उकुस–मुकुस राजधानी

रुकु कार्की

काठमाडौँलाई फोहोर प्यारो भएको छ। धुलो–धुवाँ, हिलोले सहर ढाकेको छ। वातावरण धेरै प्रदूषणयुक्त छ।

उकुस–मुकुस राजधानी

राजधानी जस्तो ठूलो ठाउँ स्वच्छ र सुन्दर हुनुको साटो उल्टै दुर्गन्धमय र कुरूप हुँदै गइरहेको छ। अटाइनसक्नुको बसोबासले जनजीवन अस्तव्यस्त छ। उपत्यकाभित्र करिब दुई–तीन लाख गुड्ने सवारी साधनले काठमाडाँै उपत्यकाभित्रको हावालाई दूषित बनाएको छ। यस्तो प्रदूषित हावा धेरै बेरसम्म सहरभरि कालाम्मे भएर रुमल्लिएर बस्छ। दिसा, पिसाब र डिजेल, पेट्रोलका गन्धले काठमाडाँैवासीले प्रतिदिन नारकीय वातावरण भोग्नु परिरहेको छ। सहरभरि आँखा हेर्न नहुने भइसक्यो, सास फेर्न नसक्ने भइसक्यो। चौबाटो, दोबाटोका सहर र गल्लीभित्रका बाटाहरू साँगुरिएर हिँडडुल गर्दा मानिस अटेस–मटेस भइरहेका छन्। यता हिँड्यो यतै ठोक्किन्छ, उता हिँड्यो उतै ठोक्किन्छ।

सडक व्यस्त छ, त्यत्तिकै अव्यवस्थित पनि छ। वाग्मती पुल नजिकै पुग्छु, मोटरगाडीको धुलो र धुवाँबाहेक केही छैन, दायाँ र बायाँ गुडिरहेका मोटरबाइकहरू मेरो छेउमै खुट्टा किचिदिउँलाझंै गर्छन्, झसङ्ग भइरहनुपर्ने अवस्था छ। ट्राफिक जाम छ। मोटरबाइक, टेम्पु, माइक्रोबस लस्कर लागेर रोकिएका छन्। माइक्रोबस र टेम्पुमा सिट सीमित छ। भित्र सबैले आरामसँग बस्न पाएका छैनन्। सिट गनेर यात्रुहरू बसे पनि हुन्थ्यो, तर भिडमा च्यापिएर पसिना पुछिरहेका छन्। आफ्नो नजरलाई वाग्मती नदीतिर फ्याँक्छु। दुर्गन्धले भरिएको छ, नदी। साँच्चै वाग्मती फोहोर–मैलामा लुकेको प्रतीत हुन्छ। फोहोरमाथि फोहोर खप्टिँदा पानी नै कालो देखिन्छ। एक दिन होइन, दुई दिन होइन, सधैँ गनाउने। हैजा लागेर मरिन्छ कि क्या हो† धुलो र धुवाँको साम्राज्यमा अहिले नै खोकी बढेर स्याँस्याँ बढ्ला जस्तो हुन्छ। सायद कारागार र नर्कमा भोग्ने सजाय यस्तै हुन्छ होला भन्ने अड्कल काट्छु।

फेरि आफ्नै गतिमा हुनहुनाउँदै सवारी साधनहरू गुड्न हाँकिएका हुन्छन्, जेब्रा क्रसिङमा समेत। सडक काट्न सकिन्न। त्यसै अलमल परिन्छ। पुल मुनिको डङ्गुर–डङ्गुर फोहोरको थुप्रो देखेर म आत्तिइसकेँ, पोलिथिन ब्यागभित्र कसिङ्गरको थुप्रो, के–के हुन् के–के† यता हेर्छु, उता हेर्छु, आइरहेका–गइरहेका मान्छे–मान्छे देख्छु। थरी–थरीका मान्छेका थरी–थरीका हिँडाइ छन्। आकाश खुला छ, ओत छैन। भिडमा मान्छेको आगमन, प्रत्यागमन र एउटा विलयन छ। 

काठमाडौँको दर्शनीय स्थल सुनधारा, सहिदगेट, रत्नपार्क, जमल, वीर अस्पताल– जता पुगे पनि धुलो, धुवाँ र होहल्ला छ। ‘ओहो† काठमाडौँ सहर त मानिसहरूले भरिएर टनाटन भएछ। सवारी साधनहरूले बाटो पाएका छैनन्। सडकका दायाँ–बायाँ खुद्रा व्यापारीहरूले पसल खोलेर आगन्तुकहरूलाई हिँंड्न नहुनेगरी ठाउँ अवरुद्ध गरेका छन्। यस्तो पनि हुँदोरहेछ। म कल्पना गर्छु। काठमाडाँै सहर राजनीतिक दङ्गाले ध्वस्त भइसक्यो। सिंहदरबार र संसद् भवनमा उकुच पल्टिसकेको छ। सुरक्षाकर्मी र प्रहरीहरूले बुट बजार्ने मैलो र बूढो टुँडिखेल, पहिलेदेखि अहिलेसम्म जस्ताको तस्तै छ। त्यसलाई क्यान्सर रोगले समातेको छ। लहलह हरियो दुबोमा मौलाउनुपर्ने ठाउँमा, प्रत्येक दिन ऐँजेरु पलाइरहेका छन्। धुलो र धुवाँको राजधानी काठमाडौँ सहरमा नयाँ माहोल, नयाँ घर, नयाँ जीवन बिताउन, सफा लगाउन र आरामसँग जीवन बिताउन पचहत्तरै जिल्लाबाट आएर मानिस बसोबास गरेका छन्।

जुन बेला (अठ्तीस–चालीस सालतिर) मैले काठमाडाँै बस्ने कल्पना गरेको थिएँ, त्यतिबेला यहाँ प्रदूषण थिएन। काठमाडौँ आइपुग्दा मलाई अर्कै संसारमा आइपुगेझैँ लाग्थ्यो। अहिले ती सपनाजस्तै भइसके। आज ती सोचाइ सबै धुलो र धुवाँमा परिणत भए। यो अमरावती शिवको पुरी, अलकापुरी कान्तिपुरी नगरी जसलाई पहिले नेपाल खाल्टो पनि भनिन्थ्यो, त्यतिबेला प्रदूषणरहित थियो। आजकाल काठमाडौँलाई कैद गरिएको छ, खालि पैसा भए पुग्छ काठमाडौँलाई, अरू केही चाहिँदैन। 

प्रकाशित : श्रावण १२, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?