कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले अगाडि, कांग्रेस किन पछाडि ?

यसपालिको पराजयका पछाडि एक नभएर धेरै कारण छन् । यसमा निश्चय नै प्रमुख कारण एजेन्डामा अस्पष्टता र नेतृत्वको अकुशलता हो ।

स्थानीय तहका लागि भएको दुबै चरणका निर्वाचनको नतिजा अनुसार एमालेको प्रगति, नेपाली कांग्रेसको दुर्गति नै त नभनिहालौं, अवनति भएको छ । माओवादी केन्द्रको उपस्थिति दर्शिएको छ । संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले पनि आआफ्नो ठाउँमा राम्रै प्रदर्शन गरेका छन् ।

एमाले अगाडि, कांग्रेस किन पछाडि ?

राप्रपाको विजोग र बाबुरामका नयाँ शक्तिको बेहाल भएको छ । वैकल्पिक शक्तिका रूपमा प्रस्तुत नवउत्साहीहरूले मतदातामाझ प्रस्तुत हुने अवसर प्राप्त गरेका छन् । तथापि यस परिचित्रले मुलुकको राजनीतिक मानचित्रमा २००७ सालसँगै उदय भएका राजनीतिक शक्तिहरूकै प्रबलता रहेको यथार्थ प्रस्ट्याएको छ । यस परिचित्रमा तर सर्वाधिक उल्लेख्य भने यसपालि ००७ सालदेखि नै केन्द्रीय भावमा रहेको कांग्रेस एमालेलाई पछ्याउने स्थानमा पुगेको छ । 

निश्चय नै २०५१ को मध्यावधि निर्वाचन र २०५४ को स्थानीय निकायको निर्वाचनमा पनि एमालेले कांग्रेसलाई नउछिनेको थिएन । तर उतिखेर उछिन्दाको अवस्था र अहिलेको अवस्थामा आकाश–जमिनको अन्तर छ । २०५१ सालमा कांग्रेस आफ्नै आन्तरिक फुटका कारण मध्यावधिमा गएको, कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंह अर्को दल जनकांग्रेस बनाएर कांग्रेसलाई हराउन सक्रिय भएका थिए । २०५४ सालमा एमालेले तत्कालीन गृहमन्त्री वामदेव गौतमको सक्रियतामा सत्ता, शक्ति र सामथ्र्यको भरपुर प्रयोग गरेर कांग्रेसलाई उछिनेको थियो । दुबै चुनावमा कांग्रेस अलोकप्रिय भएर होइन, धेरै अर्थमा प्राविधिक कारणले हारेको थियो । यसपालिको पराजयका पछाडि एक नभएर धेरै कारण छन्, अनेकन कारण गुजुल्टिएका छन् र यसमा निश्चय नै प्रमुख कारण एजेन्डामा अस्पष्टता र नेतृत्वको अकुशलता हो ।

यस आलेखमा म कांग्रेसमै केन्द्रित हुनेछु, यद्यपि अचेल कांग्रेसलाई पढ्नेहरू निकै पातलिँदै गएका छन् । पाठकहरूको रुचि र प्रतिक्रियाको लोभ हुने हो भने कांग्रेसबारे नलेखे पनि हुन्छ । किनभने यस्तो प्रतीत हुन्छ, अचेल कांग्रेस पाठकका अभिरुचिको विषय नै बन्नछाडेको छ । यसका मानक हुन्, सामाजिक सञ्जाल तथा वैयक्तिक र सामूहिक संवादका मञ्चहरू । राष्ट्रिय राजनीति र समाजका विभिन्न तप्कामा एमाले र त्यसमा पनि केपी शर्मा ओलीलाई राष्ट्रिय राजनीतिको केन्द्रीय पात्रका रूपमा हेर्न थालिएको छ । यो धेरैलाई मन नपर्न सक्छ, तर यथार्थ यही हो । कांग्रेस के भन्छ, के गर्छ र यसले के गर्नुपर्छ जस्ता विमर्शहरू लुप्तप्राय: हुँदै गएका छन् । के कारण यस्तो भएको, किन भएको र यसको परिणाम के हुन्छ भन्नेबारे कांग्रेस बाहिर त परै, भित्रै पनि अन्तरक्रिया भइरहेको पाइँदैन । 
पहिलो संविधानसभामा कांग्रेस यद्यपि दोस्रो दल थियो, तर उसको भनाइलाई गम्भीरतापूर्वक लिइन्थ्यो, जबकि गिरिजाप्रसाद कोइरालाको निधनपछि नेतृत्व त्यतिखेर अहिलेभन्दा पनि दुर्बल व्यक्तिका हातमा थियो । कांग्रेसले जे भन्थ्यो, राजनीतिमा त्यसको अर्थपूर्ण असर पथ्र्यो । अहिले भने कांग्रेस जेसुकै भनिरहोस्, कुनै तात्त्विक असर पर्दैन । त्यसैले जनमत बन्दैन, बने पनि प्रतिकूल बन्छ । पार्टीमा दुई प्रस्ट गुटहरू भएकाले गुटबन्दीका कारण यस्तो हुनगएको भनिन्छ । तर यसो भन्नु दलीय राजनीतिका मान्यता र अभ्यास विपरीत हुन्छ । किनभने कुनै पनि राजनीतिक दल कहीं पनि एकढिक्का हुँदैनन् । तिनमा विभिन्न गुटबीच प्रतिस्पर्धा भइरहेकै हुन्छ । फेरि कांग्रेस त झन् स्थापनादेखि नै विभिन्न गुटकै संयोजनका रूपमा रहिआएको छ । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेस बन्नुभन्दा पहिल्यै यसमा विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमण रेग्मीका आआफ्नै गुट थिए । २००६ सालमा माथि भनिएझैं दुई पार्टी मिलेर नेपाली कांग्रेस नामकरण गरिए पनि यसमा बीपी कोइराला र सुवर्ण शमशेरका आफ्नै गुट थिए । पछि गएर त्यसमा सूर्यप्रसाद उपाध्यायको गुटसमेत अस्तित्वमा आयो । 

महेन्द्रले ०१७ सालको काण्ड रचेपछि, केही समयको अन्तरालमा कांग्रेसकै प्रतिपक्षी गोरखा परिषद्को कांग्रेसमै विलय भयो । विलय त भयो, तर त्यसमा अर्को एउटा गुटको जन्म भयो । २०३९ सालमा बीपीको निधनपछि पनि कांग्रेस एकजुट थिएन, तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका परस्पर स्पर्धी गुटहरू निरन्तर विद्यमान रहेका हुन् । २०४६ सालको जनआन्दोलनपश्चात् त्यही गुटीय राजनीतिको निरन्तरता रहेको हो । कालान्तरमा भट्टराईले सक्रिय राजनीतिबाट विश्राम लिएपछि शेरबहादुर देउवा भट्टराई गुटको कमान सम्हाल्न पुगेका हुन् । कोइराला र देउवा गुट पछि गएर फरक पार्टीका रूपमा विभाजित भए । राजा वीरेन्द्रको सवंश विनाशका परिणामस्वरुप राजा बनेका ज्ञानेन्द्रको एकलौटी शासनसँग जुध्न कोइराला र देउवाबीच एकीकरण भए पनि दुई गुट भने यथावत रहे । गिरिजाप्रसाद र सुशील दुबै कोइरालाको निधनपश्चात् कांग्रेस गुटरहित हुन्छ भनेर कामना गरियो होला, तर त्यस्तो भएन । आजका मितिमा रामचन्द्र पौडेल र देउवा (यद्यपि पार्टी सभापति बने) पक्षका दुई गुट भित्रभित्रै परस्पर प्रतिस्पर्धारत छन् । 

यहाँ यो बेलिविस्तार किन लगाउनुपरेको हो भने कांग्रेस सजिलो होस् अथवा अप्ठ्यारो दुबै अवस्थामा गुटहरूमा विभाजित रहने गरेको छ । लोकतन्त्रका लागि संघर्षका बेला होस् अथवा लोकतन्त्र स्थापित भएको अवस्था, दलमा गुटहरू हुन्छन् र गुटकै कारण पार्टी हारेको तर्क गरेर हार्नुको औचित्य सिद्ध हुँदैन । मानिलिउँ, कांग्रेस गुटबन्दीका कारण हारेछ, गुटबन्दी त एमालेमा पनि छ । चरम गुटबन्दीकै बीच एमालेले कसरी जित्यो त, त्यसो भए । विश्वमा कुनचाहिँ यस्तो लोकतन्त्र होला, जहाँ दलभित्र विभिन्न गुट छैनन् । भारतमा भारतीय जनता पार्टीमा गुटहरू छन्, भारतीय कांग्रेसमा झन् गुटैगुट छन् ।

बेलायतका लेबर, टोरी जे हुन्, त्यहाँ गुटहरूबीच नै प्रतिस्पर्धा छ । संयुक्त राज्य अमेरिकामा गुटहरू बीचकै प्रतिस्पर्धाबाट राष्ट्रपतिको उम्मेदवार छानिन्छ । दलहरूमा गुट लोकतन्त्रको सौन्दर्य हो । गुटहरू बीचकै प्रतिस्पर्धाबाट लोकप्रिय नेताको चयन हुन्छ । अर्थात् गुटबन्दीकै कारण पार्टी चुनाव हार्ने भन्ने हुँदैन । चुनावमा हारजितको प्रमुख कारण नेतृत्व हुन्छ । नेतृत्वको कौशल हुन्छ । नेतृत्वले स्थानीय, क्षेत्रीय र राष्ट्रिय मुद्दाहरूलाई कति सीपका साथ प्रस्तुत गर्‍यो र समाधानका उपाय प्रस्तुत गर्‍यो, त्यसमा निर्भर गर्छ, हारजित । 

यसमा निश्चय नै पार्टी संगठन र यसको परिचालनको अहम् भूमिका नहुने होइन, हुन्छ । प्रचारको संयोजन र वेग त्यतिखेर फलदायी हुन्छ, जब नेतृत्व सारपूर्ण र मतदाताका लागि आकर्षक हुन्छ । आफैं हेर्नुहोस्, एमालेका ओली र कांग्रेसका देउवा को आकर्षक रहे त मतदातामाझ, देउवामा दृढता देखियो कि ओलीमा ? ओलीभक्तका कुरा छोडौं, कुनै देउवाभक्तलाई नै सोधियो भने पनि उसको उत्तर ओलीभक्तको भन्दा धेरै फरक हुने छैन । अर्थात् कांग्रेसको समस्या गुटमा होइन, नेतृत्वको कौशलमा छ । यहाँ तात्पर्य ओली बडो कुशल छन् भन्नु किमार्थ होइन । तर तुलनात्मक रूपमा ओली कुशल र देउवा अकुशल देखिए । 

हो जगजाहेरै छ, देउवाको प्रस्तुतिमा समस्या छ, वाणीमा ओज छैन । यो समस्यासँग उनी आफैं राम्ररी परिचित छन् । यस्तो समस्या हुन्छ, तर यो समस्याको निदान हो, वाणी प्रस्ट भएको व्यक्तिलाई चुनाव अभियानको वागडोर दिनु । त्यति नै महत्त्वपूर्ण हुन्छ, नेतामा अध्ययनको गहनता । ओली सूचनाहरूमाथि पकड राख्छन् र पछिल्लो समयमा उनको अर्को विशेषता देखापरेको छ, उनी युवाहरूमा आशा जगाउन सक्छन् । कांग्रेसजन आफैं भनुन्, देउवा युवाहरूमाझ कत्तिको सुहाउँछन् ? सम्बोधन गर्दा युवा ऊर्जाको उद्बोधन हुनेगरी प्रस्तुत हुन्छन् ? यसको जवाफ दिइरहनै पर्दैन, उनीहरूका अनुहारको भावमै देखिन्छ । 

कुरा यही प्रस्तुतिमै सिध्दिँदैन । कांग्रेसले चुनावपूर्व नै हार्ने सम्पूर्ण तयारी गरिसकेको थियो । प्रहरी प्रमुखको नियुक्ति विवाद र त्यही लहरोमा तत्कालीन प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव आफैंमा आत्मघाती त छँदै थिए, त्यसमाथि चुनावको मुखमा आएर माओवादी केन्द्रसँग तालमेल । प्रहरी प्रमुख नियुक्ति विवाद र महाअभियोगका कारण निष्पक्ष मतदाता कांग्रेसबाट तर्किए भने माओवादीसँगको तालमेलले गर्दा कांग्रेसका निष्ठावान, परम्परागत मतदाता रिसाए । जो रिसाएनन्, ती पनि मतदान गर्न गएनन्, मनमनै दुखेर घरै बसे । निश्चय नै यस पृष्ठभूमिमा कांग्रेस हार्छ भन्ने धेरैलाई थाहा थियो र यसले हार्नै हुँदैन भन्ने पनि होइन । हार्नु जरुरी हुन्छ, चेत्नका लागि । 

तर यही क्रम कायम रहे यहाँ चिन्ता वास्तवमा प्रादेशिक तहका लागि हुने निर्वाचनको हो । यदि ७ मध्ये ६ वटै प्रदेशमा एउटै दलको बर्चस्व रहन गयो भने त्यस अवस्थामा संघीयताको सफल सञ्चालन हुनसक्दैन । सुरुमै दलीय विविधता भएन, हुनसकेन भने त्यसले देशलाई एकदलीय हैकमतर्फ धकेल्न सक्छ । त्यस्तो हुन नदिन चाहँदैमा हुँदैन । एमालेको अग्रताप्रति कुण्ठित भएर हुँदैन । प्रतिस्पर्धामा खरो देखिने, आशा र भरोसा दिने नेतृत्व तथा संगठित शक्तिका रूपमा स्वयंलाई स्थापित गर्न सशक्त तयारी पनि हुनुपर्छ ।

प्रकाशित : असार ३०, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?