डिजिटल तराजुमा ढक किन ?

निराजन पुडासैनी

काठमाडौं — माना, पाथी, धार्नी, बिसौली, लालगेडी, तोला, रती, ढ्याकलगायत नापतौल गर्न प्रयोग हुने स्ट्यान्डर्ड मेट्रिक प्रणाली लागू भएपश्चात् व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरिएको छ ।

डिजिटल तराजुमा ढक किन ?

त्यसपछि ढक, तराजु, लिटर र मिटरको प्रयोग नाप्न र तौलन प्रयोग हुँदै आएको छ । केही वर्षयता डिजिटल (कम्प्युटर) तराजुको प्रयोग एकदम लोकप्रिय हुँदै आएको छ । 

हेर्दा सुन्दर, प्रयोग गर्न सजिलो र पारदर्शी हुने हुँदा व्यापारी मात्र नभई उपभोक्ताले समेत डिजिटल तराजु भएको पसलमा खरिद गर्न बढी रुचि राखेको देखिएको छ । जति तौल राख्यो उति त्यस तराजुको डिस्प्लेमा झ्वाट्टै देखिनु र अझ अहिले बजारमा आउन थालेका चिनियाँ डिजिटल काँटामा मूल्यसमेत देख्न पाइने भएकाले आफूले जति सामान किन्यो त्यसको सटीक मूल्य तिर्न एकदम सजिलो भएको छ । विषेशत: मासुपसलहरूमा मूल्य आउने डिजिटल तराजु व्यापक रूममा प्रयोग भएको पाइन्छ । 

डिजिटल तराजु हेर्दा जति विश्वसनीय, सजिलो र पारदर्शी देखिन्छ त्यसलाई बिगारी ठग्न त्यत्तिकै सजिलो छ । कम्प्युटर प्रणालीको डिजिटल तराजुमा क्यालिब्रेसन (घटबढ गरी मिलाउन) गर्न ३ वा ४ वटा फङ्सन वटनहरू हुन्छन् । क्यालिब्रेसनको पद्धति वा फर्मुला थाहा भएमा उक्त तराजुमा कम तौल राखी बढी तौलको मापन डिस्प्लेमा देखाउने बनाउन सकिन्छ । उदाहरणका लागि कुनै व्यापारीले आफ्नो कम्प्युटर तराजुमा ४.५ केजी सामान राख्दा ५ केजीजस्तो देखाउने बनाउन सक्छन् । 

मेकानिकल २ पल्ले तराजुमा प्रयोग हुने ढकहरूमा ढक काटेर वा सिसा झिकेर ठग्नुपथ्र्यो । तराजुमा पनि ब्यालेन्स बिगार्न चुम्बक वा अन्य तौल प्रयोग गरेर मात्र मिल्थ्यो । त्यसरी ठग्दा उपभोक्ताले देख्ने र विरोध गर्ने धेरै सम्भावना रहन्थ्यो । डिजिटल तराजुमा भने क्यालिब्रेसन बिगारेर सजिलै ठग्न सकिने र कसैले शंकासमेत गर्न नसक्ने अवस्था छ । ती तराजु यसरी मिलाउन सकिन्छ कि तराजुको मञ्चमा कुनै तौल नराख्दा डिस्प्लेमा शून्य देखाउँछ र निश्चित तौल राख्दा त्योभन्दा बढी देखाउन सक्छ ।

सुनचाँदी र पेट्रोलियम पदार्थजस्ता बहुमुल्य पदार्थमा यसरी क्यालिब्रेसन परिवर्तत गर्दा उपभोक्ता धेरै मारमा र व्यापारी धेरै फाइदामा जाने स्थिति हुन्छ । सुनचाँदीका लागि अहिले व्यापक रूपमा डिजिटल काँटा नै प्रयोग हुँदै आएको छ । 

यस्तो अवस्थाबाट उपभोक्तालाई ठगिनबाट जोगाउन नेपाल गुणस्तर तथा नापतौल विभागले डिजिटल तराजु प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो यन्त्रको क्षमताको १० प्रतिशत बराबरको फलामे ढक राख्नुपर्ने र डिजिटल तराजुसँगै उक्त ढकसमेत प्रमाणित गर्नुपर्ने प्रावधान ल्याएको छ । यदि तपाईंसँग १०० केजीसम्म जोख्ने डिजिटल तराजु छ भने तपाईंले १० केजीको ढकसमेत राख्नुपर्छ । यदि उपभोक्ताले तपार्इंले कैफियत गर्नुभएको छ भन्ने शंका जाहेर गरेमा उनीहरूले उक्त ढक त्यस डिजिटल तराजुमा राखी ठीक/बेठीक यकिन गरेर मात्र खरिद–बिक्री गर्न सक्छन् ।

सुनचाँदीको हकमा डिजिटल तराजु प्रयोग गर्ने व्यापारीले अनिवार्य रूपमा २०० ग्रामदेखि २० मिलिग्रामसम्मका बुलिएन ढकहरू राख्नुपर्ने व्यवस्था छ । सुनचाँदी खरिदकर्ता वा विक्रेताले पहिला ढकहरू उक्त तराजुमा राखेर ठीक भए मात्र व्यापार गर्नुपर्छ । 

डिजिटल तराजुमा ढक राख्दा व्यापारीलाई समेत फाइदा हुन्छ । डिजिटल तराजु हावापानीले सजिलै क्यालिब्रेसन आउट (बिग्रिन) हुन सक्छ । एक ठाउँबाट अर्को ठाउँमा सार्दा, बढी तौल (लोड) राख्दा र विद्युत् तल–माथि हुँदासमेत बेठीक हुन सक्छ । कुनै समयमा क्यालिब्रेसन गडबड भएर धेरै तौल राख्दा कम देखिन गएर उक्त तराजु प्रयोग गर्ने व्यापारीलाई समेत घाटा हुने अवस्था आउन सक्छ । आफूसँग भएको प्रमाणित ढक राखी समय–समयमा जाँच गर्दा व्यापारीहरूसमेत आफू घाटामा जानबाट जोगिन सक्छन् । 

कसैले व्यापारीलाई डिजिटल तराजुबाट ठगेको आरोप लगाएमा ढक राखेर देखाइदिँदा आरोपको खण्डन त्यही समयमा गर्न सकिन्छ । डिजिटल तराजु ठीक छ/छैन हेर्ने  उपभोक्ताको अधिकार भएकाले त्यसको सुनिश्चित गर्न सबै डिजिटल तराजु प्रयोगकर्ताले कार्यालयले तोकेको तौलको ढक राख्नुपर्छ । उपभोक्ताले समेत डिजिटल तराजुमा कसैले कैफियत गरेको छ/छैन भनी जाँच गरेर मात्र खरिद गर्नु आवश्यक छ । 

पुडासैनी पोखरास्थित गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक हुन् । 

प्रकाशित : असार ६, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?