कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन–भारत सीमामा बल्झिएको समस्या


नाथुला सीमाको चिनियाँ क्षेत्रमा चीनले सडक निर्माण गर्दा यो भारतीय भू–भाग पर्छ भनी भारतले निर्माण अवरुद्ध गर्‍यो । यसको बदलामा भारततर्फ बनाइएका दुइटा अस्थायी बङ्कर चीनले ध्वस्त बनायो ।

चीन–भारत सीमामा बल्झिएको समस्या

यसबाट दुवैतर्फका सीमा सुरक्षाबल चीन र भारतको सीमा छुट्टिने र भेटिने भञ्ज्याङमा सजग र सतर्क रही जुनसुकै बेला जे पनि हुनसक्ने अवस्थाको सिर्जना हुनपुग्यो । यो सीमावर्ती घटनाले चीन र भारतको सम्बन्धमा तनाव उत्पन्न गरेको छ । परिणामस्वरूप नाथुला सीमा–नाका भएर चीन (तिब्बत) को मानसरोवर जानलागेका ४७ समूहका भारतीय तीर्थयात्री सीमापार गर्न नपाएर फर्कन बाध्य भए ।

भारतीय भनाइ
भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बगालेले भनेका छन्– ‘भारतीय सेनाले आफ्नो सीमावर्ती क्षेत्रमा बनाएको दुइटा बङ्कर चिनियाँ सेना पसेर ध्वस्त बनाइदियो । अनाधिकृत रूपमा चिनियाँ सीमा सुरक्षा जवानहरू भारतीय भूमिमा पस्नाका कारण सिक्किम ‘दोका ला’ लालटेन चौकीबाट दुई देशको सेनाबीच तनाव सुरु भयो । चिनियाँ सेना बितेका ४५ दिनमा १ सय २० पटक सीमापार गरेर भारतीय भूमितर्फ आएका छन् । चीनले बनाएको सडक वर्षा र पहिरोले भत्काएको हो । भारतीय सेनाले अवरोध गरेको होइन । नाथुला सीमा–नाका आवत–जावत गर्न चिनियाँ पक्षले रोकेको छ ।’ चिनियाँ क्षेत्रको सडक मर्मत भई मौसममा सुधार आएपछि चीनले भारतीय तीर्थयात्रीलाई अनुमति दिने कार्य पुन: सुरु हुनेछ । यस सम्बन्धमा भारतले चीनसँग कुराकानी सुरु गरिरहेको छ ।

चिनियाँ भनाइ
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले प्रेस माध्यममा भनेका छन्– ‘चीनको सीमाञ्चल क्षेत्र डोङलाङमा सडक निर्माण गर्दा भारतीय सेनाले उनीहरूको भू–भाग पर्छ भनी बाधा पुर्‍याए । भारतीय सुरक्षाकर्मी अनाधिकृत रूपमा प्रवेश गर्दै चिनियाँ भू–भागमा हुने सामान्य गतिविधिमा समेत अवरोध गरे । आफ्नो भूमिमा सडक निर्माण गर्न चीन पूर्ण अधिकारयुक्त छ । चिनियाँ सीमाभित्र छिरेका भारतीय सुरक्षा सेना तुरुन्त फिर्ता गर्न आह्वान गरिन्छ । फिर्ता नगरी सडक बनाउन अवरोध गरे चीनले नाथुलामा आफ्नो सेना थप गर्नेछ । भारतीय तीर्थयात्रीलाई नाथुला भएर कैलाश मानसरोवर जान सडक बिग्रेकाले मर्मत–सम्भार भइरहेको हुँदा चिनियाँ परिचयपत्र दिन सकिँंदैन । सीमा विवाद नसल्टिए ४७ समूहका भारतीय तीर्थयात्रीलाई सुरक्षाका कारण अनुमति दिन चीन बाध्य हुने छैन । यसबारे कूटनीतिक माध्यमद्वारा भारतलाई जानकारी गराइएको छ । भविष्यको क्रियाकलाप कस्तो हुने हो भन्ने कुरा भारतीय पक्षमा भर पर्छ । सुरक्षा चासोमा उनीहरू सजग हुनुपर्छ ।’

यसैबीच भारतीय सेना प्रमुख जनरल विपिन रावतले हालैमात्र ग्यान्टोक नाथुला क्षेत्र भ्रमणका सिलसिलामा ‘भारत टु एन्ड ए हाफ फ्रन्ट वार’ लडाइँका लागि तयार छ भनेका थिए । यसको जवाफमा चिनियाँ लिवरेसन आर्मी प्रवक्ता कर्णेल उ सियानले भेनका छन्–बितेको कुराको रटान अनुत्तरदायी हो । भारतीय सेनाले ऐतिहासिक पाठ मनन गर्नुपर्छ । उनमा लडाइँको हिस्टेरिया छ । लडाइँको खैलाबैला बन्द गर्नुपर्छ ।

नाथुला तनाव नयाँ होइन
सन् १९६२ को भारत–चीन सीमायुद्धपछि नाथुला मार्ग एकाएक बन्द गरिएको थियो । यसपछि भारतीय र चिनियाँ सेनाले एकअर्काले सीमा उल्लंघन गरेको भन्ने विवाद वर्षांै चल्यो । अन्तत: ११ सेप्टेम्बर १९६७ मा दुई देशका सेनाबीच लडाइँ नै भयो । यसपछि पनि बेलाबखत सानोतिनो मामिलामा दुई देशबीच तनाव उत्पन्न हुने गरेको थियो । तर तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीको चीन भ्रमणका अवसरमा २३ जून २००३ मा हस्ताक्षरित सम्झौतामा नाथुला भञ्ज्याङ पुन: खोलिने सहमति भएको थियो । सहमति कार्यान्वयनमा आउन तीन वर्ष लागेर नाथुला व्यापारिक सीमामार्ग ४४ वर्षपछि खुला गरिएको थियो ।

सीमा सम्झौताले के भन्छ ?
सिक्किमको सीमा सम्बन्धमा बेलायत र चीनबीच भएको २७ अगस्ट १८९० को कन्भेन्सनमा उल्लेख गरिएको छ– ‘सिक्किम र तिब्बतको सीमा, जलविभाजकको काम गर्ने पर्वत–शृंखलाको अग्लो धार हुनेछ, जसले सिक्किमको टिस्टा नदीतर्फ बग्ने पानीको भाग र तिब्बतको मोचु तथा उत्तरतर्फको नदीमा पुग्ने पानीको भागलाई छुट्याउँछ । यो जलविभाजक शृंखलाको धार पूर्वमा भुटानको गिपमोची पहाडबाट सुरु भई जलविभाजक हुँदै नेपालको सीमा भेटिने विन्दुसम्म पुग्छ ।’ यस अनुसार सन् १८९५ मा दुवै देशबीच २ सय २० किलोमिटर लामो सीमांकन गरिएको थियो । तर अहिले आएर होचा–अग्ला शृंखलामध्ये कुन शृंखला जलविभाजक हो भन्ने कुरामा बखेडा निक्लने गरेको छ ।

अहिलेको तनावको पृष्ठभूमि
नाथुला सीमा भञ्ज्याङमा भएको अहिलेको आपसी तनाव धेरै ठूलो पैमानाको होइन । तर पनि सम्बन्ध बिगँ्रदै गए ठूलो र लामो हुनसक्छ । नाथुला सीमा तनावग्रस्त हुनुमा चीनको वान बेल्ट वान रोड (बीआरआई) परियोजनामा भारतले सहभागी हुन इच्छा नदेखाउनु नै कारक तत्त्व रहेको विश्लेषण गर्न सकिन्छ । त्यसमाथि पनि नेपालले गत वैशाख २९ गते बीआरआईमा सहभागी हुने सम्झौता गरेपछि भारतलाई आगोमा घिउ थपेजस्तो भएको छ । किनकि नेपालले हस्ताक्षर गरेको भोलिपल्टै भारतलाई सुनाउन चीनले भनेको थियो– ‘नेपालजस्तो असल छिमेकीको साथ पायौं, हामी अझ निकट भएका छौं ।’

चीनको बीआरआई योजना सफल भए दक्षिण एसियाली मुलुकमा चीनको प्रभुत्व बढ्ने र आफ्नो बोलबाल घट्ने सोचाइ भारतको रहेको बुझिन्छ । यस बाहेक बीआरआईले विवादित काश्मिर हुँदै दक्षिण पाकिस्तानको अरेबियन सागर नजिक ग्वादरसम्म सडक सञ्जालले छुने चित्रांकन देखाएपछि भारतको शत्रु (?) राष्ट्र पाकिस्तानको उन्नति हुने भयो, चीनले पाकिस्तानलाई काखी च्याप्यो भन्ने बुझाइले भारत मुर्मुरिएको अवस्थामा रहेको छ ।

चीनचाहिँ आफूले भिजन गरेको बीआरआईमा सहभागी नहुने भारतलाई कहीँ कतैबाट सबक सिकाउनैपर्छ भन्ने मान्यतामा रहेको बुझिन्छ । यद्यपि दक्षिण एसियाली मुलुकलाई आफ्नो प्रभावको घेराभित्र पार्न चीन र भारत दुवै प्रत्यासी हुन् र बेलाबखत सहयात्री पनि हुन् । यी दुवै देश सहयात्री यस मानेमा देखापरेका छन् कि चीनले सन् २००३ मा सिक्किम भारतकै प्रान्त हो भन्ने मान्यता दियो । भारतले चाहिँ तिब्बत चीनको अभिन्न भू–भाग हो भन्ने कुराको ठोकुवा गरिदियो । नेपालको सम्प्रभुता रहेको लिपुलेकबाट ती दुई देशले व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता १५ मे २०१५ मा गर्दा ती दुवै देशले नेपालको सार्वभौमिकताप्रति बेवास्ता गरे । ती दुई देशबीच १९६२ मा सीमायुद्ध हुँदा नेपालको कालापानी भारतद्वारा मिचानमा पर्‍यो ।

नेपाललाई अवसर र चुनौती
नेपालका दुई छिमेकीबीच नाथुला सीमा सम्बन्धमा तनाव सिर्जना भएका समय नेपालले आफ्ना लागि चतुरो कूटनीति परिचालन गर्नु आवश्यक छ । यस मौकालाई ‘क्यास’ गर्न नेपालले खासा–तातोपानी नाका अविलम्ब खोल्न लगाउनका लागि कूटनीतिक दबाब सिर्जना गर्नु भनेको फलाम तातेको बेला हथौडाले हानेसरह हो । यस बाहेक नेपाल–चीनबीच रहेका ओलाङचुङ, किमाथाङ्का, लाप्ची, लार्के, कोराला र हिल्सा सीमा–नाका व्यापार वाणिज्यका लागि खुला गर्न सशक्त ढङ्गले प्रस्तुत हुन सक्नुपर्छ । चिनियाँ रेलले सन् २०२० मा नेपाल छोएपछि त्यसलाई भारतको ठोरीसम्म पुर्‍याउनुपरेको छ । त्यसको एक हाँगा काठमाडौं र अर्काे हाँगा पोखरा, लुम्बिनीसम्म तन्काउनुछ भन्ने योजनाको सौदाबाजी चीनसमक्ष गर्ने अवसर पनि यही हो । नेपाली भूमिमा स्वतन्त्र तिब्बत हिमायतीलाई नेपालले कसरी तह लगाउँछ भन्ने चीनको प्रश्नलाई चुनौतीका रूपमा लिई नेपालले चित्तबुझ्दो तरिकाको योजना प्रस्तुत गर्न सक्नुपर्छ ।

अर्कोतर्फ कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुलाई नेपालगन्ज–सिमिकोट–हिल्सा सीमाको यात्रा हामी गराउँछौं भन्ने ढाडस भारतलाई नेपालले यही मौकामा दिनुपर्छ । स्मरणीय छ, नाथुलाबाट जाने भारतीय तीर्थयात्री रोकिएपछि यात्रीहरूको आफ्नै बलबुँतामा नेपाली सेवाप्रदायकले एक सातामा ५ सय यात्रीको तीर्थाटन गराएका थिए । यिनै सन्दर्भमा चीन र भारतबीच नाथुला सीमा भञ्ज्याङमा तनाव उत्पन्न भएको परिस्थितिलाई अफ्नो पूर्वाधार विकासका निम्ति अवसरका रूपमा लिँदै नेपाल योजनाबद्ध तरिकाले प्रस्तुत हुन सक्नुपर्छ । यसबाट उत्पन्न हुने चुनौतीको सामना गर्न शान्त कूटनीति अवलम्बन गर्नु हितकारी हुन्छ ।

प्रकाशित : असार २७, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?