कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भूराजनीतिक चपेटामा नेपाल–भारत सम्बन्ध

चन्द्रदेव भट्ट

काठमाडौं — सन्धि र सम्झौताको भूमिका कुनै पनि राष्ट्रको आन्तरिक र बाह्य सार्वभौमिकतालाई संरक्षण, सम्बर्द्धन र शान्ति तथा मैत्रीपूर्ण व्यवहारको स्थापना गर्न महत्त्वपूर्ण मानिन्छ । नेपालले पनि धेरै राष्ट्रसँग त्यस्ता सन्धि र सम्झौता गरेको छ ।

भूराजनीतिक चपेटामा नेपाल–भारत सम्बन्ध

तर दुई छिमेकी चीन र भारतसँग भएका सन्धि र सम्झौता हाम्रालागि बढी महत्त्व राख्छ । चीनसँग भएको १८४९ सालको बेत्रावती सन्धि र सन् १८१६ मा ब्रिटिस नियन्त्रित भारतसँग भएको सुगौली सन्धिले नेपाल चारैतिरबाट खुम्चिएर आजको भूगोलमा सीमित हुनपुगेको हो । यिनै सन्धिको शृंखलामा थप अर्को महत्त्वपूर्ण सन्धि हो– १९५० को नेपाल–भारत बीचको सन्धि । यो सन्धिको नाम नै ‘शान्ति तथा मैत्री’ सन्धि छ । तर यो सन्धि भएपछि नेपाल र भारत बीचको सम्बन्धमा धेरै उतार–चढाव आएको देखिन्छ ।

भारतले नेपालमा पटक–पटक नाकाबन्दी लगाउँछ, आन्तरिक राजनीतिमा चासो राख्छ भने नेपालमा पनि चरम भारत विरोधी भावनाको विकास भएको पाइन्छ । ‘शान्ति तथा मैत्री’ सन्धि हस्ताक्षरदेखि नै विवादित छ । ‘विन–विनको अनुभव हुन नसक्दा हस्ताक्षरको मसी नसुक्दै विवादित बनेको हो । पटक/पटक यो विषयमा कुरा उठे पनि सम्झौताको ६६ वर्षपछि सन्धि–सम्झौतालाई समयानुकूल परिमार्जन र विवादरहित बनाउन दुवै सरकारले नेपाल र भारतका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को गठन गरेका हुन् । समूहको मुख्य उद्देश्य शान्ति तथा मैत्री सम्झौतासहित अन्य दुईपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन गर्दै ‘विन–विन’ बनाउने आधार सरकारलाई सुझाउने हो । समूहको हालै भारतको देहरादुनमा सम्पन्न चौथो बैठकसम्म धेरै विषय अघि बढेको धारणा दुवै पक्षको छ । टोलीले मनन गर्नुपर्ने विषय हो, यो सन्धि किन सधैं यसरी विवादमा आइरहन्छ ? यसको पछाडिका कारण के–के हुन् ? सन्धिको सेरोफेरोमा उठ्ने प्रश्नहरू– सार्वभौमिकताको सवाल, यसको सान्दर्भिकता र बढ्दो भूराजनीतिक जटिलताले ल्याएको असरमा केन्द्रित रहेको छ, यो आलेख । 

सन्धिको पृष्ठभूमि 
विज्ञहरूले गत वर्षदेखि औपचारिक छलफलमा ल्याएको सन् १९५० को सन्धि हस्ताक्षरदेखि विवादित हुनु पछाडिको मुख्य कारण खोज्न सक्नुपर्छ । असमान भूगोल भएका मुलुकबीच समान व्यवहार गर्ने विषयमा केन्द्रित यसको मुख्य कारण हो । यसले गर्दा सानो मुलुक ठूलो मुलुकबाट जहिले पनि डराइराख्नुपर्ने अवस्था रहिरहन्छ । अर्को आन्तरिक कारण हो, जहाँ एउटा पारिवारिक शासन व्यवस्था टिकाइराख्न केही हदसम्म सन्धिको सहयोग लिइन्छ । त्यसैगरी अर्को कारण हो– भूराजनीति । जसको असर सधैं देखा परिरहन्छ । दक्षिण एसिया पहिलेदेखि नै भूराजनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । यो क्षेत्रको समृद्धिले एलेक्जेन्डर द ग्रेटदेखि ब्रिटिसहरूसम्मलाई आकर्षित नगरेको होइन । अर्को पाटो हो– चीनसम्म पुग्ने दक्षिण एसियाको मुख्य मार्ग । तर केही हदसम्म एकीकृत दक्षिण एसिया यसका लागि बाधक हुनजान्छ । जसको लागि दक्षिण एसियालाई कमजोर बनाउन जरुरी थियो । यही नीति अनुसार पछि गएर ब्रिटिसहरूले विभिन्न किसिमका काल्पनिक सीमारेखाहरू कोरेर यो क्षेत्र विभाजित हुनपुग्यो । यो विभाजनले दक्षिण एसियामा सदासर्वदाको लागि द्वन्द्वको बिउ रोपियो । 

यसले ल्याएको असुरक्षाको सामना गर्न विशेष गरेर भारत र चीन आफ्नै किसिमका सुरक्षा सम्बन्धी अवधारणा ल्याइरहेका छन् । भारतमा जवाहरलाल नेहरूले ‘सुरक्षा छाता’को सिद्धान्त अगाडि ल्याए । यो क्षेत्रका विभिन्न राष्ट्रसँग सन्धि–सम्झौता गरे । यसको विरुद्ध माओत्सेतुङले ‘पाँच औंलाको सिद्धान्त’ अगाडि बढाए । यी दुई ठूला शक्तिराष्ट्रहरूको चपेटामा ट्रान्स–हिमालयन क्षेत्रका राष्ट्रहरू परे । भारतले हिमालयन क्षेत्रका साना राष्ट्रहरूसँग शान्ति तथा मैत्री सन्धि गर्नुको प्रमुख कारण यी राष्ट्रलाई चीनको नजिक जान नदिनु हो । तर भारत कहाँ चुक्छ भने ती राष्ट्रहरूमाथि आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्छ, अप्ठ्यारो परेका बेला सन्धि–सम्झौता गर्छ र आन्तरिक राजनीतिमा चासो राख्ने गर्छ । तर अहिले दक्षिण एसियाका राष्ट्रहरू भारतको सुरक्षा छाताभन्दा बाहिर गइसके । नेपालको सन्दर्भमा पनि भारतभन्दा अन्य नै राष्ट्रहरूको प्रबुद्ध हावी भइसकेको छ । चीन र भारत बीचको यो प्रतिस्पर्धाको फाइदा पश्चिमा राष्ट्रहरूले लिइरहेका छन् र ट्रान्स–हिमालयन एसियाका राज्यहरूलाई यदाकदा चीन र भारतको विरुद्ध प्रयोग गरेको देखिन्छ । 

त्यसो त सिक्किमको भारतमा र तिब्बतको चीनमा विलयले पनि अप्ठ्यारो परिस्थिति ल्याएको हो । 

हिजो गरिएका सन्धि–सम्झौताहरू शक्तिराष्ट्रहरूले आफ्नो सुविधाका लागि (राज्य नियन्त्रण गर्न वा आफूले चाहेको राजनीतिक शक्तिलाई मान्यता दिनको लागि) गरेको देखिन्छ । सन् १९५० को सन्धिमात्रै होइन, ब्रिटिस सरकारले १९२३ मा नेपाललाई सार्वभौम राज्य स्वीकार गर्नु पछाडिको अर्को त्यस्तो उदाहरण हो, जहाँ ब्रिटिस स्वशासित भारत १९२० को शारदा ब्यारेज सन्धिबाट खुसी भएर नेपाललाई बेलायती महारानीले स्वतन्त्र राज्यको रूपमा ग्रहण गर्छिन् । त्यही दशकमा पश्चिमा राष्ट्रहरूमा चरम आर्थिक मन्दी आयो । त्यसबाट बाहिर निस्कन साधनस्रोत जोड्न जसरी भए पनि अन्य राष्ट्रहरूसँग मित्रता गरेको कतै छिपेको छैन ।

सार्वभौमिकता 
धेरैजसो देशमा सार्वभौमिकताको समस्या बाहिरबाट आउँछ । तर नेपालको सार्वभौमिकतामा समस्या बाहिरबाट भन्दा आन्तरिक राजनीतिक कलहबाट बढी आएको छ । मल्ल राजाहरूको पालादेखि आन्तरिक कलह सुरु भएको देखिन्छ । पाण्डे र थापा बीचको लडाइँले देशको ठूलो भूभाग गुमायौं । आन्तरिक कुशासनले कुमाउँ–गढवाल गुमायौं । राणाजीहरूको पारिवारिक स्वार्थले गर्दा मुलुक जागिरको रूपमा रूपान्तरण भयो । राजाहरूले आफ्नो स्वार्थका लागि प्रजातन्त्रलाई फरक चस्माले हेरे र अहिले राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि बाह्य प्रभाव बढाएर सुगौली सन्धिपछि नेपालको सार्वभौमिकतामा सबभन्दा ठूलो खतरा ल्याइदिए । हामी यहाँसम्म अलमलिएका छौं कि राष्ट्रपति या प्रधानमन्त्री निर्वाचित भएपछि भारत पहिले भ्रमण गर्ने कि चीन जाने । यस्तो द्विविधामा हामी छौं । एउटा सार्वभौम राष्ट्रको राष्ट्रपति/ प्रधानमन्त्री जहाँ पनि जान सक्छ भन्ने हेक्का हामीमा छैन । हाम्रा लागि हामी आफैले निर्णय लिने क्षमतामा क्षयीकरण आएको छ । राष्ट्रवाद र सार्वभौमिकता जस्ता कुरा लेनदेन र राजनीतिक परिवर्तनका लागिमात्र हुनगएको छ । 

सन्धिको सान्दर्भिकता
नेपाली समाज र नेपालका राजनीतिक दलहरू १९५० को सन्धिको हकमा फरक–फरक दृष्टिकोण राख्छन् । एकथरीले सन्धि खारेज गरी सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विचार राख्छ । अर्काथरी यो विचारसँग सहमत देखिँदैन । सहरमा बस्ने जसले रोजीरोटी नेपालमै जोहो गर्नसकेका छन् र केही समस्या परेपछि अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानाडा उड्न सक्छन्, उनीहरूले यो सन्धि र भारत–नेपाल सम्बन्धलाई नै असान्दर्भिक देख्छन् । सत्य तितो हुन्छ । आजसम्म पनि दूरदराजमा बस्ने जनताको बच्ने आधार नै भारतको मजदुरी हुनपुगेको छ । मुगलान नगई नहुने अवस्थाको अन्त्य गर्नुको सट्टा झन्–झन् मुगलानीकरण हुँदैछ । आज पनि भारत, ब्रिटेन र अन्य देशका सेनामा भर्ती हुन धेरै ठाउँमा तालिम केन्द्र नै सञ्चालन हुँदै आएका छन् ।

 बिहान र बेलुका युवाहरू शारीरिक व्यायाममा तल्लिन छन् । यी युवालाई न राष्ट्रवादले रोक्छ न सार्वभौमिकताले । हामीले हाम्रो परनिर्भरताको विविधीकरण गर्‍यौं । हामी भारतसँग सम्बन्ध बिग्रे चीनसँग जान्छौं, तर आफ्नै खुट्टामा उभिने कोसिस गर्दैनौं । हामी स्वाधीन हुने कोसिस गर्दैनौं, बरु साहु फेर्ने प्रचारबाजी गर्छौं । अहिले चीनले गरेको सबै कुरा राम्रो देख्छौं, त्यो चीनको लागि होला पनि, तर नेपालको लागि कति हदसम्म राम्रो हुन्छ, यसको लेखाजोखा गरेका छैनौं । हामी हतारमा सन्धि गर्छौं, फुर्सदमा पछुताउँछौं । सन् १९५० को सन्धि हामीले चाह्यो भने खारेज गर्न सक्छौं, नाकाको संख्या घटाउन सक्छौं, सिमानामा पर्खाल पनि निर्माण गर्न सकिएला । सन्धिले सिमाना नियन्त्रण गर्न कुनै रोकछेक गर्दैन । तर यसबाट पर्नजाने असरलाई हामी कसरी सम्बोधन गर्छौं, यो महत्त्वपूर्ण पक्ष हो ।
 
बढ्दो भूराजनीतिक अवस्थामा सन्धि 
विश्वको शक्ति स्थानान्तरण एसियामा हुँदै गर्दा नयाँ चुनौती थपिएको छ । दक्षिण एसियामा नयाँ–नयाँ कर्ताहरू आएका छन् । जसले एउटा राष्ट्रलाई अर्को राष्ट्रविरुद्ध, एउटा जातिलाई अर्को जातिविरुद्ध, एउटा धर्मलाई अर्को धर्मविरुद्ध र एउटा क्षेत्रलाई अर्को क्षेत्रविरुद्ध प्रयोग गरिरहेको छ । अर्को महत्त्वपूर्ण कुरा भनेको विश्वव्यापी रूपमा देखिएको पहिचानको राजनीतिले वर्णशंकर युद्धको सिर्जना गरेको छ । राष्ट्र र राज्यबीच द्वन्द्व सिर्जना भएको छ । जसमा राष्ट्रहरूले राज्यलाई चुनौती दिँदैछन् । एक देशमा भएको एउटा जाति, धर्मले अर्को राष्ट्रसँगको स्वजातीय वर्गसँग सम्बन्ध बनाउँदै आएको छ र एकले अर्काको लागि लड्दै आएका छन् । विगतमा भएका सन्धि–सम्झौताहरू धेरै हदसम्म अहिलेको पहिचानको राजनीति, भू–राजनीति, आर्थिक र सुरक्षा क्षेत्रमा आएको परिवर्तनले असर गर्नेछन् । अर्कोतर्फ प्रविधि, बसाइँ–सराइ र भूमण्डलीकरणले विशेष सम्बन्धका धेरै आधार पनि परिवर्तन भएका छन् । यतिबेला नेपाल भूराजनीतिक कर्ताहरूको केन्द्रबिन्दु बनेको छ । अन्तर्राष्ट्रिय संघ/संस्थाहरूको बाक्लो उपस्थिति र भूराजनीतिक क्षेत्रमा यिनीहरूको चलायमानले गर्दा चीन र भारत दुवै सशंकित छन् । नेपालको तरल राजनीति, फितलो सुरक्षा व्यवस्था सबैका लागि चुनौती बनेको छ । छिमेकीहरूले नेपालप्रति लिने नीति यही असुरक्षाको सिद्धान्तबाट निर्देशित देखिन्छ । 

मित्रराष्ट्रहरूको इच्छाअनुसारै व्यवहार गर्दै आएका छौं । हामीले बुझ्न आवश्यक छ– अरु राष्ट्रको लागि भारत र चीन मित्रराष्ट्र हुन् र ती राष्ट्रहरू हाम्रा पनि मित्रराष्ट्र हुन् र त्योभन्दा बढी होइनन् । तर भारत र चीन दुवै हाम्रा छिमेकी पनि हुन् । त्यसैले अरुको उक्साहटमा आएर छिमेकी राष्ट्रसँगको सम्बन्धलाई परिभाषित गर्न सकिँदैन । पछिल्ला दिनमा राजनीतिक विचारधारा र राष्ट्रवादले प्रमुख भूमिका खेलेको देखिन्छ । यो सिद्धान्त अनुसार भारतसँग व्यवहार गर्नु भनेको अराष्ट्रवादीे र चीनसँग नजिक हुनु भनेको राष्ट्रवादी र राष्ट्रिय सार्वभौमसत्ताको सुनिश्चितता हो भन्ने भावनालाई मलजल गरिँदैछ । तर इतिहासले त्यो कुरा देखाउँदैन । नेपालले चीनसँग पनि (भोट) पटक–पटक युद्ध गर्नुपरेको छ । आर्थिक उन्नतिसँगै चीनको पनि व्यवहारको वादशाहीकरण भएको छ । दक्षिण एसिया मामिलाका चिनियाँ प्राध्यापक सु लियाङले दक्षिण एसियामा दुइटामात्र स्वतन्त्र मुलुक छन्– भारत र पाकिस्तान भन्दा हामी हाम्रो सार्वभौमिकता र स्वतन्त्रताको विषयमा बोल्नु उपयुक्त ठान्दैनौं । 

अन्त्यमा,
सन् १९५० को सन्धिलाई एक्लै हेर्न मिल्दैन । दक्षिण एसियामा देखिएको भूराजनीतिक चलखेलले भारत सतर्क छ र यसको प्रत्यक्ष प्रभाव सन्धिमा पर्छ । सन्धिको परिप्रेक्ष्यमा भारतले एक किसिमको तयारी गरेको देखिन्छ । तर हामीले के चाहेको हो र के गर्ने भनी यस विषयमा अध्ययन त्यति गरेका छैनांै । समष्टिगत रूपमा के भन्न सकिन्छ भने अहिलेसम्म १९५० को सन्धि र भारतसँग भएका अरु (असमान) सन्धिहरू सार्वजनिक खपत र राजनीतिक फाइदाका लागिमात्र बहसमा ल्याइएको देखिन्छ । राष्ट्रियता र जनहितका लागि भन्ने विश्वास गर्ने ठाउँ कम छ । त्यसो हुँदो हो त एकपछि अर्को गल्ती किन हुन्थ्यो र ? विश्व परिस्थिति बुझेर सन्धिको समीक्षा गर्ने थियौं । १९५० मा राणाजीहरूले गरे पनि पछिका सन्धिहरू हामीले गरेका हौं । पछिका सन्धिहरू पनि असमान ठहरिए । 

दोष कसलाई दिने ? राजनीतिक अस्थिरता र भूराजनीतिक चटारोको समयमा हामीले गठन गरेको विशिष्ट व्यक्तिहरूको समूहले केही निर्णय गर्ने अवस्था छैन । हामी धेरैको बुझाइ के छ भने १९५० को सन्धि र यसैसँग सम्बन्धित ‘चिठ्ठी आदान–प्रदान’ले नेपालको सार्वभौमसत्तालाई नजरअन्दाज गर्छ । यदि साँच्चै त्यसो हो भने सार्वभौमिकतामा आँच नआउनेगरी अगाडि बढ्नु आजको आवश्यकता हो । कूटनीति भनेको परिस्थितिलाई आफ्नो पक्षमा ल्याउने हो । तर हाम्रो विदेश नीतिले सन्तुलन गुमाएको छ । हाम्रो मानसिकता ‘प्रो भारत, प्रो चीन र प्रो पश्चिमा’ले ग्रसित छ । बाहिर एउटा तथ्य र भित्र अर्कै लेनदेन गर्छौं । महाकाली सन्धि यसको ज्वलन्त उदाहरण हो । सबै राष्ट्रवादी त्यसमा मुछिएका छन् । राजनीतिमा आएको विभाजन– विचारधाराको आधारमा (जुन हाम्रो होइन), समाजमा आएको विभाजन (जातीयता, धर्म, क्षेत्रीयता र लिङ्गको आधारमा) जुन हामीले गरेको होइन, भूगोलमा देखिएको समस्या (जुन हामीले चाहेको होइन), सुरक्षामा आएको दुविधा (राजनीतिक अस्थिरताले गर्दा) । यी सबै विषयले भोलिको सुरक्षा, सन्धि–सम्झौताका आधारहरू र विदेश नीतिका अन्तरवस्तुहरू निर्धारण गर्नु अहिलेको अपरिहार्यता हो । यसलाई ईपीजीको प्रतिवेदन लेख्दा ख्याल गरियोस् । 

नोट : यी लेखकका निजी विचार हुन् ।

प्रकाशित : जेष्ठ २४, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?