शालीन विक्रम

यज्ञश

२०५४ सालमा आदिकवि भानुभक्त क्याम्पसमा आईए पढ्न आउँदा मलाई एकजनाले सोधे– ‘तिमी विक्रमको भाइ हो ?’ उनको यो प्रश्नमा मैले उल्टो प्रश्न गरेको थिएँ, ‘को विक्रम ?’ म विक्रम परियारलाई चिन्दिनथेँ । उनको नाम पनि सुनेको थिइन । दुई वर्ष दमौलीमा बस्दा पनि मैले कहिल्यै विक्रमलाई देखिन । उनले गाएका गीतबारे भने सुनेँ ।

शालीन विक्रम

मादी र सेती नदीको किनारमा रहेको उष्ण दमौली बजार त्यसबेला अहिलेको जस्तो घना थिएन । माओवादी ‘जनयुद्ध’को भेल उर्लिएपछि वर्षाको मादीमा बगेर आउने मुढाजसरी गाउँबाट मानिस हुत्तिएर दमौली आइपुगे । दमौलीका कुनै कुनाकाप्चा घर बन्न बाँकी रहेनन् । जता हेर्‍यो, त्यहीं घरमात्र देखिन थाले । टाप्रेघारी फाँडेर बसेको बजारमा सहरका लक्षणहरू बढ्दै गए । यससँगै दमौलीमा कहिले लागुऔषधको प्रयोग त कहिले अरू केही विकृति बढेका समाचार काठमाडौंमा बसेर पढिरहिएको थियो ।

गत आइतबार २० वर्षपछि भएको स्थानीय चुनावकै दिन दमौलीमा ती विकृतिले विक्रम परियारलाई निल्यो । २० वर्ष पहिले जहाँ मैले विक्रमको नाम सुनेको थिएँ, त्यहीँ आदिकवि भानुभक्त क्याम्पस नजिकैको निर्जन ठाउँमा फोटो खिच्ने कुरामा भएको सामान्य विवादमा ४२ वर्षीय विक्रमलाई ढुंगा हानेर मारियो । उनको हत्याको अभियोगमा तनहुँ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । यी सबै बीस वर्षभन्दा कम उमेरका छन् । यसले एकैपटक सुरक्षा व्यवस्था, किशोर–किशोरी र नयाँ पुस्तामा बढ्दो अनावश्यक आक्रामकता र हिंसालाई दर्शाउँछ ।

विक्रम मूलत : संगीतकर्मी थिए । नवीन सुब्बाको टेलिफिल्म ‘दलन’को कास्टिङका क्रममा अनुप बरालले उनलाई अभिनयतर्फ ताने । अनुपसँगै विक्रम फिल्म कलाकार पनि बने । अभिनयले उनलाई धेरैका माझ चिनायो । तर उनी त्यसमा स्टार थिएनन् । उनी स्टार थिए, संगीतको । अनुप बरालको नाटक ‘टलकजंग भर्सेस टुल्के’मा विक्रमले संगीत दिएका थिए । फिल्ममा जस्तै यो नाटकमा पाश्र्व गीत थियो– ‘न जिउँदाको जन्ती, न मर्दाको मलामी ।’ विक्रम परियारले कम्पोज गरेको यो गीत उनले धेरैपटक गाए । नयाँदिल्लीको राष्ट्रिय नाट्य विद्यालयमा भएको नाटक महोत्सवमा यो नाटकको सो हुँदा विक्रमका तीनै दाजुभाइ संगीत समूहमा थिए ।

अनुपको ‘एक्टर्स स्टुडियो’मा पहिलो ब्याचदेखि नै अनुपले अभिनय सिकाए भने विक्रमले तीनै कलाकारलाई संगीत र स्वर सिकाए । हार्मोनियम समाएर आलाप गाउनेमात्र होइन, उनले आवाजको अभिनय पनि सिकाउँथे । दयाहाङ राईदेखि मेनुका प्रधानसम्म अनुपका थुप्रै चेलाहरू विक्रमका पनि चेला थिए । उनले मन्डला थियटर, थियटर भिलेज र ओस्कार फिल्म कलेजमा पनि विद्यार्थीलाई संगीतको ज्ञान दिए ।

पछिल्लो पटक अनुपको मल्टिस्टार नाटक ‘कोर्ट मार्शल’मा विक्रमले सैनिकको भूमिका निर्वाह गरे । राजेश हमालदेखि दिया मास्के, दयाहाङ राई, कर्माजस्ता स्टारले भरिएको यो नाटकले पनि विक्रमलाई धेरै दर्शकमाझ चिनायो । उनले अनुपका ‘मलामी’ र ‘बाँकी उज्यालो’ जस्ता चर्चित नाटकमा पनि अभिनय गरेका थिए ।

‘टुलकजंग भर्सेज टुल्के’को सोताका मैले विक्रमलाई चिनेको हुँ । आदिकविमा मलाई सोधिएको प्रश्न मैले सम्झिइरहेको थिएँ । जब मैले उनलाई त्यो प्रश्नबारे सुनाएँ, उनले हाँसेर भने, ‘त्यसले ठिक भनेछ, तिमी मेरो भाइ त हौ नि ।’ त्यसपछिका वर्षमा विक्रम दाइका प्राय: सबैजसो नाटक र फिल्म मैले हेरेंँ । उनले ‘तान्डव’, ‘कुसुमे रुमाल’, ‘काठमाडौं : द मिरर इन स्काइ’ र ‘फिटकिरी’ लगायतका फिल्ममा अभिनय गरे । संयोगले उनले अभिनय गरेको फिल्म ‘फिटकिरी’ मैले लेखेको थिएँ । यो फिल्म लेख्दा मेरो दिमागमा प्रहरी निरीक्षकको मुख्य भूमिकामा अनुप बराल थिए र उनको सहायकमा विक्रम । जब फिल्म बन्यो, प्रहरी निरीक्षकको भूमिकामा सौगात मल्लले अभिनय गरे । अनुप यसको निर्देशक बने । पात्र निर्माण गर्दा जुन कलाकार मेरो दिमागमा थियो, पर्दामा त्यही अभिनेता देखिएको विक्रम परियार नै थिए ।

विक्रम पर्दाका कुनै तलश्मी नायक थिएनन् । फिल्ममा हरेक मानिस नायक बन्न सक्दैन, तर जीवनमा बन्न सक्छ । विक्रमको नायकत्व उनको प्रतिभाका साथै उनको शालिन विद्रोहमा पनि थियो । त्यो विद्रोह किन थियो भने उनले दलितको छविबाट बाहिर निस्किने काम गरेका थिए । हाम्रो जस्तो वर्णव्यवस्थाको आधारमा सामाजिक संरचना तय भएको समाजमा जाति र वर्णका आधारमा तोकिएका भन्दा फरक काम गर्नु र ठूलो संसारमा आउनु विद्रोह नै हो । र यो शालिन किन थियो भने उनले यसको उल्लेख कहिल्यै गर्थेनन् । किनै शान्त स्वभावका विक्रम कुराले भन्दा कामले गर्ने विद्रोहमा विश्वास राख्थे । संगीतकार र संगीत प्रशिक्षकका रूपमा उनले जति चेलाहरू उत्पादन गरे, ती सबैलाई यसबारे ज्ञान छ । सामाजिक सम्बन्ध र संरचनाको जञ्जाललाई तोडेर आफ्नो करिअर बनाउन चाहने असंख्य युवाका लागि विक्रमले बनाएको बाटो मूलबाटोका रूपमा रहनेछ ।

कुनै ठूलो भूमिका वा ‘ब्रेक’को पर्खाइमा वर्षौं संघर्ष गर्ने कलाकारहरूको नेपालमा कुनै कमी छैन । पछिल्लो समयमा नेपालमा बढ्दो फिल्म र नाटकको बजारले यस्ता धेरै प्रतिभालाई डबलीतिर तानिरहेको छ । यस्ता कलाकारहरूको प्रतिभालाई माझ्न र तिखार्न सुनिल पोखरेल, अनुप बराल, वीरेन्द्र हमालजस्ता गुरुले मात्रै पुग्दैन, विक्रमजस्ता गुरु पनि चाहिन्छन् ।

विक्रमको अवशानपछि अनुप बरालले फेसबुकमा लेखे, ‘मैले आफ्ना शब्द गुमाएँ, विक्रम ।’ अनुपले शब्द गुमाए, नाटकले संगीत, स्वर र अभिनयको एउटा त्रिवेणी प्रतिभा गुमायो ।

प्रकाशित : जेष्ठ ६, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?