१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गरिबी निवारणमा चिनियाँ अनुभव

चेतनाथ आचार्य

चीनको मध्य भागमा पर्ने कान्सु प्रान्तको लानचौ सहरमा असार २२ देखि २५ सम्म २३ औँ चीन लानचौ लगानी तथा व्यापार मेलामा नेपालका उपराष्ट्रपति सहभागी हुने भएका छन् ।

गरिबी निवारणमा चिनियाँ अनुभव

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले गत बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको संकेत गर्दै लानचौ मेलामा चीनले नेपाललाई प्राथमिकतामा राखेको बताए । चीनले नेपालसँगको कनेक्टिभिटीमा लानचौलाई महत्त्वपूर्ण हबको रूपमा विकास गर्ने नीति बनाएको छ । चीनले लानचौबाट २०७३ वैशाख २९ गते काठमाडौँ लक्षित मालबाहक रेल तिब्बतको सिगात्से पठाएको थियो । लानचौबाट १० दिनमै काठमाडौँ सामान पुग्नेगरी रेल गुडाउनु स्थलमार्गबाट नेपालसँग गरिने व्यापारमा भविष्यप्रतिको एउटा उज्यालो संकेत थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता लुले नेपाल भूकम्पपछिको पुनर्निर्माणमा लागिरहेको बताउँदै त्यस्ता कार्यमा चिनियाँ अनुभव नेपालका लागि महत्त्वपूर्ण हुने भएकाले आपसी सहकार्य र आदान–प्रदान गरिने पनि उल्लेख गरे । विशेषगरी चीनसँग सीमा जोडिएका नेपालका जिल्लाहरूमा भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा चीनले सघाउने बारम्बार बताउँदै आएको छ । नेपालमा दुई वर्षअघि गएको भूकम्पपछि सामूहिक बस्ती बसाउने केही प्रयास भएका छन् । सामूहिक आवासगृहको निर्माणमा सरकारी स्तरबाट कदम चाल्ने हो भने त्यसले गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । चीनले नेपालसँगको सम्बन्धमा महत्त्व दिएर अगाडि सारेको कान्सु प्रान्तको गरिबी निवारण कार्यक्रम र सामूहिक आवास प्रणाली साँच्चै नेपालका लागि उपयोगी हुनसक्छ ।

चीनका पूर्वी प्रान्तहरूको तुलनामा कान्सु प्रान्त गरिब र कम विकसित प्रान्त हो । चीनकै पश्चिममा पर्ने तिब्बत, छिङहाई र सिन्चियाङ प्रान्तको तुलनामा चाहिँ कान्सु प्रान्त विकसित र धनी हो । कान्सु प्रान्तको दक्षिणमा पर्ने काननान तिब्बती स्वायत्त प्रिफेक्चरमा व्यापक रूपमा सामूहिक आवास निर्माण गर्दै गरिबी निवारण कार्यक्रम लागु गरिएको छ । उच्च भौगोलिक अवस्था र तिब्बती जातीय मानिसको बाहुल्य रहेकाले कान्नानको मुख्य समस्या गरिबी थियो । अधिकांश तिब्बती जातिका मानिस चौँरी र भेडा पाल्ने भएकाले उनीहरूको बसोबास क्षेत्र अत्यन्त फोहोर थियो । पशुगोठसँगै बसोबास गर्नेका लागि चीन सरकारले विभिन्न कार्यक्रमसहित सामूहिक आवासगृह बनाउने नीति अगाडि सार्‍यो । कान्सु प्रान्तको कान्नान तिब्बती स्वायत्त प्रिफेक्चरमा गरिबी निवारणमा चीनको केन्द्रीय सरकार र प्रान्तीय सरकारले ठूलो लगानी गरेका छन् । 

विशेष गरी तिब्बती जातिका बसोबास रहेका क्षेत्रमा सामूहिक सुविधासम्पन्न आवासगृह निर्माणले त्यस क्षेत्रका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ । आवास क्षेत्र निर्माण गर्दा स्थानीय तिब्बती जातिका परम्पराको संरक्षणमा उच्च ध्यान दिइएको छ । प्रवेशद्वारदेखि नै तिब्बती कला झल्किनेगरी कुँदिएका काठको गेट घरको ढोका र भित्रपट्टिको सजावटमा परम्परागत कलाको सम्बद्र्धन गरिएको छ । सामूहिक आवास भने पनि यहाँका हरेक घरमा कम्पाउन्ड घेरिएको छ । घरभित्र हुनुपर्ने निश्चित मापदण्ड भने समान रहेका छन् । हरेक घरमा शौचालय, भान्सा कोठा, सौर्य ऊर्जाबाट पानी तताउने प्रणाली, बैठक कोठाजस्ता कुरासँगै सुविधासम्पन्न सुत्ने कोठाहरूको निर्माण गरिएको छ । स्थानीय जनसंख्या हेरेर कम्तीमा ४०/५० देखि ४००/५०० सय घर एक क्षेत्रमा बनाइएका छन् । यस्ता आवास क्षेत्र बनाउन चीन सरकारले निर्माणको ७५ प्रतिशतसम्म अनुदान दिएको छ । पहिले तिब्बती जातिका फोहोर बस्ती अहिले हेरिरहुँ जस्ता बनेका छन् ।

उदाहरणका लागि कान्नान तिब्बती प्रिफेक्चरको कास्यु गाउँलाई लिन सकिन्छ । राजमार्गको दुवैपट्टि निर्माण गरिएका ३ सय ६५ घरले यो गाउँलाई सुन्दर सानो सहरजस्तो बनाएको छ । गत महिनामात्र निर्माण सम्पन्न भएको यो गाउँमा १ हजार ८ सय ४५ तिब्बती बसोबास गर्छन् । चौँरी डुलाउने तिब्बती जातिका मानिस अहिले आधुनिक सुविधासम्पन्न घरमा बस्छन् । आधुनिक सुविधासम्पन्न घरमा बस्न थालेपछि उनीहरूको आयआर्जन पनि वृद्धि भएको छ । आवास क्षेत्र निर्माणमा सम्भव भएसम्म स्थानीय कच्चा पदार्थ र स्थानीय श्रम प्रयोग गरिएको छ । इन्टरनेटको सुविधा पुगेको छ । निर्माण कार्यमा स्थानीयले रोजगारी पाएका थिए भने पर्यटकका लागि उनीहरूका घरहरू होमस्टेमा परिणत भएका छन् ।

स्थानीय गीत, संगीत र नृत्यका लागि तालिमको व्यवस्था गरिएको छ । त्यस्तै स्थानीय उत्पादन जौंबाट बनेका रक्सी, रोटी, सातु लगायतका स्थानीय परिकारले पर्यटकलाई स्वागत गरिन्छ । यस्ता परिकार बनाउ तिब्बती महिलालाई निशुल्क तालिम उपलब्ध गराइन्छ । आवास क्षेत्रमा स्थापित पसलहरूमा स्थानीय तिब्बती हस्तकलाका सामग्री बिक्री गरिन्छ । इन्टरनेटको सुविधाले गर्दा त्यस्ता उत्पादनलाई धेरै टाढासम्म बेच्न सकिने इ–कमर्सको पनि थालनी गरिएको छ । तिब्बतीहरू चौँरीलाई आफ्नो सबै कुरा ठान्छन् । उनीहरू इन्टरनेटबाटै चौंरीको दूधबाट बनेका परिकार, चौँरीका सुकुटी, छालाबाट बनाइएका ज्याकेट, जुत्ता, पेटी, ऊनबाट बनेका सामग्री र हड्डीबाट बनाइएका हस्तकलाका सामान बेचेर आर्थिक अवस्थालाई मजबुत बनाउँदैछन् ।

स्थानीय तिब्बतीहरूले चिनियाँ र अंग्रेजी भाषाको तालिम लिएर पर्यटक गाइड बनेर पनि आम्दानी गर्छन् । आवास क्षेत्रमै सामूहिक नृत्य तथा सांस्कृतिक प्रदर्शनी गर्ने स्थल पनि निर्माण गरिएको छ । आवास क्षेत्रमा स्वास्थ्य केन्द्र र विद्यालय पनि रहेका छन् । स्वास्थ्य केन्द्रमा परम्परागत तिब्बती उपचार विधि र जडीबुटीको पनि प्रयोग गरिन्छ । विद्यालयमा तिब्बती र चिनियाँ भाषासँगै अंग्रेजी भाषा पनि पढाइन्छ । शिशु कक्षादेखि व्यावसायिक शिक्षातर्फ प्रोत्साहित गर्ने उद्देश्यले चित्रकला, गीत—संगीत, व्यक्तित्व विकास, खेलकुद, नृत्य सिकाउँदै माथिल्लो कक्षामा थाङ्का र गलैँचा बुन्न सिकाउने कक्षा पनि रहेका छन् । नेपालमा जस्तो विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना नभई पढेपछि तुरुन्तै एउटा मेलो समाउन सक्षम बनाउने ज्ञानका रूपमा विकास गरिएको छ ।

चीनमा अहिले पनि ८ करोडभन्दा बढी जनसंख्या गरिब छन् । चीनले चालु १३ औं पञ्चवर्षीय योजनामा पूर्णरूपमा गरिबी निवारण गर्ने घोषणा गरेको छ । यो योजनाको अवधि सन् २०२० सम्म रहेको छ । ८ करोड जनसंख्या भनेको जर्मनीको पुरै जनसंख्या जति हो । यत्रो जनसंख्यालाई यति छोटो अवधिमा गरिबीबाट उठाउने कुराले विश्वको ध्यान चीनमाथि परेको छ ।

चीनले अवलम्बन गरेको गरिबी निवारण र पछि परेका समुदायका लागि निर्माण गरेको सामूहिक आवास क्षेत्रबाट नेपालले पनि थुप्रै अनुभव लिन सक्छ । एकातिर यसले जीवनस्तरमा सुधार ल्याउँछ भने अर्कातिर स्थानीय रीतिरिवाज र कला–संस्कृतिको प्रबद्र्धन हुने कुरामा दुईमत छैन । नेपालले पनि चेपाङ, थारु, तामाङ, राई, लिम्बु, मगर, गुरुङ, कोचे, मेचे, सतार, धिमाल, शेर्पा लगायतका विभिन्न जातिका पहिचान झल्किने खालका ग्रामीण पर्यटन उद्योग खोल्न सक्छ । 
आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् । 

प्रकाशित : असार २१, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?