१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजधानीका सडकमा धराप

सम्पादकीय

काठमाडौं — सडक, ढल, खानेपानीको संरचना निर्माण र मर्मतसम्भार कार्यमा हेलचेक्रयाइँ गरिएकाले राजधानीका सडकहरू गाडी तथा पैदल यात्रु दुवैका लागि जोखिमपूर्ण छन् ।

राजधानीका सडकमा धराप

घाम लाग्दा धूवाँ–धूलो र पानी पर्नासाथ हिलो भएर हैरानी बनाउने सडकहरू जताततै धराप थापिएसरह बन्नु मानवीय क्रियाकलापबाट सिर्जित गम्भीर लापरबाही हो । राजधानीको सडक मुलुककै सबभन्दा बढी सवारी आवागमन हुने मात्र होइन, नीति निर्माण गर्ने, निर्देशन तथा कामको जिम्मा दिने व्यक्ति तथा निकायको पनि दिनहुँ आँखा परिरहने ठाउँ हो । सडकको दुरवस्था वर्षौंदेखि देखिरहँदा पनि त्यसलाई तत्काल सुधार गर्न तत्परता नदेखाउनु गैरजिम्मेवारीपनको पराकाष्ठा हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न सम्बन्धित पक्षलाई आइतबार निर्देशन दिएका छन्, जसलाई सकारात्मक रूपमा लिनुपर्छ । तर यो निर्देशन गत शुक्रबार ढलमा बगेर एक बालिकाको मृत्यु भएको र अर्की संयोगले बचेको घटनापछि मात्र जारी भएको हो । गत शुक्रबार काठमाडौंकै नेपालटारमा वर्षात्पछि सडक जलमग्न भएका बेला ढलमा छिरेर १० वर्षीया विनिता फुयालको मृत्यु भएको थियो । त्यही दिन सामाखुसीमा जलमग्न सडकमा नाली नदेखेर बगेकी १३ वर्षीया सत्या सापकोटाको भने तत्काल उद्धार हुन सक्यो । एकै दिन भएका यी दुई घटनापछि सम्बन्धित निकायहरूले चौतर्फी आलोचना पनि खेप्नुपरेको छ । त्यसपछि प्रधानमन्त्री देउवाले सडक, खानेपानी, विद्युत् आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डाखुल्डी पुर्न, ढल फुट्ने समस्या समाधान गर्न र फिल्डमा खटिएर अनुगमन गर्न निर्देशन दिएका हुन् । निर्देशनअनुरूप काम हुन सके तत्कालका लागि भने सडकको जोखिम घट्नेछ । 

राजधानीमा सडक, ढल, खानेपानीको संरचना निर्माणका क्रममा हदै लापरबाही देखिन्छ । ती संरचना निर्माण गर्ने निकायबीच समन्वय पनि देखिँदैन । सडक तथा ढल निर्माण कार्य अत्यन्तै सुस्त छ । अधिकांश आयोजना तोकिएको म्यादभित्र सकिँदैनन् । भत्काइएका/भत्किएका संरचनाको मर्मतमा तदारुकता देखिँदैन । आर्थिक वर्ष सकिने बेला हतारहतार काम गर्ने प्रवृत्ति छ । वर्षायाममा हतारहतार गरिएको काम टिकाउ नभएर सडक फेरि धरापमा परिणत हुन्छ । पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन बिछ्याउने क्रममा भत्काइएका सडकको पुनर्निर्माण धेरै ठाउँमा सुस्त देखियो । काम गर्ने प्रवृत्ति कतिसम्म अव्यवस्थित छ भने एउटै ठाउँमा उही कामका लागि पटकपटक खनेको/भत्काएको देखिन्छ । विद्युत्, टेलिफोन, टेलिभिजन तथा इन्टरनेटका तार पनि व्यवस्थित ढंगले टाँगिएका हुँदैनन् । यसले राजधानीको शोभा पनि बिगारेको छ । क्षमताले धान्नेभन्दा बढी ‘लोड’ भएका गाडी निर्वाध चलिरहँदा पनि सडकमा छिटो क्षति पुगेको देखिन्छ । यस्ता अनेकन बेथिति हुनुमा कामको जिम्मा लिने व्यक्ति/कम्पनीको मात्र कमजोरी छैन, उनीहरूको कामलाई चुस्त–दुरुस्त बनाउन नियमन गर्ने निकायहरू पनि उत्तिकै जिम्मेवार छन् । समयमा काम नगरे, गुणस्तर नभए वा लापरबाही भए कारबाही गर्ने निकाय गैरजिम्मेवार भएकैले काममा लापरबाही गर्ने प्रवृत्ति मौलाएको हो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरका उम्मेदवारहरूले ‘स्मार्ट सिटी’ को योजना सुनाउँदा हाँसोको विषय बन्नुको कारण पनि विद्यमान भौतिक संरचनाको हविगत नै हो । 

तीव्र गतिमा जनघनत्व बढिरहेको सहरमा सडक, ढल, खानेपानीका जस्ता संरचना निर्माण गर्ने क्रममा दीर्घकाललाई हेरेर योजना बनाउनुपर्छ । संरचना निर्माणमा सम्बन्धित निकायबीच समन्वय जरुरी छ । मर्मतसम्भार जति ढिलो भयो उति जोखिम बढ्दै जाने हुनाले मर्मतसम्भारमा तदारुकता चाहिन्छ । निर्माणका क्रममा ठूला खाल्डाखुल्डी बने टाढाबाटै देखिने गरी संकेत चिह्न राख्ने थिति पनि बसाउन जरुरी छ । राजधानीमा बढी वर्षा हुनासाथ कतिपय ठाउँमा सडक जलमग्न बन्ने गरेकाले त्यस्तो अवस्था नै नहुने गरी पानी निकासको प्रबन्ध पनि मिलाउन आवश्यक छ । राजधानीमा भौतिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा लापरबाही प्रदूषणको कारकसमेत हुनाले मानव स्वास्थ्यसँग पनि जोडिएको छ । स्थानीय तह, सम्बन्धित मन्त्रालय तथा विभागले यस्ता गैरजिम्मेवार र लापरबाहीपूर्ण कार्यपद्धति सुधार्दै सडक, ढल, खानेपानीका संरचनासँगै बिजुली, खानेपानीलगायतका तार व्यवस्थित गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । 

प्रकाशित : श्रावण ५, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?