२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

शिक्षामा सुधार कसरी ?

रमेशप्रसाद गौतम

काठमाडौं — गुणस्तरीय शिक्षाका लागि असल वातावरण चाहिन्छ । अहिले हाम्रा अधिकांश शैक्षिक संस्थामा असल वातावरणको अभाव छ । विद्यालयमा असल वातावरण कायम गरी शैक्षिक सुधारका लागि विद्यमान ऐन–नियम र कार्यक्रम समयसापेक्ष ढंगले बढाउँदै लैजानुपर्छ ।

शिक्षामा सुधार कसरी ?

अहिलेसम्म ल्याउने गरेका नीति–नियममा राम्रो सोचविचार विना नै ल्याइयो । तसर्थ अब परिवर्तन गर्दा हरेक नीति, कार्यक्रम हाम्रो सन्दर्भमा कत्तिको व्यावहारिक छ/छैन, त्यसमा ख्याल गर्नुपर्छ । सुधारका नाममा नैतिक शिक्षालाई पाखा लगाउने काम भयो । आध्यात्मिकतालाई पाखण्डी ठानियो ।

निशुल्क शिक्षा र अनेक छात्रवृत्तिका नारामात्र दिएर पुग्दैन । लागु गरिएका यस्ता कार्यक्रम व्यवहारमा उतार्न सक्नुपर्छ । नारा र भाषणले मात्र कुनै मुलुकको विकास भएको छैन । यस्का लागि चाहिने प्रभावकारी पूर्वाधार विना सम्भव छैन । राष्ट्रले निशुल्क शिक्षाको घोषणा गरे तापनि जनताको झुकाव सशुल्क (निजी) विद्यालयतर्फ नै बढेको छ । कल्याणकारी राज्यको अवधारणा अन्तर्गत निशुल्क भनिए तापनि यस्ता विद्यालयले स्तरीय शिक्षा दिन नसकेको आमधारणा बन्दै आएको छ । परिणामत: अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको छ ।

स्वदेश तथा विदेशमा हुने शिक्षक तालिम गोष्ठीमा छनोट हुने शिक्षकहरू खोज्दा दलहरू आआफ्नो दलीय आग्रहका आधारमा छनोट गराउँछन् । यसमा अवसर पाउनुपर्ने शिक्षकले पाएका छैनन् । कांग्रेस, एमाले, माओवादी, मधेसवादी आदि बिल्ला बोकेका शिक्षकहरूले मात्र अवसर पाएका छन् । जबसम्म स्वयं सरकारले नै छनोट प्रक्रियालाई पारदर्शी र वस्तुनिष्ट ढंगले बढाउँदैन, तबसम्म यी कार्यक्रम प्रभावकारी रूपले कार्यान्वयन हुनसक्दैन । जुन दलको शिक्षामन्त्री आयो, उसले आफ्नो दलीय स्वार्थमा काम गर्न थालेपछि शिक्षामा सुधार कसरी हुने ? पहुँचकै भरमा मात्र शिक्षकहरूले अवसर पाउने हो भने तमाम इमानदार शिक्षकहरूमा निराशा र कुण्ठा उत्पन्न भई पठनपाठन कार्यक्रममा समेत ह्रास उत्पन्न भई स्तरीय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था आउँछ । 

यिनै राजनीतिक प्रभावको सेरोफेरोमा हाम्रो शिक्षा रुमलिएको छ । शिक्षामा राजनीति हुनुहुँदैन, यो सबैले स्वीकारेको कुरा हो । शिक्षक, विद्यार्थीमा राजनीति हुन्छ, तर त्यो अमूक थलोमा जहाँ तिनले आफ्नो संस्कार, संस्कृति र शिक्षालाई बुझेर काम गर्नसकेका हुन्छन् । राजनीतिक दलहरूले विद्यार्थी र शिक्षकलाई हेर्ने र बुझ्ने आफ्नै ढंग छन्, आफू शक्तिमा आउन 
जतासुकै जहाँकहीं पनि तिनलाई प्रयोग गर्न छाड्दैनन् । विद्यार्थी स्वतन्त्र हुन् भन्ने भावनालाई लत्याएर, दबाएर दलहरूको सिद्धान्तलाई नै खोज्ने त्यसमा पनि सकारात्मक र रोचक बहस गर्न नचाहेको अनुभूत गरिँदैछ ।

कुनै पनि मुलुकको नैतिक मूल्य–मान्यता र आचरणको सवालमा शिक्षाको ठूलो भूमिका हुन्छ । समानताका कुरा गरांै, न्यायका कुरा गरौं, प्रजातान्त्रिक संस्कारका कुरा गरौं, त्यहाँ शिक्षाको ठूलो भूमिका रहेको हुन्छ । समाजमा नागरिकले आफ्नो अधिकार र कर्तव्यबोध गर्ने माध्यम पनि शिक्षा नै हो । शिक्षित नागरिकले नै आफ्नो मौलिक अधिकार लगायत सम्पूर्ण जीवनका आवश्यक ज्ञान प्राप्ति गर्ने हो । यसैका माध्यमबाट आदर्श समाज र सुसंस्कारको थालनी गरी भोलिको नयाँ बिहानीको उदय हुने हो । तर यसको जरो पैहिल्याउने कसरी ? विश्वविद्यालयदेखि प्राथमिक विद्यालयसम्म घन्टीअनुसार विषय पढाउने बाहेक नयाँ सीप र ज्ञान आर्जन गरी प्राज्ञिक कार्य हुन सकिरहेको देखिँदैन । देश/विदेशका ठूलठूला गफ गर्ने तर कक्षाकोठामा गएर कसरी ज्ञानसीप बाँड्ने भन्नेबारे राम्रोसँग घोत्लिएको हामीले कमै देख्ने गरेका छौं । हामी आफ्ना वरपरका समस्या समाधानतर्फ ध्यान दिँदैनौं, कुरा र बहसमा युगान्तकारी परिवर्तनका गर्छौं । आफ्ना सामुन्नेका सामान्य प्रकृतिका समस्या समाधान गर्न नसक्नेले ठूलो परिवर्तन गरी फड्को मार्ने कुरा गर्नु कुनै तुक छैन ।

अत: आज समाजले खोजेका शिक्षक विद्यालय कक्षाकोठाका सुधारक हुन्, जो हमेशा हर्ताकर्ता हुन्छन । विद्यालयमा तिनका उपस्थितिसँगै पठनपाठन पनि त्यत्तिकै प्रभावकारी होस्, गुणस्तरीय होस् । यस्ता शिक्षकका लागि चाहिने अनुकूल वातावरण निर्माण गरिदिन सरोकार पक्षको पनि त्यत्तिकै हात हुन्छ । विद्यालय व्यवस्थापन, जिल्ला शिक्षा कार्यालय र स्रोत केन्द्रको पनि त्यत्तिकै भूमिकाको खाँचो पर्छ । स्थानीय समुदायसँगको वार्ता, सम्वाद र अन्तरक्रियाद्वारा विद्यालय निर्माण र सुधार कार्यमा सहयोग लिनु जरुरी छ । अभिभावकसँग खुल्ला छलफल गरेर विद्यालयले निर्माण गर्ने भौतिक वा शैक्षिक पूर्वाधारबारे निर्णय लिने गरेमा त्यो अत्यन्त उपयोगी हुन्छ । यसले विद्यालयको हर क्रियाकलाप र गतिप्रति तमाम अभिभावकको विश्वास बढ्छ । र उनीहरूलाई विद्यालयप्रतिको ममता पनि जाग्छ । अनि त्यहाँ विद्यार्थी संख्या वृद्धिसँगै भौतिक एवं आर्थिक सुधार हुँदै जान्छ । र हाम्रा स्कुलहरू साँच्ची नै राम्रा हुन्छन् । 

प्रकाशित : जेष्ठ १५, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?