कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मधेसमा बढ्दो भागी बिहे

रीता साह

मधेसी समाजमा धान काटिसकेर अर्को वर्ष धान नरोपुन्जेलको अवधिमा बिहेवारी गर्ने चलन छ । यो बीचको समयमा तराई–मधेसका चियापसल, पानपसल, चोक–चौराहामा प्राय:जसो बिहेकै चर्चा हुने गर्छ ।

मधेसमा बढ्दो भागी बिहे

कसको छोरा कति पढेको, कसको बिहेमा कति दाइजो लियो, कसकी छोरी कति राम्री, कसले कति तामझामका साथ बिहे गर्‍यो जस्ता विषयबारे चर्चा सुन्न पाइन्छ । पछिल्लो समय युवक–युवती भागेर बिहे गर्ने गरेको बारे पनि मधेसतिर निकै चियोचर्चा हुन थालेको छ, जुन केही वर्षअघि विरलै सुनिन्थ्यो ।

गत वर्षको वैशाखमा म आफ्नो घर सप्तरी गएकी थिएँ । घरमा बिहेको निम्ताको एउटा कार्ड आएको थियो । कार्ड पल्टाएर हेर्दै थिएँ । आमाले भन्नुभयो, ‘यो कार्डको अब काम छैन ।’ कारण के रहेछ भने जसको बिहेको कार्ड थियो, ती युवती बिहेको तिथिभन्दा दुई दिनअघि नै घरबाट भागिसकेकी थिइन् । युवतीले आफूले मन पराएको युवकसँग बिहे गरिसकेको थाहा भयो । आमाले सुनाएअनुसार अर्की एक युवतीले पनि त्यसरी नै घरपरिवारले तय गरिदिएको केटासँग बिहे नगरी आफूले प्रेम गरेको युवकसँग भागेर बिहे गरेकी थिइन् । कुरा त्यतिमै सीमित रहेन । युवती पक्षले पहिला बिहेको कुरा छिनेको केटासँग दाइजो फिर्ता माग्न थाले । तर केटा पक्षले दिन मानेन । केटा पक्षको भनाइ थियो, एक त बिहे हुनुभन्दा पहिले केटी भागेर हाम्रो बेइज्जती भयो, त्यसमाथि दाइजो पनि फिर्ता गर्ने ? विवाद बढ्दै गएर केही दिनसम्म लगातार पञ्चैती नै भएको थियो रे ।

आजकल मधेसमा भागी बिहेका घटनाहरू छ्यापछ्याप्ती सुन्न पाइन्छ । युवक–युवती एकअर्कालाई प्रेम गरी भागेर बिहे गर्ने चलन नयाँ होइन । यसको ऐतिहासिक पृष्ठभूमि छ । द्वापर युगको कथा महाभारतमा रुकमिणीले प्रेमपत्र लेखी श्रीकृष्ण भगवान्लाई मन्दिरमा बोलाएर भागी विवाह गरेको कथा हामी सबैले पढेका छौं । यस्ता अनेक पौराणिक कथाहरूमा भागी बिहे गरेका दृष्टान्तहरू उल्लेख छ । हाम्रै देशको पहाडी समाजमा कतिपय समुदायमा भागी बिहेलाई स्वाभाविक मानिन्छ । युवक–युवतीले एकअर्का मन पराएर बिहे गर्नुलाई सहर्ष स्वीकार पनि गरिन्छ । तर मधेसको सहर–बजारमा युवक–युवतीबीच प्रेम गर्नुलाई त्यति असहज रूपमा नलिइए पनि भागेर बिहे नै गरेकोलाई अझै पनि पचाउन सकेको देखिँदैन । 

भागेर बिहे गर्ने अनेक कारण छन् । समाजमा बढ्दै गएको चेतनासँगै छोरीलाई पनि छोरासरह स्कुल–कलेज पठाउने क्रम बढेको छ । स्कुल–कलेजमा पढ्न जाँदा युवक–युवतीबीच घनिष्टता बढ्नु स्वाभाविकै हो । घनिष्टता प्रेममा परिणत हुन्छ । अचेल मधेसी समुदायमा अधिकांशले छोरीलाई शिक्षित बनाउन चाहन्छन्, तर प्रेम गर्न अघोषित बन्देज लगाउँछन् । कसैकी छोरी प्रेममा परेको सुइँको पाउनेबित्तिकै उनका अभिभावक बिहे गर्न तम्सिहाल्छन् । पढाइ छोडाउने, घरबाट बाहिर निस्कन नदिने गर्नुका जति सक्दो चाँडै बिहे गरिदिन चाहन्छन् । परिणामत: युवक–युवती विद्रोह गरेर घरबाट भागेर बिहे गर्ने जोखिम मोल्छन् । 

अन्तरजातीय र अन्तरधार्मिक युवक–युवतीबीच प्रेम सम्बन्ध स्थापित हुन गएको छ भने समाज र परिवारले नस्विकार्ने डरले पनि तिनीहरू भागेर बिहे गर्छन् । अहिले पनि मधेसी समुदायमा अन्तरजातीय बिहेलाई अधिकांश परिवार र जातीय संगठनहरूले अपराधकै रूपमा हेर्ने गर्छन् । यस्तो बिहे गर्नेलाई गाउँ निकाला गर्ने, भोजभतेरमा बन्देज लगाउनेजस्ता सजाय–जरिवाना तोक्ने चलन छ ।
समाजमा आमाबुवाको रोजाइभन्दा पनि आफैंले जीवनसाथी रोज्नुपर्ने जमात दिनदिनै बढ्दो छ । आफंैले रोजेको जीवनसाथी परिवारले नस्विकार्ने डरले पनि भागेर बिहे गर्छन् । पछिल्लो समयमा वैदेशिक रोजगारका कारणले पनि भागी बिहे बढेको छ । कतिपय यस्ता घटनाहरूमा पुरुषहरू वैदेशिक रोजगारमा जाँदा गाउँघरतिर महिला वा युवतीहरूलाई फकाएर भागी बिहे गर्ने गरेको सुनिन्छ । वैदेशिक रोजगारका कारण अर्काकी श्रीमती भगाउने घटना पनि बढेको छ ।

भागी बिहेलाई कतिपय महिला अधिकारकर्मीले महिला सशक्तिकरणसँग पनि जोडेर हेर्छन् । पहिला–पहिला युवतीहरू आफ्नो बिहेको कुरा गर्न पनि पाउँदैनथे, अहिले आफैंले मन पराएको युवकसँग भागेर बिहे गर्नु एक प्रकारको महिला सशक्तीकरण नै हो भन्ने तर्क उनीहरूको हुन्छ । 

भागी बिहेको स्वीकार्यता वा सफलता पनि जाति, वर्ग र लिंगका आधारमा तय हुने गर्छ । युवक–युवती एउटै जातको रहेछन् भने स्वीकार्यता अलिक सहज हुन्छ । तर दलित–गैरदलित, मुस्लिम–गैरमुस्लिम, कथित उपल्लो जात र कथित तल्लो जातबीचको बिहे हो भने स्वीकार्यता त्यति सहज हँ‘दैन । गरिब र धनी युवक–युवतीबीच भागी बिहे भयो भने केटा पक्षका परिवारले स्वीकार गर्न गाह्रो मान्छन् । समाजमा भागी बिहेमा छोरा र छोरीका लागि पनि फरक–फरक मापदण्ड तय गरिएको हुन्छ । छोराले भागी बिहे गर्छन् भने धेरै परिवारलाई प्राय: स्वीकार्य हुने गर्छ । तर छोरीले भागी बिहे गर्दा परिवारको नाक कट्ने, इज्जत जाने ठान्छन् । र सकेसम्म त्यस जोडीलाई छुट्याउन खोज्छन् । छोरा–छोरीबीच यस्तो खालको विभेद हेर्दा लाग्छ कि घरको इज्जत राख्ने जिम्मा छोरी मात्रको हो । त्यस्तै कथित उपल्लो जातको युवकले कथित तल्लो जातको युवती बिहे गरेको छ भने विरलै स्वीकार्य हुन्छ । त्यस्तै हिन्दु र मुस्लिम युवक–युवतीबीच भएको बिहे पनि प्राय: स्वीकार्य हुँदैन, खासगरी हिन्दु परिवारमा ।
भागेर बिहे गरेको सुन्दा सहज लाग्छ । तर त्यत्तिकै यसका अप्ठ्यारा तथा चुनौतीहरू पनि छन् । अधिकांश युवक–युवती कम उमेरमा, पढ्दा–पढ्दै भाग्ने गर्छन् । पढाइ पनि पूरा भएको हँ‘दैन । यस्तोमा आत्मनिर्भर हुने कुरै हँ‘दैन । केही दिन घरपरिवारबाट टाढा लुकीछिपी बसे पनि फेरि घरमै आउनुपर्ने बाध्यता हुन्छ । तर केटा पक्षको परिवारले केटीलाई स्विकारेन भने केटी दोहोरो मारमा पर्छिन् । एकातिर माइतीबाट विद्रोह गरेर भागेकाले माइती जाने बाटो बन्द हुन्छ भने केटा पक्षले घर भित्र्याएन भने अलपत्र पर्ने अवस्था आउँछ । कतिपय घटनामा केटालाई पनि दबाब दिएर केटीलाई छाड्न लगाइन्छ । यस्तो अवस्थामा प्राय: केटीहरू घरका न घाटका हुन्छन् । भागेर बिहे गर्ने युवतीलाई समाज र छरछिमेकले पनि अपहेलित नजरले हेर्छन् ।

कथंकदाचित युवती गर्भवती भइछन् भने तेहरो मारमा पर्छन् । प्राय:जसो भागी बिहे मन्दिरमा वा लुकेर गरेका हुन्छन्, जसको कुनै प्रमाण हँ‘दैन । फलस्वरूप केटाको सम्पत्तिमा अधिकार पाउने आधार पनि हुँदैन । यस्तै खालको घटना गत जेठ २७ गते एक राष्ट्रिय दैनिकमा पनि छापिएको थियो । जनकपुर बस्ने एक युवतीलाई सोही ठाउँ बस्ने युवकले घरबाट भगाएर बिहे गरी तीन महिनासम्म सँगै राखेर गर्भवती बनाए, अनि छाडे । युवतीले न्यायको खोजीमा भौंतारिनुपरेको छ । 

केटा दलित र आर्थिक रूपमा विपन्न छ भने केटा पक्षले पनि चुनौतीहरू सामना गर्नुपर्छ । यस्ता अधिकांश घटनामा केटी पक्षले अपहरण, बालविवाह र बलात्कारको मुद्दा लगाएर केटासँग बदला लिन खोज्छ । गत वर्ष अध्ययनका क्रममा धनुषा र सिरहा जाँदा स्थानीय प्रहरीहरूले सुनाएका थिए, ‘सुरु–सुरुमा केटी पक्षले छोरी अपहरणको मुद्दा दर्ता गराउँछ, तर अनुसन्धान गदै जाँदा केटाकेटी मिलेमतोमा भागेका हुन्छन् । हामीलाई पनि समस्या पर्छ ।’ कहिलेकाहीं भागी बिहेले सामाजिक द्वन्द्व पनि सिर्जना गर्छ । खासगरेर दलित युवकसँग गैरदलित युवती भागेर बिहे गरेको छ भने केटा र केटा पक्षलाई कुटपिट गर्ने र जातीय रङ दिएर हत्या गर्नसम्म पनि पछि पर्दैनन् । 

आफैंले जीवनसाथी रोजेर बिहे गर्नु अपराध होइन । तर यसरी बिहे गर्नुअघि युवक–युवती पनि सचेत हुनु आवश्यक छ । बिहे कति उमेरमा गर्नुपर्ने हो, शारीरिक सम्पर्क गर्न र बच्चा पाउन प्रजनन अंगहरू कहिलेसम्ममा परिपक्व हुन्छन् जस्ता कुरा परिवार र शैक्षिक संस्थाहरूमा पनि सिकाउन आवश्यक छ । हामीले आफ्न छोराछोरीलाई अधिकारसँगसँगै कर्तव्यबारे पनि उचित जानकारी दिनुपर्छ । 

प्रकाशित : श्रावण १, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?