बौद्धिक चोरी र शिक्षा पद्धति

मैना धिताल

हालै त्रिभूवन विश्वविद्यालयले एमफिल र पीएचडीमा हुने बौद्धिक चोरी (प्लेजरिज्म) रोक्न सफ्टवेयर खरिद गर्ने समाचार सार्वजनिक भएको छ । यसले बौद्धिक चोरीमा बदनाम त्रिभुवन विश्वविद्यालय ढिलै भए पनि यसतर्फ गम्भीर हुन थालेको सन्देश दिन्छ ।

यद्यपि, यस्ता सफ्टवेयर खरिद गर्न २० देखि ६० लाख रुपैयाँ खर्चिने निर्णय आफैंमा विवादस्पद बनेको छ ।

शिक्षा क्षेत्रमा देखिएको यो विकृति पूर्ण रूपमा रोक्न एमफिल र पीएचडीका विद्यार्थीलाई मात्रै कडाइ गरेर हँ‘ुदैन । यसका लागि विद्यालय शिक्षादेखि नै अभ्यास गर्न जरुरी छ । अरूका अनुसन्धान र लेखहरूलाई कसरी ‘क्रेडिट’ दिएर उद्धृत गर्ने भन्नेबारे विद्यार्थीले राम्ररी सिक्न पाएकै छैनन् । अधिकांश विद्यार्थीले स्नातकोत्तर तहको शोधपत्र (थेसिस) का क्रममा मात्रै अनुसन्धान विधि र सन्दर्भ सामग्रीबारे पहिलोपटक जानकारी पाउँछन् । त्यसमा पनि शोधपत्रका लागि ‘मेन्टर’ का रूपमा खटिएका प्राध्यापकहरूले समेत स्रोतलाई कसरी उद्धृत (साइटेसन) गर्ने भनेर स्पष्ट रूपमा सिकाउँदैनन् । धेरैलाई प्राज्ञिक लेखनमा बढी प्रयोग हुने एमएलए, एपीए, शिकागोजस्ता ‘साइटेसन फरम्याट’ बारे जानकारी नै हुँदैन । विद्यार्थीको पनि जसरी हुन्छ, सजिलो गरी शोधपत्र सक्नेतिर ध्यान जान्छ । दुई/चार सयमा किन्न पाए त झनै गज्जब ।

विदेशका अधिकांश कलेजमा पाठ्यपुस्तकबाहेक अन्य सन्दर्भ सामग्रीको प्रयोग जति गर्‍यो, उति राम्रो मानिन्छ । विषयवस्तु कतिको बुझेको छ र त्यसमा विद्यार्थीले आफ्नो तर्कलाई बलियो बनाउन प्रमाणहरू कति राम्ररी राख्न सकेको छ भन्ने कुरा यिनै सन्दर्भ सामग्रीले पुष्टि गर्छन् । तर, हाम्रामा घोकन्ते शिक्षाका कारण विषयवस्तुमा विभिन्न कोणबाट बहस गर्नेभन्दा हुबहु किताब, गेसपेपर वा शिक्षकले लेखिदिएको नोट सार्ने प्रवृत्ति छ । अझ चिट चोर्न सिपालुहरूलाई घोक्ने दु:ख पनि गर्नु नपर्ने । 

विद्यार्थीलाई पाठ्यपुस्तक वा अन्य सामग्री प्रयोग गर्दा त्यसको मुख्य भावार्थ कायम रहने गरी मौलिक भाषामा लेख्न लगाउने (प्याराफ्रेज) अभ्यासको जरुरी छ । अरूका बौद्धिक सामग्री प्रयोग गर्दा ‘क्रेडिट’ मात्रै दिएर हुँदैन । अधिकतम कतिसम्म उद्धरण चिह्न (कोट–अनकोट) राखेर हुबहु प्रयोग गर्न मिल्नेजस्ता कुराको पनि जानकारी दिन आवश्यक छ । शैक्षिक लेखनमा यसरी अरूका लेख–रचना प्याराफ्रेज वा कोट–अनकोटमा राखेर लेख्दा छोटकरी स्रोत हरेकचोटि तत्कालै खुलाउनुपर्छ । त्यसलाई विस्तृतमा सन्दर्भ सामग्री/फुटनोट/एन्डनोटअन्तर्गत खुलाउनुपर्ने हुन्छ । प्राय: अमेरिकी कलेजहरूमा स्रोतको सान्दर्भिकता, विश्वासनीयता, गुणस्तरबारे जानकारी दिन ‘एनाटोटेड बिब्लियोग्राफी’ को अभ्यास उत्तिकै गराइन्छ । यसले विद्यार्थीले प्रयोग गर्ने वा गरेका स्रोत कतिको भरपर्दा र महत्त्वपूर्ण छन् ? त्यसको प्रकाशक, लेखक को हो र के विषयवस्तुमा लेखिएको छ ? किन त्यो सामग्री सान्दर्भिक भयो ? अनुसन्धान पूर्वाग्रही छ/छैन ? आदिबारे समीक्षा गरेर हरेक स्रोतबारे डेढ सय शब्द हाराहारीमा लेख्नुपर्ने हुन्छ । तर, हामीकहाँ भने स्रोतको सान्दर्भिकता र गुणस्तरबारे मूल्याङ्कन गर्नु त परको कुरा, आफूले प्रयोग गरेको सामग्रीको स्रोतसमेत नखुलाई सिधै ‘कटपेस्ट’ गर्ने प्रवृत्ति झ्याङ्गिएको छ । यसमा विद्यार्थी मात्रै दोषी छैनन्, धेरैजसो विद्यार्थीलाई लेखनमा कसरी शैक्षिक इमानदारीको अभ्यास गर्ने भन्ने नै थाहा छैन । 
त्यसैले विद्यालय पाठ्यक्रमदेखि नै पूर्वप्रकाशित लेख, अनुसन्धान वा अन्य बौद्धिक सामग्री प्रयोगबारे पढाउन जरुरी भइसकेको छ । 


अमेरिकालगायत विकसित मुलुकका विद्यालय र क्याम्पसहरूमा एउटै विषयवस्तुमा फरक दृष्टिकोण राखेर बहस गर्न प्रोत्साहित गरिन्छ । पेपर लेख्दा पनि त्यसलाई निकै महत्त्व दिइन्छ । त्यसबाट अरूको विचारलाई पनि उत्तिकै सम्मान गर्ने संस्कार विकसित हुन पुग्छ । आफ्नो सोच र मान्यताभन्दा फरक कसैले लेख्यो वा बोल्यो भने सामाजिक सञ्जालमा उछितो काढ्ने प्रवृत्ति पछिल्लो समय हावी हुँदै छ । नेपालमा अरूको विचारप्रति देखिने अति असहिष्णु प्रवृत्ति झ्याङ्गिनुमा शिक्षा प्रणाली पनि उत्तिकै जिम्मेवार देखिन्छ । हामीले विद्यालयदेखि नै बालबालिकालाई अरूको ‘फरक विचार’ लाई सुन्न, बोल्न र सम्मान गर्न सिकाएनौं । अहिले पनि शिक्षकसँग चित्त नबुझेका विषयमा बहस गर्नु भनेको अनुशासनसँग जोडिन्छ, जुन विकसित मुलुकका विद्यालय र कलेजमा ठ्याक्कै उल्टो छ । त्यसको प्रभाव माथिल्लो तहसम्म पर्ने नै भयो । नेपालको शिक्षा क्षेत्र खासगरी सरकारी कलेजका विद्यार्थीहरूले तयार पार्ने शोधपत्र वा अनुसन्धान सामग्रीको गुणस्तर निकै कमजोर हुन गएको छ । व्यावसायिक अनुसन्धान लेखनबाहेक शैक्षिक क्षेत्रमा यस प्रकारको प्रयोग भएको देखिँदैन । शिक्षाको विश्वव्यापी गुणस्तर र मापदण्डअनुसार चल्न नसक्दा नेपाली विश्वविद्यालयहरूका अधिकांश प्रमाणपत्र विकसित मुलुकका श्रम बजारमा बिक्न सकेका छैनन् । 
विकसित मुलुकहरूमा पनि ‘प्लेजरिज्म’ गम्भीर मुद्दा बन्दै गएको छ । तर, नियन्त्रणका लागि पनि उत्तिकै गम्भीरतापूर्वक लिन थालिएको छ । कलेजका विद्यार्थीले कसैको बौद्धिक चोरी गरेको पाइएमा त्यसको ठूलो मूल्य चुकाउनुपर्छ । विद्यार्थीको नियत र चोरीको मात्रा हेरेर ग्रेड रद्ददेखि कोर्ष निलम्बन र विश्वविद्यालयबाटै निष्कासनसमेत गरिन्छ । त्यहाँबाट उम्केपछि पनि यसले पछिसम्म छोड्दैन । यसै वर्ष लेखक तथा टेलिभिजन व्यक्तित्व मोनिका क्राउलीलाई ह्वाइट हाउसको उच्च ओहदामा नियुक्त गर्ने अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको चाहना पूरा हुन पाएन । नेसनल सेक्युरिटी काउन्सिलको रणनीतिक सञ्चारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा छानिए पनि प्लेजरिज्मसम्बन्धी विवादले उनी त्यो पदमा जान सकिनन् । ‘उनको सन् २०१२ मा प्रकाशित पुस्तक, वासिङ्टन टाइम्समा प्रकाशित लेख र कोलम्बिया युनिभर्सिटीका लागि उनले सन् २००२ मा तयार पारेको पीएचडी शोधपत्रमा बौद्धिक चोरी भएका थुप्रै उदाहरण सीएनएनले बाहिर ल्याइदिएका थिए,’ सीएनएनमा जनवरी १६, २०१७ मा प्रकाशित समाचारमा उल्लेख छ । 

शैक्षिक क्षेत्रमा हुने बौद्धिक चोरी रोक्न थुप्रै ‘एन्टिप्लेजरिज्म सफ्टवेयर’ उपलब्ध हुन थालेका छन् । किनेर मात्रै चलाउन पाइने यस्ता सफ्टवेयरको बजार सन् २०१६ देखि २०२० सम्म झन्डै १२ प्रतिशतले बढ्ने विश्लेषकहरूको प्रक्षेपण छ (बिजनेस वायर, डिसेम्बर १५, २०१६) । यस्ता सफ्टवेयरको प्रयोगबाट कम्प्युटराइज्ड र अंग्रेजी भाषामा लेखिएका सामग्रीलाई ‘ट्रयाक’ गर्न सजिलो भए पनि यसका सीमा पनि छन् । जस्तो: अन्य भाषाबाट रूपान्तरण गरिएका सामग्री यसले पत्ता लगाउन सक्दैन । हाल उपलब्ध केही सफ्टवेयरले युनिकोडमा लेखिएका सामग्रीलाई ट्रयाक गरे पनि अन्य नेपाली फन्टमा लेखिएका सामग्रीको चोरी पहिल्याउन सक्ने देखिँदैन । अहिले पनि आम रूपमा खासगरी मानविकी तथा सामाजिक संकायतर्फ धेरै विद्यार्थी नेपालीमै लेख्छन् । त्यसैले सफ्टवेयरमा मात्रै भर पर्नुभन्दा इमानदारीपूर्वक कसरी अनुसन्धानमूलक र शैक्षिक लेखन गर्ने भन्नेतिरै चेतना जगाउन बढी आवश्यक छ । यस्ता अभ्यासले अन्तत: प्रतिस्पर्धा, मौलिकता र सिर्जनशीलतालाई प्रवद्र्धन गर्छ । बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानुनमा पनि समयसापेक्ष सुधार गरी त्यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ । चोरी गर्नेलाई कारबाहीको दायरमा ल्याइनुपर्छ । 

त्योसँगै विद्यार्थीलाई त्यसबारे पर्याप्त जानकारी पनि आवश्यक छ । शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने हो भने बौद्धिक चोरीलाई विद्यालय तहबाटै निरुत्साहित गरिनुपर्छ । त्यसका लागि शिक्षकलाई पनि तालिमको खाँचो देखिन्छ । शिक्षकले नै नुबझे विद्यार्थीलाई सिकाउने कुरा हुँदैन । समग्रमा, व्यावहारिक, सिर्जनशील र मौलिकतामा आधारित शिक्षा पद्धति अपरिहार्य भइसकेको छ ।

प्रकाशित : असार १८, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?