झन् बबाल

विमल निभा

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यसुस्ततालाई लिएर अनेकन सवाल उठिरहेका छन्। यसको समयानुकूल जवाफ आउँदै–जाँदै गर्ला नै। अँ, यही सवाल/जवाफ बीचबाट मेरो भन्नु के हो भने हाम्रो प्रधानमन्त्रीज्यू सुस्त नभएर चुस्त भएका भए के हुन्थ्यो?

झन् बबाल

‘यो त बबाल सवाल भयो नि कविजी।’ मैले यही प्रश्न गुरुसमक्ष राख्दा उनले भने।

‘अब जे भए पनि यो एक सवाल त हो नि गुरु।’

‘त्यो त हो, तर यसको जवाफ म...।’ गुरुले अनकनाउँदै भने, ‘यो बबाल सवालको जवाफ मसँग छैन, कविजी।’

एक प्रकारले प्रधानमन्त्री शेरबहादुर देउवा यसरी ज्यास्ती नै सुस्त भएर ठिकै भएको छ। केही गरी विलकुलै चुस्त भएका भए ठूलो बबाल दृश्यपटलमा उपस्थित हुने थियो। यसलाई एक समसामयिक उदाहरणसहित भन्ने हो भने उनले समयमा आफ्नो अध्यक्षता सहितको मन्त्रीमण्डलको विस्तार नगरेर के नराम्रो गरे? याद रहोस्, नेपाली कांग्रेस पार्टीका वर्तमान सभापति शेरबहादुर देउवा एक पटके प्रधानमन्त्री हुन्। उनी विभिन्न कालखण्डमा नेपाली कांग्रेस पार्टीका तर्फबाट पटक–पटक प्रधानमन्त्री भइसकेका छन्। उनको दोस्रो (अथवा तेस्रो) प्रधानमन्त्रीत्व कालमा मन्त्रीहरूका संख्या झन्डै गोटा सय पुगिसकेको थियो। अहिले ठ्याक्कै गणना गरेर भन्न आएन मलाई। यही अस्सी–एकासीको अंकमा हुनुपर्छ। जम्माजम्मी पचासी हो कि? अब जे भए पनि यसलाई हेरेर हालको देउवा सुस्ततालाई ‘क्याबात’ भन्न किन कन्जुस्याइँ गर्ने? मेरो भन्नुको तात्पर्य के हो भने यसपालि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा उसरी नै चुस्त भएका भए त गजबै हुन्थ्यो † याने देउवा मन्त्रीहरूका कुल संख्याले सिंगो सयकडा पार गर्न के बेर लाग्थ्यो !

‘कविजी, तिमीले फेरि बबाल कुरा गर्‍यौ।’ मलाई गुरुले भने, ‘हेर, अहिले प्रधानमन्त्री देउवाको मन्त्रीमण्डल उति ठूलो छैन त !’

‘म पनि यही त भनिरहेको छु गुरु।’ मैले भनँें, ‘के यो सबै उनको चिरपरिचित सुस्तताको स्वाभाविक उपज होइन र?’

‘फेरि बबाल कुरा कविजी।’

‘यो बबाल कुरा होइन गुरु।’

यो चौथो पटकको प्रधानमन्त्री हुनुभन्दा अगावै अर्थात् अप्रधानमन्त्रीय बेलामा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा पटक्कै सुस्त थिएनन्। यसको सोझो अर्थ के हो भने उनी चुस्त थिए। त्यो प्रशस्त चुस्तताको ठोस प्रमाणस्वरूप उनले प्रहरी डिपार्टमेन्टको ठूला–ठूला प्रहरी हाकिमहरूका आवश्यक–अनावश्यक सरुवा–बढुवामा देखाएको अतिरिक्त अभिरुचिलाई सहजै अघि सार्न सकिन्छ। यतिले पुगेन भने लोकतन्त्रको एक सबल खम्बा भनिएको न्यायालयमा उनको विलकुलै अस्वाभाविक ‘हातहरूलाई’ पनि उत्तिकै स्मरणीय रहेको छ। के तत्कालीन प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सरकारी पार्टनरसिपमा खुल्लमखुल्ला प्रदर्शित महाअभियोगरूपी शेरबहादुरीय ‘चुस्तता’लाई चटक्कै बिर्सन सकिन्छ? यही सन्दर्भमा मेरो एउटा अर्काे सवाल के हो भने त्यस बखतका सर्वाेच्च न्यायालयका प्रधानन्यायाधीश सुशीला कार्कीलाई ‘महाअभियोग’ किन लगाइएको हो? र यसको पुरक प्रश्न यस्तो पनि हुनसक्छ– ल, महाअभियोग त लगाइयो, लगाइयो, तत्पश्चात त्यसै–त्यसै अकारण फिर्ता किन लिइयो? सम्भवत: यो सबै उनको जबर्जस्त ‘चुस्तता’को फलस्वरूप भएको हो। होइन र? मलाई यस प्रकारको प्रधानमन्त्री हँुदा तथा नहुँदाको उनको समानप्राय: ‘चुस्तता’सँग असाध्यै डर लाग्छ। र यसको कारण के हो भने यो देउवा मार्का ‘चुस्तता’ दोहोरिएमा कतै सांसदहरूलाई बैंकक भगाइएको काण्ड, पजेरो किन्न माननीयहरूलाई भन्सार छुट दिएको काण्ड, सांसदहरूका तलब र भत्ता ह्वात्तै बढाइएको काण्ड आदि धारावाहिक महाकाण्डहरू पुन: शक्तिशाली भएर सतहमा आउने त होइन?’
 
‘कविजी, तिम्रो कुरा मिल्दै मिलेन नि !’

‘के मिलेन गुरु?’

‘तिमी अखबार–सखबार पढ्दैनौ?’

‘किन, के भयो गुरु?’

‘हाम्रा प्रधानमन्त्री देउवाले भर्खरै चुस्त भएर मन्त्रीहरू थपेका छन्।’ गुरुले भने, ‘तिमीलाई नयाँ कुरा केही थाहा छैन।’

‘त्यसो भए हाम्रा सुस्त प्रधानमन्त्री शेरबहादुर देउवाको चुस्तता साँच्चिकै जागृत भएको हो त?’ मैले भनेँ, ‘यो त झन् बबाल भयो गुरु।’

प्रकाशित : श्रावण १४, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?