कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एउटा असल मानिसको खोजी

डा. रेणु अधिकारी

आज बिहानैदेखि मेरो मनमा शिशिर योगीको गीत ‘छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु’ गुञ्जिरहेको छ । यो सोच मभित्र स्थानीय निर्वाचनको परिणाम पर्खिंदै गर्दा आइरहेको छ । म अहिले काम विशेषले विदेशी भूमिमा छु ।

एउटा असल मानिसको खोजी

यहाँ मेरोलागि निर्वाचन सम्बन्धी जानकारी लिने सहज मध्यम सामाजिक सञ्जाल बनेको छ । सामाजिक सञ्जालमा धेरै साथीले एक–अर्काप्रतिका असहिष्णु शब्द लेख्नुभएको देख्दा तथा विदेशमा भएको बखत विदेशीहरूले मेरो देशबारे भनेको सुन्दा हुने पीडाका कारण यो सोच झनै गहिरो भई आइरहेको छ । स्थानीय निर्वाचनको परिणाममा को अगाडि आयो ? किन आयो ? कसरी आयो भन्ने तर्क राख्दा मलाई हामी कहाँ कतै लिलाम बढाबढ गर्ने ठाउँमा त उभिएका छैनांै ? किन होला अहिलेसम्म पनि हामी कहाँ यस्तो गर्दा हामी आफैं कमजोर हुन्छांै भन्ने सोच राख्ने नेतृत्व नभएको ? भनी सोच्न मन लागिरहेको छ । त्यसैले नै एउटा मानिसले केही गर्न सक्दैन भन्ने लागे पनि एउटा असल मानिस खोज्ने कोसिस गर्न चाहन्छु ।

यो निर्वाचन हो, निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा मैले भोट दिएको पार्टीले जितोस् भन्नु स्वाभाविक हो । तर त्यसो भन्दैमा आफूभन्दा अर्को पार्टीलाई तथानाम भन्नु अनि बेइज्जत गर्नु कहाँसम्मको लोकतान्त्रिक व्यवहार हो ? हामी नेपालीलाई एकतन्त्रीय शासन मन नपरेर लोकतन्त्र ल्याएका हांै । यसका लागि १७,००० भन्दा बढी नेपाली आमाको छोराछोरी सहिद भए । हजारौं बालबालिका टुहुरा भए । हजारौं आमाबुबा र छोराछोरी अहिले पनि आफ्नो बेपत्ता सन्तान र आमाबुबा आउँछन् कि भनी पर्खिरहेका छन् । 

लोकतन्त्र भनेकै सबैको मत, सोच र अधिकारको सम्मान गर्नु हो भन्ने सबैले बुझेकै छांै । एउटा मात्रै पार्टीले देश चलाओस् भन्ने मान्यता राखेको हो भने लोकतन्त्र किन चाहिएको थियो ? किन त्यतिका धेरै मानिसले बलिदान दिनुपथ्र्याे ? त्यसैले आज मलाई एउटा पार्टीको कार्यकर्ताले अर्कोलाई प्रयोग गरेको अपमानले भरिएको शब्द, अनादर त्यसमा थप देश चलाउने जिम्मेवारी प्राप्त राजनेताका रूपमा स्थापित नेताका अभिव्यक्तिले अत्यन्तै पीडा पुर्‍याइरहेको छ । म जस्तै अरु पनि धेरैलाई त्यस्तै पीडा पुगेको हुनसक्छ ।

आज मजस्तै धेरै नेपाली संसारको जुनसुकै कुनामा भए पनि देशमा के हुँदैछ, कस्ता मानिसको हातमा नेपालीको भविष्य निर्माणको आधार तयार गर्ने सत्ता जाँदैछ भनी जान्न ब्यग्र छन् । त्यसैले धेरैलाई मतगणनाको कछुवा चालले विचलित बनाएको छ । सामाजिक सञ्जालका पोष्ट हेर्दा आफूले भोट दिएको पार्टीको मत बढ्ने बित्तिकै हामी मात्तिने र कम हुने बित्तिकै आत्तिने गरिरहेका छौं भन्ने देखिन्छ । यस्तो व्यवहार देशकै लागि पनि खतरनाक हुनसक्छ । हामीले चाहेको लोकतन्त्रका लागि यो व्यवहार कालान्तरमा अभिशाप बन्न सक्छ । जुन पार्टीले जिते पनि देशले कसरी जित्छ भन्ने अहिलेको हाम्रो बहसको केन्द्रबिन्दु हुनुपर्छ भन्ने मलाई लाग्छ । अहिले संसार अत्यन्तै कठिन राजनीतिक मोडमा छ ।

हाम्रो जस्तो राजनीतिक, सामाजिक–आर्थिक रूपले लामो समयदेखि अस्तब्यस्त बनाइएको मुलुकलाई संसारको राजनीतिले अत्यन्तै छिटो र नराम्रो प्रभाव पार्छ । त्यसमा पनि भूपरिवेष्टित राज्य जुन तीनतिरबाट एउटा देशले बेरिएको छ, त्यो देशको राजनीतिले नछुने कुरै भएन । यहाँका पछिल्ला राजनीतिक गतिविधि हुन् वा चुनिएका नेताका व्यवहार, तिनले हामीलाई सचेत रहन सन्देश दिएका छन् । यस्तो अवस्थामा कुन पार्टीले जित्दैछ भन्दा पनि कस्तो सोचले जित्दैछ, त्यसले अत्यन्तै महत्त्व राख्छ ।

अहिलेको संसार खुल्ला बजार अर्थतन्त्रबाट थिलथिलिएको छ, यसबाट सजिलै बाहिर निस्कन सक्ने अवस्था पनि छैन । संसारभर विभन्न प्रकारका जडसूत्रवादीहरूको संख्या बढ्दो छ । कहिले राष्ट्र, कहिले पहिचान त कहिले धर्म वा यस्तै बिभिन्न बहानामा यस्ता जडसूत्रवादीहरूले मानिसको जीवनलाई त्रासपूर्ण बनाएका छन् । हाम्रो जस्तो राजनीतिक रूपान्तरण हुने क्रममा रहेको मुलुकमा यस्ता जडसूत्रवादीहरू फस्टाउने सम्भावना ठूलो हुन्छ भन्ने संसारका धेरै देशका उदाहरणले देखाइसकेको छ । खुला बजार अर्थव्यवस्थाबाट उत्पन्न हुनेखाने र हुँदा खानेका बीचमा रहेको खाडललाई यस्ता जडसूत्रवादीहरूले एक–अर्का बीचमा घृणा, वैमनस्यता ल्याउने हतियारको रूपमा प्रयोग गर्न सक्छन्, गरिरहेका छन् । जडसूत्रवादी फस्टाएमा के हुन्छ ? भन्ने उदाहरण हामीले धेरै अफ्रिकी मुलुकका साथै केही हदसम्म एसियाकै अफगानिस्तानको स्थितिलाई हेरी मनन गर्न सक्छौं ।

हाम्रो देशमा पनि केही गतिविधि यस्ता छन्, जसलाई अहिलेसम्म खासै हामीले धयान दिएका छैनौं । उदाहरणका लागि देशभर बढ्दै गएका विभिन्न धार्मिक संगठन, विभिन्न धर्मलाई पृष्ठपोषण गर्ने पाठशाला, उग्र हुँदै गएको राष्ट्रवादको नारा, धार्मिक असहिष्णुताका नारा लगाउने राजनीतिक दल इत्यादि । यस्तो अवस्थाले हामीकहाँ पनि जडसूत्रवादीहरू फस्टाउन सक्ने आधार दिएका छन् ।

हामी हिन्दु, बौद्ध, सिख, मुस्लिम, किरात वा प्रकृति–पुजक र पछिल्ला समयमा बढ्दै गएको इसाई जो भए पनि पूर्वीय दर्शनबाट निर्देशित व्यक्ति, समाज र राष्ट्र हौं । हाम्रो पूर्वीय दर्शनले साँचो अर्थमा हेर्ने हो भने सधैं धार्मिकतालाई प्रबद्र्धन गर्‍यो, गर्छ, धर्मलाई होइन । हाम्रो दर्शन अनुरुप धर्म र धार्मिकता फरक–फरक विषय हुन् । धार्मिक बन्नु अर्थात् परमात्मा भनौं वा प्रकृति भनौं सम्मान गर्दै हरेक व्यक्तिभित्र रहेको परमात्मालाई सम्मान गर्नुपर्छ भन्ने हाम्रो दर्शन हो । मानवतालाई सम्मान गर, अरुलाई दु:ख नदेऊ, सबैलाई आदर गर्नु हाम्रो मान्यता हो । त्यही नै हाम्रो धर्म हो । हाम्रो दर्शन अनुसार देश चलाउने व्यक्ति भनेको जनप्रिय हुनुपर्छ । आफ्ना जनतालाई आफूभन्दा माथि राख्ने व्यक्ति नै सही राजनेता हुनसक्छ भन्ने उदाहरण हाम्रो दर्शनले दिन्छ । हामीकहाँ शास्त्रले भनौं वा विद्वानहरूद्वारा भनौं यस्ता कुरा कहिले राजर्षी जनकलाई प्रतिनिधि बनाएर, राजर्षी जनक र अष्टबक्रको सम्वादको रूपमा प्रस्तुत गरेर बुझाउन खोजियो त कहिले रामराज्यको उदाहरण दिएर । मानवता र प्रेममा आधारित समाज कसरी बन्छ भन्ने उदाहरण बुद्धको आसटांगिक मार्गको रूपमा जनमानसको अगाडि सारेर बुझाउने कोसिस भयो । तर विडम्बना, हाम्रा पण्डितहरूले यी उदाहरणहरूलाई धर्मसँग जोड्ने प्रयास गरेर यी कथाहरूको मूलमन्त्र नै बंग्याए । मानिसलाई दिग्भ्रमित गर्ने काम गरे । परिणामस्वरूप जनक राजाको भूमि हाम्रो हो भनी गर्व गर्ने, बुद्ध नेपालमा जन्मेका हुन् भनी अभियान चलाउने हामी नेपाली अभियन्ताहरू यिनीहरूले दिएको सिकाइ नै बिर्सन पुगेका छौं । हामीबीच प्रेमभन्दा घृणाले स्थान पाएको छ । हामी शान्तिको सट्टा हिंसात्मक वातावरण निर्माण गर्न लागेका जस्ता देखिन्छौं । यसलाई निर्वाचनको क्रममा एकले अर्कालाई प्रयोग गरेको शब्द, गरेको व्यवहारले पुष्टि गर्छ । 

त्यसैले म अहिले यो स्थानीय निर्वाचनको परिणाम आउँदै गर्दा एउटा पार्टीले अर्को पार्टीलाई गरेको गालीगलौज, महिला प्रतिनिधिहरूप्रति कटाक्षले भरिएका शब्दहरू, वर्षौं पीडा खपेर लोकतन्त्र स्थापित गर्न लागिपरेकाहरूका विरुद्धमा प्रयोग गरिएका शब्दहरू देख्दा हामी कता जाँदैछौं भनी सोच्न बाध्य भएकी छु । हामीले देशमा लोकतन्त्र अर्थात् जनताको शासन चाहेको हो । त्यो कुनै पनि जनप्रतिनिधि चाहे त्यसले २ भोटमात्रै ल्यायका किन नहुन्, उनलाई खुइल्याउने कार्य गर्‍यौं भने प्राप्त हुनसक्दैन ।

हामीले देशमा समानता ल्याउन खोजेको हो, त्यो एउटा लिङ्गका मानिसलाई अर्को लिङ्गका मानिसले भद्दा शब्द प्रयोग गरेर आउन सक्दैन । सहिष्णुता चाहेको हो, त्यो एउटा धर्म राख्नेले अर्को धर्मका मानिसलाई तथानाम भनेर आउन सक्दैन । हामीले देशमा ल्याउन खोजेको शान्ति कुनै ठूलाले सानालाई हेप्ने, दबाउने, कुरा नसुन्ने र अस्तित्व नै नमान्ने खाले व्यवहारले स्थापित हुन्न । यस्तो खाले व्यवहारले एउटैमात्र काम गर्छ, त्यो हो, संसारभर फैलिँदै गएका जडसूत्रवादीहरूको विजय । अनि बनाउन सक्छ, नेपाललाई त्यस्ता जडसूत्रवादीहरूको आश्रयस्थल ।

त्यसैले यो निर्वाचन कसले जित्दैछ वा हार्दैछ भनेर उछृङखल टिप्पणीहरू गर्नुभन्दा जित्नेले अब कसरी सबैको मतको कदर गर्दै (हार्नेलाई केन्द्रबिन्दुमा राख्दै) अगाडि बढ्न सकिन्छ, त्यसमा छलफल गर्नुपर्छ । फेरि यो निर्वाचन पहिलो चरणको मात्रै हो, यो चरणमा प्रयोग गरिएका शब्दहरू, देखिएका व्यवहारले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन भन्ने निर्धारण गर्छ । अहिले देखिएका व्यवहारले यो निर्वाचनपछि देशमा शान्ति हुनसक्ने वातावरण निर्माण हुन्छ वा हुँदैन भन्ने निर्भर गर्छ । 

अर्को हामीले बुझ्नुपर्ने कुरा के छ भने राजनीतिक पार्टीहरूले अहिले दिने सन्देशले उक्त राजनीतिक पार्टीलाई जनता र विश्वले आउँदा दिनमा कसरी हेर्छ भन्ने निर्धारण हुन्छ । त्यसैले मेरो विचारमा अहिले खाँचो छ, कुनै पनि जडसूत्रवादबाट प्रभावित नभई देशलाई अस्थिरताको भुमरीबाट निकाल्न सक्ने नेतृत्व दिने एउटा मानिस र त्यसलाई साथ दिने सयौं मानिसहरू । त्यसैले अहिले आफ्नो पार्टीको जितमा नमात्तिनु, हारमा नआत्तिनु भनी सन्देश दिँदै यो स्थानीय निर्वाचनमा जसले जिते पनि हरेक भोटको सम्मान हुनेछ भन्ने सन्देश दिँदै आफ्नो नेतृत्वप्रति जनतामा भरोसा दिलाउने कार्यको थालनी गर्नु सफल नेतृत्वको कर्तव्य भएको छ । र अहिले यस्तै नेतृत्व चाहिएको छ । 


 

प्रकाशित : जेष्ठ १६, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?