प्रतिभा पलायन

डा. अजय रिसाल

काठमाडौं — ‘सर! रिकमेन्डेसन लेटर बनाइदिनोस् न प्लिज’, मकहाँ वर्षमा दुई–तीनपटक यसरी नै आउँछन्, विद्यार्थी। एमबीबीएस सफलताका साथ उत्तीर्ण गरेर मेडिकल काउन्सिलबाट डाक्टरी सर्टिफिकेट लिइसकेका उनीहरू देश छाड्न चाहन्छन्।

अमेरिकाको लाइसेन्सिङ परीक्षाका दुई चरण पार गरिसकेपछि त्यहाँ राम्रो विषय पाउने या पायक पर्ने ठाउँमा म्याचिङ हुने उनीहरूको चाहना हुन्छ। त्यसमा योग्य उत्पादन र आशा गरिएका अनुहार बढी पर्छन्। त्यस्तै विज्ञान, इन्जिनियरिङ, व्यवस्थापनजस्ता विषय पढेका अनेकौं योग्यतमहरू पीएचडी गर्ने क्रममा शनै:शनै: विदेशी पीआर/ग्रिनकार्ड होल्डर बनेर सामाजिक सञ्जालमा झुल्किरहेका भेटिन्छन्। यसैलाई नै ‘प्रतिभा पलायन’ हो कि? मनमा हुन्डरी चल्छ– त्यसो भए यो देशमा बाँकी को त?’

अध्ययनमा राम्रो गर्न नसकेका र राम्रो जागिर नपाएकाहरू खाडी मुलुकमा पसिना चुहाउने, राम्ररी अध्ययन गरेका र स्वदेशमै गतिला अवसरको सम्भावना भएकाहरू भने अमेरिका, अष्ट्रेलिया, युरोपतिर आफ्नो योग्यता, ज्ञान र सीप लुटाउने। हरे! फेरि पनि मनमा थकथक लाग्छ– त्यसो भए हाम्रो मुलुकमा रहने को त? रिटायर्ड, वृद्घ, आश्रित वर्ग अनि राजनीति गर्नेहरू मात्र? यसको मतलब योग्यतमहरू विदेश जाँदै नजाउन् भन्न खोजेको भने होइन। जानुपर्छ, जाने नै हो, तर ऊर्जाशील उमेर विदेशी माटोमै सक्काउने या त्यतै भासिनेतिर नलागुन् भन्ने अभिप्राय: मात्र हो। 
वास्तवमा प्रतिभा पलायनको यस्तो डरलाग्दो चुनौतीपूर्ण परिदृश्य धेरै पहिलेदेखि नै थाहा भएको हो। विश्व बैंकको सन् २००० को तथ्यांकअनुसार विश्वका १० समर्थ कहलाइएका देशहरूमा अनुसन्धान र सूचना प्रविधिका क्षेत्रमा काम गर्नेमध्ये ४५ प्रतिशत अन्य मुलुकबाट आएका भेटिन्छन्। तीमध्ये २४ देश त विकासोन्मुख या अल्पविकसित नै छन्। त्यसमा दक्षिण एसियाली मुलुक पनि पर्छन्। 

Yamaha

सन् २००० कै अर्को तथ्यांकले देखायो कि विश्व जनसंख्याको करिब ३ प्रतिशत युवा आफू जन्मेकोभन्दा भिन्न देशमा एक वर्षभन्दा बढी अवधि बसिरहेका थिए। प्राय: ती नर्सिङ या डाक्टरी पृष्ठभूमिका थिए। मुख्यतया इजिप्ट, भारत, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरियाजस्ता देशबाट अष्ट्रेलिया, क्यानाडा, जर्मनी, बेलायत वा अमेरिकातिर भासिएका। करिब दुई दशकपछिको स्थिति हेर्ने हो भने पनि त्यो संख्या घटेको छैन, झनै बढेको छ। सँगसँगै नेपाल पनि योग्य जनशक्तिलाई विदेश निर्यात गर्ने देशहरूमा अग्रणी स्थानमै उभिन्छ। हाम्रो देशबाट वर्षभरिमा २ लाख ५० हजार युवा विदेश पलायन हुने राष्ट्रिय तथ्यांक छ। हालसालै (सन् २०१५ मा) नर्सहरूमा गरिएको अध्ययनले यो कुरा अझै प्रस्ट्याएको छ, विदेश पलायन भएका नेपालका नर्सहरूमध्ये ४० प्रतिशत अष्ट्रेलिया, ३० अमेरिका, १६ बेलायत र १३ प्रतिशत क्यानाडामा छन्। 

यस्तो प्रवृत्ति विकासशील देशहरूबाट विकसिततर्फ भइरहेको पाइन्छ। विकासशील या अल्पविकसित हाम्रोजस्ता देशमा व्याप्त राजनीतिक नैराश्य, अध्ययन–अनुसन्धानमा स्रोतसाधनको कमी, तलब–सुविधा आदिको अव्यवस्था अनि सामाजिक असुरक्षाजस्ता कारण बाहिरिने बाध्यता छ। विकसित देशमा रहने जीवनवृत्तिको सुविधा, प्रविधिको पहुँच अनि भविष्यको स्थायित्व आदिले तानिरहेको हुनसक्छ। विकसित मुलुकहरूमा खासगरी प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको चरम अभावले यो माग बढाएको हुनसक्छ। 

आजको युगमा शिक्षा, स्वास्थ्य अनि रोजगारीका लागि आमजनता एक मुलुकबाट अर्कोतर्फ स्थानान्तरण हुनुलाई जीवनको एक स्वाभाविक घटना नै मान्नुपर्छ। तर प्रतिभा पलायको यस्तो चुनौतीलाई हाम्रोजस्तो देशमा अवसरका रूपमा उपयोग गर्न पो सकिन्छ कि? त्यसका लागि आफ्नो मुलुकमा काम र माम दिने विकसित देशहरूले अल्पविकसित मुलुकहरूको प्रविधि र स्रोतसाधनहरूको स्तरोन्नतिका लागि पनि हेरविचार गरिदिने या जनशक्तिको यथोचित वितरण अनि आदान–प्रदानका लागि पनि सोचिदिने हो कि? 

प्रकाशित : जेष्ठ २६, २०७४ ०७:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किन हुन्छ ‘एसिड आक्रमण’ ?

डा. अजय रिसाल

छापामा पढिएको ‘विवाह गर्न नमान्दा प्रेमीद्वारा प्रेमिकामाथि एसिड प्रहार’ समाचार अनि ती किशोरीको उपचार क्रममा मृत्यु हुनपुगेको घटना पढ्दै गर्दा करिब दुई वर्ष अघिको यस्तै प्रकृतिको घटना सम्झनामा आयो ।

मध्य राजधानीमै ट्युसन पढ्न गएका दुई किशोरीमाथि सबेरै एसिड आक्रमण भएको थियो, त्यो बेला । यस किसिमका अमानवीय एवं आपराधिक प्रवृत्तिसँग सम्बन्धित घटनाबारे अनेक कोणबाट आइरहेका समाचार टिप्पणी/लिखोटहरूले मलाई केही तथ्य उजागर गर्ने हौसला प्रदान गरेको छ ।

एसिड आक्रमण विश्वव्यापी रूपमा नै विद्यमान रहेको तथ्यांकहरूले दर्शाएका छन् । वर्षेनि करिब १५०० जना यसको सिकार हुने गरेको पाइन्छ । तीमध्ये ८० प्रतिशत महिला अनि ४० प्रतिशत १८ वर्षमुनिका भएको आँकडामाथि विचार गर्दा यसले सामाजिक रूपमा कमजोरलाई नै निसाना बनाउने गरेको छर्लङ्गै हुन्छ ।

ऐतिहासिक पक्षलाई केलाउँदा सन् १८७९ मा युरोपेली मुलुक फ्रान्समा पुरुषको ध्यानाकृष्ट गर्न महिलाले एकअर्का विरुद्ध आक्रमण गर्ने हतियारको रूपमा प्रयोग गरिने गरेको एसिड १९६० को दशकयता बंगलादेश, भारतजस्ता दक्षिण एसियाली मुलुकहरूमा महिला हिंसाको निकृष्ट नमुनाको रूपमा देखापरेका छन् ।

विश्वस्तरीय अध्ययनहरूले एसिड आतंकले ग्रस्त मुलुकहरूमा बंगलादेशलाई पहिलो स्थानमा रहेको देखाएको छ भने भारत र कम्बोडिया दोस्रो अनि तेस्रो नम्बरमा आउँछन् । दक्षिण एसियाली अनि मध्यपूर्वी देशहरूमा सामाजिक अधिकार र आर्थिक पहुँचको दृष्टिकोणले महिलाहरू पछि पर्ने र गार्हस्थ हिंसाको सिकार बन्ने गरेको जगजाहेरै छ । यस्तो अवस्थामा महिलामाथि हुने गरेको यातनाको हतियारको रूपमा एसिड नै प्रयोग भएको देखिन्छ ।

वैवाहिक या प्रेम प्रस्ताव अथवा जबर्जस्ती यौन सम्बन्ध राख्न अस्वीकार गर्दा, दाइजोको मामिला वा अन्य सामान्य झगडा आदिमा पनि पुरुष पक्षले महिलाको अनुहारै बिगार्ने घृणित उद्देश्यसाथ एसिड प्रहार गरेको देखिन्छ । त्यस्तै अफगानिस्तान, पाकिस्तान, इरानजस्ता इस्लाम बहुल मुलुकहरूमा धार्मिक नीति—नियमको विपक्षमा जाने जोकोहीलाई यसको सिकार बनाउन सकिने देखिएको छ, जस्तै— महिलाले स्कुल जाँदा बुर्का नलगाउँदा ।

अफ्रिकी एवं दक्षिण अमेरिकी मुलुकहरूमा समेत महिलामाथि एसिड खन्याएर पुरुषहरूले लैंगिक असहिष्णुताको चरम दृष्टान्त देखाएको पाइन्छ । उत्तर अमेरिकी एवं युरोपेली देशमा भने अहिले कडा कानुनी प्रावधानका कारण एसिड आतंक लैंगिक हिंसाको रूपमा अगाडि नआए तापनि अल्पसंख्यक समुदायमाथि मद्यपान या लागुपदार्थ सेवनको आडमा गरिने आपराधिक क्रियाकलापको माध्यमको रूपमा अझै रहेको पाइन्छ । त्यहाँ पेट्रोल, मट्टितेलजस्ता तेलजन्य प्रज्ज्वलनशील पदार्थ पनि प्रयोग भएको देखिन्छ । विशेषगरी बेलायतमा एसियाली आप्रवासीहरूमाझ अझै पनि नारी/पत्नीहरूलाई दबाउन या यातना दिन एसिड नै प्रयोग भएको पाइन्छ ।

एसिड आक्रमणको अर्को कारणको रूपमा जग्गाजमिनमाथिको अधिकारको लागि चल्ने विवाद, एकअर्काप्रतिको शत्रुता या बदलाको भावना आदि पनि रहेको देखिन्छ । यस्ता घटनाले शेरलक होल्म्सको अपराध साहित्यमा समेत स्थान पाएको थियो । विशेषतया मोटरसाइकल मर्मतमा प्रयोग हुने सल्फरिक एसिड, गहना सफा गर्न प्रयोग गरिने नाइट्रिक या हाइड्रोक्लोरिक एसिड नै यस्ता कार्यमा उपयोग भएको देखिए तापनि आजकल बिग्रेको मोटर ब्याट्रीभित्रका तरल पदार्थसमेत यसमा प्रयोग हुने गरेको पाइन्छ । 

यी एसिड/पदार्थले गर्ने शारीरिक हानिमा अन्धोपना, छाला बिग्रने, हातहरू काम गर्न नसक्ने बन्ने अनि अनुहारमा स्थायी दाग लाग्ने/पोल्ने या कुरूपपना आउने आदि देखिन्छ । त्यसभन्दा पनि बढी हृदयविदारक त यसबाट पीडित महिलाहरूको गिर्दो मनोवैज्ञानिक अवस्था, स्थायी रूपमा नै डिप्रेसन, एन्जाइटी, पोष्टपार्टम डिस्अर्डरजस्ता रोगको सिकार बन्नु रहन्छ । सामाजिक रूपमा बहिष्कृत बन्ने, काम/पेसाबाट विमुख हुने आदि पीडा त अवर्णनीय नै छन् । 

यस्तो विश्वव्यापी आतंकको रूपमा रहेको एसिड आक्रमणको घटना र तत्सम्बन्धी आएका समाचारहरूलाई हामीले हल्का रूपमा कदापि लिनु हुँदैन । अत: सबै पक्षबाट यस्तो प्रवृत्ति दोहोरिन नदिन प्रभावकारी पाइला चालिहाल्नुपर्ने देखिन्छ । त्यस्तै यस घटनाका सिकार किशोरी/महिलाहरूको उपचार अनि सामाजिक पुनर्वासका लागि पनि सरकारले सोच्नुपर्ने हुन्छ ।

अनि यसमा संलग्न अपराधीहरूको पहिचान गरी सबैले देख्नेगरी अनि आपराधिक मनोवृत्तिको निराकरण नै हुनेगरी सजायको व्यवस्था गर्न सम्पूर्ण सचेत नागरिक, सम्बद्ध संघ/संस्था अनि मिडियाकर्मीले घचघच्याउनुपर्ने हुन्छ । सर्वाधिक एसिड आतंक छाएको बंगलादेशमा सन् २००२ देखि विभिन्न गैरसरकारी संस्थाहरूको सत्प्रयासका कारण यस्ता घटनामा न्युनीकरण हुँदै आएको वास्तविकतालाई बिर्सन मिल्दैन । अत: यो हामी सबैले गम्भीरतासाथ मनन गर्नुपर्ने सामाजिक महत्त्वको विषय हो । 

डा. रिसाल मानसिक रोग विशेषज्ञ हुन् । 

प्रकाशित : माघ २८, २०७३ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT