा–हो मिलाए । संविधानमा पनि महिलालाई नागरिकता आमाको अधिकार दिनेछ भनेर लेख्न त लेखे, तर वास्तविकतामा जब कुनै महिलाले आफ्नो सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन चाहन्छिन्, नेता र प्रमुख जिल्ला अधिकारीको दिमाग रन्थनिन्छ ।

सर्वाेच्च अदालतले प्रत्येकपल्ट सन्तानलाई आमाको नाममा नागरिकता दिनु भनेर आदेश जारी गर्नुपर्छ । फेरि नेपाली महिलाले त्यसैगरी लडाइँ लड्नुपर्ने ? आफ्नो नाममा नागरिकता सन्तानलाई दिन ।

एउटी आमा थिइन् । उनको २० वर्षका जवान छोरा, १८ वर्षकी बुहारी र ४ महिनाको नातिको युद्धमा परेर एकैचोटी मृत्यु भयो । पोष्टमार्टम गर्नुपर्‍यो । लास लैजान अस्पतालमा पैसा तिर्नुपर्ने भयो । तर ती आमासँग पैसा कहाँ थियो र ? पैसा नतिरुन्जेलसम्म लास नदिने अस्पतालको निर्णयपछि आमाले घरको केही बेच्न पाइन्छ कि भनेर हेर्न गइन् । तर घरमा के थियो र फुटेका हाँडी र थोत्रा सुकुलबाहेक । १० वर्षको युद्धपछि आक्रान्त भएको उनको गाउँमा त्यो हाँडी र थोत्रा सुकुल कसले पो किन्थ्यो होला र ? आमा यसो केही अन्य कुरा छ कि भनेर खानतलास गर्दै थिइन् । अचानक उनको स्तन गह्रुँगो भएर आयो । आमाले भन्ठानिन्, दु:खले गर्दा मुटुमा भक्कानो पर्न आँटेको छ, तर दुबै स्तन गह्रुँगो भएपछि उनी छक्क परिन् । उनलाई लाग्यो, उनको स्तनमा दूध भरिएको छ । १८ वर्षपछि उनको स्तन भरिएछ । २ वर्ष छोरालाई दूध ख्वाएपछि उनको दूध सुकेको थियो । दूधले उनको छोरालाई जीवनदान दिएको थियो, आज अचानक छोराको मृत्युपछि दूध भरिनुमा केही रहस्य हुनुपर्छ भनी ती आमाले सोचिन् । उनलाई एउटा विचार आयो । 

आफ्नो दुबै स्तनको दूध उनले एउटा हाँडीमा निचोरिन् र बजारमा लगेर बेचिन् । सायद कुनै नवजात शिशुलाई आमाको दूध चाहिएको थियो, सुत्केरी आमाको मृत्यु भएकाले दूध तुरुन्त बिक्यो । बुढो स्तनबाट आएको दूध बेचेर त्यो पैसाले आमाले जवान छोरा, बुहारी र नातिको लास अस्पतालबाट लिइन् र अन्तिम संस्कार गरिन् । आमाको दूधले सन्तानलाई जीवन दियो, मृत्युपछिको संस्कार गरायो र बज्यैको दूधले एउटा नातिको लासले आगो पायो, एउटी सासूको दूधले बुहारीको लास बगरमा मिल्किनु परेन ।

स्तनको दूध बेचेर सन्तानलाई जीवन दिने आमाले आफ्नो नामबाट नागरिकता सन्तानलाई दिनचाहिँ नपाउने अन्याय किन भएको होला ?

के लोकतन्त्र भनेको राजनीतिक परिवर्तन मात्र हो ? के लोकतन्त्र भनेको शब्दहरू परिवर्तन हुनुमात्र हो ? के रोल्पाकी आमालाई र चितवनकी युवतीलाई आफ्नो नागरिक अधिकारबारे बोल्ने ठाउँ छैन ? कसले देला, यो ठाउँ नेपाली महिलालाई ? लोकतन्त्रको यत्रो बहसपछि पनि यदि नेपाली महिलाले आफ्नो सन्तानलाई आफ्नो नामबाट पहिचान दिनसक्ने अवस्था छैन भने त्यो के लोकतन्त्र हो ?

प्रकाशित : चैत्र २९, २०७३ ०८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT