कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कांग्रेसलाई सच्चिने मौका

रामचन्द्र पौडेल

वैशाख ३१ मा सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा नेपाली कांग्रेसले आशा गरेजस्तो परिणाम देखाउन सकेन । चुनावको परिणाम जेजस्तो आए पनि १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको चुनाव हुनु नै ऐतिहासिक उपलव्धि हो ।

कांग्रेसलाई सच्चिने मौका

यो चुनावले व्यवहारमै सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउने काम गरेको छ । अब जनता आफैं मालिक हुने अवसर प्राप्त भएको छ । 

हो, हामीले राजधानीको महानगरपालिका लगायत सहरी क्षेत्रमा राम्रो पकड कायम गर्न सक्छौं भन्ने लागेको थियो । संविधानसभाको दोस्रो चुनावमा पहिलो पार्टी भएको कांग्रेस यति छिट्टै यो स्थानमा आउला भन्ने पटक्कै लागेको थिएन । स्थानीय तहमा हामी पहिलो स्थानमै आउँछौं भन्ने पूर्ण विश्वास थियो । तर दुर्भाग्य, पहिलो चरणमा सम्पन्न स्थानीय निर्वाचनमा हामी दोस्रो स्थानमा पुग्यौं । पहिलो चरणले हामीलाई सकारात्मक परिणाम दिएन । यद्यपि दोस्रो चरण हुनै बांँकी छ । दोस्रो चरणको चुनावपछि पूर्णरूपमा समीक्षा गर्न सकिएला, अहिले पहिलो चरणको चुनावमा भएका कमी–कमजोरीलाई सच्याएर जानुको विकल्प छैन । 

पहिलो चरणमा जनताले हामीलाई दण्ड गरेका छन् । खासगरी सहरी मतदाताले हामीप्रति धेरै असन्तुष्टि प्रकट गरे । भर्खर उदाएका नयाँ पार्टीप्रति मत गयो । किन हामीलाई मत नदिएर नयाँ पार्टीका उम्मेदवारलाई मत दिए ? मतदाताले किन विकल्प खोजे ? हामीले यो जनमतलाई महसुस गरेर अघि बढ्न सक्नुपर्छ । हामीलाई गल्ती स्वीकारेर अघि बढ्ने बाहेक अर्को बाटो हिँड्ने सुविधा छैन । 

हो, हाम्रो कमी–कमजोरी धेरै ठाउँंमा भए । कतिपय ठाउँंमा टिकट वितरण राम्रोसँग भएनन् होला । टिकट दिँदा पनि समयमै दिन सकिएन होला । कतिपय ठाउंँमा कांग्रेसले कांग्रेसलाई हराउन खोजेको गुनासो पनि आएका छन् । राष्ट्रिय राजनीतिको एजेन्डामा हामी ठिक ठाउंँमा हुँदाहुँदै पनि सरकारका पछिल्ला क्रियाकलापले पनि मतदातामा असर पार्‍यो । खासगरी शिक्षित र सहरी मतदातालाई हामीले आकर्षित गर्न नसकेको अवस्था यो परिणामले देखाएको छ । परिणाममा एमाले र हाम्रोबीच धेरै लामो दूरी छैन ।

तर सहरमा हाम्रो उपस्थिति कमजोर बन्न पुग्यो । राजधानीमा यतिको सांसद जित्दा हामीले महानगर गुमाउने अवस्थामा पुग्यौं । अन्य सहरी क्षेत्रको अवस्था त्यस्तै छ । त्यसैले हामी कमजोरीलाई दोहोर्‍याउने होइन, सच्याउने बाटामो तत्काल लाग्नुपर्छ । हामीले कहाँ—कहाँ कमजोरी गर्‍यौं, के—के कारणले हामीलाई मतदाताले मनपराएनन् भन्ने विषयलाई समीक्षा गरेर सच्चिएर जानुपर्छ । फेरि पनि सच्चिन सकेनौं भने आउंँदो चुनावमा हामीले धोका खानुपर्छ । 

मतदाताले हामीलाई सच्चिने मौका दिएका छन् । पहिलो चरणको परिणामबाट पाठ सिक्दै दोस्रो चरणको चुनावमा कांग्रेस पूर्णत: एक बन्दै चुनावीमा होमिनुपर्छ । जनतामा घुलमिल भएका, पार्टीमा योगदान पुर्‍याएका, प्रभावशाली, चुनाव जित्न सक्ने व्यक्तिलाई हामीले टिकट दिन सक्यौं भनेमात्रै पनि हामीले धेरै सुधार गर्न सक्छौं । ‘मेरो र तेरो मान्छे’ नभनी न्याय हुने र चुनाव जित्ने जनप्रियसमेत ख्याल गरेर टिकट दिनुपर्छ । आजैबाट हामीले दोस्रो चरणको चुनावका लागि टिकट वितरण गर्ने क्रम थालेका छौं । टिकट वितरणमै हामीले ‘मेरो–तेरो’ भन्न थाल्यौं भने दोस्रो चरणमा पनि हामीले दण्ड पाउँंछौं । पहिलो चरणमा जनताले हामीलाई जुन खालको दण्ड दिए, त्यसलाई ‘टेकन फर ग्रान्टेड’को रूपमा लिनुहुन्न । 

पहिलो चरणको चुनावले गाउँंको जनाधार कांग्रेसपट्टि नै देखियो । परम्परागत मददाता हाम्रो पक्षमा अडिक रहेको पाइयो । तिनले कांग्रेसलाई छोड्न सकेनन् । तर सचेत सहरी क्षेत्रमा अहिलेका पछिल्लो क्रियाकलापप्रति मतदाताले चित्त दुखाए । सचेत मतदातालाई आकर्षित गरेर अपेक्षित उपलव्धि हासिल गर्न हामीले सकेनौं । यसले भविष्यमा कांग्रेसका लागि प्रश्न खडा गरेको छ । अब सुध्रिएर जाने या अझै तल झर्ने ? 

कांग्रेसले दोस्रो चरणमा टिकट वितरणमा ढिलाइ गर्नुहुन्न । तुरुन्त टिकट दिएर चुनावी अभियानमा पठाउनुपर्छ । टिकट वितरणमा पार्टीले कुनै मापदण्ड बनाएको छैन । त्यसैले विवेक पुर्‍याएर, निष्ठावान र चुनाव जित्ने व्यक्ति छान्न सक्नुपर्छ । 

दोस्रो चरणको चुनाव जेठ ३१ मै हुनुपर्छ । राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा ल्याएर राजनीतिक वातावरण सहज बनाउन सरकारले पछिल्लोपटक केही स्थानीय तह थप गर्ने निर्णय लिएको छ । यो कदम राजपालाई चुनावमा ल्याउने प्रयास हो । प्राविधिक पक्षलाई सोचेर गर्ने कुरा एउटा हो । तर थपिएका स्थानीय तहमा दुई/चार दिनपछि चुनाव गर्नेगरी ३१ गतेको चुनावी कार्यतालिक परिवर्तन गर्नुहुन्न । तोकिएको तालिकालाई बिथोल्दा पछि अप्ठ्यारो पर्छ । राजपा चुनावमा आउने संकेत पाएरै कांग्रेस स्थानीय तहको संख्या थप्ने विषयमा लचक भएको हो । यद्यपि राजपाको औपचारिक निर्णय आउनै बांँकी छ । राजपाको औपचारिक निर्णयको प्रतीक्षामा हामी छौं । 

स्थानीय तहको चुनाव संविधान कार्यान्वयन र अहिलेको राजनीतिक संक्रमणलाई छोट्याउने एउटा महत्त्वपूर्ण खुड्किलो हो । अहिलेको संक्रमण पार गर्न कांग्रेसले सबै राष्ट्रिय शक्तिलाई समेटेर अघि बढ्न सक्नुपर्छ । सबै शक्ति मिलेर अघि बढेमा मात्रै यो संक्रमणलाई सहज ढंगले पार गर्न सकिन्छ । संसदको ठूलो दल कांग्रेसले एकतर्फी दृष्टिकोण राख्नुहुन्न, राष्ट्रिय राजनीतिमा अलि खुला दृष्टिकोण राखेर सबैलाई समेटेर, सबै पक्षका मान्छेलाई राष्ट्रिय मूलधारमा ल्याएर अघि बढ्नुपर्छ ।

प्रकाशित : जेष्ठ १२, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?