राजीनामा : नैतिकता कि भद्रगोल ?

राजिनामासँगै आलोपालो प्रधानमन्त्री बन्ने कुराको पालना ठूलो हो कि तत्काल अगाडि उभिएको राष्ट्रिय जिम्मेवारी ठूलो हो भन्ने अहम् प्रश्न सागै आएको छ ।
प्रा. कृष्ण खनाल

गएको बुधबार दोस्रोपटक लगभग दस महिना प्रधानमन्त्री पद सम्हालेका पुष्पकमल दाहालले राजीनामा गर्ने क्रममा देशवासीलाई सम्बोधन गर्दै ‘नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढसंकल्प’ का रूपमा नेपाली कांग्रेससँगको पूर्वसमझदारीअनुसार नै आफूले राजीनामा गरेको बताएका थिए ।

राजीनामा : नैतिकता कि भद्रगोल ?

यसलाई कतिपयले नयाँ राजनीतिक संस्कार निर्माणको पहल भनेर पनि प्रशंसा गरेका छन् । हुन पनि नेपालका प्रधानमन्त्रीले तनाव र आक्रोशबाट मुक्त भएर हाँसी–हाँसी पद छाडेको यो पहिलो दृष्टान्त नै हो भन्न सकिन्छ । उनको राजीनामाले पनि नियुक्तिका बेलाजस्तै एउटा तरङ्ग ल्याएको छ । संसद्मा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुति, स्थानीय तहको दोस्रो चरणको चुनाव सम्पन्न गर्नुपर्नेजस्ता महत्त्वपूर्ण काम अगाडि छँदाछँदै राजीनामा गर्नु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने तर्क जारी छ । अघिल्लोपटक पद प्राप्तिको चलखेल चर्चित थियो भने यसपटकको चर्चा वचन कायम गर्न भनेर सजिलै छाडेकोमा छ । तर मुलुकको राजनीति भने उनको राजीनामापछि संस्कारभन्दा पनि भद्रगोलको बाटोतर्फ उन्मुख हुन लागेको देखिन्छ । राजीनामासँगै आलोपालो प्रधानमन्त्री बन्ने कुराको पालना ठूलो हो कि तत्काल अगाडि उभिएको राष्ट्रिय जिम्मेवारी ठूलो हो भन्ने अहम् प्रश्न सँगै आएको छ । 

 निश्चय पनि प्रधानमन्त्रीका रूपमा उनको यो दोस्रो कार्यकाल धेरै किसिमले उपलब्धिपूर्ण पनि छ । पहिलो त उनको निजी व्यवहार र कार्यशैली पहिलेभन्दा निकै फरक भयो । उनको नेतृत्व यथार्थपरक एवं प्रौढ देखियो । सत्ताको निपुण खेलाडी पनि दरिए । बोलीको कुनै भर छैन भनेर टिप्पणी गरिने उनी यसपालि भने बोलीको पनि पक्का निस्के । धेरै सन्तुलित र परिपक्व पनि देखिए । प्रमुख प्रतिपक्षीलगायत आफ्ना आलोचकलाई कुरामा होइन कामबाटै जवाफ दिन पनि सक्षम ठहरिए । दोस्रो, भारतसँग अत्यन्तै चिसिएको सम्बन्ध अहिले नर्मल अवस्थामा फर्किएको छ । आपसी सहयोगले गति पाउन थालेको छ । तेस्रो, थुप्रै अनिश्चितता र अन्योलबीच पहिलो चरणको स्थानीय चुनाव उदाहरणीय रूपमा सफलतासाथ सम्पन्न भएको छ । चौथो, सफलता हात लागिसकेको नभए पनि मधेसी दल र नेतासँगको सम्बन्ध तुलनात्मक रूपले सुध्रिएको छ । उनले छाड्ने दिनसम्म संविधान यात्राको बाटोमा उनीहरूको सहभागिता हुने आशा जागेको थियो । तर अहिले अदालतको आदेश र राष्ट्रिय जनता पार्टीले चुनावमा आन्दोलनबाट अवरोध गर्ने कुराले त्यो आशा रहेन । यसैगरी, लोडसेडिङको अन्त्य र स्वास्थ्य सेवामा भएका केही पहलले सरकारले पनि काम गर्दो रहेछ भन्ने विश्वास जनतामा दिएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा र स्वास्थ्यमन्त्री गगन थापा निकै प्रशंसित पनि भएका छन् ।

तर आलोपालो प्रधानमन्त्री बन्ने कुराभन्दा उनी आफैंले तय गरेको तर पूरा गर्न बाँकी दुइटा प्रमुख काम अहिले पनि यथावत् छन् जसले प्रधानमन्त्री दाहालका उपलब्धिलाई ओझेलमा पारेको छ । पहिलो त स्थानीय चुनाव जारी छ । पहिलो चरण मात्र सकिएको हो । झन्डै दुई–तिहाई ठाउँमा चुनाव गर्न बाँकी नै छ । मुखैमा आएको दोस्रो चरणको स्थानीय चुनाव नसकिँदै यसरी बाहिरिनुलाई देउवासँग जे जस्तो सहमति भएको भए पनि राजनीतिक हिसाबले पुष्टि गर्न सकिन्न । दोस्रो, संसद्मा प्रस्तुत भएको संविधान संशोधनको प्रस्तावलाई निर्णायक तहमा पुर्‍याउनु हो । यहाँसम्म आइपुग्दा दाहालले भनेजस्तै राजनीति अलि सहजतातर्फ उन्मुख हुँदै थियो । संविधानले ट्रयाक लिंदै थियो । तर उनको राजीनामापछिको घटनाक्रमले फेरि पुरानै स्थितिमा फर्किने सम्भावना बढेको छ । उनको राजीनामालगत्तै मधेसकेन्द्री नेताहरूको मागलाई लक्षित गर्दै मधेसका जिल्लाहरूमा उनी आफैंले थप घोषणा गरेको महानगरपालिकालगायतका स्थानीय तह कार्यान्वयन नगर्नू भन्ने सर्वोच्चको अन्तरिम आदेश जारी भएको छ । मधेसकेन्द्रित दलहरूको नवगठित राष्ट्रिय जनता पार्टी अर्थात् (राजपा) ले चुनावमा भाग नलिने मात्र होइन आन्दोलनबाट यसलाई बिथोल्ने घोषणा गरेको छ । यसले दाहालमाथि प्रश्न खडा गरेको छ, संवेदनशील घडीमा प्रमुख जटिल समस्यालाई आफ्नो टाउकोबाट पन्छाएको कि वचन पूरा गरेको ?

कांग्रेससँग के कस्तो सम्झौता भएको थियो, औपचारिक रूपमा सार्वजनिक गरिएन । ९ महिनामा स्थानीय चुनाव सम्पन्न गरेर दाहालले छाड्ने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कुरा व्यापक प्रचारित थियो । मधेसी मोर्चासँग गरेको ३ बुँदे सहमतिचाहिँ लिखितमै प्रचारित भयो । संविधान संशोधन नभए पनि यसपटक गरेका दुवै सहमतिप्रति उनले कायम गरेको निष्ठापूर्ण प्रयत्न र पालनामा प्रश्न गर्ने ठाउँ छैन । प्रधानमन्त्री बन्दाको बेलाभन्दा छाड्दा उनको राजनीतिक उचाइ बढेको छ । तर यसलाई राजनीतिक संस्कार निर्माण गर्ने कडी भनेर मान्नुचाहिँ उचित हुँदैन होला । यसले संवैधानिक संस्कारको विकासमा सकारात्मक योगदान गर्ने ठाउँ दिएको छैन । दाहालले राजीनामा गरेपछि देउवा हर्षित भए र दाहालको प्रशंसा पनि गरे । तर मानिसको अपेक्षा थियो देउवाले दाहाललाई दोस्रो चरणको चुनाव सकेर मात्र राजीनामा गरे हुन्छ भन्लान् भन्ने । हुन पनि मुस्किलले तीन–चार साता पर्खिनुपर्ने न थियो । त्यसले देउवाकै उचाइ बढ्ने थियो । तर त्यो विवेकपूर्ण सोच उनमा देखिएन । त्यो त लोकतान्त्रिक राजनीतिमा खोजिने उच्च विवेकयुक्त संस्कारबाट आउने हो । कहाँ पाउनु त्यो संस्कार † यहाँ त दाहाल–देउवाको तमसुक र भाकाको कुरा पो प्रमुख भएको छ । त्यस्तै वचनको पक्का भन्ने कुरा भोलिका लागि बैनाबट्टाभन्दा बढी अहिले नै अपेक्षा गर्नु उचित पनि हुन्न होला ।

अब अलिकति चर्चा गरौं, राजीनामापछिको राजनीति र राजनीतिक उत्तरदायित्वबारे । पहिलो प्रश्न त प्रधानमन्त्रीले राजीनामा गरेको अवस्थामा सरकारले कुन नैतिकतामा उभिएर आफ्नो नीति र कार्यक्रम संसद्मा पेस गर्ने ? यस्तै प्रश्न बजेटका सम्बन्धमा पनि उठ्छन् । काम चलाउ सरकारले संसद्लाई बिजिनेस दिने कुरा हुँदैन । संसदीय प्रणालीमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुति भनेको सर्वाधिक महत्त्वको सरकारी बिजिनेस हो । तर यी दुवै काम अहिले हुँदै छन् । यसले कस्तो संवैधानिक व्यवहार राजनीतिक संस्कार बसाल्ला ? दुई चरणको चुनावका बीच यी दुई कुरा संसद्मा लैजाँदा संवैधानिक व्यवस्था र आचारसंहिता आकर्षित हुन्छ । परस्परविरोधी व्यवहारको अवस्था उत्पन्न हुन्छ भन्ने कुरा संविधानको हेक्का भएको भए प्रस्ट नै थियो । सत्ता आलोपालोको दाहाल–देउवा लहडमा संसदीय व्यवस्थाको यो महत्त्वपूर्ण पाटो अर्थहीन भएको छ । संसदीय प्रणाली चाहिन्न, मान्दिनँ भन्न पाइन्छ । तर संविधानमा लेखिसकेपछि सरकारमा बस्ने र छोड्ने नै यसमाथि मजाक गर्नुचाहिं ठीक होइन । पार्टी गठबन्धनको आवरणमा सत्ताको व्यक्तिगत लेनदेनका कुरा मात्र प्रमुख भएका छन् । यस्तो प्रवृत्तिले कुनै गतिलो संवैधानिक परम्परा बस्दैन । न यसले संवैधानिक मान्यता सम्मान गर्न सक्छ ।

राजपाले भाग लिए वा अवरोध गरे पनि दोस्रो चरणको चुनाव त होला । यसमा धेरै शंका नगरौं । दुई फोरम चुनावमा जाँदै छन् । एउटा त सरकारमै छ । अर्कोले पहिलो चरणको चुनावमा भाग लिइसकेको छ । तर यो कुन रूपको हुन्छ प्रश्न भने गम्भीर छ । दिल्लीको लाइन बदलिएपछि मधेसी राजनीतिको हालत अरू दयनीय बनेको छ । नेता र उनका रणनीति दुवै हतप्रभ भएका छन् । राजपाको अवरोध त्यति प्रभावकारी हुने छैन भन्ने काठमाडौंको अनुमान छ । पहाडी राष्ट्रवादको चुट्किलामा रमाउनेका लागि त यो खुसीको कुरा होला, तर समग्र नेपाल र राष्ट्रियताको कुरा गर्नेका लागि यो सोचनीय विषय हो । जुनसुकै पार्टीको सवाल होस् चुनाव जोड्नका लागि हुनुपर्छ । त्यसमाथि राजपा त संसद्भित्रकै दल हो । राजपाको अवरोधले पकड लियो भने उपेन्द्र यादव तुरुन्तै उतै पुग्नेछन् । गच्छदारलाई पनि चुनावमा उभिन कठिन हुन्छ । अदालतको हस्तक्षेपपछि थप गाउँ/नगरपालिका र राजपालाई मनाउने विकल्प के छ हुनेवाला प्रधानमन्त्री देउवासँग ? संसद्भित्रै रहेका र संवैधानिक प्रक्रियामा समेटिने दललाई चुनावबाट बाहिरिन नदिने हरसम्भव उपायको अवलम्बन गरिनुपर्छ । मधेसको विषयमा अब खेल्ने होइन, समेट्ने उपाय जरुरी छ ।

संविधान कार्यान्वयनका नाममा एक्टिङ धेरै भए, परिणाम दिने एक्सन अझै हुन सकेको छैन । अहिले स्थानीय चुनावले संघीयता कार्यान्वयन भएको ढोल पिटिंदै छ । संघीयतासँग यसलाई जोड्नु केवल नाराबाजी मात्र हो । संघ, प्रदेश र स्थानीय तह अलग–अलग संरचना हुन् । प्रदेश अस्तित्वमै नआए पनि निर्वाचित स्थानीय सरकारलाई काम गर्न संविधानले कतै छेक्दैन । कतिलाई संघीयता अड्काउने यही जुक्ति हो भन्ने पनि लागेको छ । संघीयकरणको संरचनागत सूत्र भनेको प्रदेश हो । त्यहाँ पुग्न बाँकी नै छ । दोस्रो चरणको चुनाव पनि सफलतासाथ सम्पन्न गर्न सके आशा जाग्छ, विश्वास बढ्छ । तर गन्तव्य त्यहीं सकिन्न । प्रदेशको चुनावपछि मात्र संघीयताको राजनीतिक संरचना बन्छ । प्रयोग र अभ्यास त्यसपछिको कुरा हो ।

दाहालको पछिल्लो कार्यकालमा सबैभन्दा खट्किएको कुरा संसद्को भूमिका हो । प्रधानमन्त्रीका रूपमा उनका देखिने प्रयत्न र हाउभाउ धेरै भए । तर संसद्को भूमिका भने शून्य रह्यो । संविधान संशोधन सरकारी प्रस्तावको सूचना हो कि विधेयक छुट्टिनै पाएन । लोकमानसिंह काकीका विरुद्ध संसद्मा पेस भएको महाभियोग प्रस्तावमा संसद्ले दलहरूले गरेको गलत रोजाइलाई सच्याउने अवसर प्राप्त थियो । प्रक्रियाका नाममा भएको ढिलासुस्ती र दलहरूकै उदासीनताका कारण अदालतले उछिन्यो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमा पनि आफ्नो भूमिकाको सही पहिचान गर्न नसक्ता संसद् पछि पर्‍यो । सभामुखको भूमिकामा खासै कसैले विवाद नगरेको भए पनि प्रस्ट भन्नुपर्दा प्रधानमन्त्रीको छायामा पर्‍यो । संवैधानिक प्रणालीको सन्दर्भमा यो सकारात्मक संकेत होइन । सभामुख आफ्नो भूमिकामा सक्रिय भए कानुन बनेको छैन भनेर छेकिन्न । संसद् स्वयम् क्रियाशील भएको अवस्थामा कानुनी रिक्तताको कल्पना गर्न मिल्दैन । कानुनको औपचारिक स्रोत संसद् नै हो । अपेक्षित भूमिकाको अभावमा महाभियोगजस्तो संवेदनशील तर संसदीय विशेषाधिकारको विषयमा समेत संसद्ले कुनै अनुकरणीय नजिर बनाउन सकेन ।

संक्षेपमा भन्नुपर्दा सरकारका तीनवटै अङ्ग— कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अन्तर्सम्बन्धको व्यवहार पक्ष संवैधानिक प्रणालीको स्वस्थ विकासका लागि सहयोगी हुने वातावरण बनेको पाइन्न । अहिलेको संक्रमणमा यी तीनवटै तहको नेतृत्वमा संविधानको उद्देश्य र राजनीतिक गन्तव्यका बारेमा प्रतिस्पर्धी होइन, स्वतन्त्र तर सहयोगी बुझाइ अपेक्षित छ । तर विडम्बना, संसद्मा समानुपातिक कोटामा सांसद चयनको दुरुपयोग त थियो नै, अदालतमा समेत पार्टी कोटा र नेताको खल्तीबाट बसिर्ने न्यायाधीशहरू बग्रेल्ती भए । यसको प्रभाव खासगरी संवैधानिक प्रणालीको विकासमा कति सकारात्मक हुन्छ, गम्भीर रूपमा सोचनीय विषय भएको छ । खासगरेर संविधानसँग जोडिएका विषयमा अहिले जसरी इजलासका न्यायाधीशहरू प्रस्तुत भएको देखिन्छ त्यसले संगतिपूर्ण संवैधानिक प्रचलन र मान्यता स्थापित गर्छ भन्ने विश्वास दिन सकेको छैन । संविधानसंग जोडिएका प्रश्न वा मुद्दामा निर्णय गर्दा आफ्नो नियुक्तिमा सहयोग पुर्‍याउने दल र नेताको मात्र होइन आफैंलाई मन पर्ने राजनीतिक दर्शन र प्रणालीबाट पनि मुक्त रहन सक्नुपर्छ इजलासमा बस्ने न्यायाधीशहरू । यो कुरा भाषण र जनसम्पर्कका मञ्चहरूमा इजलासको व्याख्या र निर्णयमा अनुभूत गर्न पाउनुपर्छ ।

संविधानसभा वा संसद्ले त संविधानको एउटा लिखत दिने हो । त्यसलाई जीवन्त बनाउने काम राजनीतिक प्रणालीको ममज्र्ञ भएका न्यायाधीश गर्न सक्छ । तसर्थ यी तीनै तहको नेतृत्वमा को ठूलो भन्ने दम्भ होइन, संविधानले लक्ष्य गरेको साझा गन्तव्यमा संवाद पनि अपेक्षित छ ।

प्रकाशित : जेष्ठ १४, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?