रिसाहा नेता र आक्रोशित जनता

मैना धिताल

भनिन्छ, ‘असल नेता सुन्नमा छिटो र रिसाउनमा ढिलो हुन्छन् ।’ नेपाली राजनीतिको सन्दर्भमा भने यो भनाइ ठ्याक्कै उल्टोझैं लाग्छ । हालै बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालका भित्ता पक्ष/विपक्षका बहसले भरिए ।

रिसाहा नेता र आक्रोशित जनता

प्रश्नकर्ताको मनसाय वा प्रस्तुति जस्तो भए पनि मुलुकको कार्यकारीले आफूलाई सम्हालेर प्रस्तुत हुनुपथ्र्यो भन्ने धारणा राख्नेहरू एकातिर छन् भने अर्काथरीले प्रधानमन्त्रीको बनावटी नभई ‘सोझो’ पाराको उत्तरशैलीले त्यस्तो सुनिएको भन्दै कार्यक्रम प्रस्तोता र बीबीसीको नियतमाथि नै प्रश्न उठाए । 

सञ्चार माध्यमहरूसँगको अन्तर्वार्तामा रिस प्रकट गर्ने प्रधानमन्त्री देउवा पहिलो र एक्लो भने हैनन् । अधिकांश नेता चुनौतीपूर्ण प्रश्नको सामना गर्नुपर्दा झोँक्किएर प्रस्तुत हुने गरेको पाइन्छ । उनीहरूले रिसको आवेगलाई रोक्नसकेको पाइँदैन । विश्वभरि नै ‘रिसाहा’ नेताहरूको चर्चा मिडियामा बेलाबखत भइरहन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसको पछिल्लो उदाहरण हुन् । चुनावी अभियानदेखि ओभल अफिस सम्हाल्दासम्म उनी र अधिकांश मूलप्रवाहका सञ्चार माध्यमबीच आरोप/प्रत्यारोप चलिरहेको छ । उनीजस्तो अति ‘रिसाहा’ स्वभावका व्यक्ति राष्ट्रपति पदका लागि योग्य नहुने धारणा चुनावी अभियानताका निकै बलियो बनेको थियो । अहिले पनि कायमै छ । यद्यपि उनका समर्थक र मतदातालाई भने त्यसले खासै फरक पारेको देखिँदैन ।

राष्ट्रपतिको रूपमा उनको स्वभाव र नेतृत्व शैलीलाई लिएर विभिन्न लेख र शोधपत्रसमेत तयार भएका छन् । सीएनएनमा स्टेफन कलिन्सनले उनको रिसबारे गत मे १२ मा प्रकाशित लेखमा भनेका छन्, ‘कार्यालय सम्हालेको साढे तीन महिनामै ४५ औं राष्ट्रपतिले आफ्नो छविको बचाउ गर्न क्रोध, आवेगपूर्ण र चिडचिडाहट देखाएका छन्, जुन उनको शासन शैलीको महत्त्वपूर्ण हिस्सा बनेको छ ।’ 

खासगरी सीएनएन लगायत मूलधारका केही मिडियासँग त उनको नियमित रूपमै ट्विटर–युद्ध चलिरहन्छ । सार्वजनिक रूपमा रिस देखाउने उनी एक्ला राष्ट्रपति भने हैनन् । अमेरिकामै लिन्डन जन्सनदेखि रिचर्ड निक्सनसम्मलाई रिसाहा राष्ट्रपतिको रूपमा हेरिन्छ ।

स्वभावको मनोवैज्ञानिक पक्ष
‘टेम्परामेन्ट’ (स्वभाव) जन्मजात विशेषता हो भने ‘पर्सनालिटी’ (व्यक्तित्व) लाई व्यक्तिको स्वभाव र शिक्षा/लालनपालनले आकार दिँदै जाने जर्नल अफ सोसल रिसर्चमा प्रकाशित लेखमा ओकल, एम्बुयो र अमुकोवा (२०१२) ले उल्लेख गरेका छन् । मानव स्वभाव बुझाउन मनोवैज्ञानिकहरूले टेम्परामेन्टलाई चार समूहमा राखेर विश्लेषण गरेका छन् । ती प्राचीन ग्रीक मेडिकल सिद्धान्त ‘फोर ह्युमरस’बाट प्रेरित छन् । यसैलाई आधार मानेर मनोवैज्ञानिकहरूले त्यसलाई आधुनिकीकरण गरेका छन् । मानव स्वभावका सबल र दुर्बल पक्षको पहिचान र बुझाइबारे डब्लु यङ्गेसले सोसाइटी पत्रिका (जनवरी ११, २००४) मा प्रकाशित ‘पर्सनालिटी : ह्वाई यु बिहेब दि वे यु डु’ लेखमा केलाएका छन् । 

आशावादी त्यस मध्येको एक प्रकार हो । यस्ता स्वभावका मान्छेहरू बहिर्मुखी हुन्छन् । उनीहरूको सबल पक्ष भनेको बढी गफ गर्नुपर्ने, दयालु, उत्तरदायी, न्यानो र मिलनसार र उत्साही खालका हुन्छन् । यो समूहकाको कमजोरी भनेको उनीहरू भावनात्मक रूपमा अस्थिर, प्रतिशोधात्मक, अनुशासनहीन, बढाइ–चढाइ गर्नुपर्ने र अविश्वसनीय हुन्छन् । 

दोस्रो स्वभाव हो– क्रोधी । यसलाई बहिर्मुखीको तल्लो तह भनेर चिनिन्छ । यस्ता स्वभावकाहरू दूरदर्शी, नेतृत्वदायी, दृढ इच्छाशक्ति, स्वतन्त्र र निर्णय क्षमता भएका हुन्छन् । उनीहरूको कमजोरी भनेको चिसो र भावनात्मक नहुने, व्यङ्ग्यात्मक, निरंकुश, रिसाहा र निदर्यी हुनु हो । 

तेस्रोमा पर्छ– शान्त स्वभाव । यस समूहका मान्छेहरू एकदमै अन्तर्मुखी हुन्छन् । उनीहरू जहिले पनि शान्त र शौम्य मुद्रामा देखिन्छन् । कूटनीतिक खालका हुन्छन् । अरूप्रति निर्भर, ठट्यौला र विश्वासिला हुन्छन् । कमजोरीको कुरा गर्दा यस्ता स्वभावका मान्छेहरू अल्छी र निस्क्रिय खालका हुन्छन् । काम गर्दा पनि उठबस नगरिकनै लामो समयसम्म एकै ठाउँमा बस्ने खालका हुन्छन् । यस्तै उनीहरू कन्जुस, अति चिन्तालु, डराउने र आफूले गर्नुपर्ने काम जहिले पनि पछि गरौंला भन्दै टार्ने खालका हुन्छन् । चौथो स्वभाव हो– उदासी । यसलाई अन्तर्मुखी स्वभावको तल्लो तह मानिन्छ । यसको सकारात्मक पक्षमा प्रतिभाशाली, विश्लेषण गर्ने क्षमता, मिहिनेती, कलात्मक, त्यागी बानी पर्छन् । तर, यसको कमजोरी भनेको मुड परिवर्तन, नकारात्मक र बदलापूर्ण भाव, परपीडक, आत्मकेन्द्रित र असामाजिक हुनु हो । 

आफ्नो स्वभाव र त्यसका सबल र दुर्बल पक्षप्रति आफै पूर्वजानकार हुनु नै यसको व्यवस्थापनको पहिलो खुड्किलो हो भन्छन्, सम्बद्ध विज्ञहरू ।

सोसल मिडियामा आक्रोश
सर्वसाधारणले नेता र सार्वजनिक पदमा रहेकाहरूप्रति पोख्ने आक्रोश पछिल्लो समय निकै बढेको छ । कतिपय अवस्थामा जनताका आक्रोश आवेशमा बदलिंँदा नराम्रो घटना हुनपुगेका छन् । हालै अमेरिकामा स्टिभ स्कलिस लगायत केही रिपब्लिकन पार्टीका सांसदलाई भर्जिनियास्थित बेसबल मैदानमा अभ्यास गर्दैगर्दा एक सर्वसाधारणले गोली नै प्रहार गरे । र आक्रमण गर्ने ६६ वर्षे जेम्स हज्किन्सन तत्कालै सुरक्षाकर्मीबाट मारिए । उनले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्प लगायत रिपब्लिकन पार्टीविरुद्ध सोसल मिडियामा आक्रामक शैलीमा स्टाटस लेख्ने गरेको पाइएको थियो ।

नेपालमै पनि ठूला नेताहरूलाई थप्पड र जुत्ता–चप्पलले हान्ने घटना पछिल्ला वर्षहरूमा देखिएका छन् । त्योभन्दा बढी सामाजिक सञ्जालमा पोखिने प्रतिक्रियाले नेताहरूलाई मात्र हैन, लेखकहरूलाई पनि उत्तिकै अप्ठेरोमा पारेको छ । कतिपय लेखक त्यसलाई नजरअन्दाज गर्नुको विकल्प देख्दैनन् । न्युयोर्क टाइम्सका स्तम्भकार डेबिड ब्रुक्सले पत्रपत्रिकाका अनलाइन संस्करणमा देखिने पाठकहरूको आलोचनात्मक, दुव्र्यवहार र गालीगलौज गरेर लेखिने प्रतिक्रियाप्रति फेब्रुअरी ६, २०१५ मा प्रकाशित ‘कन्फ्लिक्ट एन्ड इगो’ लेखमा उल्लेख गरेका छन्, ‘ती प्रतिक्रियाको सामना गर्न मैले पाएको एउटै उपाय हो– तपाईको शत्रुलाई प्रेम गर्नुस् ।’

अक्सर आफ्ना ‘बौद्धिकता, नैतिकता वा व्यावसायिक दक्षता’प्रति मूल्याङ्कन गरिएका त्यस्ता प्रतिक्रिया पढ्दा मनोवैज्ञानिक रूपमा अति नै असर पुर्‍याउने गरेको उनको अनुभव छ । थप्छन्, ‘यदि मैले तिनलाई विचारको अमूल्य उपहार टक्र्याउने मेरा महत्त्वपूर्ण मित्रका विचारहरू हुन् भन्ने सोच राखेर पढेंँ भनेमात्रै त्यस्ता गाली–बेइज्जतीमाथि आँखा चिम्लन सक्छु र त्यसबाट केही सिक्न पनि सक्छु ।’ 

चीनको बेइहाङ युनिभर्सिटीका अनुसन्धाताहरूले सोसल मिडियामा कसरी मान्छेहरू आफ्ना साथीभाइबाट प्रभावित हुन्छन् भन्ने अध्ययन गरेका थिए । त्यसले के देखाएको छ भने साथीभाइ र समर्थकहरूले दु:ख, घृणा र हर्षपूर्ण सन्देशको तुलनामा रिसले भरिएका सन्देश निकै बढी ‘सेयर’ गर्ने गर्छन् । चीनको लोकप्रिय ट्विटर संस्करण विइबोमा ६ महिनामा २ लाख प्रयोगकर्ताको ७ करोड ट्विट संकलन गरी उक्त विश्लेषण गरिएको थियो । ‘एंगर इज मोर इन्फ्लुयन्सल द्यान जोय : सेन्टिमेन्ट को–रिलेसन इनविइबो’ शीर्षकको शोधपत्रमा बलियो प्रभावका कारण रिस निकै छिटो र बृहत रूपमा सामाजिक सञ्जालमा फैलिनसक्ने उल्लेख छ । प्रयोगकर्ताहरूले अनलाइन सोसल मिडियामा पोष्ट र सेयर वा रिट्विट गरेर समाजका मुद्दालाई जनमानसको ध्यान खिच्ने र ती मुद्दामा आफ्नो रिस प्रकट गर्ने गरेको अनुसन्धानको निचोड छ । 

नेपालमै पनि राष्ट्रपतिदेखि प्रधानमन्त्री, नेता, पत्रकार, लेखक लगायत सार्वजनिक पदमा रहेकाहरूमाथि गाली–बेइज्जती र अपमानपूर्ण प्रतिक्रिया लेख्ने बाढी आएको छ । गालीगलौज र अश्लील शैलीमा वषिर्ने प्रतिक्रिया हेर्दा सभ्यता नामको चिज नै हराइसकेको हो कि झैं लाग्छ । कसैले कुनै ‘स्टाटस’ राख्यो वा कुनै समाचार सेयर गर्‍यो भने त्यसको वास्तविकता बुझ्दै नबुझी शीर्षककै आधारमा एकोहोरो गाली वर्षाउने प्रवृत्ति बढेको छ । सार्वजनिक पदमा रहेकाहरूलाई पद र स्रोतको दुरुपयोग नगरुन्, जनता र देशको हितमा काम गरुन् भनेर सचेत गराउनु नागरिकको कर्तव्य हो । तर सुझाव दिंँदा, फरक मत राख्दा वा निराशा तथा रिस पोख्दा पनि त्यसको तरिका हुन्छ । हेर्न, सुन्न र पढ्नै नसकिने खालका तल्लो स्तरका भाषा प्रयोग गरेर गाली गर्नु पर्दैन । 

समग्रमा नेता र जनता दुवैले खासगरी सार्वजनिक रूपमा आफ्ना धारणा राख्दा संयम अपनाउन जरुरी छ । खासगरी सार्वजनिक पदधारण गरेका र नेतृत्वदायी पदमा रहेकाहरूले ‘स्वभाव नै त्यस्तो’ भनेर छुट पाउने अवस्था छैन । फोब्र्स पत्रिकामा जून २१, २०१६ मा प्रकाशित एक लेखमा क्रिस मायर्सले उल्लेख गरेका छन्, ‘नेताहरू (सबै क्षेत्रका) प्राय: शक्तिका लागि रिस र सम्मानका लागि डरको सहारा लिन खोज्छन्, तर रिसाहा हाकिमहरू मुस्किलले प्रभावकारी भएका छन् ।’ मायर्सको अनुभव बोल्छ– ‘रिसले चिच्याउँदा केही क्षणको लागि आफूलाई मनमा शान्ति मिले पनि यसले वातावरण विषालु बनाउँछ र आफ्नो टिममा तपाईको प्रतिष्ठालाई कमजोर बनाउँछ ।’ अरूको दृष्टिकोण र तर्कसंगत विचार सुन्नाले एकदमै निराशजनक परिस्थितिमा समेत समाधानका उपाय पहिल्याउन सहयोग पुग्ने उनको अनुभव छ । हाम्रा नेताले पनि निराश जनताका आक्रोश मत्थर गर्न आफ्नो बोल्ने शैलीमा परिमार्जन गर्न जरुरी छ । यो देशलाई अब सुनाउने हैन, सुन्ने । र रिसाउने हैन, सम्झाउने नेताको जरुरी छ । 

प्रकाशित : असार २८, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?