कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सच्चा धनपति

विमल निभा

मैले ‘धनपति’ सिनेमा हेर्ने अवसर पाएको छैन । तर यसलाई अवलोकन गर्नेहरूका टिप्पणी भने अवश्य सुनेको छु । अधिकांश सकारात्मक किसिमका रहेका छन् । अतएव यो एक बढिया चलचित्र नै बनेको हुनुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु ।

सच्चा धनपति

 

यसको ‘थिम’ एउटा साधारण बाइसिकल वरिपरि घुमेको देखिन्छ । किनभने यस्तै खाले रंगीचंगी पोस्टरहरू यत्रतत्र टाँसिएका छन् । यसमा आफ्नो पत्नी र सानी छोरीसहित ‘धनपति’का नायक बाइसिकलमा सवार भएको दृश्यलाई ‘हाइलाइट’ गरिएको छ । सम्भवत: यो एक बाइसिकल प्रधान चलचित्र हो । 

 

‘होइन, यो सिनेमाको हिरो को हो हँ ?’ मैले सिनेमा हलबाट फर्केको एक मित्रसँग उत्सुकतावश सोधेको थिएँ । 

‘अहिलेको चर्चित नायक खगेन्द्र लामिछाने ।’ उसले जवाफमा भन्यो मलाई, ‘अरू को ?’

‘ए, मलाई त कुनै अर्कै लागेको थियो ।’

‘के लागेको थियो अर्कै ?’

‘एउटा बाइसिकल ।’ म थोरै हाँसेँ ।

ऊ मलाई गहिरो नजरले हेर्न थाल्यो ।

मलाई माफ गर्नाेस्, मेरा नायक मित्र खगेन्द्रजी, यस्तो हुने गर्छ । पोहोर मैले एउटा हिन्दी फिल्म हेरेको थिएँ– इन्टरटेन्मेन्ट । यसको केन्द्रमा एक सानो कुकुर थियो । यसो ता भारतीय चलचित्र जगतका चलनचल्तीका हिरो अक्षयकुमार पनि नभएको होइन । तर फिल्मको असली हिरो त कुकुर नै थियो । यो इन्टरटेन्मेन्ट नामको कुकुर मानिसभन्दा बढ्ता ‘बुद्धिमान’ लाग्थ्यो । यो नै सिनेमाको कथातत्त्व थियो । संक्षेपमा अढाई घन्टे इन्टरटेन्मेन्ट ।

यस्तै भाँत–भाँतका पशुहरूका मुख्य भूमिका रहेका चलचित्र हलिउड सिनेमा संसारमा पनि प्रशस्तै निर्मित छन् । जस्तै– घोडा, हाथी र सर्पहरूका सिनेमा । यसमा पनि सर्पहरूलाई विशेष स्थान दिइएको पाइन्छ । एउटालाई म झ्वाट्ट सम्झिरहेछु– ऐनाकोन्डा । एउटा विशालकाय सर्पको बहुतै डरलाग्दो प्रस्तुति । यो सिनेमाको क्लाइमेक्समा ऐनाकोन्डामाथि मानिसहरूका ठूलो प्रभुत्व देखाइएको छ । अर्थात् ऐनाकोन्डाको समाप्ति । उसो भए, ज्यास्ती भयानक को भयो त ? तर यहाँ म कुनै ज्यानदार सर्पको नभएर फलामको बाइसिकलको कुरो गर्न खोजिरहेको छु । खासमा मैले अहिलेसम्म हेर्न नपाएको नेपाली चलचित्र ‘धनपति’को एकथान बाइसिकलको । अँ, धेरै पहिलेको एउटा बाइसिकल सम्बन्धी फिल्म पनि मेरो यादमा आइरहेको छ । यो निर्देशक भिट्टोरियो डे सिकाको ‘बाइसिकल थिफ्स’ गजबको सिनेमा थियो । यसैको लड्गी बारतालोनी लिखित उपन्यास पनि असाध्यै प्रसिद्ध रहेको छ ।

 

दुवै परस्पर अन्तरसम्बन्धित फिल्म र नोबेल । तर छाड्नोस्, यहाँ वास्तविक प्रसंग ‘धनपति’को बाइसिकलको हो । याने एक–डेढ सप्ताहदेखि राजधानीका सिनेमा हलहरूमा प्रदर्शित चर्चित चलचित्र ‘धनपति’को । अहिलेका युवानायक खगेन्द्र लामिछानेदेखि लिएर अनुभवी चरित्र अभिनेता हरिहर शर्मासम्मका कुशल कलाकारहरूका यो सिनेमा चर्चाको शिखरमा रहेको छ । 

एकाध दिनदेखि के भएको छ भने ‘धनपति’को व्यापक चर्चालाई छायामा पारेर एकाएक ‘राष्ट्रपति’को चर्चा हुनथालेको छ । यद्यपि ‘राष्ट्रपति’ कुनै चलचित्रको नाम होइन । तथापि दुवैमा केही साम्यता जरुर रहेको छ । उदाहरणका लागि ‘धनपति’को बाइसिकलको जबर्जस्त दाँजोमा ‘राष्ट्रपति’को गाडी आएको छ । यसलाई साफसँग भन्ने हो भने महामहिम राष्ट्रपतिद्वारा आफ्नो सवारीका निम्ति एक गाडीको अविलम्ब माग गरिएको छ । यो ‘धनपति’को सामान्य बाइसिकलजस्तो नभएर अतिशय दामी गाडी हुनेछ । बाफ रे, सोह्र (१६) करोड रुपियाँको नयाँ गाडी ! अत: यो राष्ट्रपतीय गाडीले ‘धनपति’को पुरानो बाइसिकललाई निस्तेज पार्ने नै भयो । यही सन्दर्भमा म ‘धनपति’का उत्साही निर्देशक दीपेन्द्र के खनालसँग एक सुझावी अनुरोध गर्छु– अब ‘धनपति’ चलचित्रको सिक्वेल किन नबनाउने ? यस्तो भएको खण्डमा ‘राष्ट्रपतिको गाडी’ले ‘बक्स अफिस’मा रेकर्डतोड सफलता पाउनेछ भन्नेमा म ढुक्क छु । त्यसउसले अग्रिम बधाई दिन्छु ।

 

 

प्रकाशित : असार ३१, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?