१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चुनावले बदलेको परिवेश

मधेसको भावभूमिलाई प्रतिनिधित्व गर्ने पात्रहरु राज्यका तीनै तहमा चुनिएर आएपछि मधेसलाई पृथक् रुपमा प्रस्तुत गर्ने परिपाटीको अन्त्य हुनेछ ।

स्थानीय तहको बाँकी निर्वाचनलाई सार्दासार्दै मध्य असार पुर्‍याइएको छ । पहिला एकै चरणमा गर्ने भनिए पनि मधेस केन्द्रित घटकहरूलाई प्रक्रियामा ल्याउने प्रयोजनले नवलपरासीको पूर्वी भाग र चितवन बाहेक तराईको भूभाग भएका प्रदेशहरूलाई दोस्रो चरणका लागि थाँती राखियो ।

चुनावले बदलेको परिवेश

एक महिना सारेर जेठ ३१ पुर्‍याइएको, पछि असार ९ बाट सारेर १४ गते तोकिएको छ । यद्यपि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बाबुराम भट्टराईको नयाँ शक्तिसँग गाँसिएर पहिलो चरणमै चुनावमा सहभागी भइसकेको छ । तर महन्थ ठाकुर, राजेन्द्र महतो आदि नेतृत्वका अन्य केही घटक यी हरफ लेखिँदासम्म प्रक्रियाबाट पाखै बसिरहेको देखिएका छन् । ठाकुर, महतो आदिले आफ्ना पहिलाका मधेस केन्द्रित नामहरू छाडेर राष्ट्रिय जनता पार्टी नामको दल बनाएका छन् । यादवले पहिल्यै पार्टीको नाममा रहेको मधेस विशेषण त्यागिसकेका छन् । नामका मामिलामा विजय गच्छदारले पनि उनैलाई पछ्याएका हुन् ।
प्रकटमा मधेसी नेताहरूले मधेस केन्द्रित अडान लिइरहेका देखिए पनि व्यवहारमा भने अचेल उनीहरू क्षेत्रीयबाट राष्ट्रिय चरित्र ग्रहण गर्ने प्रयत्न गरिरहेका देखिन्छन् । मधेसका नाममा राजनीति गरिरहँदा उनीहरू क्रमश: समुदाय विशेषमा सीमित हुँदै गएका तथा त्यसैका फलस्वरुप उनीहरूको राजनीतिक समष्टिसमेत साँघुरिँदै गएको हो । यसमा पहलको श्रेय यादवलाई जान्छ, किनभने सर्वप्रथम उनी नै मधेसी घेरामा सीमित नरहेर पहाडका जनजातिसम्म पुगेका हुन् । यद्यपि उनी उग्रतम पहाड विरोधीका रूपमा नचिनिएका होइनन् । यसमा २०७२ सालको कैलालीको टीकापुर काण्ड उल्लेख्य छ । उनी तत्कालीन सद्भावना पार्टीका राजेन्द्र महतो र कांग्रेसका अमरेशकुमार सिंहले पहाडी समुदाय विरुद्ध उग्र र उत्तेजनापूर्ण अभिव्यक्ति दिएका कारण टीकापुरको दुर्दान्त काण्ड भएको थियो । त्यस काण्डमा एक बालकसहित १० दस प्रहरीको नृशंस हत्या भएको थियो । 

यादवमाथि लागेको यो कलंकको धब्बा सायदै उनको जीवलकालमा हट्नेछ । सम्भवत: त्यसैबाट उत्पन्न आन्तरिक ग्लानिका कारण उनमा आफ्नो पहाड विरोधीे उत्तेजनालाई नियन्त्रित गर्नुपर्ने बोध हुँदै आएको हुनसक्छ । साथै उनले आफ्नो भावी राजनीतिलाई पनि हेरेका हुनसक्छन् । उपेन्द्रको गृहजिल्ला सुनसरी भएकोले वर्तमान प्रादेशिक संरचनामा उनी १ नम्बर प्रदेशमा पर्छन् र साँच्चै बुद्धि पुर्‍याए भने आउँदा दिनमा उनले नै त्यो प्रदेशको राजनीतिक नेतृत्व लिनसक्ने सम्भावना पनि त्यतिकै छ । यो किनभने मधेसबाट उठेका नेताहरूमध्ये पहाडमा विशेष गरेर जनजाति समुदायमाझ उनको स्वीकार्यता धेरै बढी छ । यदि खस–आर्य समुदायप्रति उनको कटुता निर्मूल हुने हो भने उनी जातजातिभन्दा माथि देशभर पूर्वको प्रभावशाली अनुहारका रूपमा चिनिने एउटा राष्ट्रिय नेता बन्ने ल्याकत राख्छन् । 

निश्चय नै राष्ट्रिय राजनीति अझै पनि उनै २०४६/४७ पछिका, बारम्बार दोहोरिएका प्रधानमन्त्री, मन्त्रीकै वरिपरि घुमिरहेको छ । त्यो पुस्ता वास्तवमा निर्दलीय पञ्चायतकालीन राजनीतिको समर्थन र विरोधको अन्तरघर्षणबाट जन्मेको हो । त्यसैले त्यसमा बिरलैमात्र कल्पनाशीलता छ । सिर्जनशीलता भन्ने हो भने बीपी कोइराला र पुष्पलालका नामको जपमात्र छ, आज पनि । राज्य सञ्चालन र पार्टी सत्ताको आसन ओगटेर बसेको त्यस पुस्ताका लागि सबैभन्दा ठूलो परिवर्तन निर्दलीयताको अवसान थियो र त्यसैको चिहानमा आफ्नो सत्ताको भवन निर्माण गर्नु रहेको थियो । सत्ता प्राप्तिका आफ्ना अतृप्त आकांक्षाको परिपुष्टि र तुष्टि नै त्यस पुस्ताका अधिकांशको ध्येय रहिआएको यथार्थ बारम्बार उद्घाटित हुने गरेको छ । आलोपालो गर्नेमा तिनैको नाम आउँछ । अन्यथा पटक–पटक एउटै पात्र प्रधानमन्त्री बन्ने, बन्न सक्ने अवस्था आउने नै थिएन । 

यद्यपि देश गणतन्त्र भएको छ । तर गणतन्त्र अनुकूलको नेतृत्व आएकै, आउनसकेकै छैन । निश्चय नै यहाँ गणतन्त्रमा अनुहारमा माओवादीका पुष्पकमल दाहाल र तत्कालीन माओवादीकै बाबुराम भट्टराईको नाम किन नलिएको भन्ने प्रश्न उपस्थित हुनसक्छ । नलिएको कारण छ । एक त यिनीहरूको निकट अतीत हिंसात्मक छ, फेरि यिनीहरू मनैबाट गणतन्त्र विरोधी, चरम अवसरवादी पात्रहरूको संसर्गमा यसरी रमाए कि यिनले परिवर्तनको वास्तविक ध्येय नै बिर्से । शरीरले अर्कै भए पनि प्रकारान्तरमा आचरणले यिनीहरू र तिनीहरूमा कुनै भिन्नता देखिएन । त्यसैले दुर्भाग्यवश, दाहाल र भट्टराई परिवर्तनका संवाहकका रूपमा उल्लेख्य नाम हुनबाट च्युत हुनपुगेका छन् । 

देश गणतन्त्र भए पनि आचार, विचार र शासकीय व्यवहार गणतन्त्र अनुरुप छैन । किन छैन भने राजनीतिको अग्रभागमा विगतमा राजाका पाउ परेर आफ्नो राजनीति सुरक्षित रहेको ठान्ने पात्र छन् । किन छैन भने संघीयता तिनीहरूको मस्तिष्कमा अझै पसेकै छैन । अझ झन् किन छैन भने आज पनि तिनीहरूका मुखबाट लोकतन्त्र होइन, स्वभाववश प्रजातन्त्र नै निस्कन्छ । तिनीहरूको मानसमा ती विम्ब छैनन्, जुन हुनुपर्ने हो । तिनीहरू समयले अगतिला भनेर सिद्ध गरेका, औचित्य गुमाएका पात्रहरूलाई विश्वमा अन्यत्र कहीं फर्काइँदैन, वैधता दिइँदैन, तर यहाँ फर्काइयो, ससम्मान वैधता दिइयो ।

किन दिइयो भने २०६२/६३ को जनआन्दोलन होस् अथवा त्यसपछिको मधेस आन्दोलन, यी दुबै आन्दोलनले देखाएका नयाँ अनुहारहरूले आफूलाई सुसंगठित र संस्थागत गर्न सकेनन् । त्यसैले त्यहाँ अग्रगमन र गणतन्त्र विरोधी पात्रहरू पुन: हावी भए । जस्तै– २०६२/६३ को जनआन्दोलनको संवाहक शक्ति नागरिक आन्दोलन थियो एकातिर भने अर्कातिर राजनीतिक दलका कित्तामा गुरु घिमिरे र गगन थापा अग्रपंक्तिमा थिए । नागरिक आन्दोलनको अग्रपंक्तिमा रहेका पात्रहरूमा परिवर्तित नेपालको राजनीतिक स्वामित्व लिने आँट नै प्रदर्शित भएन । अर्कातिर त्यतिखेरको कांग्रेसका युवा अनुहार, गुरु र गगनमा गुरु राजनीतिको कुन हुलमुलमा कता हराए, अझै अत्तोपत्तो छैन । गगनले नेतृत्वकै वरिपरि पालो पर्खिने खालका आफ्ना अग्रजहरूको अनुकरण गर्नु श्रेयष्कर र सुरक्षित ठाने । लोकतान्त्रिक विचारको कित्ताबाट गणतन्त्रको स्थापनालाई ऊर्जा दिने नेपथ्यका पात्रहरू क्रमश: पाखा पर्दै एनजीओमार्फत देश/विदेशको अध्ययन–अनुसन्धानतर्फ लागे । फलस्वरुप, मैदानमा राजा नभई देश बच्दैन भन्ने पात्रहरू गणतन्त्र नेपालका हर्ताकर्ताका रूपमा पुन:स्थापित भए । 

मधेस आन्दोलनको परिणति पनि राष्ट्रिय आन्दोलनको भन्दा भिन्न भएन । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमले मधेसी जनजनभित्र दबेर रहेको आक्रोशलाई वाणी दियो । देशमा संघीयता त्यसैकारण स्वीकारियो । आफ्नो राजनीति समाप्तिको मुखैमा पुगेका कतिपय मधेसी मूलका नेताहरूले फोरममा प्रवेश गरेर पुनर्जीवन प्राप्त गरे । मधेसीहरूको सघन बसोबास भएका क्षेत्रमा फोरमको लहर थियो, त्यसैका प्रभावस्वरुप पहिलो संविधानसभाको निर्वाचनमा यसले सम्मानजनक स्थान हासिल गर्‍यो । मधेसी मूलका मानिसको घना आवादी भएका क्षेत्रमा कांग्रेस, एमालेको एक प्रकारले ‘सफाया’ भयो । सविधानसभा गठनपछि पहिलो, दोस्रो, तेस्रो, चौथो सरकार बनाउने खेलमा फोरम क्रमश: टुक्रा–टुक्रा भयो । फलस्वरुप यादव जो मधेस आन्दोलनका प्रवर्तक थिए, आफू किनारा पर्दै गए, ठाकुर र महतोले मानौं मधेसलाई प्रतिनिधित्व गर्न थाले । 

देशको जस्तै मधेस क्षेत्रको विचारको ठाउँ राजनीतिक अवसरवादले लियो । यहाँ मेरो तात्पर्य ठाकुरको इमानदारितामाथि प्रश्न गर्नु किमार्थ होइन, तर मधेसमा विद्यमान वस्तुगत यथार्थलाई यादवले जसरी प्रतिनिधित्व गर्छन्, ठाकुर त्यो पाठशालाका होइनन् । उनको पाठशाला फरक छ, यसर्थ उनी बारम्बार उग्र हुने, आक्रोशमा बोल्ने र बहकिने गरेका छन् । यसले देशको मानसमा देखिनुपर्ने मधेसको यथार्थ तस्बीर देखिन पाएन । तस्बीर धमिलिनुका साथै त्यहाँ धर्साहरू पर्नगए । 

तथापि अर्को कोणबाट हेर्दा राजनीतिको केन्द्रमा मनबाट गणतन्त्र विरोधीको बर्चस्व छ । तर गणतन्त्र आउँदा ८ वर्षको अहिले १८ र १० वर्षको बालक अहिले २० वर्ष भएको छ । उसबेलाका किशोर–किशोरी अहिले युवा भएका छन् । यो पुस्ताले जब अभ्यास गर्दै जान्छ, आशा गर्न सकिन्छ, गणतन्त्रको परिकल्पनाले साकार रूप लिनेछ । किनभने तिनीहरूमध्ये प्रशस्तैले प्रथम चरणको स्थानीय निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेका छन् । जसले गरेनन्, उनीहरूले कुनै न कुनै रूपमा आफ्नो मन्तव्य प्रकट गरेका छन् । अब दोस्रो चरणमा मधेसको नयाँ पुस्ताले पनि त्यसरी नै आफ्नो मताधिकार प्रयोग गर्नेछ, जो मतदाता नामावलीमा नपरेकाले बञ्चित हुनेछन्, उनीहरूले आफ्नो मन्तव्य कुनै न कुनै रूपमा प्रकट गर्नेछन् । 

त्यसरी नै प्रादेशिक र केन्द्रीय प्रतिनिधिसभाका निर्वाचन सम्पन्न भइसकेपछि, प्रबल आशा राख्न सकिन्छ, विगतका काला विम्बहरू, पात्रहरू क्रमश: हट्दै जानेछन् । गणतन्त्रमा हुनुपर्ने नभएर अन्यथा जे भइरहेको छ, त्यो सच्चिनेछ । त्यस्तै मधेसको भावभूमिलाई यथार्थमा प्रतिनिधित्व गर्ने पात्रहरू राज्यका तीन तहमै चुनिएर आएपछि मधेसलाई पृथक रूपमा प्रस्तुत गर्ने परिपाटीको अन्त्य हुनेछ । त्यसपछि नै गणतन्त्रले राजनीतिमा नयाँ अनुहारलाई अग्रस्थानमा स्थापित गर्नेछ । 

प्रकाशित : जेष्ठ १९, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?