मानसिक स्वास्थ्यको ख्याल

बालिका थपलिया

काठमाडौं — शरीरलाई सञ्चालन गर्ने रिमोट कन्ट्रोल मस्तिष्क हो । आफ्नो दिमागले जे अह्राउँछ, हामी त्यही कार्य गर्छौं । मस्तिष्कमा कुनै समस्या आएन भने हाम्रो दैनिक क्रियाकलापमा सन्तुलन आउँछ । तर गडबडी आए हाम्रो सिङ्गो जीवनमा प्रभाव पर्छ ।

मानसिक स्थिति नै हाम्रोलागि मार्गदर्शक भएको हुनाले यसको महत्त्वबारे जान्नुपर्छ । मानसिक स्वास्थ्यमा के कस्ता तत्त्वले असर पार्छन् भन्ने बारेमा बुझ्यौं भने मानसिक रूपमा स्वस्थ रहने उपाय पनि जान्न सक्छांै । मस्तिष्कमा समस्या आउनुको पछाडि जन्मजात अर्थात आमाको गर्भावस्थादेखि लिएर जन्मपश्चात जुनसुकै उमेर पनि जोडिएको हुनसक्छ । वंशाणुगत रूपमा पनि यो हुनसक्छ । आमाबाबु अथवा अन्य कुनै नातेदारमा यस समस्याको लक्षण देखिए अन्य पुस्तामा सर्न पनि सक्छ । मानसिक अस्वस्थता मानसिक अपांगता निम्त्याउन सक्ने भर्‍याङ हो । त्यसैले हामी यसको गहिराइसम्म पुग्नुपर्छ । 

मानसिक अपांगतालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ । मानसिक अस्वस्थता, बौद्धिक अपांगता र अटिजम । मानसिक अस्वस्थताले जीवनको जुनसुकै मोडमा सताउन सक्छ । बौद्धिक अपांगता र अटिजमचाहिँ धेरैजसो जन्मजात हुनसक्छ । कुनै किसिमको दुर्घटनामा परेर दिमागमा चोटपटक लागे अन्य उमेरमा पनि बौद्धिक अपांगता हुनसक्छ । मानसिक विराम राम्रो औषधी–उपचार पाए वा परिवार, आफन्तजन र साथीभाइको दर्बिलो साथ पाए रोकथाम हुनसक्छ । तर बौद्धिक अपांगता र अटिजमको औषधीद्वारा प्रभावकारी उपचार गर्न सकिँदैन । यस्तो समस्या भएका व्यक्तिहरूलाई जीवनोपयोगी व्यावहारिक सीप र ज्ञान प्रदान गर्न सकिन्छ । 

Yamaha

मानसिक अस्वस्थताका हाँगाबिँगा पनि छन् । चिन्ता, निराशा, गम्भीर मानसिक समस्या, छारेरोग, मस्तिष्क पक्षाघात, समूहमा भएको बेला लड्नु आदि समस्यालाई यस वर्गमा राख्न सकिन्छ । त्यस्तै बढी रक्सी तथा लागूपदार्थको सेवन, अत्यधिक परिश्रम गर्नु, निद्रा नआउनु जस्ता कारणले पनि जीवनको मोडलाई मानसिक अपांगताको कुइनेटोसम्म धकेलिदिन सक्छन् । मानसिक विरामले चरम रूप लिँदै जाँदा मानिसले आत्महत्या गर्न सक्छन् । मानिसमा चिन्ताको तह बढ्दै गएपछि जीवनलाई सकारात्मकभन्दा बढी नकारात्मक तरिकाले हेर्न थाल्छ । कतै खुसी छाएको देख्दैन । नदेखेको कुरा देखेको र नसुनेको कुरा पनि सुनेको भ्रममा पर्छ । एउटा भनाइ नै छ, ‘चिन्ताले चितामा पुर्‍याउँछ ।’ त्यसैले कडा खालको मानसिक विरामीलाई औषधी–उपचार गर्नुका साथसाथै उनीहरूसँगै उनीहरूका अभिभावकलाई मनोसामाजिक शिक्षा दिँदा लाभदायक हुनसक्छ ।

मस्तिष्कमा आएको गडबडीबाट छारेरोग लाग्न सक्छ । जब दिमागमा असाधारण विद्युतीय तरंगले असर गर्छ, तब छारेरोगको लक्षण देखिन सक्छ । बेहोश भएर लड्नु, थरथर काम्नु, मुखबाट फिँज काढ्नु, जिभ्रो टोक्नु, हातखुट्टा अररो हुनु आदि यस्तो बिरामीमा देखिने लक्षण हुन् । नियमित औषधी सेवन गरे यो रोग निको हुनसक्छ । कम्तीमा दुई वर्षसम्म यसको औषधी खानैपर्छ । 

मस्तिष्कमा कुनै किसिमको चोट लागे वा बच्चा जन्मिनुभन्दा अगाडि, जन्मिने क्रममा अथवा जन्मिने बित्तिकै दिमागमा अक्सिजनको कमीले गर्दा गम्भीर खालको असर पुगेको छ भने मस्तिष्क पक्षाघात हुने सम्भावना अधिक हुन्छ । यसले मांसपेशीमा संकुचन पैदा गरेर शारीरिक सन्तुलनलाई अव्यवस्थित तुल्याइदिन्छ । जसले गर्दा दैनिक जीवनका कार्यहरू गर्न अप्ठ्यारो हुन्छ । समग्र जीवनयापन शैलीलाई नै प्रभावित गर्न सक्छ । 

त्यसैले यस्तो हुन नदिन आमाबाबुले सचेतना अपनाउनुपर्छ । 

कुनै–कुनै व्यक्ति मान्छेको भिडभाड भइरहेको बेलामा अर्धबेहोश हुन्छन् । बिरामले छोपेको बेला काम्ने, एक्लै बोल्ने, आफूले लगाएको लुगा च्यात्ने, कपाल तान्ने, दाह्रा किट्ने, घाँटी थिच्ने, बोली बन्द भएर इसाराले मात्रै बोल्ने, हातखुट्टा दह्रो बनाइराख्ने गर्छन् । यस्तो समस्याले एकदेखि अर्को गर्दै अरूलाई पनि सताउन सक्छ । यस्तो लक्षण देखिएको बेला बिरामीलाई बढी चलाउनु–बोलाउनु हुँदैन । विस्तारै शान्त रहन दिनुपर्छ । 

अत्यधिक रक्सी पिउँदा पनि मानसिक अस्वस्थताको जटिल परिस्थिति सिर्जना हुनसक्छ । ड्रग्स र अन्य खालका लागूपदार्थले पनि मानिसको दिमागलाई विकृतिले भरिपूर्ण बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । नसामा फँसेको मान्छेले जसरी पनि आफ्नो आवश्यकता पूर्ति गर्न खोज्छ । यसले उसको मानप्रतिष्ठा, सम्पत्ति, स्वास्थ्यदेखि लिएर जीवनका हरेक पक्षमा अवरोध सिर्जना गरिदिन्छ र अन्त्यमा घर न घाटको बनाएर ज्यानसम्म लिन सक्छ । त्यसैले यस किसिमका रोगहरूको समयमै सही पहिचान गरेर उपचार गर्नसके रोकथाम गर्न सकिन्छ । 

बौद्धिक अपांगता मानसिक अपांगताको अर्को भाग हो । उमेर अनुसारको मानसिक वृद्धि नहुनुलाई यो वर्गमा राख्न सकिन्छ । यो समस्या भएका मानिसहरू जहिल्यै पनि बच्चाको जस्तो व्यवहार गर्छन् । दैनिक क्रियाकलाप सञ्चालन गर्न अरूको सहारा लिनुपर्छ । पढाइ, लेखाइमा पनि अरू बच्चाहरूको भन्दा ढिलो सुधार हुन्छ । हामी बौद्धिक अपांगताको पूर्णतया उन्मूलन त गर्न सक्दैनौं, तर रोकथामचाहिँ गर्न सक्छौं । जन्मिने बित्तिकै बच्चा रोएन भने दिमागमा अक्सिजन पुग्न सक्दैन र समस्या उत्पन्न हुन्छ । त्यसैले स्वास्थ्य संस्थामै बच्चाको जन्म दिनुपर्छ भनेर जनमानसलाई अभिप्रेरित गर्नु अनिवार्य छ । 

मस्तिष्कको नसासम्बन्धी विकासमा समस्या आएर अटिजम हुनसक्छ । आफ्नो बच्चामा अटिजम छ भनेर आमाबाबुले ३ वर्षको उमेरभित्रैमा छुट्याउन सक्छन् । यस्तो समस्या भएका बच्चाहरूले आँखा जुँधाएर कुरा गर्न सक्दैनन् । साथीभाइ बनाएर खेल्न सक्दैनन् । बोलाउँदा प्रतिक्रिया दिन सक्दैनन् । कहिले एकोहोरो रोइरहन्छन् र कहिले हाँसिरहन्छन् । उनीहरूमा राम्रोसँग भाषा विकास हुन सक्दैनन् । कोही–कोही पहिला अलिअलि बोले पनि पछि बोली हराएर जान सक्ने अवस्था आउँछ । त्यसैले आफू कुन अवस्थामा छु भनेर उनीहरूले व्यक्त गर्न सक्दैनन् । अरू सामान्य बच्चाले खेलौनाहरू भताभुङ्ग पारेर राख्छन् भने अटिजम भएका बच्चाले मिलाएर राख्छन् । उनीहरूसँग बोलेर राम्ररी सञ्चार गर्न सकिँदैन, त्यसैले चित्रको माध्यमबाट केही हदसम्म भए पनि ज्ञान आदान–प्रदान गर्न सकिन्छ । शरीरको हरेक क्रियाकलापको सञ्चालक दिमागलाई सही स्वरूपमा राख्न हाम्रो सकारात्मक प्रयासले अहम् भूमिका खेल्न सक्छ । मानसिक रूपमा अस्वस्थ मानिसलाई हेलाहोचो गर्नु हुँदैन । मनोपरामर्शलाई व्यापक बनाउनुपर्छ । आफूलाई मात्र होइन, अरूलाई पनि स्वस्थ बनाउन तत्परताका साथ अघि बढ्न जरुरी छ । 

 

प्रकाशित : श्रावण ६, २०७४ ०९:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अपांगतामैत्री समाजको खाँचो

बालिका थपलिया

हामीलाई थाहा नै छ, व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ । परिवार–परिवार मिलेर समुदाय अनि समाज बन्छ । समाज हाम्रो जीवन स्तरको ऐना हो । अनि समग्रमा हामी मिलेर नै समाजको निर्माण भएको हो । समाज उदाहरणीय छ/छैन भन्ने व्यक्ति र परिवारको संवेदनशीलतामा निर्भर गर्छ ।

समाजलाई सही दिशामा डोर्‍याउन अनेक सूक्ष्म र बृहत तत्त्वले महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । मैत्रीपूर्ण समाजको परिकल्पना र कार्यान्वयन नै असल समाज संरचनाको लागि कोशेढुङ्गा सावित हुनसक्छ । समाजमा रहेका हरेक वर्गलाई समेट्न हाम्रो मनमा मैत्रीपूर्ण भावनाको जागरण हुनु आवश्यक छ । समाजलाई सुन्दर माला बनाउन परिवार–परिवार उस्तै खालका फूल भएर गाँसिँदै आउनुपर्छ ।

अपांगता भएको व्यक्तिको जिन्दगीमा सुधार ल्याउनु सजिलो कार्य होइन । यसका लागि हामीमा अन्तरात्मादेखि नै मैत्रीमय भावनाको जन्म भएमा मात्र अर्थपूर्ण परिवर्तनको नजिक पुग्न सकिन्छ । बालबालिकाको क्षेत्रमा सुधार ल्याउन हामी बालमैत्री बन्नुपर्छ । उनीहरूका समस्या मध्यनजर गरेर सर्वाङ्गीण विकास गर्न हामीमा तन, मन, वचनले उदारवादी भावना जागृत हुनैपर्छ । अझ गरिबीको रेखामुनि परेका, अपांगता भएका बालबालिकाको लागि सकारात्मक विचार राखेर कार्य गर्नु अपरिहार्य छ । बालबालिकामा हुनसक्ने जन्मजात अपांंगता रोकथाम गर्न आमाले टीडी खोप गर्भावस्थामा दुईपटक लगाउनु र गर्भवती भएको ४ महिना लागेपछि, ६ महिनामा, ८ महिनामा र ९ महिना लागेपछि गर्भ जाँच गर्नु अनिवार्य हुन्छ ।

अस्पतालमा बच्चाको जन्म दियो भने बच्चालाई जन्मनासाथ हुनसक्ने धेरै समस्याबाट बचाउन सकिन्छ । बाल्यकालमा हुने क्षयरोग, टिटानस, निमोनिया, दादुरा रुवेला, लहरेखोकी, भ्यागुते रोग, जापानिज इन्सेफलाइटिस, धनुषटङ्कार, हेपाटाइटिस–बी, हेमोफिलस, इन्फलुएन्जा–बी आदि रोगबाट बचाउन बालबालिकालाई जन्मिने बित्तिकै सुरु गरेर ६ हप्ता, १० हप्ता, ९ महिना, १२ महिना हुँदै १५ महिनासम्म खोपको सुविधा प्रदान गर्नुका साथै पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाउनु अनिवार्य छ । बच्चा ६ हप्ता, १० हप्ता र १४ हप्ताको हुँदा पोलियो थोपा पनि छुटाउनु हुँदैन । खोप अभियान पनि बाल्यकालमा हुने अपांगताबाट बचाउन छुटाउनै नमिल्ने पाटो हो ।

बच्चालाई कुपोषणबाट बचाउन पोषिलो खानेकुरा खुवाउन जोड दिनुपर्छ । हामी मध्ये धेरैजसो गरिबीको रेखामुनि छौं । यसले कुपोषण निम्त्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । कुपोषण अपांगता निम्त्याउन मुख्य कारकतत्त्व बन्न सक्छ । यसका लागि परिवारले मात्र नभई समाज अनि राज्यले संवेदनशील बन्नुपर्ने हुन्छ । आर्थिक स्थिति कमजोर भएकालाई आय आर्जनमूलक कार्यमा सहभागी हुने अवसर प्रदान गर्नुपर्छ । बाल्यावस्था जीवनको पहिलो खुड्किलो भएकाले जीवनलाई अर्थपूर्ण बनाउन सुरुवातको चरणमै सचेतना अपनाउनुपर्ने हुन्छ । विद्यालय प्रत्यक्ष रूपमा बालबालिकासँग जोडिएको हुनाले उनीहरूले प्रयोग गर्ने डेस्क, बेन्च, धारा, बाटो आदि बालमैत्री अझ अपांगता भएका विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर निर्माण गर्दा उनीहरूलाई शिक्षा आर्जन गर्न सहज हुन्छ ।

अपांगता क्षेत्र हाम्रो समाजका पिछडिएका क्षेत्र मध्येमा पर्छ । अपांगता भएकाहरूलाई हेर्ने हाम्रो नजर विरोधाभासपूर्ण छ । उनीहरूलाई प्रयोग गर्ने गरेको अपमानजनक सम्बोधन अब गर्न पाइने छैन । अपाङ्गता पूर्व जन्मको पाप हो । अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्‍याउन सक्दैन भन्ने हाम्रो गलत अवधारणा छ । त्यसैले हामीले विभिन्न किसिमका अपांगता भएकाहरूलाई विभिन्न नाम राखिदिएका छौं । उदाहरणका लागि आँखा नदेख्नेलाई अन्धो, कान नसुन्नेलाई बहिरो, खुट्टा लच्काउनेलाई फ्याङ्टो, मानसिक अपाङ्गता भएकालाई बौलाहा अथवा पागल, ओँठ फाटेकोलाई खँुडे, बैसाखी टेक्नेलाई लङ्गडो, हात नहुनेलाई डुँढो, उठेर हिँड्न नसक्ने सुतिरहने समस्या भएकालाई साँपे, होचा व्यक्तिलाई वामपुड्के, बोल्न नसक्नेलाई लाटो, ढाडमा मासु उठेकोलाई कुम्ले आदि । रमेश, रमा भनेझैं उनीहरूको आफ्नै नाम छ भन्ने सोच्दैनौं । कुन शब्दले उनीहरूलाई धेरै सताउन सक्छ, तिनै शब्दमात्र सोचिरहन्छांै र मौका पर्नासाथ मुटुमा प्रहार गरिहाल्छौं । यो काम अत्यन्त अमानवीय छ । अब यस्ता शब्दहरू प्रयोग गर्न नपाइने भनी नियम बनिसकेको छ । कसैलाई पनि कसैको मानहानि गर्ने अधिकार छैन । अर्काको आत्मसम्मानलाई कुल्चिएर जथाभावी बोल्नु मानवता विरुद्धको पाप हो ।

अपांगता भएकाहरू आफूमा रहेको कमजोरीको कारण समाजको सामुन्ने एक्लिएको महसुस गर्छन् । कसैले केही भन्ला कि भनी सामाजिक कार्यमा पनि हिँड्न डराउँछन् । उनीहरूलाई यो पीडाको संसारबाट छुटकारा दिलाउन हाम्रो दृष्टिकोण फराकिलो हुनुपर्छ । उनीहरूलाई देखेर छि:छि: र दूरदूर गर्नुको सट्टा आत्मीय भावनाले प्रेम गर्दा उनीहरूलाई आफू पनि केही गरेर देखाउन आत्मबल प्राप्त हुन्छ । यो व्यक्तिमा अपांगता हुने र त्यो व्यक्तिमा नहुने भनी कतै पनि लेखिएको हुँदैन ।

जिन्दगीको कुनै मोडमा हामी पनि यसको सिकार हुन सक्छौं, जसको कुनै सुनिश्चितता छैन । त्यसैले समुदायमा आधारित पुन:स्थापनाको अवधारणालाई बुझेर जन्मजात अपांगता रोकथाम गर्नुका साथै अपांगता भएकाहरूलाई उनीहरूकै समाजमा सक्षम बनाउन हाम्रो गम्भीरता सहितको कदम उनीहरूका लागि जीवनको सकारात्मक परिवर्तनको आयाम बन्न सक्छ । बुद्धिजीवी वर्गले समाजमा यसबारे जनचेतना फैलाउन प्रभावकारी नेतृत्व गर्न सक्छन् ।

हामी अपांगता भएकाहरूको शत्रु नबनेर उनीहरूको मित्रुको रूपमा उभिन सक्यौं भनेमात्र हाम्रो समाज अपांगताका लागि मैत्रीपूर्ण बन्न सक्छ । मुख्यतया घरको वातावरण भौतिक तथा भावनात्मक रूपमा अपांगतामैत्री हुनुपर्छ र विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक ठाउँ, बाटोघाटो, धार्मिक स्थल पनि यही विचारमा आधारित हुनुपर्छ । अपांगता भएकालाई अवरोध गर्ने तत्त्वहरूलाई अनुसन्धान गरेर कसरी सहजीकरणको स्थिति सिर्जना गर्न सकिन्छ भन्ने परिकल्पनाले अपांगतामैत्री समाज रचना गर्न सहयोग पुग्छ ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT