अढाई शताब्दीको निरन्तर अस्थिरता

सूर्य थापा

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । करिब २५० वर्षअघि एकीकृत नेपालको पहिलो प्रधानमन्त्री जनरल भीमसेन थापालाई मानिन्छ । उनले प्रधानमन्त्रीको हैसियतमा मुलुकको नेतृत्व गरे ।

नाबालक राजाहरूको अभिभावक बनेर प्रधानमन्त्री भीमसेन थापाले नेपाल एकीकरणलाई निचोडमा पुर्‍याउनुका साथै अङ्ग्रेजी साम्राज्यवादको आक्रमणको सामना गरी यो राष्ट्रको स्वतन्त्रता, अखण्डता र भौगोलिक मानचित्र सुरक्षित गरेका थिए । यसमा विवाद गरिरहनु आवश्यक छैन । 

रक्तरञ्जित काल : भारदारहरूको मारकाट
तर देशभक्त प्रधानमन्त्री भीमसेन थापाको अवसान जेलमा थुनिएर वा आफैँले सेरिएर (!) भएको इतिहासमा उल्लेख छ । किन आफैँले सेरिनुपर्‍यो (?) वा भारदारिया षड्यन्त्रमा परी उनको हत्या भएको थियो ? यसबारे इतिहासमा निकै विवाद छ । तर स्थापित तथ्य हो– उनको मृत्यु अमानुषिक ढङ्गले भयो । त्यसपछिका प्रधानमन्त्रीहरू रङ्गनाथ पौडेल, पुष्कर शाह, रणजङ्ग पाण्डे, माथवरसिंह थापा र फत्तेजङ्ग शाह– प्राय:को कार्यकाल एक वर्षभन्दा बढी हुनपाएन । भारतको बेतियामा बस्दै आएका माथवरसिंह थापाले भनेका थिए– ‘हालसम्म यहाँका कोही प्रधानमन्त्रीको मृत्यु कालगतिले हुनपाएको छैन ।

तर विश्वास छ– म त्यसको अपवाद हुनेछु !’ बर्बर, क्रूर र षड्यन्त्रले भरिपूर्ण तत्कालीन भारदारी दाउपचेसामु उनको त्यस खालको विश्वाससमेत झुट नै सावित भयो र असमयमै उनी मारिनुपर्‍यो । चौतरिया फत्तेजङ्ग शाहको त कोतपर्वमै हत्या भयो । साथमा सम्पूर्ण भाइ/भारदारहरूको सामूहिक हत्या गरी कोतमा बगेको रगतको आहालमा टेकेर जङ्गबहादुर राणा र जहानियाँ राणातन्त्रको उदय भयो । 

Yamaha

१ सय ४ वर्षमा ९ श्री ३ महाराज
राणाशासनको आरम्भपश्चात् जङ्गबहादुर सबैभन्दा बढी ३१ वर्ष श्री ३ महाराज भए । उनका भाइ रणोद्वीप सिंहले ८ वर्ष शासन गर्दा–नगर्दै नारायणहिटी दरबारमा धीर शमशेरका छोराहरू खड्ग शमशेर लगायतले हत्या गरे र जङ्ग खलकबाट शमशेर खलकमा रोलक्रम सारे । अनि वीर शमशेरले १६ वर्ष शासन चलाएपछि देव शमशेर ‘श्री ३’ भए । उनले ‘गोरखापत्र’को प्रकाशन थालनी गर्नुका साथै आफूलाई ‘उदार’ र ‘सुधार’का हिमायतीका रूपमा प्रस्तुत गरे । फलत: रोलक्रममा रहेका ‘चन्द्र मण्डली’लाई उनको रवैया मनपरेन । र १ सय १४ दिनमै पदच्युत गरिए ।

उनीपछि चन्द्र शमशेरले २९ वर्ष र भीम शमशेरले तीन वर्ष शासन गरेपश्चात् जुद्ध शमशेर श्री ३ भए । उनले नेपालको पहिलो मजदुर आन्दोलन (२००३) र विद्यार्थी आन्दोलन (जयतु संस्कृतम् आन्दोलन २००४) र नागरिक आन्दोलन (२००४) का पृष्ठभूमि र प्रभावहरूको सामना गर्नुपर्‍यो । अन्तत: उनी गद्दी त्यागेर पाल्पाको अर्गलीतर्फ लाग्न विवश भए । अनि पद्म शमशेर नेतृत्वमा आए । उनले ‘नेपालको वैधानिक कानुन–२००४’ जारी गर्ने लगायत महत्त्वपूर्ण सुधार कार्यको थालनी गर्न खोजे । त्यसै क्रममा उनी मोहन/बबर शमशेरजस्ता रोलक्रमका ‘कट्टर’ र ‘कडा’ राणाहरूको बक्रदृष्टिमा परेर गद्दीच्युत हुनुपर्‍यो । तत्पश्चात् मोहन शमशेर अन्तिम राणा प्रधानमन्त्री भए र २००७ सालको क्रान्तिको मारमा परेर तीन वर्ष बित्दा–नबित्दै आफूमात्रै बिदा भएनन्, सँगसँगै राणाशासन नै पतन हुनपुग्यो ।

सङ्क्रमणकालका नौ वर्ष : तासका पत्तीझैँ सरकार
राजाको कृपामा मातृकाप्रसाद कोइराला (२००८ साल मंसिर १ गते) प्रधानमन्त्री नियुक्त भएपछि पटक–पटक गरी चार वर्ष शासनमा रहे । उनी एकजना यस्ता प्रधानमन्त्री हुन्, जो पछि अमेरिकाका लागि नेपाली राजदूत हुनपुगे र प्रधानमन्त्री पदको मर्यादा, गरिमा र सम्मानलाई आफ्नो सामान्य पदीय आकाङ्क्षासँग हाकाहाकी सौदाबाजी गर्नसमेत किञ्चित अप्ठेरो मानेनन् । पहिले जङ्गबहादुर राणा बेलायत भ्रमणमा पुगेको स्थितिमा त्यहीँ राजदूत भएर बस्न चाहेको इतिहास पढ्न पाइन्छ ।

तर उनी ‘लोकलज्जा’ हुने ठानेर स्वदेश फर्किएका थिए । तर कोइरालाले त ‘जङ्गबहादुर’ले जति पनि अप्ठ्यारो मानेनन् । राजाको कृपामा ‘राजदूत’ बन्न राजी भए ! मातृकापछि टङ्कप्रसाद आचार्य (२०१२ माघ १३), डा. केआई सिंह (२०१४ साउन ११) र सुवर्ण शमशेर (२०१५ जेठ २) प्रधानमन्त्री/मन्त्रिपरिषद्को अध्यक्ष भई मुलुकको शासनभार सम्हाले । र राजाको इच्छा र घोषणामा २०१५ सालको आमनिर्वाचन भयो । निर्वाचन पश्चात् २०१६ जेठ १३ गते बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । उनी २०१७ पुस १ गतेसम्म मुलुकको प्रधानमन्त्री रहे र राजाको ‘कू’को कोपभाजनमा परी प्रधानमन्त्री हुँदाहुँदै पक्राउ परेर जेल चलान गरिए । वास्तवमा यो बहालवाला प्रधानमन्त्रीले देशमा भोग्नुपरेको अत्यन्त ठूलो अपमान र निरंकुशतावादी हमला नै थियो । 

पञ्चायतका तीस वर्ष : आलोपालो ६ शासक
राजा महेन्द्रको ‘कू’बाट स्थापित पञ्चायती तानाशाही व्यवस्था ३० वर्ष लामो अवधि टिक्यो । त्यस अवधिमा डा. तुलसी गिरी (२०१७–२१/२०३२–३४), सूर्यबहादुर थापा (२०२१–२०२५/२०३६–०४०), कीर्तिनिधि विष्ट (२०२५–२९/२०३४–३६), नागेन्द्रप्रसाद रिजाल (२०३०–३२), लोकेन्द्रबहादुर चन्द (२०४०–४३/२०४६–४७) र मरिचमानसिंह श्रेष्ठ (२०४३–४६) प्रधानमन्त्री रहे । र सिङ्गो पञ्चायतभरि लगातार चार वर्ष मरिचमानसिंह मात्रै प्रधानमन्त्री भए । अरूचाहिँ आलोपालो गरी पटक–पटक प्रधानमन्त्री नियुक्त भए तापनि पुरा कार्यकाल कोही प्रधानमन्त्री बन्न पाएनन् र सकेनन् ।

राजाको सक्रिय नेतृत्वमा सञ्चालित पञ्चायती व्यवस्था यस प्रकारको अस्थिरता अपेक्षा गरिएको थिएन । तर त्यसैबखत एउटा प्रधानमन्त्री हटाउन भूमिगत गिरोहको सक्रियतामा अविश्वास प्रस्तावको नाटक मञ्चन गरेर अर्को प्रधानमन्त्री बनाइएको जस्ता विरोधाभासपूर्ण क्रियाकपालसमेत गरिए । सूर्यबहादुर थापालाई हटाएर लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्दा/बनाइँदा यस्तो अभ्यास गरिएको थियो । यो अवधिभर राजा र भूमिगत गिरोहको कृपाप्राप्त व्यक्ति नै प्रधानमन्त्री हुने सिलसिला चल्यो । 

पार्टीको आन्तरिक द्वन्द्वको पराकाष्ठा
२०४७ सालमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (२०४७ वैशाख ६) को नेतृत्वमा गठित सरकारले एक वर्षमै संविधान निर्माण, जारी र आमनिर्वाचन सम्पन्न गर्‍यो । २०४८ सालमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकल सरकार गठन गर्‍यो । तर तीन वर्ष बित्दा–नबित्दै ७४ र ३६ को विभाजनमात्रै सिर्जना भएन, सरकारको नीति तथा कार्यक्रमसमेत पारित हुनसकेन । त्यही कारण कोइरालाले मुलुकलाई मध्यावधि निर्वाचनमा झाँेंकिदिए । यसरी सुविधाजनक बहुमतको सरकारसमेत तीन महिनामै ढल्न पुग्यो । मध्यावधि निर्वाचन (२०५१) मा नेकपा (एमाले) पहिलो पार्टी त भयो, तर संसदको स्वरूप भने त्रिशङ्कु नै बन्यो ।

त्यसै परिप्रेक्ष्यमा पहिलोपटक मनमोहन अधिकारी (२०५१ मंसिर १४) को नेतृत्वमा एकल कम्युनिस्ट सरकार गठन भएर नौ महिना मुलुक सञ्चालन गर्‍यो । कैयौँ लोकप्रिय काम गरिरहेको स्थितिमा अविश्वास प्रस्ताव ल्याई त्यो सरकार ढालियो । हेलिकप्टर दुर्घटनामा परी उपचाररत प्रधानमन्त्री मनमोहन अधिकारीले शिक्षण अस्पतालकै शैय्याबाट अविश्वास प्रस्तावको जवाफ दिनुपर्‍यो । अनि शेरबहादुर देउवा (२०५२ भदौ २७) को नेतृत्वमा गठबन्धन सरकार बन्यो । 

संसदको तेस्रो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी त्यस अवधिमा ‘निर्णायक’जस्तै बन्यो । अनि कहिले नेकपा (एमाले) को समर्थनमा चन्द (२०५३ फागुन २९) त कहिले नेपाली काङ्ग्रेसको समर्थनमा थापा (२०५४ असोज २१) प्रधानमन्त्री चुनिने स्थिति बन्यो । यसरी सत्ताको खेल निरन्तर चलिरह्यो । 
 

भट्टराई भर्सेस कोइराला
गिरिजाप्रसाद कोइराला (२०५५ वैशाख २) को नेतृत्वमा २०५६ को आमचुनाव भयो र नेकपा (एमाले) को विभाजनको उपलब्ध अवसरका कारण नेपाली काङ्ग्रेसले पुन: बहुमत प्राप्त गर्‍यो । पूर्वघोषणा बमोजिम कृष्णप्रसाद भट्टराई (२०५६ जेठ २७) प्रधानमन्त्री त भए, तर एक वर्ष नबित्दै गिरिजाप्रसादकै नेतृत्वमा भट्टराई नेतृत्वको सरकार ढालियो । अनि गिरिजाप्रसाद (२०५६ चैत ८) मा चौथोपटक प्रधानमन्त्री हुनपुगे । उनको यस कार्यकालमा नेकपा (एमाले) ले ५८ दिनसम्म संसद अवरुद्ध गर्‍यो । साथसाथै माओवादी हिंसा झनै चर्किरहेको थियो ।

र होलेरी घटनापश्चात् सेना परिचालन नभई असहयोग गरेको बहानामा कोइरालाले राजीनामा दिनुपर्‍यो । र, नेपाली काङ्ग्रेसबाट तेस्रो व्यक्ति देउवा दोस्रोपटक (२०५८ साउन ११) प्रधानमन्त्री बन्न पुगे । उनी पार्टीभित्रको विवादमा अत्यन्त रुमल्लिएर आफ्नो पदावधि लम्ब्याउन दरबारिया षड्यन्त्रको मोहरा बनेको आरोप लाग्यो । र २०५९ जेठमा प्रतिनिधिसभा विघटन गरी असम्भवजस्तै रहेको भए पनि नयाँ निर्वाचन घोषणा गर्न पुगे ।

मुलुकलाई जनप्रतिनिधिविहीन बनाउँदै निरङ्कुशतन्त्रको आधार तयार गर्ने योजना मुताबिक न स्थानीय निकायको निर्वाचन गरियो, नत म्याद थप नै भयो । अन्तत: असोज १८ गते ‘असक्षम’ घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अपदस्थ गरे । २००७ पछि बीपी र मातृका बीचको द्वन्द्व, २०१६ सालमा बीपी र तुलसी गिरी बीचको द्वन्द्व र २०५९ मा गिरिजा र शेरबहादुर देउवा बीचको द्वन्द्वको मारमा मुलुक पटक–पटक नै पर्‍यो । तीनवटै कालखण्डका उल्लिखित पछिल्ला पात्रहरू मातृका, गिरी र देउवा निरन्तर दरबारिया षड्यन्त्रका सहायक पात्र नै भएर परिवर्तन विरुद्ध सामेल देखिए । 

चन्द, थापा, देउवा, अनि ज्ञानेन्द्र...!
२०५९ पछि ‘असोज १८’ र ‘माघ १९’ का जुन निरङ्कुशतावादी कदम चालिए, तिनकै प्रतिक्रियास्वरूप मुलुकमा राजतन्त्र विरोधी सङ्घर्षको ज्वारभाटा उठ्यो । लोकेन्द्रबहादुर (२०५९ असोज २५) र सूर्यबहादुर (२०६० जेठ २८) असोज १८ पछि राजाको छनोटका प्रधानमन्त्री भए, तर आन्दोलनको उठेको ज्वार रोकिएन । राजा ज्ञानेन्द्रले आफैँले ‘असक्षम’ घोषणा गरेका देउवालाई २०६१ जेठ २८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरे । अनि स्वयम् देउवाले ‘गोरखाली राजाले आफूलाई न्याय गरेको !’ खुसी प्रकट गरी कार्यभार सम्हाले । तर त्यसको कठोर परिणाम २०६१ माघ १९ गते राजाको निरङ्कुशतावादी ‘कू’का रूपमा प्रकट भयो ।

यसरी चार वर्षको अवधिमा दरबार हत्याकाण्डको संशयपूर्ण परिवेशमा राजा भएका ज्ञानेन्द्र शाहको दूराकाङ्क्षाको प्रयोगशालाजस्तै बन्न पुग्यो । आफू ‘दाजु वीरेन्द्रजस्तो टुलुटुलु हेरेर नबस्ने !’ बताएका ज्ञानेन्द्रकै मति र रवैयाका कारण मुलुकमा शान्तिपूर्ण जनक्रान्ति सफल भएर २ सय ४० वर्ष लामो शाहवंशीय राजतन्त्रको पतन भयो । र राजतन्त्र फालिएको पनि अब एक दशक पुग्न थालेको छ ।

यसरी मूर्ख शासकको हठ र महत्त्वाकाङ्क्षाको यो परिणति अरू–अरूका लागिसमेत निर्मम पाठ भएको छ । स्थिरता, सुशासन र विकासको आवरणमा शाही निरङ्कुशताको आकाङ्क्षा र अभ्यासकै गलत कदमले गर्दा ज्ञानेन्द्र शाहले राजापाठ मात्रै गुमाउनु परेन, आपूसहित सन्तान/दरसन्तान समेत ‘नागार्जुन जङ्गलबास !’ मा पुग्न बाध्य हुनुपरेको छ ।

तर विडम्बना ! गणतन्त्र स्थापनाको नौ वर्षमै आठजना प्रधानमन्त्रीको ‘लस्कर’ मुलुकले भोग्नुपरेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी (मन्त्रिपरिषद्का अध्यक्ष), सुशील कोइराला, केपी शर्मा ओली र शेरबहादुर देउवा ! यसरी प्रधानमन्त्री फेरिइरहनु, तर देश र जनताको नियति नफेरिनु अत्यन्त आश्चर्यजनक अवस्था हो । 

नयाँ प्रधानमन्त्रीको नियुक्ति र सपथ ग्रहण हुँदानहुँदै विगत २५० वर्षको अस्थिर राजनीतिको दुश्चक्रबाट सिंगो नेपाली समाज, यहाँका राजनीतिक दलहरू र नेतृत्वगणले गम्भीर शिक्षा लिनुपर्ने अवस्था भइसकेको छ । र एउटा स्वाभाविक एवं अपेक्षित परिणाममा मुलुकलाई पुर्‍याउनैपर्छ : स्थिरता, विकास र समृद्धि । यसको एउटै साझा अभिव्यक्ति हो : सुखी नेपाली– समृद्ध नेपाल । सिंगो राष्ट्र एकताबद्ध भई यो संकल्प पुरा गर्न अग्रसर हुनु आजको आवश्यकता हो । 

प्रकाशित : जेष्ठ २७, २०७४ ०९:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ज्येष्ठ नागरिकका प्रिय प्रधानमन्त्री

सूर्य थापा

२०५२ असार १७ गते शनिबारको मध्याह्न हामी प्रधानमन्त्री मनमोहन अधिकारीको निवास बालुवाटारमा केही वृद्धहरूसँगको छलफलमा थियौँ । तत्कालीन उच्चस्तरीय भूमिसुधार आयोग, पछि बहुचर्चित बडाल आयोगका अध्यक्ष केशव बडालले काभ्रेका केही वृद्धलाई प्रधानमन्त्रीसँग भेटाउन त्यहाँ ल्याउनुभएको थियो ।

रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमका सञ्चालक कुन्दन अर्याल र ‘दृष्टि’ साप्ताहिकको संवाददाताका रूपमा म प्रधानमन्त्रीको अतिथि कक्षमा उपस्थित थियौँ । आधा दर्जन वृद्धहरू त्यहाँ प्रधानमन्त्रीसँग मच्ची–मच्ची गफ गरिरहेका थिए ।

‘हामी दु:ख पाएर यहाँ आएका होइनौँ, सुख पाएकाले आएका हौँ । पहिले काभ्रेदेखि यहाँसम्म हिँडेर आवत–जावत गथ्र्यौं, भक्तपुरसम्म ट्रली पुगेपछि ठूलो सुविस्ता भयो । मोटर बनेपासम्म पुग्यो, हामीलाई झनै सुख भयो । अहिले त गाउँमै पुगिसक्यो, यसभन्दा सुख मर्ने बेलामा अब अरू के होला ? त्यसैले जनताको जय होस्, नेपाल उज्यालो होस् भन्न आएका हौँ ।’ त्यस दिन काभ्रे शारदा बतासेका चन्द्रबहादुर अधिकारी (८१) र नेत्रबहादुर विष्ट (८०) ले एमाले सरकारको ‘आफ्नो गाउँ आफंै बनाऔँ’ं कार्यक्रमका कारण आफ्नै गाउँमा मोटर पुगेकोमा खुसी प्रकट गर्दै प्रधानमन्त्रीसमक्ष यसो भन्नुभएको थियो ।

प्रधानमन्त्रीका हैसियतमा मनमोहनको भनाइ थियो, ‘तपाईंहरू यो उमेरमा त्यति टाढाबाट आउनुभयो, आशिर्वाद दिनुभयो, यसले हामीलाई अझ प्रगतितर्फ लम्कने प्रेरणा मिलेको छ । 

सरकारका तर्फबाट तपाईंहरूजस्तै ज्येष्ठ नागरिकहरूप्रति सम्मान दर्शाउन कुनै ठूलो बेतन त होइन, सद्भावनास्वरूप वार्षिक १२ सय भत्ता दिने व्यवस्था गरेका छौँ । यो सानो रकमले घ्यु खान त पुग्दैन, आफ्नो इच्छाअनुसार खर्च गर्न र अम्मल भएकाले सुर्ती खान अवश्य पुग्नेछ !’ प्रधानमन्त्रीको यस्तो भनाइ सुनेर सुन्थानका होमबहादुर केसी (७१) र पनौतीका देवराज शाक्य (८७) ले एकसाथ धन्यवाद ज्ञापन गर्दै थप्नुभयो, ‘यो उमेरमा तपार्इंसँग भेट्ने अवसर पायौँ । पहिलोपटक तपाईंले जस्तो राम्रो काम आजसम्म कसैले गरेका छैनन् । 

सरकारका राम्रा कामले जनता खुसी छन् । गाउँमा पठाएको बजेटले ससाना काम भइरहेका छन् । मान्छे बूढो भए पनि जोश देखाउनुभयो । हामीजस्तै एकजना वृद्ध प्रधानमन्त्री भएर देशमा यति राम्रो काम गरिरहनुभएकोमा असाध्यै खुसी लागेको छ । अब चुनाव हुँदैछ, तपाईंहरूलाई जनताले फेरि जिताउन् । हाम्रो पनि पुरा सद्भाव र आशिर्वाद छ कि चुनावमा बहुमत ल्याएर अझ राम्रो काम गर्नुहोस् †’ काभ्रे शारदा बतासेका अध्यक्ष सोमध्वज थापाको नेतृत्वमा आएको वृद्धहरूको त्यस टोलीसँग प्रधानमन्त्रीले करिब एक घन्टा बिताउनुभयो ।

सरकारमा पुगेपछि मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिले पूरक बजेटमार्फत घोषणा गर्‍यो, ‘देशका ज्येष्ठ नागरिकको सम्मान गर्नु तथा जीवनयापनमा टेवा पुर्‍याउनु राज्यको कर्तव्य भएकाले आगामी आर्थिक वर्षदेखि ७५ वटै जिल्लाका ७५ वर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपियाँका दरले ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था मिलाइएको छ ।’ त्यसपछिका कुनै चुनावमा नेपाली काङ्ग्रेस वा अरू पक्षलाई दुष्प्रचारको विषय बाँकी रहेन । ज्येष्ठ नागरिक भत्ताको थालनीले मुलुकभर छोरा, नाति र बुहारीहरूको हेँलाहोचो र उपेक्षा भोग्न विवश एवं दिएको भाग खाएर दिन गुजारा गरिरहेका बूढाबूढीको आत्मसम्मान एकैपटक माथि उठायो ।

जिन्दगीको उत्तराद्र्धमा दिनगन्ती गरिरहेका वृद्धवृद्धाको कम्तीमा वर्षेनि १२ सय आफ्नै आम्दानी भयो । जुन रकम उनीहरूले आफ्नो इच्छाअनुसार खर्च गर्न, मन लागेको चिज किनेर खान र लाउन खर्च गर्न पाउने भए । यही रकमका कारण घरभित्र पनि उनीहरूको सम्मान र हेरचाह बढ्यो । यसरी सामाजिक सुरक्षाको कार्यक्रम थालनीका दृष्टिले नौमहिने सरकार इतिहासकै एउटा स्वर्णकाल हुनपुग्यो । 

राम्रो कामको थालनी
मनमोहन अधिकारीलाई हटाएर २०५२ मै प्रधानमन्त्री शेरबहादुर देउवा वा निर्वाचित प्रधानमन्त्री देउवालाई बर्खास्त गरेर २०५९ असोज १८ पछि गठित सरकारका अर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठ र डा. प्रकाशचन्द्र लोहनीहरूसमेत यस कार्यक्रमलाई निरन्तरता दिन बाध्य हुनुपरेको थियो । देउवा नेतृत्वको मिलीजुली सरकारका अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको ०५३ को बजेटमा उल्लेख छ, ‘देशको अर्थतन्त्रले थेग्नसक्ने अनुपातमा आर्थिक सुरक्षा प्रदान गर्न केही समयदेखि सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता तथा ६० वर्ष नाघेकाको निम्ति असहाय भत्ताजस्ता सुरक्षाका कार्यक्रम आगामी आर्थिक वर्षमा समेत कायमै राखिनेछ ।’
 मनमोहन अधिकारीलाई सरकारबाट हटाउन सफल हुनुभएका देउवाले अर्थमन्त्रीको समेत हैसियतमा ०५९/६० को बजेट प्रस्तुत गर्दा भन्नुभएको थियो, ‘ज्येष्ठ नागरिक, असहाय, विधवा, अन्धा–अपाङ्गलाई प्रदान गरिआएको सामाजिक सुरक्षाको कार्यक्रमलाई निरन्तरता दिइएको छ ।’ त्यस लगत्तै बनेको थापा सरकारका अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ०६० को बजेट वक्तव्यमा उल्लेख गर्नुभयो, ‘ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा विधवाहरूलाई सरकारले प्रदान गर्दै आएको भत्ताको रकमबापत ६० करोड रुपियाँ विनियोजन गरिएको छ ।’ 

अरूका निम्ति नमुना
ज्येष्ठ नागरिक भत्ता समयमै निकासा नदिने सरकारको गलत रवैयाको सत्ताबाहिर हुँदा पनि मनमोहन अधिकारीले खबरदारी गर्नुभयो । २०५५ सालमा काठमाडौँको भद्रकालीमा सयौँ वृद्धवृद्धाले सडकमा धर्ना दिएर माग गरे, ‘हाम्रो भत्ता तत्काल निकासा देऊ †’ उक्त धर्नामा मनमोहन अधिकारीले वृद्धहरूकै साथ र अग्रपङ्क्तिमा रहेर घन्टौँसम्म तातो सडकमा धर्ना बसेर सरकारलाई वृद्धभत्ताको निकासा र ज्येष्ठ नागरिकको यथोचित सम्मानका निम्ति दबाब दिनुभएको थियो ।

देशभित्र मात्रै होइन, ज्येष्ठ नागरिक सम्मानको कार्यक्रमले विदेशीहरूलाई पनि आकर्षित गर्न सक्यो । दक्षिण एसियाका निम्ति यो एउटा नमुना प्रयोग ठहरियो । वृद्धभत्ताको कार्यक्रम नेपालभन्दा केही पछि भारतको पश्चिम बंगालमा समेत थालनी गरियो । त्यसको प्रेरणाको स्रोत प्रधानमन्त्री अधिकारी र उहाँले नेतृत्व गरेको नौमहिने सरकार थियो ।

जनताको छोराले पाउने उच्च पदमा आसिन हुँदासमेत गाउँको विकास, असहाय, उपेक्षित र डाँडामाथिको जून बनेका ज्येष्ठ नागरिकको सम्मान गर्न तथा मुलुकको अन्तर्राष्ट्रिय छवि उज्यालो बनाउन, असमानता, भेदभाव र थिचोमिचोको अन्त्य गर्न अल्पमतको सरकारको कुशलतापूर्वक नेतृत्व गर्नुभयो । सत्ताको शिखरमा हुँदा होस् या नहुँदा उहाँ लोकप्रिय राजनेताका रूपमा जनताको हृदयमा सम्मानित हुनुभयो । प्रधानमन्त्री भइसकेका सबै सत्ताबाहिर पुग्दासमेत मनमोहनको जस्तो सम्मान, स्वच्छ र निश्कलङ्क छवि तथा लोकप्रियता कायम राख्न कहाँ सक्छन् ? मनमोहन अधिकारीले सत्ता र सङ्घर्ष दुबै कालखण्डमा नेतृत्व गर्दा आफ्नो सम्मान र लोकप्रियता घटाउनु भएन, उहाँलाई अख्तियारले पुर्जी काट्ने स्थितिको त कल्पनै नगरौँ, नातागोताले घेरेर अनुचित फाइदा उठाउने स्थितिबाट समेत सयकोस टाढै रहनुभयो । ज्येष्ठ नागरिक सम्मान उहाँको सरकार सम्झने एउटा आँखीझ्याल मात्र हो । 

२०४६ पछिको १२ वर्षमा मात्र होइन, ०६२/६३ को जनआन्दोलनपछि र ०६५ जेठ १५ गते पहिलोपटक संविधानसभाले गणतन्त्रको नयाँ युग थालनी गरेपश्चात समेत यो कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रचण्डको नेतृत्वमा अर्थमन्त्री बाबुराम भट्टराईले वृद्धभत्ताको रकम बढाई ५०० पुर्‍याउने बजेट पारित गराए । त्यसपछि माधवकुमार नेपालको नेतृत्वको सरकारले त्यसैलाई निरन्तरता दिनुपर्‍यो । तत्पश्चात् झलनाथ खनालको नेतृत्वको सरकारले १,००० र केपी शर्मा ओली नेतृत्वको सरकारले २,००० रुपैयाँ पुर्‍याएको विदितै छ । 

अहिलेको सरकार नयाँ बजेटमार्फत वृद्धभत्ता पुन: दोब्बर अर्थात ४,००० बनाउने गृहकार्यमा जुटेको चर्चा छ । यसरी यो सबैका निम्ति अनुकरणीय कार्यक्रम बनेको छ । र मनमोहन अधिकारी ज्येष्ठ नागरिकहरूका प्रिय प्रधानमन्त्रीका रूपमा सम्पूर्ण वृद्धवृद्धाको हृदयमा अमर रहनुभएको छ । 

 

प्रकाशित : वैशाख १३, २०७४ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT