१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दिल्लीमा ठगिँदै नेपाली

कमलदेव भट्टराई

गत जुन २२ मा नयाँ दिल्लीस्थित महिपालपुरको एक होटलमा १५ जनाभन्दा बढी युवतीलाई रोजगारीका लागि गैरकानुनी रूपमा खाडी मुलुक पठाउन भनी राखिएको सूचना आयो । अधिकांश युवती १५–१६ वर्षभन्दा माथिका थिएनन् ।

दिल्लीमा ठगिँदै नेपाली

उनीहरू जुनसुकै बेला अलपत्र पर्न सक्ने सूचनाका आधारमा शान्ति पुन:स्थापना केन्द्रको टोली रातारात दिल्ली आएर उद्धारका लागि नेपाली दूतावासलाई आग्रह गर्‍यो ।

दिल्लीस्थित नेपाली दूतावासका अधिकारी, केन्द्रका प्रतिनिधि र दिल्ली पुलिसको एक टोली होटल पुग्यो । तर ती युवतीले फर्किन मानेनन् । उनीहरूले सुरुमा एकै स्वरमा भने, ‘हामी भारत घुम्न आएका हांै, भोलि नै नेपाल फर्किन्छौं ।’ उनीहरूलाई भारतबाट खाडी मुलुक जानु गैरकानुनी हो, जुनसुकै बेला ठगीमा पर्न सकिन्छ भनी कन्भिन्स गर्ने प्रयाससमेत भयो । तर उनीहरू मानेनन् । उनीहरूले भन्न थाले, ‘हामीलाई रोजगारी मिलाइदिने र हामी होटलमा बसेको सम्पूर्ण खर्च दूतावासले बेहोर्ने हो भनेचाहिं फर्कन्छ सकिन्छ ।’ एकै छिनमा परिवर्तन भएको यो अभिव्यक्तिले उनीहरू घुम्नका लागि मात्र भारत आएका होइनन् भन्ने पुष्टि हुन्छ ।

उनीहरूलाई गैरकानुनी रूपमा विदेश पठाउन लागेको हो भन्ने पर्याप्त कागजातको अभाव तथा उनीहरूलाई रोजगारी तथा होटल खर्च तिर्ने आवश्वासन दिन नसक्दा दूतावास र प्रहरीको टोली त्यत्तिकै फर्कियो । त्यही टोलीमा रहेकी नवलपरासीकी एक महिलालाई भने केही दिनअगाडि दिल्लीस्थित नेपाली समुदायका एक अगुवाले उद्धार गरेका थिए । दूतावासमा भेटिएकी उनी भन्दै थिइन्, ‘कहाँ जाने, के–के कागजात चाहिने भन्ने केही पनि थाहा छैन । गाउँको एक जना आफन्तले नै पासपोर्ट बनाउनेलगायतका सबै खर्च गरेर ल्याउनुभएको हो । मासिक ५० हजार कमाइ हुन्छ भनेर आएको हो, पछि मलाई ठगी हो जस्तो लाग्यो र मैले चिनेको दाइले हारगुहार गरेर होटलबाट भागेँ ।’ 
त्यसको ठयाक्कै एक महिनाअगाडि मे २२ मा दिल्लीस्थित नेपाली दूतावासले दिल्लीस्थित उत्तम नगरबाट २२ जनाको उद्धार गरेको थियो । सुरुमा उनीहरूले पनि फर्किन मानेका थिएनन् । तर दूतावासको टोलीले जबर्जस्ती गरेर उनीहरूलाई उद्धार गरेर नेपाल फर्कायो । 

केही दिनपहिले काठमाडौंबाट सहकर्मी जनकराज सापकोटाको सन्देश आयो, ‘फिजी लैजाने भन्दै एक गिरोहले दिल्लीमा थुप्रै नेपालीलाई बन्धक बनाएको जानकारी उनीहरूका परिवारले दिएका छन् । तीमध्ये धेरै परिवारको सम्पर्कमा छैनन् । आफन्तले उनीहरूलाई खोज्ने के उपाय हुन सक्छ भनी सहयोग मागिरहेका छन् ।’ कम्तीमा उनीहरूका कहाँ छन् भन्ने पत्ता नलागेसम्म केही हुन सक्ने अवस्था नभएको जानकारी गराएको छु र यस विषयमा दूतावासँग पनि कुराकानी गरिरहेको छु । २७ महिनाअगाडि दलालको भर परेर अफगानिस्तान पुगेका ३ नेपालीमध्ये एक गोविन्द पौडेलको भाइबर तथा म्यासेन्जरमा दिनको २–३ पटक सन्देश आउँछ, ‘कमलजी, हामीलाई नेपाल फर्काउनेबारेमा केही पहल भयो ?’ अफगानिस्तानको समेत जिम्मेवरी पाउनै लागेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई भेटेपिच्छे भन्ने गर्छु, ‘तीन जनालाई फर्काउनेबारेमा केही गर्नुपर्‍यो दाइ ।’ 
यी त केही प्रतिनिधि घटना भए । पछिल्लो समय दिल्लीमा नेपाली गिरोहबाट नेपाली नै ठगिनेक्रम बढ्दो छ । बेचबिखनका लागि भारत ल्याइने युवतीको संख्या बढेको छ । रोजगारी दिलाउने भन्दै दिल्ली, श्रीलंका तथा गैरकानुनी रूपमा खाडी मुलुक पुर्‍याएर उनीहरूलाई ठगिन्छ । यति मात्र होइन, पछिल्लो समय अस्ट्रेलिया, अमेरिका, क्यानडालगायतका मुलुकमा विद्यार्थी भिसामा पठाइदिन्छु भन्दै ठगी गर्ने क्रमसमेत बढेको छ । फेसबुकमा नक्कली साथी बनेर ठग्ने क्रम झन् बढेको छ । त्यसबाहेक अर्काे समस्या पनि छ— बिहे गर्छु भनेर दिल्ली ल्याउने र केही वर्ष राखेर अलपत्र पार्ने ।
अचम्म त के छ भने यस्ता ठगीमा कम साक्षर मात्र होइन, राम्रो शिक्षा प्राप्त गरेका युवकयुवतीसमेत फस्ने गरेका छन् । दलालहरूले उनीहरूलाई यसरी ‘ब्रेनवास’ गरेका हुने रहेछन् कि कसैले सजग गरायो भने पनि उनीहरूको दिमाग तातेर आउँछ । अनि बिनाकुनै प्रमाण, रसिद र भरपाई नै लाखौं रुपैयाँ बुझाइरहेका छन् ।

धेरै शिक्षित युवकयुवतीलाई दिल्लीमा नेपाली दूतावास छ भन्नेसम्म पनि थाहा छैन । अधिकांशसँग त दलालको फोन नम्बर र पैसा बुझाएको कागजातसमेत हुँदैन । अनि दूतावास आफैंले यसमा कति सक्रिय भएर पहल गर्छ, त्यो अर्काे विषय छ । यस्ता समस्या डिल गर्न राखिएको नेपाल प्रहरीको एसएसपी तहको काउन्सिलर पद एक महिनादेखि खाली छ र कहिले त्यो पद पूरा हुने हो टुंगो छैन । दिल्ली प्रहरीसँगको समन्वयमा यस्ता विषय समाधान गर्नुपर्ने हुन्छ तर त्यसका लागि जिम्मेवार पद नै महिनौं खाली हुने विडम्बना छ । अनि विभिन्न कारणले गर्दा होला आफूलाई परेको समस्याबारे दिल्लीमा रहेको दूतावासले केही पहल गरिदिन्छ भन्ने विश्वास पनि नेपालीमा छैन । यो दूतावास हाम्रो हो र यसले हाम्रो लागि काम गर्छ भन्ने विश्वास दिलाउनु नै दूतावासको मुख्य चुनौती रहेको देखिन्छ । 
 अर्काे समस्या के छ भने उद्धार गरेपछि उनीहरूलाई कहाँ राख्ने ? दूतावासले यसका लागि स्रोत र साधनको अभाव देखाउँदै आएको छ । उद्धार गरेर ल्याएपछि कुन गैरसरकारी संस्थाको जिम्मा लगाउने भन्ने तनाव दूतावासका अधिकारीहरूलाई हुने गर्छ । अथवा कुन यातायात व्यवसायीलाई हारगुहार गरेर उनीहरूलाई नेपाल पठाउने ? दूतावासले पहल गरे त्यसका लागि स्रोतको अभावचाहिँ नहुने रहेछ । केही महिनाअगाडि आएका समाज कल्याण मन्त्रालयका प्रतिनिधिले भनेका थिए, ‘दूतावसाले खर्च गर्न सक्छ भने हामीसँग बजेट छ । अलपत्र परेकाहरूको उद्धारका लागि हामीले दुई वर्षअगाडि दिएको नै खर्च नभएपछि बजेट दिएका छैनौं ।’ उनीहरूका अनुसार दूतावासले उद्धार गरेर ल्याइएकाहरूलाई राख्नका लागि आवश्यक बजेट दिन मन्त्रालय तयार छ । 

पर्याप्त जन चेतनाको अभाव र बाध्यताका कारण दिल्लीमा नेपाली ठगिने र अलपत्र पर्ने क्रम डरलाग्दो किसिमले बढिरहेको छ । हरेक दिन दूतावासमा ठगिएको गुनासो गर्न आएकाहरू भेटिन्छन् र उनीहरूको आग्रह हुन्छ— हाम्रो पक्षमा पत्रकारले कलम चलाइदिनुपर्‍यो र दूतावासले सहयोग गर्नुपर्‍यो । 

विशेषत: घरभित्र नै पर्याप्त रोजगारीको सिर्जना गर्न नसक्दा यस्तो अवस्था सिर्जना भइइहेको छ । विशेषत: दुई वर्षअगाडिको महाभूकम्पपछि महिला बेचबिखनको समस्या झनै बढेको सरकारी तथ्यांकहरूले देखाइरहेका छन् । कतिपय अवस्था त यतिसम्म भेटिन्छ कि गैरकानुनी हो र समस्यामा परिन्छ भन्ने थाहा हुँदाहुँदै पनि बाध्यताका साथ आइरहेका छन् । उनीहरूको भनाइ हुने गर्छ, ‘रोजगारी पाइन्छ भने गैरकानुनी भएर के भयो ।’ उद्धार गर्न गएकाहरूलाई उनीहरूले सोध्छन्, ‘हामीलाई लगेर तपाईंले १० हजारको जागिर लगाइदिन सक्नुहुन्छ ? सक्नुहुन्न भने किन हामीलाई जबर्जस्ती लैजानुहुन्छ ?’ 

दिल्लीमा नेपालीबाटै नेपाली ठगिने क्रम रोक्न सरकार र दूतावासले विशेष पहल गर्नुपर्ने देखिन्छ । जनचेतनाको अभाव मात्र होइन रहेछ, मुलुकमा मासिक ८–१० हजारको रोजगारीको व्यवस्थासमेत नहुँदा म ठगिन सक्छु, बेचिन सक्छु भन्ने थाहा हुँदाहुँदै पनि जोखिम मोलेर भारत आउने र अलपत्र पर्ने क्रम बढिरहेको छ । वास्तवमा पीडितहरूको यो प्रश्न दूतावासका अधिकारीलाई होइन, देशको नेतृत्व सम्हाल्ने नेताहरूलाई हो, ‘हामीलाई ८–१० हजारको रोजगारी दिन सक्नुहुन्छ ?’


 

प्रकाशित : असार १९, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?