संस्कृत अभियन्ता

बालकृष्ण बस्नेत

‘संस्कृत मरेको छैन र मर्न पनि सक्दैन । संस्कृत मरेको भए जीवनदर्शन लगायतका थुप्रै कुरा मर्थे । तर त्यो जीवित छ भने संस्कृत कसरी मर्छ ? मर्दैन’, एक अन्तर्वार्ताका क्रममा संस्कृतका अध्येता जनार्दन घिमिरेले भनेका थिए ।

संस्कृत अभियन्ता

संस्कृत एक भाषामात्र नभई जीवन विज्ञानसँग जोडिएकाले यो लोप हुन सक्दैन । अर्थात मर्दैन । यही मान्यतामा तीन दशकदेखि अडिग घिमिरेलाई मुलुकले अचानक गुमाउनुपरेको छ । वर्षौंपछि आएको स्थानीय तहको चुनावी माहोलले सबैतिर खुसी छाएका बेला उनी बस दुर्घटनामा परेको नमिठो खबर छायो ।

वैशाख ३१ को पहिलो चरणको चुनावमा भाग लिन गृहजिल्ला दोलखा जाने क्रममा घिमिरे परिवार चढेको बस सिन्धुपाल्चोकको खाडीचौर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामै घिमिरेले आफ्ना मातापिता दुवैलाई गुमाए । घाइते उनलाई उपचारका लागि राजधानीमा ल्याइएको थियो । पाँच दिनपछि सोमबार चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

४७ वर्षीय घिमिरेको आकस्मिक अवसानसँगै मुलुकले एक होनहार व्यक्तित्वलाई गुमाएको छ । पूर्वीय दर्शनका कुशल व्याख्याता, संस्कृतका प्रकाण्ड विद्वान् घिमिरेका विविध परिचय छन् । संस्कृत भाषाको अध्ययन, अनुसन्धानलाई व्यापक बनाउन केही वर्षदेखि उनले संस्कृत ग्रामको अवधारणा विकास गरेका थिए । उनी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक, प्रखर वक्ता र दक्ष सञ्चारकर्मीसमेत हुन् । रेडियो कान्तिपुरमा उनी लामो समयदेखि बिहानको धार्मिक कार्यक्रममार्फत लाखौं दर्शकलाई मन्त्रमुग्ध बनाउँथे ।

सनातन धर्म, संस्कृतिका विभिन्न आयामलाई नयाँ पुस्ताले बुझ्ने शैलीमा उनी धाराप्रवाह प्रवचन दिन्थे । विषयवस्तुमा गहिरो ज्ञान राखेका घिमिरे आफूले बुझेका कुरालाई सर्वसाधारणले सहज ढंगले बुझ्ने गरी धार्मिक प्रवचन राख्थे । रेडियोमा उनको विशिष्ट र मौलिक विषयवस्तु, त्यसलाई पुष्टि गर्ने तर्क, प्रमाणले उनी थप लोकप्रिय बनेका थिए । फरक प्रस्तुतिका कारण आवाजका दुनियाँमा उनी छिट्टै लोकप्रियताको शिखरमा पुगेका थिए । उनले ‘पाणिनि व्याकरणको धातुपाठ’ विषयमा त्रिविबाट विद्यावारिधि सकी प्रमाणपत्र बुझ्दै थिए । केही सातामै ‘भाइवा’ बुझाउनुपर्ने कार्यतालिका थियो ।

संस्कृत भाषा पढ्नु वा त्यसलाई निरन्तरता दिएकै कारणले उनी लोकप्रिय बनेका थिएनन् । संस्कृतलाई परम्परागत ढंगले मात्र बुझ्ने, व्याख्या गर्ने, कठिन शब्दमा श्लोक, कविता कोर्ने, घोक्ने प्रवृत्तिबाट उनी सदैव अलग बने । संस्कृत एक विज्ञान भएकाले त्यसलाई समाज परिवर्तन र जीवन पद्धतिमा ढाल्नुपर्ने भन्दै उनले अरूभन्दा फरक अभियान थाले । संस्कृत, नेपाली, अंग्रेजी र हिन्दी चारवटै भाषामा उनको गहिरो ज्ञान थियो । चारवटा भाषामा दक्खल राखी प्राज्ञिक काम गर्न सक्ने औंलामा गन्न सक्ने व्यक्तिमा उनी दरिएका थिए । 

संस्कृत कुनै एक भाषा मात्र होइन, पद्धति हो । यो नेपाली भाषाको जननी भाषा पनि हो । पूर्वीय दर्शन मुख्य आधार वेद संस्कृत भाषामा रचना गरिएका छन् । पुराणहरू पनि संस्कृत भाषामै छन् । जुन हाम्रा अमूल्य निधि हुन्, जसले असल मानिस र समाज निर्माणका लागि सत्मार्ग देखाइरहेका छन् । वेद र पुराण विज्ञानसम्मत छन् । यही विज्ञानको प्रयोगले पश्चिमाले चामत्कारिक काम देखाएका छन् । संस्कृत पढिने तर समाजमा उपयोगिता कम देखिएका बेला घिमिरे त्यसको खास उपादेयतालाई छर्लंग बनाउने काममा बढी खटे । त्यसका लागि विद्यालय, कलेजमा पढाउने, देश–विदेशका कार्यक्रममा प्राज्ञिक विचार दिनेदेखि रेडियोमा मधुर आवाजमार्फत सन्देश फैलाउने काममा उनी निरन्तर लागिरहे । त्यसले उनलाई थुप्रै संस्कृतप्रेमी र अध्येताबीच बेग्लै परिचय बनाइदियो । 

दोलखाको लामीडाँडा, हिलेपानी गाउँमा २०२७ सालमा उनको जन्म भएको थियो । बाल्यकाल उनको गाउँमै बित्यो । पिता मुक्तिनाथको प्रेरणाले उनी संस्कृत अध्ययनमा लागेका थिए । पिताको संस्कृतमा अध्ययन र रुचि थियो । घिमिरे परिवारकै पहलमा गाउँमा स्थापना भएको स्कुलमा संस्कृतको पढाइ हुन्थ्यो । गाउँमै रहेको हिलेपानी निम्न माविमा घिमिरेले ७ कक्षासम्म पढेपछि थप अध्ययनका लागि रानीपोखरीस्थित संस्कृत स्कुलमा भर्ना भए ।

त्यतिबेला पनि उनी विद्यालयस्तरीय निबन्ध, वादविवाद कार्यक्रममा सधैं अघि हुन्थे । विद्यालय तह सकेपछि वाल्मीकिबाट आचार्य हुँदै त्रिविबाट स्नातकोत्तर सकेका थिए । जति अध्ययन बढ्यो, त्यति संस्कृतको महत्त्व बुझेपछि भने उनी अनुसन्धानात्मक काममा तल्लीन भएका थिए । 

संस्कृत ग्रामको अभियन्ता
सुरुदेखि नै संस्कृतको महत्त्व बुझेका कारण यही क्षेत्रमा नमुना काम गर्ने उनको योजना थियो । संस्कृतलाई व्याख्या गर्न संस्कृत भाषाकै सहारा लिनुपर्छ भन्ने छैन । नेपालका सबै भाषाभाषीले आफ्नो ढंगले संस्कृतलाई पढ्न, बुझ्न सक्छन् भनी उनी प्रवचनमा सुनाउँथे । विश्वले यही बुझेर विभिन्न भाषामा संस्कृतको अध्ययन गरिरहेका छन् । जर्मन, फ्रान्स वा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा यो विज्ञानको अध्ययन छ । शोध छ । 

‘संस्कृत थामी भाषामा पढे के समस्या छ ? संस्कृत नेपालीमा पढे के समस्या छ ? अंग्रेजहरूले जम्मै संस्कृत अंग्रेजीमा पढेका छन्, के समस्या छ ?’ घिमिरेले एक अन्तर्वार्तामा प्रश्न गरेका थिए । संस्कृतलाई भाषागत दृष्टिले भन्दा पनि वाङ्मयगत हिसाबले हेर्नुपर्छ र त्यो अहिले पनि संसारभर जीवित रहेको उनको तर्क हुन्थ्यो । त्यसलाई अझ जीवन्तता दिएर संस्कृतभित्र लुकेको विज्ञानलाई व्यवहारमा उतार्न उनले संस्कृत ग्राम निर्माणको अभियान सुरु गरेका थिए । 

उनले संस्कृतलाई विज्ञानका रूपमा लिएका थिए । त्यसैमा अनुसन्धान गरेर तयार पारेको कृति ‘शब्द सन्दोह’ प्राज्ञिक समुदायबीच साह्रै चर्चित छ । भारतमा ‘दयानन्द आङ्लो वैदिक’ पद्धतिमार्फत संस्कृतलाई फराकिलो पारिएको छ । अंग्रेजी, हिन्दी वा कुनै पनि भाषामार्फत संस्कृत बुझाउने काम त्यहाँ भएको घिमिरेले राम्रोसँग बुझेका थिए ।

त्यसबाट प्रभावित भई उनी उक्त पद्धति नेपालमा पनि विस्तार गर्न दुई दशकदेखि नै लागिपरेका थिए । उक्त पद्धतिमा अनुबन्ध जावलाखेलस्थित ‘डीएभी सुशील केडिया विश्व भारती’ विद्यालयमा उनले पढाउने मात्र नभई त्यहाँको संस्कृत पाठ्यक्रम नै तयार गरेका थिए । 

संस्कृत ग्रामका लागि उनले जुन ठाउँ रोजे, त्यहाँबाट उनले यो विषयको ज्ञान लिन सुरु गरेका थिए । पौराणिक महत्त्व र भूगोलका हिसाबले पनि त्यो ठाउँ उनलाई उपयुक्त लाग्यो । पूर्वमा गौरीशंकर हिमाल, पश्चिममा कालिञ्चोक देवी, भीमेश्वर र दक्षिणमा तामाकौशिकी नदी र उत्तरमा विगु गुम्बाको बीच भागमा रहेको स्थानमा यो ग्राम बनाउन लागिएको हो । हाल कालिञ्चोक गाउँपालिकाभित्र साबिकका लामीडाँडा, बाबरे र लापिलाङ गाविसको करिब ३ हजार रोपनी रोजिएको छ । उक्त क्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी प्रस्ताव जिल्ला परिषद्बाट पारित भई हाल मन्त्रिपरिषद्सम्म पुगेको छ ।

घिमिरेले उक्त कामको व्यवस्थापनका लागि प्राविधिक संस्था स्थापनामा कहलिएका काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. सुरेशराज शर्माको अध्यक्षतामा समितिसमेत बनाई काम अघि बढाएका थिए । 

संस्कृत ग्राममा संस्कृतको पढाइ मात्र नभई विभिन्न विभाग बनाई अनुसन्धानको काम हुने र विश्वकै नमुना बनाउने लक्ष्य राखिएको थियो । वेदका मान्यताअनुसार वैज्ञानिक शिक्षा दिने, आयुर्वेद, धनुर्विद्यासहितमा बेग्लै अध्ययन गराउन आवश्यक संरचनाको अवधारणा तयारी भइसकेको थियो । त्यसका लागि ख्यातिप्राप्त इन्जिनियर शंकरनाथ रिमालले संरचना डिजाइन गरेका छन् । त्यसका लागि रिमाल हिलेपानी क्षेत्रमै पुगेको स्व.जनार्दनका आफन्त भेषराज घिमिरेले जानकारी दिए । 

‘संस्कृत ग्राम बनाउन दाजु (जनार्दन) को लगाव देखेर सबै छक्क पर्थे । उहाँ जहाँ पुग्नुहुन्थ्यो, सहमति जुटाएर मात्र अभियानमा सहभागी गराउनुहुन्थ्यो’, भेषराज सम्झन्छन् । सडक नबनिसकेकाले त्यतिबेला रिमाललाई डोकामा बोक्न लगाई संस्कृत ग्राम स्थलसम्म पुर्‍याइएको उनी स्मरण गर्छन् । 

माओवादी ‘युटर्न’
घिमिरेको संस्कृत ग्राम अभियान र माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) सँगको सम्बन्ध अविस्मरणीय छ । माओवादीले ‘जनयुद्ध’ थालेलगत्तै संस्कृतको घोर विरोध थालेका थिए । गाउँ–गाउँका संस्कृत स्कुल बन्द गर्ने, शिक्षकलाई लखेट्ने, धपाउने काम गरेका थिए । त्यही मारमा हिलेपानीको संस्कृत स्कुलसमेत परेको थियो । २०५५ सालतिर माओवादीका तत्कालीन जिल्ला नेताहरू देवी खड्का, कुलबहादुर बुढाथोकीलगायतले उक्त विद्यालयबाट संस्कृतको अध्ययन, अध्यापन बन्द गराएका थिए । यसले सबैभन्दा ठूलो चिन्ता घिमिरेलाई पारेको थियो । किनकि त्यस अघिदेखि नै उनी फरक खालको प्राज्ञिक केन्द्र बनाउन आन्तरिक योजना बनाउँदै थिए । घिमिरेले माओवादी नेताहरूलाई सम्झाउन थाले । संस्कृत मासिनु भनेको सभ्यता, पहिचान मासिनु हो । यसले नेपाललाई झन् पछि धकेल्छ । त्यसैले आफ्नो सभ्यता, संस्कृतिलाई बचाऊँ भन्दै निकै भेटघाट र दौडधुप गरे । 

समय यस्तो आयो, पहिले विद्यालय बन्द गर्ने नेता–कार्यकर्ता नै उक्त विषय पुन: थाल्ने निर्णयमा पुगे । त्यति मात्र होइन, त्यही क्षेत्रमा संस्कृत ग्राम बनाउन जिल्ला तहमा हस्ताक्षर गर्नेदेखि केन्द्रमा आवश्यक दबाब दिने काममा तिनैले अन्य दलका नेतालाई साथ दिए । संस्कृतप्रति माओवादीको दृष्टिकोण बदल्नुमा स्व. घिमिरेको विशेष योगदान थियो । 

आफ्नो विषयमा प्रस्ट ज्ञान, अडान भएकै कारण संस्कृत ग्राम अभियान केन्द्रीय तहमै बहसको विषय बनेको थियो । सरल जीवनयापन, भद्र व्यक्तित्वलाई निरन्तर अध्ययन, खोज गर्ने शैलीले झन् उच्च पारेको थियो । आफ्नो अभियानमा एकोहोरो र खरो ढंगले उनी उत्रेका थिए । एकपटक नेपाली खस भाषामाथि समेत विभिन्न खालका आक्रमण हुँदा त्रिविका प्राध्यापकहरूमाझ उनी प्रश्न गर्थे– ‘संस्कृतमाथि एकताका आक्रमण भयो । म पागलजसरी लागिरहेको छु । खस भाषामाथि गिद्धेदृष्टि लगाइँदै छ । तपाईंहरूमध्ये कोही मैदानमा उत्रनुपर्‍यो । हाम्रो सम्पदा हामीले नजोगाए कसले जोगाउँछ ?’ 

प्राज्ञिक उचाइ र अभियान बढाउन उनको राजनीतिक विगतले पनि सहयोग पुर्‍याएको थियो । २०४५ सालमा उनी वाल्मीकि क्याम्पसको स्ववियु सदस्य चुनिएका थिए । २०४९ सालमा उनी नेपाल विद्यार्थी संघका जिल्ला सभापति चुनिएका थिए । जतिबेला संस्कृत विज्ञानको भेद पत्ता लगाई शोधखोजतिर लागे, उनको राजनीतिक बाटो भने त्यतिबेलै विराम लागेको थियो । 

आज उनी सशरीर हामीबीच छैनन् । तर उनलाई पाउन सक्ने कृतिहरू उनले छाडेर गएका छन्, जसले घिमिरेलाई सधैं जीवित राख्नेछ । खासगरी गौरीशंकर संस्कृत ग्रामको मियो भाँचिएको छ । यो अभियान नरोकिएला । तर पहिलेकै गतिमा अघि बढाउन चुनौती अवश्य हुनेछ । सरकारले त्यसको महत्त्व बुझी संस्कृत ग्रामलाई अघि बढाए घिमिरेप्रति साँचो सम्मान हुनेछ र त्यसले मुलुकप्रति नै न्याय हुनेछ । 

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?