बसबाट फोहोर कता फाल्ने ?

भीम घिमिरे

पाल्पाको बर्तुङबाट पोखराको बसयात्रामा मैले गत साता झ्यालबाट मिल्काइदिऊँ जस्तो–जस्तो लागेको पानीको खाली बोतल फालिनँ । सहचालकलाई सोधेँ, ‘भाइ यो कता फाल्ने ?’ उनले सिटमाथिको सामान राख्ने ठाउँ (लगेज र्‍याक) देखाए, त्यसमै राख्न इसारा गरे ।

त्यसै गरेर गाडीले खाना खान गल्याङ रोकेपछि सोधें, ‘त्यस्तो प्लास्टिक बोतल कहाँ फाल्नुहुन्छ ?’ उनले हाँसेर टारे । भने, ‘के ठट्टा गर्नुहुन्छ ! त्यस्तो जाबो चीज फाल्न जता मन लाग्यो त्यतै नि । कल्ले पो सोध्छ ।’ 

सामान्यतया यो ठूलो कुरा होइन । तर, दिनमा हजारौं सवारीसाधन गुड्छन् । लाखौं लिटर पानी खपत हुन्छ । अनि धेरै प्लास्टिकका बोतल मिल्काउने बेला हामी गाडी स्टाफलाई सोध्दैनांै । गाडीहरूले पनि भित्रै ‘डस्टबिन’ व्यवस्था गरेर यात्रुका खानेकुराका खाली प्याकेट, फलफूलका बोक्रा र पानीका बोतल भेला पार्दै तह लाउने चलन बसेकै छैन । 

गत मंसिरको अन्तिम साता सञ्चारमाध्यमहरूले ‘बसबाट बाहिर फोहोर फाले जरिवाना हुने’ खबर प्राथमिकतासाथ दिएका थिए । सभ्य व्यवहारका लागि राम्रो मानिएको उक्त खबरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिसकेको उल्लेख थियो । गत पुसदेखि लागू हुने भनिएको उक्त नियमअनुसार सबै यात्रुवाहक सवारीसाधनले भित्रै ‘डस्टबिन’ व्यवस्था गर्ने र पहिलो चरणमा सहचालकमार्फत यात्रुलाई बाहिर फोहोर नफाल्न सचेत पारिने भनिएको थियो । अभियानका रूपमा सुरु गरिने भनिएको नियम उल्लंघन गरी बाहिर फोहोर फाल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने खबरमा उल्लेख थियो ।

राजधानीबाट मुलुकभर लागू हुने भनिएको खबर आयो । त्यसको फलोअप हरायो । हाम्रो व्यवहार जस्तो थियो, त्यस्तै छ । सरसफाइका लागि लागू गर्न कुनै भार नपर्ने यो नियमबारे चासो बोलेको देखिँदैन । सवारीसाधनले ‘डस्टबिन’ व्यवस्था गरी संकलन हुने फोहोर कुनै निश्चित स्थानमा लगेर तह लगाउन नसक्ने पनि होइनन् । यात्रुले पनि ‘बाहिर नफाल्नुस्, ऊ त्यो भाँडोमा हाल्नुस्’ भनिदिए प्रतिवाद गर्नुपर्ने पनि कारण हुँदैन । लोकप्रिय लाग्ने अभियान घोषणामा रमाउनेहरूले अनुगमन गरे निश्चय पनि यो व्यवहारमा लागू हुने नै छ । 

लामो दूरिका सवारीसाधनले बीच बाटोमा कतै रोकेर यात्रुलाई दिसापिसाब गराउने चलन पनि हट्न सकेको होइन । त्यसमाथि खानेकुराका प्याकेट र पानीका बोतल जथाभावी फाल्न हुँदैन कसरी भन्लान् । सरसफाइका लागि हेर्दा–सुन्दा सामान्य लाग्ने यो चलन बसाउन तामझामका साथ मन्त्री, सरकारी अधिकारी वा यातायात व्यवसायी–मजदुरका अगुवाले उद्घाटन गरिरहनु अवश्य पर्दैन ।

प्लास्टिक र कागज पुनप्र्रयोग हुनसक्छन् । फलफूलका बोक्रा सड्ने भएकाले निश्चित स्थानमा तह लगाउन सकिन्छ । पुनप्र्रयोग हुनसक्ने वस्तु सहरबजारमा संकलकहरू दिन–रात खोजी हिँडेका छन् । सवारी आउजाउ गरिरहने चोक–चौरस्ता र बसपार्कहरूमा सवारीसाधनले आºना ‘डस्टबिन’ खन्याउन मिल्ने व्यवस्थाका लागि स्थानीय तहले पहल गर्नसक्छ । फोहोर बाहिर नमिल्काऊँ भनेर यात्रुलाई यातायातकर्मीले अनुरोध गरेमात्रै पनि पुग्छ । बढ्दो सहरीकरणसँगै यतिबेला गाउँहरू बजारमा रूपान्तर भइरहेका छन् । सबैजसो ठाउँमा सवारी आवागमन भई नै रहेको छ । जहाँ–जहाँ यात्रु लिएर सवारी पुग्छन्, त्यहाँ प्याकेटका खानेकुरा र पानीका बोतल पुगेकै छन् । तर, वस्तु उपभोगपछि फालिने चीजबिजका लागि निश्चित स्थान तोकेर राख्ने चलन सुरु हुन सकेको छैन । 

गाडी रोकिने ठाउँहरू र बसपार्कहरूमा सार्वजनिक शौचालयको प्रबन्ध हुनुपर्छ । शौचालय भएका स्थानमा सरसफाइ नियमित हुनुपर्छ । सवारीसाधनले रोकेर बीच बाटामा कतै त्यस्तो व्यवहार नगर्न/नगराउन सामान्यरूपमा सचेत गराउन जरुरी छ । लामो तथा छोटो दूरीका सवारी आउजाउ भइरहने क्षेत्रमा सार्वजनिक शौचालयमै मलमूत्र त्याग गर्न लगाउने चलन बसाउन कुनै ठूलो आन्दोलन पनि खाँचो हुने कुरा होइन । 

एक महिनामात्रै यो विषयमा सरकारको सम्बद्ध निकाय, यातायातकर्मी र यात्रुले सचेत भइदिए हाम्रो व्यवहार बस्छ । यतिबेला सार्वजनिक सवारीभित्र धूमपान गरेको भेटिँदैन । कसैले भित्र धूमपान गरे यातायातकर्मी र अन्य यात्रुले पनि ‘नगर्नुस्’ भनेकै देख्न पाइन्छ । एक दशकअघिसम्म यात्रामा सवारीसाधनभित्रै धूमपान गर्नेहरू भेटिन्थे । त्यो व्यवहार अहिले परिवर्तन भएको छ भने फोहोर निश्चित स्थानमा तह लगाउने बानी पनि बसाउन सकिन्छ । कुनै ठूलो जरिवानाको त्रास देखाएर नियम लागू गर्नु/गराउनुको साटो सामान्य प्रयासबाट यो अपनाउन सकिने व्यवहार हो । 

प्रकाशित : असार १६, २०७४ ०८:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एक मतले विजयी हुनेभएपछि रुकुमको सिस्ने ६ मा विवाद

हरि गौतम

रुकुम — सिस्ने गाउँपालिका ६, मा मतगणनाको विषयलाई लिएर कांग्रेस–एमाले गठबन्धन र नेकपा माओवादी केन्द्रबीच विवाद भएको छ । वडा नम्वर ६ को अन्तिम मत परिणाम सार्वजनिक गर्ने र नगर्ने विषयमा उनीहरुबीच विवाद भएको हो ।

६ नम्वर वडा अध्यक्षमा १ मतको मात्रै मतान्तर भएपछि पुन: मतगणना गर्नुपर्ने माग कांग्रेस–एमालेले राखेका छन् भने मतगणना भइसकेकाले त्यसलाई घोषणा गर्नुपर्ने माग माओवादी केन्द्रले गरेको छ । मत गणिसक्दा माओवादीको तर्फबाट उक्त वडाअध्यक्षका उम्मेदवार सुधन रेग्मीको पक्षमा ४ सय ७० र कांग्रेस–एमाले गठबन्धनका पूर्णबहादुर मल्लको पक्षमा ४ सय ६९ मत आएको छ । 

निर्वाचन अधिकृत अर्जुन गौतमले ६ नम्वर वडाको मतगणना सकिए पनि घोषणा भने नगरिएको बताए । कांग्रेस–एमालेले पुन: मत गणना गर्नुपर्ने र माओवादी केन्द्रले मत परिणाम घोषणा गर्नुपर्ने माग गरेपछि के गर्ने भन्ने विषयमा आफूहरु आन्तरिक छलफलमा जुटेको निर्वाचन अधिकृत गौतमले बताए । सो गाउँपालिकाको ५ नम्वर वडाको मतगणना भने जारी रहेको छ । ८ वडा रहेको उक्त गाउँपालिकाको १, २, ७ र ८ गरी ४ वडामा माओवादी केन्द्रको प्यानल विजयी बनेको छ भने ३ नम्वर वडामा कांग्रेस–एमालेको प्यानल विजयी बनेको छ । उक्त गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारले सुरुदेखि नै अग्रता कायमै राखेका छन् । 

प्रकाशित : असार १६, २०७४ ०८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT