२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बन्द नभएको एउटा अध्याय

‘राजारानीलाई गोली लाग्यो, राजदरबारमा ठूलै गडबडी भएजस्तो छ,’ ठीक १६ वर्षअघि रातको ११ पनि बजेको थिएन, दरबारमा एडीसी रहिसकेका एक उच्च प्रहरी अधिकारीले फोनमा सुनाएको यो खबर झस्काउने खालको थियो । उसबेला झस्कायो मात्र, पछि त त्यो इतिहासको पाङ्ग्रा नै अर्कोतिर मोड्ने घुम्तीको घटना साबित भयो ।

बन्द नभएको एउटा अध्याय

त्यसबखत अनेक घटना भए : अकल्पनीय शाही संहार- ‘कोमा’ मा रहेका दीपेन्द्र राजा घोषित- ज्ञानेन्द्र राज्यसहायक नियुक्त - तीन दिनपछि ज्ञानेन्द्र नै राजा घोषित-ठूलो षड्यन्त्र भएको आमआशंका । यी घटनाक्रमको महत्त्व र असर समय बित्दै जाँदा झन्–झन् महसुस हुँदै गयो । उसबेला सरकारद्वारा सम्प्रेषित विवरण मात्रलाई पत्याउँदा पनि त्यो कम रोमाञ्चक थिएन । त्यसमा के थिएन ? प्रेम, वियोग, पारिवारिक किचलो, गद्दी हत्याउने योजना, हिंसा, हत्या, दु:खान्त, षड्यन्त्र -सबथोक थियो । राजा–रानीसहित राजपरिवारका १० जनाको एकसाथ ज्यान गएको त्यो घटनाले नेपालतर्फ विश्वकै ध्यानाकृष्ट गरायो ।

सहकर्मी प्रशान्त अर्याल (हाल नेपाल साप्ताहिकका सम्पादक) र मैले एउटा योजना बनायौं– दरबार हत्याकाण्डमाथि किताब लेख्ने । ‘आउटलाइन’ समेत बनाएर थुप्रैलाई भेट्यौं पनि । तिनमा दरबारनिकट व्यक्तिमात्र थिएनन्, हत्याकाण्डबाट बचेकाहरू पनि थिए । पछि तत्कालीन राजा ज्ञानेन्द्रसँग पनि कुरा गरेंँ मैले । तर समस्या के भइदियो भने हाम्रो खोजबिनबाट निस्किएको निष्कर्ष र आमबुझाइ बिलकुलै भिन्न थियो । त्यही भएर त्यो किताबको योजना त्यसै थाती रह्यो । बरु हत्याकाण्ड भएलगत्तै हामीले हिमाल पाक्षिकमा ‘कभर स्टोरी’ लेख्यौं– ‘गणतन्त्र कति नजिक ?’

त्यतिन्जेल गणतन्त्र भन्ने शब्द प्राय: प्राज्ञिक बहसमा मात्र सीमित थियो, या विद्रोहरत् माओवादीका नारामा । जेठ १९ को दु:खान्तले गणतन्त्रलाई कति सहज बनाइदियो भने– टोल–टोल र गाउँ–सहरमा चियागफको विषय बन्यो त्यो । तर मानिसहरूको मुख्य चासो हत्याकाण्ड कसले रच्यो, त्यसमै बढी थियो/अझै छ । दरबार र सरकारद्वारा उसबेला जारी विज्ञप्तिहरू पत्याउने हो भने उक्त हत्याकाण्डका दोषी युवराज दीपेन्द्र हुन्, जसले आफूले रुचाएकी युवतीसँग विवाह गर्न नपाएको आक्रोशमा गोलीकाण्ड मच्चाए । तर समाजको ठूलो तप्काले दीपेन्द्रलाई दोषी मान्दैन, र यो ‘थ्यौरी’ पत्याउँदैन । पत्याउनेहरूमध्ये केहीचाहिँ दीपेन्द्रलाई उक्साएर या त्यस्तो परिबन्द सिर्जना गरेर अरू नै कसैले अभीष्ट पूरा गरेको ठान्छन् । अर्को आशंका त्यो हत्याकाण्डबाट जोगिएका अधिराजकुमार ज्ञानेन्द्रतिर पनि तेर्सियो । सायद त्यही कारण थियो, उनले नारायणहिटी छाड्ने बेलामा लिखित वक्तव्यमार्फत त्यसबारे प्रस्टीकरण दिन चाहे । कतिपयको शंकाचाहिँ विदेशी शक्तिहरूतर्फ लक्षित रह्यो ।

दरबार हत्याकाण्ड भएको १६ वर्ष बितिसक्दा पनि यस्ता आशंका र जिज्ञासाहरू मेटिएका छैनन्, बरु अनेक अनुमान थपिँदै गएका छन् । यस्तो किन भयो भने आधुनिक नेपाली इतिहासको त्यो सनसनीखेज घटनाको जरोमा पुग्नेगरी अनुसन्धान नै गरिएन । उसबेला प्रधानन्यायाधीश र सभामुख रहेको एउटा टोलीले घटनास्थलको अवलोकन र प्रत्यक्षदर्शीहरूको बयान संकलन त गर्‍यो, तर कुनै निचोड निकालेन, न त त्यसपछि कुनै खोजबिन गरियो । कतिसम्म भने राष्ट्राध्यक्षको हत्यासहित त्यति ठूलो शाही संहार हुँदा तत्कालीन संसद्मा समेत बहस भएन, न त राजनीतिक दलहरू गहिराइमा पुग्न चाहे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नयाँ राजा ज्ञानेन्द्रलाई स्थापित गर्नेमै केन्द्रित भए, भलै तिनै राजाबाट पछि धोका पाए । पदमुक्त भएपछि चाहिँ उनले त्यो हत्याकाण्डलाई आफूले भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ को फर्मुलासँग जोडे, तापनि धेरै खुल्न चाहेनन् ।

यी सबै कारणहरूले गर्दा त्यो घटना ‘रहस्य’ र ‘षड्यन्त्र’ को स्थायी विषय बन्न गएको छ । त्यसैले यसको सूत्रधार को हो भन्ने विषय आफैंमा अनिर्णीत छ । त्यो घटनाले नेपाली राज्यमा के–कस्तो असर पार्‍यो, केवल त्यसबारे छलफल गर्न सकिने आधारहरू हामीसामु उपलब्ध छन् ।

दरबार हत्याकाण्डको पहिलो असर, राजतन्त्रमाथि नै पर्‍यो । मानिसले दरबारको जग कति कमजोर रहेछ भन्ने प्रस्टसँग देखे, जसले गर्दा त्यसप्रति रहेको परम्परागत जनविश्वास स्वाट्टै घट्यो । राजतन्त्रको वंशानुगत निरन्तरता स्वाभाविक भएमात्र टिक्ने रहेछ भन्ने पनि त्यसपछिको घटनाक्रमले देखायो । अस्वाभाविक परिवेशमा भएको ज्ञानेन्द्रको गद्दीरोहणलाई मानिसले बाध्यतावश स्वीकारेका थिए । तर उनको बढ्दो राजनीतिक महत्त्वाकांक्षाले लक्ष्मणरेखा नाघ्यो र उनले ‘कू’ गर्ने गल्ती गरे । त्यसले गर्दा आफूमात्र असफल भएनन्, राजतन्त्रलाई विस्थापन गर्ने कारक पनि बने । गोरखाबाट गन्ने हो भने झन्डै ४५० वर्षको शाहवंशीय राजतन्त्रकै अध्याय समाप्त भयो । अझ किराँत, लिच्छवि, मल्ल आदि राजवंशलाई जोड्ने हो भने त त्यो एउटा ‘युग’ कै समाप्ति थियो ।

तर यथार्थ के हो भने ज्ञानेन्द्रले कुनै गल्ती नै नगरेका थिए भने पनि दुइटा कारणले राजतन्त्रको पतन अनिवार्य भइसकेको थियो । पहिलो, प्रजातन्त्रको खुकुलो परिवेश र मध्यम वर्गको बढ्दो वर्चस्वका बीच यस्ता सामाजिक–आर्थिक आधारहरू स्थापित हुँदै गएका थिए, जसले सामन्तवादी संरचनालाई टिकाइरहने थिएन । दोस्रो, त्यो अवस्थामा दरबार हत्याकाण्ड यस्तो पानीढलो बनिदियो, जसले राजतन्त्रको जग नराम्रोसँग हल्लाइदियो । यस अर्थमा ‘जेठ १९’ गणतन्त्रको प्रस्थानविन्दु नै बन्यो ।

वास्तवमा दरबार हत्याकाण्डले मुलुकलाई राजतन्त्रात्मक संरचनाबाट बाहिर निस्किने ढोकामात्र देखाइदिएन, पृथ्वीनारायण शाहको पालामा स्थापित र समयक्रममा धेरथोर मात्र परिमार्जित हुँदै आएको एकात्मक–धार्मिक राज्य संरचनालाई पुन:परिभाषित र पुन:संरचना गर्नेतिर लग्यो । त्यो चानचुने कुरा थिएन । त्यसैले हाम्रो संक्रमण लामो र जटिल बनेको हो । नयाँ गणतान्त्रिक संरचना थेग्रिनलाई अहिले पनि रस्साकसी चलिरहेको हो ।

दरबार हत्याकाण्ड नभएको भए माओवादी ‘जनयुद्ध’ को अवतरण कसरी हुन्थ्यो ? प्रश्न यो पनि गर्न सकिन्छ, जसको जवाफ हुन्छ– सायद सहज हुने थिएन । पहिले माओवादीहरू ‘जनवादी सत्ता’ स्थापना गर्ने भन्थे, जुन अमूर्त कुराले आम अपिल सिर्जना गरेको थिएन, तर दरबार हत्याकाण्डपछि ‘गणतन्त्र’ को नारा स्वाभाविक र स्वीकार्य बन्दै गयो । ज्ञानेन्द्रले संसदीय शक्तिहरूलाई विस्थापन गरेपछि उनीहरू र माओवादीमाझ राजतन्त्र विरोधी गठजोड नै कायम भयो । परिणामत: मुलुक संविधानसभाको बाटोबाट गणतन्त्रमा प्रवेश गर्‍यो । दरबार हत्याकाण्डले गणतन्त्रको खाता नखोलेको भए माओवादीलाई आफ्नो विद्रोहको औचित्य पुष्टि गर्न र त्यसलाई सहज रूपमा अवतरण गर्न सजिलो हुन्थेन ।

ज्ञानेन्द्रको गम्भीर भूल के भयो भने उनले राजतन्त्रलाई सैद्धान्तिक टेको दिइरहेको नेपाली कांग्रेस र त्यसका सभापति गिरिजाप्रसाद कोइरालालाई टाढा हुत्याए । कोइरालाको राजा वीरेन्द्रसँग पनि धेरै कुरा मिलिरहेको थिएन । खासगरी माओवादीविरुद्ध सेना परिचालन गर्ने कुरामा वीरेन्द्रले निरन्तर असहयोग गर्दा उनी निश्चय पनि असन्तुष्ट थिए, तर राजतन्त्रको खिलाफ उभिएका थिएनन् । तर ज्ञानेन्द्रले होलेरी काण्डमा पद छाड्न बाध्य पारेपछि र त्यसपछि पनि अनेक मोडमा विश्वासको संकट सिर्जना भएपछि कोइरालाले गणतन्त्रतर्फ जाने निर्णायक सोच बनाए । दरबार हत्याकाण्डको संवेदनशील मोडमा ज्ञानेन्द्रलाई राजाका रूपमा स्थापित गर्न भूमिका खेल्ने उनले आफ्नै भूमिका समाप्त पार्न थालिएको देखेपछि त्यस्तो निर्णय लिएका थिए । राजतन्त्रविरुद्ध माओवादी, कांग्रेस र एमालेलाई जोड्न चाहने भारतीय संस्थापनको रणनीतिक चाहनाले पनि त्यहाँनेर भूमिका खेल्यो ।

वास्तवमा दरबार हत्याकाण्ड र गणतन्त्रको आगमनले छिमेकी भारतलाई नेपालको आन्तरिक मामिलामा खेल्न सहज बनायो । राजतन्त्र नेपालको मूल संस्थापन थियो, जसको विश्वासिलो सम्बन्ध भारतभन्दा चीनतिर रहेकामा दिल्ली सदैव हैरान हुन्थ्यो । नेपालको राजनीतिक, सांस्कृतिक, सामाजिक सम्बन्धमा भारतको गहिरो प्रभाव रहेको तर दरबारको झुकावचाहिँ चीनतर्फ देखिने गरेकामा उसको असन्तुष्टि अहिले होइन, महेन्द्रकालबाटै प्रकट हुँदै आएको हो । तर राजा महेन्द्रले २०१७ सालको ‘कू’ पछि आफ्नो पञ्चायती सत्ता टिकाउन चीनमात्र होइन, भारत र अमेरिकासँगसमेत सफल समानान्तर कूटनीति सञ्चालन गरे । राजा वीरेन्द्रले त्यस्तो सन्तुलन कायम राख्न सकेनन् । उनले भारतीय प्रभुत्ववादविरुद्ध प्रशंसायोग्य अडान लिए, जसलाई इतिहासले सधैं सम्झनेछ, तर भारतको आक्रामक नीतिलाई मत्थर बनाउने कूटनीतिक कौशल भने देखाउन सकेनन् ।

वीरेन्द्रले भारतीय आक्रामकताको सामना गर्ने एकमात्र ‘कार्ड’ चीनलाई बनाए । राजा बन्नेबित्तिकै महेन्द्रकालमा संरक्षण पाएका तिब्बती खम्पाहरू विरुद्ध सैन्य कारबाही गरे, जसबाट भारत–अमेरिका दुवै चिढिए । राजपरिवार र भारतको सत्तारुढ गान्धी परिवारबीच कहिल्यै विश्वासको सम्बन्ध रहेन । २०४५ सालमा चीनबाट विमानभेदी अस्त्रहरू ल्याएपछि भारतले नाकाबन्दी नै लगाइदियो र पञ्चायत विरोधी जनआन्दोलनलाई समर्थन गर्‍यो । जनआन्दोलनकै बीचमा भारतले एउटा सम्झौता प्रस्ताव राख्यो, जसमा हस्ताक्षर गरेको भए नेपाल भुटानको हैसियतमा पुग्ने निश्चितप्राय: थियो । वीरेन्द्रले मुलुकलाई त्यो मोडमा जोगाए, जनआन्दोलनको भावनाअनुरूप राष्ट्रिय शक्तिहरूसँगै सम्झौता गरेर बहुदलीय प्रजातन्त्रको घोषणा गरे । आफ्नो जीवनको उत्तरार्धमा उनले दिल्लीसँग सम्बन्ध सुधार्ने प्रयास पनि गर्दै थिए, त्यो सफल नहुँदै हत्याकाण्डमा ज्यान गयो ।

नेपाली राज्यको नाभी राजदरबार थियो, त्यो ढलेपछि सामुन्ने ‘दिल्ली दरबार’ देखापर्‍यो । कुनै न कुनै दरबारको छहारी खोज्ने नेपाली नेताहरू भारततर्फ हुत्तिए । राजतन्त्रको अन्त्य चीनका निम्ति रणनीतिक क्षति थियो । तर भारतको सूक्ष्म व्यवस्थापन गर्ने व्यवहारले अन्तत: चीनलाई फाइदा पुर्‍यायो । आफ्नो मित्रशक्ति राजतन्त्र गुमाए पनि चीनले गणतान्त्रिक संरचनाबाटै कसरी लाभ हासिल गर्‍यो, यसको समीक्षा भविष्यमा इतिहासको रोचक प्रसंग हुनेछ । सरसर्ती हेर्दा– संविधानसभाको आरम्भमा भारतको समर्थन थियो, तर त्यसको परिणाम निस्कने बेलामा भारतको हितरक्षा भएन । उसले नयाँ संविधानको घोषणा नै रोक्न खोज्दा नेपाली नेताहरूले मानेनन् । ‘दरबार’ को खोजीमा दिल्लीतिर लहसिए पनि शीर्षनेताहरूले राष्ट्रिय स्वार्थमै सम्झौता गर्न गाह्रो थियो, त्यसमाथि भारतीय अभीष्टप्रति उनीहरू स्वयंकै आशंका बढ्दो थियो । उसबेला भारतको स्वार्थमा लगाम लगाउन त नेताहरू सफल भए, तर देशभित्रै तराई–मधेसबाट उठेको आवाजलाई वस्तुगत रूपमा बुझ्न र सम्बोधन गर्नबाट भने चुके । परिणामत: भारतीय नाकाबन्दी र मधेस आन्दोलन मिसमास भएर आयो । उहिले राजतन्त्रलाई तह लगाउन प्रयोग गरिएको नाकाबन्दी–अस्त्र २७ वर्षपछि भने काम लागेन, बरु भारत विरोधी भावना उच्चतम अवस्थामा पुग्यो । त्यसको सोझो फाइदा नेपालमा ‘सफ्ट पावर’ बढाउन चाहिरहेको चीनलाई लियो । ओली सरकारको पालामा भएको पारवहन सम्झौता र हालै प्रचण्ड सरकारले गरेको ‘ओबर’ सम्झौता त्यही पृष्ठभूमिको परिणाम थियो ।

गणतान्त्रिक संक्रमण अब कसरी जाला ? राजनीति र भूराजनीति दुवै दृष्टिले यो महत्त्वपूर्ण हुनेछ । नेपालसँग सीमा जोडिएका दुइटा देशबाट राजतन्त्र समाप्त भएका पछिल्ला दृष्टान्त छन् । तीमध्ये सिक्किममा साढे तीन सय वर्ष पुरानो राजतन्त्रमात्र समाप्त भएन, त्यो राष्ट्र नै भूगोलबाट हरायो । तिब्बतमा चौधौं पुस्ताका धार्मिक ‘राजा’ थिए, उनको पलायनसँगै त्यो मुलुकको अस्तित्व मासियो । नेपाल फरक उदाहरण हो । त्यति भयंकर हत्याकाण्ड र राजतन्त्रको अन्त्य भए पनि नेपालले तिब्बत वा सिक्किमको बाटो समातेन/समात्दैन पनि । तर चुनौती भने छँदैछ- गणतान्त्रिक संरचनालाई कसरी दिगो बनाउने ?

हिजो राजतन्त्रलाई राष्ट्रिय एकताको सूत्र दाबी गरिएको थियो । अब नेपालीलाई जोड्ने माला के ? हालै एकजना पूर्वप्रधानमन्त्रीले हामीसँगको अनौपचारिक कुराकानीमा राजतन्त्रको अन्त्यपछि राष्ट्रिय एकताको सूत्र टुटेको र आफू त्यो भूमिका निर्वाह गर्नसक्ने अवस्थामा आइपुगेको दाबी गरे । नेताहरूको यस्तो आत्मरतिले त राष्ट्रलाई जोड्दैन, बरु दुर्घटनातिर लैजान्छ । राष्ट्रलाई जोड्ने जनताले नै हो, जनएकताले हो, जसका निम्ति राज्यका संघीय गणतान्त्रिक अंगहरूलाई क्रियाशील र प्रभावशाली बनाउने भूमिका नेतृत्वगणले खेल्नुपर्छ । सबै जात–जाति र समुदायले अपनत्व महसुस गर्ने वातावरण हुनुपर्छ । समस्या के भएको छ भने गणतन्त्रको प्रत्याभूत हुनेगरी आममानिसको जीवनमा सकारात्मक बद्लाव आउन सकेकै छैन । तर आशा राखौं, परिवर्तनलाई सुस्त–सुस्त संस्थागत गर्दै जाने नेपाली शैलीले अन्तत: गणतन्त्रलाई पनि दिगो रूपमा स्थापित गर्नेछ ।

केही दशकयता नेपाली राज्यले भोगेको सबभन्दा ठूलो प्रकृति सिर्जित संकट दुई वर्षअघिको विध्वंसकारी भूकम्प थियो भने त्यसअघिको अर्को राष्ट्रिय संकट दरबार हत्याकाण्ड थियो । ती दुवै त्रासदीलाई नेपाली राज्यले कमी–कमजोरीका बावजुद पार लगाएको छ । जहाँसम्म त्यो हत्याकाण्डको सूत्रधार को थियो ? भन्ने सदावहार प्रश्न हो, त्योचाहिंँ सायद इतिहासको रहस्यकै रूपमा रहनेछ । यस्तो रहस्य, जसको बारेमा कुनै दिन पूर्ण सत्य उजागर भयो भने पनि सबैले पत्याउने अवस्था नरहन सक्छ ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?