कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अढाई शताब्दीको निरन्तर अस्थिरता

सूर्य थापा

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । करिब २५० वर्षअघि एकीकृत नेपालको पहिलो प्रधानमन्त्री जनरल भीमसेन थापालाई मानिन्छ । उनले प्रधानमन्त्रीको हैसियतमा मुलुकको नेतृत्व गरे ।

अढाई शताब्दीको निरन्तर अस्थिरता

नाबालक राजाहरूको अभिभावक बनेर प्रधानमन्त्री भीमसेन थापाले नेपाल एकीकरणलाई निचोडमा पुर्‍याउनुका साथै अङ्ग्रेजी साम्राज्यवादको आक्रमणको सामना गरी यो राष्ट्रको स्वतन्त्रता, अखण्डता र भौगोलिक मानचित्र सुरक्षित गरेका थिए । यसमा विवाद गरिरहनु आवश्यक छैन । 

रक्तरञ्जित काल : भारदारहरूको मारकाट
तर देशभक्त प्रधानमन्त्री भीमसेन थापाको अवसान जेलमा थुनिएर वा आफैँले सेरिएर (!) भएको इतिहासमा उल्लेख छ । किन आफैँले सेरिनुपर्‍यो (?) वा भारदारिया षड्यन्त्रमा परी उनको हत्या भएको थियो ? यसबारे इतिहासमा निकै विवाद छ । तर स्थापित तथ्य हो– उनको मृत्यु अमानुषिक ढङ्गले भयो । त्यसपछिका प्रधानमन्त्रीहरू रङ्गनाथ पौडेल, पुष्कर शाह, रणजङ्ग पाण्डे, माथवरसिंह थापा र फत्तेजङ्ग शाह– प्राय:को कार्यकाल एक वर्षभन्दा बढी हुनपाएन । भारतको बेतियामा बस्दै आएका माथवरसिंह थापाले भनेका थिए– ‘हालसम्म यहाँका कोही प्रधानमन्त्रीको मृत्यु कालगतिले हुनपाएको छैन ।

तर विश्वास छ– म त्यसको अपवाद हुनेछु !’ बर्बर, क्रूर र षड्यन्त्रले भरिपूर्ण तत्कालीन भारदारी दाउपचेसामु उनको त्यस खालको विश्वाससमेत झुट नै सावित भयो र असमयमै उनी मारिनुपर्‍यो । चौतरिया फत्तेजङ्ग शाहको त कोतपर्वमै हत्या भयो । साथमा सम्पूर्ण भाइ/भारदारहरूको सामूहिक हत्या गरी कोतमा बगेको रगतको आहालमा टेकेर जङ्गबहादुर राणा र जहानियाँ राणातन्त्रको उदय भयो । 

१ सय ४ वर्षमा ९ श्री ३ महाराज
राणाशासनको आरम्भपश्चात् जङ्गबहादुर सबैभन्दा बढी ३१ वर्ष श्री ३ महाराज भए । उनका भाइ रणोद्वीप सिंहले ८ वर्ष शासन गर्दा–नगर्दै नारायणहिटी दरबारमा धीर शमशेरका छोराहरू खड्ग शमशेर लगायतले हत्या गरे र जङ्ग खलकबाट शमशेर खलकमा रोलक्रम सारे । अनि वीर शमशेरले १६ वर्ष शासन चलाएपछि देव शमशेर ‘श्री ३’ भए । उनले ‘गोरखापत्र’को प्रकाशन थालनी गर्नुका साथै आफूलाई ‘उदार’ र ‘सुधार’का हिमायतीका रूपमा प्रस्तुत गरे । फलत: रोलक्रममा रहेका ‘चन्द्र मण्डली’लाई उनको रवैया मनपरेन । र १ सय १४ दिनमै पदच्युत गरिए ।

उनीपछि चन्द्र शमशेरले २९ वर्ष र भीम शमशेरले तीन वर्ष शासन गरेपश्चात् जुद्ध शमशेर श्री ३ भए । उनले नेपालको पहिलो मजदुर आन्दोलन (२००३) र विद्यार्थी आन्दोलन (जयतु संस्कृतम् आन्दोलन २००४) र नागरिक आन्दोलन (२००४) का पृष्ठभूमि र प्रभावहरूको सामना गर्नुपर्‍यो । अन्तत: उनी गद्दी त्यागेर पाल्पाको अर्गलीतर्फ लाग्न विवश भए । अनि पद्म शमशेर नेतृत्वमा आए । उनले ‘नेपालको वैधानिक कानुन–२००४’ जारी गर्ने लगायत महत्त्वपूर्ण सुधार कार्यको थालनी गर्न खोजे । त्यसै क्रममा उनी मोहन/बबर शमशेरजस्ता रोलक्रमका ‘कट्टर’ र ‘कडा’ राणाहरूको बक्रदृष्टिमा परेर गद्दीच्युत हुनुपर्‍यो । तत्पश्चात् मोहन शमशेर अन्तिम राणा प्रधानमन्त्री भए र २००७ सालको क्रान्तिको मारमा परेर तीन वर्ष बित्दा–नबित्दै आफूमात्रै बिदा भएनन्, सँगसँगै राणाशासन नै पतन हुनपुग्यो ।

सङ्क्रमणकालका नौ वर्ष : तासका पत्तीझैँ सरकार
राजाको कृपामा मातृकाप्रसाद कोइराला (२००८ साल मंसिर १ गते) प्रधानमन्त्री नियुक्त भएपछि पटक–पटक गरी चार वर्ष शासनमा रहे । उनी एकजना यस्ता प्रधानमन्त्री हुन्, जो पछि अमेरिकाका लागि नेपाली राजदूत हुनपुगे र प्रधानमन्त्री पदको मर्यादा, गरिमा र सम्मानलाई आफ्नो सामान्य पदीय आकाङ्क्षासँग हाकाहाकी सौदाबाजी गर्नसमेत किञ्चित अप्ठेरो मानेनन् । पहिले जङ्गबहादुर राणा बेलायत भ्रमणमा पुगेको स्थितिमा त्यहीँ राजदूत भएर बस्न चाहेको इतिहास पढ्न पाइन्छ ।

तर उनी ‘लोकलज्जा’ हुने ठानेर स्वदेश फर्किएका थिए । तर कोइरालाले त ‘जङ्गबहादुर’ले जति पनि अप्ठ्यारो मानेनन् । राजाको कृपामा ‘राजदूत’ बन्न राजी भए ! मातृकापछि टङ्कप्रसाद आचार्य (२०१२ माघ १३), डा. केआई सिंह (२०१४ साउन ११) र सुवर्ण शमशेर (२०१५ जेठ २) प्रधानमन्त्री/मन्त्रिपरिषद्को अध्यक्ष भई मुलुकको शासनभार सम्हाले । र राजाको इच्छा र घोषणामा २०१५ सालको आमनिर्वाचन भयो । निर्वाचन पश्चात् २०१६ जेठ १३ गते बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । उनी २०१७ पुस १ गतेसम्म मुलुकको प्रधानमन्त्री रहे र राजाको ‘कू’को कोपभाजनमा परी प्रधानमन्त्री हुँदाहुँदै पक्राउ परेर जेल चलान गरिए । वास्तवमा यो बहालवाला प्रधानमन्त्रीले देशमा भोग्नुपरेको अत्यन्त ठूलो अपमान र निरंकुशतावादी हमला नै थियो । 

पञ्चायतका तीस वर्ष : आलोपालो ६ शासक
राजा महेन्द्रको ‘कू’बाट स्थापित पञ्चायती तानाशाही व्यवस्था ३० वर्ष लामो अवधि टिक्यो । त्यस अवधिमा डा. तुलसी गिरी (२०१७–२१/२०३२–३४), सूर्यबहादुर थापा (२०२१–२०२५/२०३६–०४०), कीर्तिनिधि विष्ट (२०२५–२९/२०३४–३६), नागेन्द्रप्रसाद रिजाल (२०३०–३२), लोकेन्द्रबहादुर चन्द (२०४०–४३/२०४६–४७) र मरिचमानसिंह श्रेष्ठ (२०४३–४६) प्रधानमन्त्री रहे । र सिङ्गो पञ्चायतभरि लगातार चार वर्ष मरिचमानसिंह मात्रै प्रधानमन्त्री भए । अरूचाहिँ आलोपालो गरी पटक–पटक प्रधानमन्त्री नियुक्त भए तापनि पुरा कार्यकाल कोही प्रधानमन्त्री बन्न पाएनन् र सकेनन् ।

राजाको सक्रिय नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्था यस प्रकारको अस्थिरता अपेक्षा गरिएको थिएन । तर त्यसैबखत एउटा प्रधानमन्त्री हटाउन भूमिगत गिरोहको सक्रियतामा अविश्वास प्रस्तावको नाटक मञ्चन गरेर अर्को प्रधानमन्त्री बनाइएको जस्ता विरोधाभासपूर्ण क्रियाकपालसमेत गरिए । सूर्यबहादुर थापालाई हटाएर लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्दा/बनाइँदा यस्तो अभ्यास गरिएको थियो । यो अवधिभर राजा र भूमिगत गिरोहको कृपाप्राप्त व्यक्ति नै प्रधानमन्त्री हुने सिलसिला चल्यो । 

पार्टीको आन्तरिक द्वन्द्वको पराकाष्ठा
२०४७ सालमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (२०४७ वैशाख ६) को नेतृत्वमा गठित सरकारले एक वर्षमै संविधान निर्माण, जारी र आमनिर्वाचन सम्पन्न गर्‍यो । २०४८ सालमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकल सरकार गठन गर्‍यो । तर तीन वर्ष बित्दा–नबित्दै ७४ र ३६ को विभाजनमात्रै सिर्जना भएन, सरकारको नीति तथा कार्यक्रमसमेत पारित हुनसकेन । त्यही कारण कोइरालाले मुलुकलाई मध्यावधि निर्वाचनमा झाँेंकिदिए । यसरी सुविधाजनक बहुमतको सरकारसमेत तीन महिनामै ढल्न पुग्यो । मध्यावधि निर्वाचन (२०५१) मा नेकपा (एमाले) पहिलो पार्टी त भयो, तर संसदको स्वरूप भने त्रिशङ्कु नै बन्यो ।

त्यसै परिप्रेक्ष्यमा पहिलोपटक मनमोहन अधिकारी (२०५१ मंसिर १४) को नेतृत्वमा एकल कम्युनिस्ट सरकार गठन भएर नौ महिना मुलुक सञ्चालन गर्‍यो । कैयौँ लोकप्रिय काम गरिरहेको स्थितिमा अविश्वास प्रस्ताव ल्याई त्यो सरकार ढालियो । हेलिकप्टर दुर्घटनामा परी उपचाररत प्रधानमन्त्री मनमोहन अधिकारीले शिक्षण अस्पतालकै शैय्याबाट अविश्वास प्रस्तावको जवाफ दिनुपर्‍यो । अनि शेरबहादुर देउवा (२०५२ भदौ २७) को नेतृत्वमा गठबन्धन सरकार बन्यो । 

संसदको तेस्रो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी त्यस अवधिमा ‘निर्णायक’जस्तै बन्यो । अनि कहिले नेकपा (एमाले) को समर्थनमा चन्द (२०५३ फागुन २९) त कहिले नेपाली काङ्ग्रेसको समर्थनमा थापा (२०५४ असोज २१) प्रधानमन्त्री चुनिने स्थिति बन्यो । यसरी सत्ताको खेल निरन्तर चलिरह्यो । 
 

भट्टराई भर्सेस कोइराला
गिरिजाप्रसाद कोइराला (२०५५ वैशाख २) को नेतृत्वमा २०५६ को आमचुनाव भयो र नेकपा (एमाले) को विभाजनको उपलब्ध अवसरका कारण नेपाली काङ्ग्रेसले पुन: बहुमत प्राप्त गर्‍यो । पूर्वघोषणा बमोजिम कृष्णप्रसाद भट्टराई (२०५६ जेठ २७) प्रधानमन्त्री त भए, तर एक वर्ष नबित्दै गिरिजाप्रसादकै नेतृत्वमा भट्टराई नेतृत्वको सरकार ढालियो । अनि गिरिजाप्रसाद (२०५६ चैत ८) मा चौथोपटक प्रधानमन्त्री हुनपुगे । उनको यस कार्यकालमा नेकपा (एमाले) ले ५८ दिनसम्म संसद अवरुद्ध गर्‍यो । साथसाथै माओवादी हिंसा झनै चर्किरहेको थियो ।

र होलेरी घटनापश्चात् सेना परिचालन नभई असहयोग गरेको बहानामा कोइरालाले राजीनामा दिनुपर्‍यो । र, नेपाली काङ्ग्रेसबाट तेस्रो व्यक्ति देउवा दोस्रोपटक (२०५८ साउन ११) प्रधानमन्त्री बन्न पुगे । उनी पार्टीभित्रको विवादमा अत्यन्त रुमल्लिएर आफ्नो पदावधि लम्ब्याउन दरबारिया षड्यन्त्रको मोहरा बनेको आरोप लाग्यो । र २०५९ जेठमा प्रतिनिधिसभा विघटन गरी असम्भवजस्तै रहेको भए पनि नयाँ निर्वाचन घोषणा गर्न पुगे ।

मुलुकलाई जनप्रतिनिधिविहीन बनाउँदै निरङ्कुशतन्त्रको आधार तयार गर्ने योजना मुताबिक न स्थानीय निकायको निर्वाचन गरियो, नत म्याद थप नै भयो । अन्तत: असोज १८ गते ‘असक्षम’ घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अपदस्थ गरे । २००७ पछि बीपी र मातृका बीचको द्वन्द्व, २०१६ सालमा बीपी र तुलसी गिरी बीचको द्वन्द्व र २०५९ मा गिरिजा र शेरबहादुर देउवा बीचको द्वन्द्वको मारमा मुलुक पटक–पटक नै पर्‍यो । तीनवटै कालखण्डका उल्लिखित पछिल्ला पात्रहरू मातृका, गिरी र देउवा निरन्तर दरबारिया षड्यन्त्रका सहायक पात्र नै भएर परिवर्तन विरुद्ध सामेल देखिए । 

चन्द, थापा, देउवा, अनि ज्ञानेन्द्र...!
२०५९ पछि ‘असोज १८’ र ‘माघ १९’ का जुन निरङ्कुशतावादी कदम चालिए, तिनकै प्रतिक्रियास्वरूप मुलुकमा राजतन्त्र विरोधी सङ्घर्षको ज्वारभाटा उठ्यो । लोकेन्द्रबहादुर (२०५९ असोज २५) र सूर्यबहादुर (२०६० जेठ २८) असोज १८ पछि राजाको छनोटका प्रधानमन्त्री भए, तर आन्दोलनको उठेको ज्वार रोकिएन । राजा ज्ञानेन्द्रले आफैँले ‘असक्षम’ घोषणा गरेका देउवालाई २०६१ जेठ २८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरे । अनि स्वयम् देउवाले ‘गोरखाली राजाले आफूलाई न्याय गरेको !’ खुसी प्रकट गरी कार्यभार सम्हाले । तर त्यसको कठोर परिणाम २०६१ माघ १९ गते राजाको निरङ्कुशतावादी ‘कू’का रूपमा प्रकट भयो ।

यसरी चार वर्षको अवधिमा दरबार हत्याकाण्डको संशयपूर्ण परिवेशमा राजा भएका ज्ञानेन्द्र शाहको दूराकाङ्क्षाको प्रयोगशालाजस्तै बन्न पुग्यो । आफू ‘दाजु वीरेन्द्रजस्तो टुलुटुलु हेरेर नबस्ने !’ बताएका ज्ञानेन्द्रकै मति र रवैयाका कारण मुलुकमा शान्तिपूर्ण जनक्रान्ति सफल भएर २ सय ४० वर्ष लामो शाहवंशीय राजतन्त्रको पतन भयो । र राजतन्त्र फालिएको पनि अब एक दशक पुग्न थालेको छ ।

यसरी मूर्ख शासकको हठ र महत्त्वाकाङ्क्षाको यो परिणति अरू–अरूका लागिसमेत निर्मम पाठ भएको छ । स्थिरता, सुशासन र विकासको आवरणमा शाही निरङ्कुशताको आकाङ्क्षा र अभ्यासकै गलत कदमले गर्दा ज्ञानेन्द्र शाहले राजापाठ मात्रै गुमाउनु परेन, आपूसहित सन्तान/दरसन्तान समेत ‘नागार्जुन जङ्गलबास !’ मा पुग्न बाध्य हुनुपरेको छ ।

तर विडम्बना ! गणतन्त्र स्थापनाको नौ वर्षमै आठजना प्रधानमन्त्रीको ‘लस्कर’ मुलुकले भोग्नुपरेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी (मन्त्रिपरिषद्का अध्यक्ष), सुशील कोइराला, केपी शर्मा ओली र शेरबहादुर देउवा ! यसरी प्रधानमन्त्री फेरिइरहनु, तर देश र जनताको नियति नफेरिनु अत्यन्त आश्चर्यजनक अवस्था हो । 

नयाँ प्रधानमन्त्रीको नियुक्ति र सपथ ग्रहण हुँदानहुँदै विगत २५० वर्षको अस्थिर राजनीतिको दुश्चक्रबाट सिंगो नेपाली समाज, यहाँका राजनीतिक दलहरू र नेतृत्वगणले गम्भीर शिक्षा लिनुपर्ने अवस्था भइसकेको छ । र एउटा स्वाभाविक एवं अपेक्षित परिणाममा मुलुकलाई पुर्‍याउनैपर्छ : स्थिरता, विकास र समृद्धि । यसको एउटै साझा अभिव्यक्ति हो : सुखी नेपाली– समृद्ध नेपाल । सिंगो राष्ट्र एकताबद्ध भई यो संकल्प पुरा गर्न अग्रसर हुनु आजको आवश्यकता हो । 

प्रकाशित : जेष्ठ २७, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?