कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मदन भण्डारी : ‘जबज’ को वाङ्मय

भवानी बराल

‘धनले लोभिएको युवकको करकापमा परी ६० वर्षे बूढी लौरो टेकेर पोइल गए जस्तो भयो ।’ तत्कालीन नेकपा (माले) को पूर्वरूप कोअर्डिनेसन केन्द्र (को.के.) सँंग एकता गर्दा स्व. मदनकुमार भण्डारीले भनेको कुरा उनकै सम्झनामा लेखिएको स्मृति ग्रन्थमा प्रकाशित छ ।

मदन भण्डारी : ‘जबज’ को वाङ्मय

भण्डारीले महिलातिर लक्षित यस्तो उखान भनेका थिए, थिएनन् । यद्यपि उनका अनुयायीहरूले भण्डारीको स्तुति गाउने नाममा यस्तो कुरा पनि सगौरव लेखेका छन् । तर तिनै भण्डारी कालान्तरमा नेकपा (माले) र नेकपा एमालेको एकछत्र महासचिव भए ।

ख्यातिका हिसाबले नेपालको राजनीतिक इतिहासमा स्व. भण्डारी मूल्याङ्कन गरिरहनु नपर्ने विराला कोटीका नेता हुन् । २०४६ सालको जनान्दोलनको सफलतापछि खुल्ला परिवेशमा देखापरेका भण्डारीको जति ख्याति अन्य नेतामा पाइएको छैन । २०४७ देखि ०५० सालसम्मको राजनीतिक सक्रियताले उनलाई विश्व समुदायसंँग परिचित गरायो । माक्र्सवादमा आधारित नयाँ जनवादी कार्यक्रमको विकल्पमा ‘जनताको बहुदलीय जनवाद (जबज)’ कार्यक्रममार्फत उनी ख्यातिप्राप्त भए । तर २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भण्डारी चढेको गाडी रहस्यमय ढङ्गले दुर्घटना भयो र उनीसहित संंगठन विभाग प्रमुख जीवराज आश्रितको इहलीला समाप्त भयो । गाडी चालक अमर लामा भने बँचे । २०५९ सालमा अज्ञात व्यक्तिले लामाको पनि हत्या गरिदिए ।

भण्डारीको राजनीतिक जीवन पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भ्रातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट सुरु हुन्छ । २०२९ सालमा उनी संगठनको केन्द्रीय सदस्य भए र कम्युनिष्ट पार्टीको पनि सदस्य भए । मोदनाथ पश्रित, जीवराज आश्रित सहितको सहयोगमा २०३३ सालमा पुष्पलालसँग विद्रोह गरे र मुक्ति मोर्चा समूह बनाए । यता झापाली समूहले २०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन गरिसकेका थिए । जसलाई को.के. पनि भनिन्थ्यो । मुक्ति मोर्चा समूहको २०३४ भदौ १४ गते को.के.सँग एकता भयो । यिनै दुई समूहको सक्रियतामा २०३५ पुस ११ गते नेकपा (माले) को घोषणा भयो । २०४६ सालपछि माले र मनमोहन तथा साहना प्रधान नेतृत्वको नेकपा (माक्र्सवादी) को एकीकरण भएपछि अहिलेको नेकपा (एमाले) बन्यो । 

मेची अञ्चल ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघु गाविसको ठोट्ने गाउँमा २००९ असार १४ गते भण्डारीको जन्म भएको थियो । उनी २०२४ सालमा संस्कृत शिक्षा लिन भारतको वृन्दावन गए । उनले बनारसको वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्रीसम्म अध्ययन गरे । अध्ययनकै सिलसिलामा वामपन्थी राजनीतिमा आकर्षित भए । करिब १७ वर्ष पूर्णकालीन संगठक र चार वर्ष खुल्ला राजनीतिक जीवनयापन गरे । प्रखर वक्ताको ख्याति कमाएका भण्डारीले उसबेला ‘अरु कम्युनिष्ट पार्टी खोज्न धरहराको टुप्पो चढेर नियाल्नुपर्छ’ भनेका थिए । उनको सक्रियतामा बनेको एमाले पार्टी खोज्न अबका वर्षमा त्यही भनाइ कसैले सापट लिन सक्छ । एकमात्र कम्युनिष्ट नेता भए पनि प्रहरी हिरासतको अनुहार उनले कहिल्यै देख्नुपरेन । उनको रहस्यमय मृत्यु भएको २४ वर्ष बितिसकेको छ । 

संसदीय व्यवस्था र कम्युनिष्ट पार्टी 
संसदीय व्यवस्था र कम्युनिष्ट पार्टीको सम्बन्धबारे धेरै बहस हुँदै आएको छ । लेनिनले भनेका छन्, ‘राजनीतिक स्वतन्त्रताले मिहेनतकश जनतालाई तुरुन्तै गरिबीबाट मुक्त गर्दैन, तर यसले मिहेनतकश जनतालाई गरिबी हटाउन संघर्ष गर्न एउटा हतियार दिन्छ ।’ यही सूत्रलाई आधार मान्दै संसारका कम्युनिष्टहरू संसदीय व्यवस्थाको मझेरीमा आइपुगेका हुन् र कालान्तरमा यसै व्यवस्थामा समाहित भए । लेनिनले संसदलाई उपयोग गर्नसम्म सकिने बताएका हुन्, तर नेपाल लगायत भारत र कतिपय देशका कम्युनिष्टहरू उल्टो संसदबाट उपयोग हुनपुगे । अहिलेको लडाइँ पनि उपयोग हुने कि उपयोग गर्ने बीचको हो । लेनिनले अर्को प्रसंगमा भनेको ‘संसद खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो’ भन्ने कुरा पोली खाए । भण्डारीले नेपालको ठूलो कम्युनिष्ट पङ्क्तिलाई संसदीय व्यवस्थामा हेलाए । यस अघि पुष्पलालले विशिष्ट परिस्थितिमा ल्याएको ‘विघटित संसदको पुन:स्थापना’को कार्यक्रमले नेपालका कम्युनिष्टहरूलाई संसदमा रमाउन सजिलो सिद्धान्त मिल्यो । भारतीय कम्युनिष्ट नेता साजन गुप्ताले भनेका थिए, ‘साम्यवाद भनेको राज्यको संरचना हो, माक्र्सवाद भनेको दर्शन ।’ यहाँ पनि साम्यवादमा पुग्ने नयाँ जनवादको विकल्पमा ल्याइएको जनताको बहुदलीय जनवाद पनि सिद्धान्त बनाइयो । राज्यको खाकालाई निर्देशक सिद्धान्त बनाएपछि एमाले कम्युनिष्ट आन्दोलनबाट कोसौं टाढा भयो । एमालेको यही विचलनले संसदीय व्यवस्थाको परम्परागत ढर्रातर्फ मोडिन पुगेको हो । परम्परागत संसदीय व्यवस्थाको पूर्णविराम, अर्धविराममा पनि संशोधन नचाहनु त्यही विचारले प्रेरित गरेको अर्थमा लिन सकिन्छ ।
 
जबज, संसद् र भण्डारी
‘कम्युनिष्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।’ जबज दस्तावेजको मुख्य सार यही हो । तत्कालीन रूसी राष्ट्रपति मिखाइल गोर्भाचोभले सोभियत सत्तालाई संसदीय व्यवस्थामा पतन गराउन ग्लास्तनोस्त (खुलापन) र पेरेस्त्रोइका (स्वतन्त्रता) को तथाकथित सिद्धान्त ल्याएका थिए । भण्डारीले ल्याएको ‘जबज’को आधार त्यो भन्दा अलग होइन । माक्र्सवादको सिर्जनात्मक संस्करण ‘जबज’ होइन । माक्र्सवादको उप–उत्पादन हो । बहुमतको सरकार र अल्पमतको विपक्ष अर्को महत्त्वपूर्ण बुँदा जबजमा छ । जबजमा उल्लेख छ– ‘वर्तमान राजनीतिक संघर्ष संसदीय घेराभित्र छ । कसैको मनोगत चाहनाले यो तत्काल बाहिर जान सक्तैन ।’ यसर्थ यो प्रस्तावना शास्त्रीय माक्र्सवादीहरूलाई बहुदलीय संसदीय व्यवस्थाको चौघेरामा ल्याउन सक्ने कुशल कालिगढी भण्डारीले ल्याएको उच्चतम नमुना हो । कम्युनिष्ट आन्दोलन ‘भालुको जीउ कता रौं, कता आँखीभौं’ भैरहेको अवस्थामा उनले ल्याएको राजनीतिक रूपरेखा संशोधनको रेशममार्ग हो । भण्डारीले भनेकै थिए, एउटा खुट्टो दह्रोसंँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौं । 

पुष्पलालदेखि एमालेसम्म
पुष्पलालको सांस्कृतिक समूहदेखि को.के., माले हुँदै एमाले पार्टीसम्मको भण्डारीको राजनीतिक यात्रा नागवेली छ । तीनवटा महाधिवेसनसम्म माले पार्टीमा सांगठनिक घात–अन्तर्घात र राजनीतिक अस्पष्टताबाट गुज्रियो । शान्ति क्षेत्रको प्रस्तावलाई कहिले दृढ समर्थन गर्ने, कहिले आलोचनात्मक समर्थन गर्ने र २०३९ सालमा विरोध र भण्डाफोर गर्ने नीति लियो । पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको कार्यक्रमविहीन अमूर्त नारा ल्याएर कार्यकर्ताको पाँडे पजनी गर्ने काम पनि भए । जनताको मुख्य अन्तरविरोध कोसंँग हुने खुट्याउन नसकेर विलखबन्दमा परेको थियो । माओ विचारधारा छोड्ने, २०४३ सालको पञ्चायती निर्वाचनमा भाग लिने, सोभियत संघ लगायत १५ देशलाई समाजवादी लालमोहर दिने, संविधानसभा खारेज गर्ने, संवैधानिक राजतन्त्रको कार्यदिशा लिने थुप्रै राजनीतिक रोमाञ्स मालेको दिनचर्या बन्यो । पटक–पटक अल्पमतमा परेका भण्डारीले २०४६ भदौमा भएको चौथो महाधिवेसनमा महासचिव चयन भएपछि दिग्भ्रमित मालेलाई दक्षिणी मोहडामा ल्याए । चौथो महाधिवेसनमै बहुदलीय जनवादलाई स्थापित गरे र पाँचौं महाधिवेसनमा अनुमोदन गराए ।

रहलपहल 
स्व. भण्डारीले तत्कालीन राष्ट्रिय राजनीतिक सन्तुलनलाई सुरक्षित अवतरण गराउन मुख्य भूमिका खेलेकोमा दुईमत छैन । उनको भाषामा मुठभेडबाट मुलुकलाई जोगाउन २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरेका थिए । यद्यपि उनको यो विचार पाँच वर्ष पनि राजनीतिको हाटमा आलो रहन सकेन । २०५२ सालपछि १० वर्षको भीषण सशस्त्र विद्रोह र २०६२/६३ को दोस्रो ऐतिहासिक जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेको छ । २०४७ सालको संविधानले मुलुकलाई मुठभेडबाट जोगाउन सकेन । अन्तत: संविधानसभामार्फत २०७२ सालमा अर्को संविधान जारी गर्नुपर्‍यो । 

जनताको बहुदलीय जनवादले साम्यवादी आन्दोलनलाई चाहिँ ‘डाइभर्सन’ गरेकै हो र त्यो अहिले पनि निरन्तर छ । आलोचनात्मक समर्थनको कथित कार्यनीतिक सिद्धान्तले माक्र्सवादी राजनीतिलाई पाल्सी भाषामा अनुवाद गरेकै हो । यो सिद्धान्तले ‘प्रतिगमन आधा सच्चियो’ भन्नेसम्ममा एमालेलाई पुर्‍याएकै हो । भण्डारीले व्याख्या गरेको तत्कालीन राजनीतिक शक्ति सन्तुलन यतिखेर परिवर्तन भैसकेको छ । तर एमाले राजनीतिको मूलप्रवाहबाट पछाडि फर्कने क्रममा छ । एमालेले यतिखेर अगाडि सारेको राष्ट्रियताको परिभाषा त्यही परम्परागत विरासतबाट सापटीमा ल्याएको छ । जसले आजको नेपाल राष्ट्रको परिभाषा गर्न सक्तैन । यसकारण एमालेले लिएको वर्तमानको नीति एउटा नश्ल विशेषको स्तोत्रमात्र बन्दै गैरहेको छ । यद्यपि स्व. भण्डारीले साम्यवादी आन्दोलनलाई अन्यत्र मोडे पनि राष्ट्रियताको विषयमा उनको अडानलाई इतिहासले सदासर्वदा उच्च मूल्याङ्कन गर्नेछ । तर मृत्यु पछाडि भण्डारीको अतिरिक्त मूल्याङ्कन गरेर जगत हँसाउने कामचाहिँ गर्नुहुन्न । 

प्रकाशित : जेष्ठ ३, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?