उत्तरपुस्तिका हराउँछन् कसरी?

लीला लुइँटेल

विश्वविद्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा एक प्रकारको श्रद्धा रसाउन थाल्थ्यो, उहिले। तर अहिले हाम्रो मानसपटलमा निर्मित यस शब्दको बिम्बात्मक स्वरूप परिवर्तन हुँदै गरेको अनुभूति हामीले गरेको हुनुपर्छ।

मानिस अनेक सपना बोकेर विश्वविद्यालयमा भर्ना हुन्छन्, बडो कष्टसाथ मिहिनेत गरेर पढ्छन्, अनि परीक्षा दिन्छन्। यसमा अभिभावकका पीडाको पाटो अर्कै छ। यसरी परीक्षा दिएपछि परीक्षाफल तयार हुने बेलाका अनेक तिगडम र खेलका कथाहरू पनि बेलाबखत अनौपचारिक रूपमा धेरैले सुनेकै हुनुपर्छ। बेला–बेला सुनिने यस्ता अनेक कथा ‘ओपन सेक्रेट’का रूपमा रहेका देखिन्छन्। विश्वविद्यालयको परीक्षामा हुने यस्ता ओपन सेक्रेट बाहेक प्रशस्तै अन्य खाले अपराध एवं नाटकहरू पनि विद्यार्थीले खुलेआम सुन्ने–भोग्ने गरेका छन् र ती सञ्चार माध्यममा समाचार पनि बन्ने गर्छन्। हरेक वर्षजस्तो कुनै न कुनै विषयका थुप्रै उत्तर–पुस्तिकाका पोका हराएको कुराले सञ्चार माध्यममा स्थान पाइरहेको हुन्छ। यसरी अनेक पटक उत्तर–पुस्तिकाको पोका हराउँछ 

कसरी र यस्ता पोका हराउनुमा जिम्मेवार को हुने ? मैले जाने–बुझेसम्म विश्वविद्यालय अन्तर्गतका परीक्षा समाप्त भइसकेपछि परीक्षा नियन्त्रण कार्यालयले अधिकांश उत्तर–पुस्तिका सम्बन्धित विषयका शिक्षकको घरमै पठाउँछ। यसरी पठाउँदा पनिकाले आफ्नै गाडीमा जिम्मेवार चालक एवं कर्मचारीको साथ पठाउने गरेको मेरो जानकारीमा छ। शिक्षकको घरमा पुर्‍याइसकेपछि निजले उत्तर–पुस्तिका बुझेको भर्पाइसमेत गरिएको हुन्छ। केही समयपछि उत्तर–पुस्तिका परीक्षण गरिसकेको सूचना सम्बन्धित शिक्षकले पनिकालाई दिएपछि उही चालक तथा कर्मचारी उक्त पोको लिन शिक्षकको घरमा जान्छन्। पनिकाले यसरी जिम्मेवार व्यक्तिका साथ गाडीमा ओसार–पसार गर्दा हराउने स्थिति पटक्कै हुँदैन। अर्काेतिर भर्खर सेवामा प्रवेश गरेका कतिपय शिक्षकचाहिँ स्वयं पनिका गएर उत्तर–पुस्तिकाको पोको लिएर आउँछन्। यसरी लिन जाने शिक्षकहरू यति सजग हुन्छन् कि उनीहरूबाट यस्ता उत्तर–पुस्तिका हराउने सम्भावना पनि हुँदैन। 
उत्तर–पुस्तिका हराउने व्यक्तिमा अधिकांशत: बूढा–पुराना नै रहेको जानकारी पाइन्छ। 

Yamaha

गतवर्ष मेरा परिचित एक जनाका कोठाबाट उत्तर–पुस्तिका हराएको समाचार बाहिरिएको थियो। यसबारे उनीसँग जिज्ञासा राख्दा कापी परीक्षण गरेर प्राप्ताङ्कको सूचीसमेत तयार गरिएको अवस्थामा उनको कोठाको टेबुलमाथि राखिएको उत्तर–पुस्तिकाको पोको हराएको भन्ने मौखिक जानकारी पाइयो। सुन्दै हास्यास्पद लाग्ने कुरा, कोठामा चोर पसेको भए उसको नजर कापीको पोकोतिर नभएर अरू नै मूल्यवान वस्तुतिर जान्थ्यो होला। एक पोको कापी चोर्न त्यो चोर उनको कोठामा पसेन होला। ल, भैगो, उनलाई बदनाम गराउने अभिष्टले चोर कोठामा पसेर कापीको पोको लिएर हिँडेछ रे, तर त्यतिबेला कसैले पनि उनले परीक्षण गरेको कापीको पोको यसरी बेवारिसे अवस्थामा भेटियो भनेर उनलाई बदनाम गर्ने प्रयास गरेको समाचार पनि सार्वजनिक जानकारीमा आएन। यसैले यस्ता गैरजिम्मेवार एवं हास्यास्पद कुतर्क गरेर आफूलाई जोगाउने असफल प्रयास गर्ने व्यक्तिको नैतिक जिम्मेवारी हुन्छ कि हुँदैन? 

उत्तर–पुस्तिका हराएको समाचारका सन्दर्भमा कसै–कसैले सम्बन्धित व्यक्तिका परिवारले खाली सिसी पुराना कागज सङ्कलन गर्नेलाई दिएको हुनसक्छ भनेर अनुमान गरेको पनि पाइन्छ। तर त्यसमा पनि त्यति सत्यता देखिन्न। किनकि घरपरिवारका व्यक्ति शिक्षित भए यस्ता काम गर्दै गर्दैनन्, अनि परिवारका अशिक्षित सदस्य त झन् ‘जाने कागत, नजाने क्या गत?† भन्दै घरमा भएका कुनै पनि कागजपत्र कुनै पनि हालतमा चलाउँदैनन्। अझ ती शिक्षकको त परिवार नै पनिकामा जागिरे भएकाले यस्तो स्थिति सिर्जना हुने कुरै भएन। 

एउटा विद्यार्थीले कतिसम्म कष्ट बेहोरेर उच्चशिक्षा अध्ययन गरेको हुन्छ भन्ने कुरा सबैले भोगेकै हो। अर्काेतिर सन्तानलाई उच्चशिक्षा दिलाएर अनेक सपनाको पर्खाइमा रहेका अभिभावक कतिसम्म किचिएका र पिल्सिएका हुन्छन् भन्ने कुरा यहाँ दोहोर्‍याउनु पर्दैन। एक त हाम्रो विश्वविद्यालयको परीक्षा नै समयमा नहुने, परीक्षा भएपछि परीक्षाफल समयमा प्रकाशित नहुने अनि बल्ल–बल्ल प्रकाशित भएको परीक्षाफलको घडीमा उत्तर–पुस्तिका हराएको समाचार बाहिरिँदा विद्यार्थी एवं अभिभावकले भोग्नुपर्ने भौतिक एवं मानसिक पीडा पनि हामी सबैले अनुभूत गर्न सक्छौं। यस खाले संवेदनशीलतालाई सम्बन्धित शिक्षक तथा प्रशासनले अनुभूत गरेको भए यो स्थिति आउने थिएन। यसरी परीक्षाफल प्रकाशन हुने बेला उत्तर–पुस्तिका हराएको समाचार प्रकाशन गरी विद्यार्थी र अभिभावकको आशा र सपनामा आगो लाग्नेमात्र नभई कसैको प्राणै जानसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न। यस्तो संवेदनशील पक्षमा पनि गम्भीर भएर आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने यस्ता गैरजिम्मेवारहरूलाई गुरु भनेर सम्मान गरिरहनु उचित हुन्छ कि हुँदैन? 

कुनै पनि नागरिकको अत्यन्त संवेदनशील पक्षसँग गाँसिएका यस्ता अनैतिक क्रियाकलापमा संलग्नलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउनु आवश्यक पनि देखेको पाइँदैन। यस खालका करतुत एवं जघन्य अपराधलाई हल्काफुल्का लिनुले यस्ता अपराधप्रति सम्बन्धित प्रशासन गम्भीर नभएको पुष्टि हुँदैन र? होइन भने त्यस्ता अपराधीलाई सार्वजनिक गर्दै कानुनको दायरामा ल्याएर थोरैमात्र भए पनि सजाय दिए पटक–पटक यसरी उत्तर–पुस्तिका हराएको समाचार कसैले पनि पुन: पढ्नु पर्दैनथ्यो कि? उच्च शिक्षाको अभिलाषी एवं देशकै कर्णधार युवा वर्ग कहिलेसम्म यस्ता अपराधबाट पीडित हुनुपर्ने हो? 

Esewa Pasal

प्रकाशित : श्रावण १२, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उकुस–मुकुस राजधानी

रुकु कार्की

काठमाडौँलाई फोहोर प्यारो भएको छ। धुलो–धुवाँ, हिलोले सहर ढाकेको छ। वातावरण धेरै प्रदूषणयुक्त छ।

राजधानी जस्तो ठूलो ठाउँ स्वच्छ र सुन्दर हुनुको साटो उल्टै दुर्गन्धमय र कुरूप हुँदै गइरहेको छ। अटाइनसक्नुको बसोबासले जनजीवन अस्तव्यस्त छ। उपत्यकाभित्र करिब दुई–तीन लाख गुड्ने सवारी साधनले काठमाडाँै उपत्यकाभित्रको हावालाई दूषित बनाएको छ। यस्तो प्रदूषित हावा धेरै बेरसम्म सहरभरि कालाम्मे भएर रुमल्लिएर बस्छ। दिसा, पिसाब र डिजेल, पेट्रोलका गन्धले काठमाडाँैवासीले प्रतिदिन नारकीय वातावरण भोग्नु परिरहेको छ। सहरभरि आँखा हेर्न नहुने भइसक्यो, सास फेर्न नसक्ने भइसक्यो। चौबाटो, दोबाटोका सहर र गल्लीभित्रका बाटाहरू साँगुरिएर हिँडडुल गर्दा मानिस अटेस–मटेस भइरहेका छन्। यता हिँड्यो यतै ठोक्किन्छ, उता हिँड्यो उतै ठोक्किन्छ।

सडक व्यस्त छ, त्यत्तिकै अव्यवस्थित पनि छ। वाग्मती पुल नजिकै पुग्छु, मोटरगाडीको धुलो र धुवाँबाहेक केही छैन, दायाँ र बायाँ गुडिरहेका मोटरबाइकहरू मेरो छेउमै खुट्टा किचिदिउँलाझंै गर्छन्, झसङ्ग भइरहनुपर्ने अवस्था छ। ट्राफिक जाम छ। मोटरबाइक, टेम्पु, माइक्रोबस लस्कर लागेर रोकिएका छन्। माइक्रोबस र टेम्पुमा सिट सीमित छ। भित्र सबैले आरामसँग बस्न पाएका छैनन्। सिट गनेर यात्रुहरू बसे पनि हुन्थ्यो, तर भिडमा च्यापिएर पसिना पुछिरहेका छन्। आफ्नो नजरलाई वाग्मती नदीतिर फ्याँक्छु। दुर्गन्धले भरिएको छ, नदी। साँच्चै वाग्मती फोहोर–मैलामा लुकेको प्रतीत हुन्छ। फोहोरमाथि फोहोर खप्टिँदा पानी नै कालो देखिन्छ। एक दिन होइन, दुई दिन होइन, सधैँ गनाउने। हैजा लागेर मरिन्छ कि क्या हो† धुलो र धुवाँको साम्राज्यमा अहिले नै खोकी बढेर स्याँस्याँ बढ्ला जस्तो हुन्छ। सायद कारागार र नर्कमा भोग्ने सजाय यस्तै हुन्छ होला भन्ने अड्कल काट्छु।

फेरि आफ्नै गतिमा हुनहुनाउँदै सवारी साधनहरू गुड्न हाँकिएका हुन्छन्, जेब्रा क्रसिङमा समेत। सडक काट्न सकिन्न। त्यसै अलमल परिन्छ। पुल मुनिको डङ्गुर–डङ्गुर फोहोरको थुप्रो देखेर म आत्तिइसकेँ, पोलिथिन ब्यागभित्र कसिङ्गरको थुप्रो, के–के हुन् के–के† यता हेर्छु, उता हेर्छु, आइरहेका–गइरहेका मान्छे–मान्छे देख्छु। थरी–थरीका मान्छेका थरी–थरीका हिँडाइ छन्। आकाश खुला छ, ओत छैन। भिडमा मान्छेको आगमन, प्रत्यागमन र एउटा विलयन छ। 

काठमाडौँको दर्शनीय स्थल सुनधारा, सहिदगेट, रत्नपार्क, जमल, वीर अस्पताल– जता पुगे पनि धुलो, धुवाँ र होहल्ला छ। ‘ओहो† काठमाडौँ सहर त मानिसहरूले भरिएर टनाटन भएछ। सवारी साधनहरूले बाटो पाएका छैनन्। सडकका दायाँ–बायाँ खुद्रा व्यापारीहरूले पसल खोलेर आगन्तुकहरूलाई हिँंड्न नहुनेगरी ठाउँ अवरुद्ध गरेका छन्। यस्तो पनि हुँदोरहेछ। म कल्पना गर्छु। काठमाडाँै सहर राजनीतिक दङ्गाले ध्वस्त भइसक्यो। सिंहदरबार र संसद् भवनमा उकुच पल्टिसकेको छ। सुरक्षाकर्मी र प्रहरीहरूले बुट बजार्ने मैलो र बूढो टुँडिखेल, पहिलेदेखि अहिलेसम्म जस्ताको तस्तै छ। त्यसलाई क्यान्सर रोगले समातेको छ। लहलह हरियो दुबोमा मौलाउनुपर्ने ठाउँमा, प्रत्येक दिन ऐँजेरु पलाइरहेका छन्। धुलो र धुवाँको राजधानी काठमाडौँ सहरमा नयाँ माहोल, नयाँ घर, नयाँ जीवन बिताउन, सफा लगाउन र आरामसँग जीवन बिताउन पचहत्तरै जिल्लाबाट आएर मानिस बसोबास गरेका छन्।

जुन बेला (अठ्तीस–चालीस सालतिर) मैले काठमाडाँै बस्ने कल्पना गरेको थिएँ, त्यतिबेला यहाँ प्रदूषण थिएन। काठमाडौँ आइपुग्दा मलाई अर्कै संसारमा आइपुगेझैँ लाग्थ्यो। अहिले ती सपनाजस्तै भइसके। आज ती सोचाइ सबै धुलो र धुवाँमा परिणत भए। यो अमरावती शिवको पुरी, अलकापुरी कान्तिपुरी नगरी जसलाई पहिले नेपाल खाल्टो पनि भनिन्थ्यो, त्यतिबेला प्रदूषणरहित थियो। आजकाल काठमाडौँलाई कैद गरिएको छ, खालि पैसा भए पुग्छ काठमाडौँलाई, अरू केही चाहिँदैन। 

प्रकाशित : श्रावण १२, २०७४ ०८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT