कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अंग प्रत्यारोपणमा फड्को

सम्पादकीय

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिका मृगौला दुई व्यक्तिमा सफल प्रत्यारोपण गरेको छ । संवेदनशील र जटिल विषयमा मुलुकमै पहिलोपटक प्राप्त यो उपलब्धि चिकित्सा क्षेत्रका लागि महत्त्वपूर्ण छ । यो सफलताबाट प्रत्यारोपणका लागि मृगौलाको खोजीमा भौंतारिहेका व्यक्तिहरू लाभान्वित हुनेछन् नै, विशेषज्ञ चिकित्सकहरूलाई हौसला पनि मिल्छ र थप सफलता प्राप्तिका लागि प्रोत्साहित हुन्छन् ।

अंग प्रत्यारोपणमा फड्को

केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालिएका मृर्गौला ५१ वर्षीय वयस्क र १५ वर्षीय किशोरमा एक साताअघि प्रत्यारोपण गरिएको हो । जिप दुर्घटनामा घाइते भएका सिन्धुलीका एक ३० वर्षीय युवाका दुइटा मृगौला र एउटा कलेजो प्रत्यारोपणका लागि निकालिएको थियो । मानव अंग प्रत्यारोपण नियमावली–२०७३ ले मस्तिष्क मृत्यु भएकाहरूको अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुला गरेपछि यो सफलता सम्भव भएको हो । त्यसअघि नजिकका आफन्तले मात्र बिरामीलाई अंग दिन पाउने व्यवस्था थियो । मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट दुइटा मृगौला, दुई फोक्सो, एक मुटु, एक कलेजो, एक प्यांक्रियाज, एक सानो आन्द्रालगायत दुई आँखाका नानी तथा छाला दान र प्रत्यारोपण सम्भव छ । मुटु, कलेजो, मृगौला, फोक्सोजस्ता महत्त्वपूर्ण अंगले काम गरिरहे पनि मस्तिष्क निष्क्रियको अवस्था ‘ब्रेन डेथ’ हो । मृगौला प्रत्यारोपणको सफलताले फोक्सो, मुटुलगायतका अंग प्रत्यारोपणको ढोकासमेत खोलेको छ ।

नेपालमा अंग प्रत्यारोपण २३ वर्षअघि सुरु भएको इतिहास छ । त्यतिबेला विदेशबाट आँखाको नानी ल्याएर सफल प्रत्यारोपण गरिएको थियो । त्यसपछि अंग प्रत्यारोपणको सफलता मृगौलामा हो । दुवै मृगौला फेल भएका व्यक्तिमा स्वस्थ व्यक्तिबाट मृगौला लिएर प्रत्यारोपण गरिँदै आएको थियो । पाँच वर्षअघि भने बोनम्यारोको सफल प्रत्यारोपण भयो । गत मंसिरमा मानवअंग प्रत्यारोपण केन्द्रमै विदेशी विशेषज्ञको सहयोगमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरियो । अंग प्रत्यारोपण मुलुकभित्रै सम्भव हुँदा महँगो खर्च गरेर विदेश जानुपर्ने बाध्यता हट्छ । नेपालमा बर्सेनि तीन हजार व्यक्तिको दुवै मृगौला फेल हुने अनुमान छ, तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुन्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएर मृगौला प्रत्यारोपण सम्भव भएपछि त्यस्तो मृत्युदरलाई घटाउन मद्दत पुग्नेछ । सस्तो र गुणस्तरीय सेवा दिन सके स्वदेशमा मात्र नभएर विदेशी मुलुकका बिरामी लाभान्वित हुन्छन् । मृगौला प्रत्यारोपणका लागि भारतीय नागरिक यता आउन थालिसकेका छन् ।

मस्तिष्क मृत्युबाट प्रत्यारोपण सम्भव भएपछि अंग नपाएरै ज्यान गुमाउनुपर्ने समस्या केही हदसम्म हट्न सक्छ । विकसित मुलुकमा ८० प्रतिशतभन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त हुने अंगबाटै हुने गर्छ । मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार सडक दुर्घटनालगायत कारणबाट काठमाडौं उपत्यकामा मात्रै बर्सेनि करिब एक हजार व्यक्तिको मस्तिष्क मृत्यु हुने गर्छ । चिकित्सकहरूका अनुसार मस्तिष्क मृत्यु भएकाबाट अंगदान जोखिमरहित हुन्छ । नेपालमा चिकित्सा क्षेत्रले अंग प्रत्यारोपणमा एकपछि अर्को सफलता हात पारिरहे पनि अंग दान गर्ने संस्कृतिले भने व्यापकता पाइसकेको छैन । हालको घटनामा पनि अंगदानका लागि राजी गराउन केन्द्रले कसरत गर्नुपरेको थियो । त्यसैले मस्तिष्क मृत्युपछि आफ्ना सबै अंग दानका लागि मञ्जुरीनामा गराउन नागरिकलाई जनचेतनामार्फत उत्प्रेरित गर्नु आवश्यक छ । चिकित्सा क्षेत्रमा यस्ता सफलता हासिल गरेका, गर्नु लागिपरेका विशेषज्ञ चिकित्सकलाई समेत सरकारले निरन्तर सहयोग र प्रोत्साहन गर्नुपर्छ । दक्ष जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?