२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

यसरी सुधारौँ नेपाली

अनन्त वाग्ले

एसईई परीक्षाको नतिजामा नेपाली विषयको कमजोर अवस्था सार्वजनिक भएसँगै यसमाथि विविधखाले बहस सुरु भएको छ। नेपाली भाषा र शैक्षिक जगतमा यसले एउटा तरङ्ग ल्याइदिएको छ।

यसरी सुधारौँ नेपाली

वास्तवमा आफ्नै राष्ट्रभाषामा सर्वाधिक कमजोर नतिजा देखिनु एक किसिमको राष्ट्रिय लज्जाकै विषय हो। अनुसन्धानहरूबाट प्रमाणित भएको छ कि भाषामा अब्बल विद्यार्थीले अरू सबै विषयमा राम्रो गर्न सक्छन्। तर यस नतिजाले भने अरू विषयमा राम्रो विद्यार्थी नेपाली भाषामा कमजोर रहेको उल्टो सन्देश दिएको छ। त्यसो त यसको मुख्य कारक हाम्रा खासगरी निजी विद्यालय तथा अभिभावकको अंग्रेजी मोह नै हो। विश्व बजारमा बिक्ने प्रतिस्पर्धाका कारण रहर या बाध्यताले अंग्रेजी मोह जति नै बढे पनि नेपालीमा पनि हाम्रा नयाँ पुस्ता अब्बल हुनु जरुरी छ। यो एउटा भाषाको मात्र नभएर राष्ट्रको प्रतिष्ठा जोडिएको विषय पनि हो। यसर्थ नेपाली सुधार्न सकिने केही बुँदा यसप्रकार छन् :

पढाइ केन्द्रित शिक्षण : सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका मुख्य सीप भए पनि हाम्रो परीक्षा प्रणाली अद्यापि लेखाइमा आधारित छ। लेखाइ भाषिक सीपमा सबैभन्दा उच्चतम हो। लेखाइ राम्रो हुन पढाइ राम्रो चाहिन्छ। सानो कक्षामा पढाइमा हुने कमजोरीले ठूला कक्षासम्म पुग्दा पनि हाम्रा बालबालिकाको लेखाइसमेत कमजोर रहन्छ। त्यसैले साना कक्षामा खासगरी तीन कक्षाभित्रै बालबालिकालाई पढ्ने सीप तथा पढ्ने बानी हस्तान्तरण गर्न सकियो भने उनीहरूमा चाँडै स्वतन्त्र पाठक बन्ने सक्षमता विकास हुन्छ। स्वतन्त्र पाठक हुन उनीहरूमा कुनै पनि पाठ शुद्ध, गति र अभिव्यक्तिसाथ पढ्ने क्षमता चाहिन्छ। यस्तो क्षमता विकास भयो भने नि:सन्देह बालबालिका आफूलाई मनपरेको पुस्तक, कथा या पाठ पढ्न आफैँ अघि सर्छन्। यसबाट पठन संस्कारका साथै तिनको लेखन सीप विकास हुन्छ। कुनै पनि शब्द वा वाक्य लेख्दा त्यसमा आउने प्रत्येक वर्ण या मात्रा पहिले दिमागमा आउँछ।

भाषा शिक्षणमा पहिले वर्णमा आधारित शैक्षणिक प्रणाली प्रचलनमा थियो। यसले अक्षर चिनारीलाई प्राथमिकता दिन्थ्यो। अक्षर अर्थात् वर्ण हुँदै शब्द, वाक्य, अनुच्छेद र पाठ सिकाइ क्रमश: गराइन्थ्यो। अलिक पछि बालबालिकाले पहिले सन्देश या सिङ्गो पाठ बुझ्नुपर्छ भन्ने मान्यतामा आधारित सम्पूर्ण भाषा शिक्षण विधि शिक्षाशास्त्रीहरूले स्थापित गरे। अक्षर, शब्द चिन्ने कुरा आफसेआफ हुँदै जान्छ भन्ने यसको अभिप्राय थियो। फेरि केही दशकपछि वर्णमा आधारित र सम्पूर्ण भाषामा आधारित दुवै प्रणालीका राम्रा पक्ष समेटेर सन्तुलित प्रणाली प्रयोगमा ल्याइयो। पछिल्लो समय सन्तुलित प्रणालीको पनि उत्तम विकल्पका रूपमा पाँच तत्त्वमा आधारित शैक्षणिक प्रणाली आएको छ। सन् २००० मा अमेरिकी कंग्रेसद्वारा गठित नेसनल रिडिङ प्यानलले गरेको एक लाखभन्दा बढी अनुसन्धानको समीक्षाका आधारमा तय गरिएको पाँच तत्त्वमा आधारित पढाइ आज संसारभर साना कक्षाको पढाइमा प्रचलित छ। हाम्रोमा हाल १६ जिल्लामा परीक्षणका रूपमा अपनाइएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पनि यसैमा आधारित छ। प्यानलले निर्दिष्ट गरेका पढाइका पाँच तत्त्वमा ध्वनि सचेतीकरण, वर्ण चिनारी, शब्दभण्डार, पठन प्रवाह र बोध छन्। यसमा लेखाइसमेत थपेर प्रयोगमा ल्याइएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम देश्वयापी हुनसकेमा नेपाली सुध्रन सक्छ। 

विद्यालयमा बालसाहित्य : कक्षामा पढाइ हुने हाम्रा अधिकांश पाठ्यपुस्तक बालबालिकाका लागि रुचिकर छैनन्। रुचि नभए पनि पाठ्यक्रममा आधारित हुनाले बालबालिकाले त्यो पढ्नैपर्ने बाध्यता छ। त्यसैले पाठ्यपुस्तकका अतिरिक्त मनोरञ्जनमूलक बालसाहित्यका पुस्तक पढ्ने अवसर दिनसकेमा बालबालिकामा पढाइप्रति अभिरुचि जगाउन सकिन्छ। सानामा पढाइमा जागेको अभिरुचिले उनीहरू स्वतन्त्र पाठक त बन्छन् नै, दीर्घकालसम्म रहने पठन संस्कारले तिनको लेखाइ पनि समृद्ध बन्छ। यसका लागि कक्षामा किताब कुना, विद्यालयमा पुस्तकालय, गाउँ–टोलमा बाल पुस्तकालय स्थापना गर्नु जरुरी छ।

मातृभाषामा प्राथमिक शिक्षा र भाषिक एकता : नेपाल धेरै भाषाभाषीको देश हो। विभिन्न समुदायका भाषाभाषीले आफूहरूलाई नेपाली खस भाषाले जबर्जस्ती डोमिनेट गरेको गुनासो गर्दै आइरहेका छन्। अर्कातिर नेपाली भाषाका हर्ताकर्ता ठान्नेहरूमा मातृभाषामा शिक्षा दिँदा मातृभाषाबाट उनीहरू सिधै अंग्रेजीमा प्रवेश गर्ने र नेपाली भाषा बिस्तारै उपयोगहीन हुँदै जाने दाबी गर्छन्। वास्तवमा यी दुवै चिन्तन पूर्ण सत्य होइनन्। खासमा साना बालबालिकाको शिक्षा मातृभाषामा दिनु नै सबैभन्दा बढी प्रभावकारी हुन्छ। प्राथमिक कक्षा मातृभाषामा पढेका बालबालिकाले माथिल्ला कक्षामा नेपाली झन् चाँडो सिक्न सक्छन्। नेपालीप्रति तिनको श्रद्धा र सम्मान बढ्नेछ।  

वर्णविन्यासमा एकरूपता : नेपालीका कथित बुज्रुकहरूले युनिकोड सजिलो बनाउने, समयअनुसार परिवर्तन या एकरूपताका नाममा केही वर्षयता विद्यार्थी, पाठक तथा भाषा प्रयोगकर्तालाई अलमलमा पारेका छन्। नयाँ र पुरानो वर्णविन्यासको मारमा सबैभन्दा बढी प्रताडित विद्यार्थीले हुनुपर्‍यो। सयौँ वर्षदेखि चल्तीको वर्णविन्यासलाई मन्त्रीको तोकादेश गराई बिगार्ने काम भयोजसलाई त्रिवि र प्रज्ञा प्रतिष्ठानले सच्याउँदै सनातन चलनचल्तीकै वर्णविन्यास अपनाउने निर्णय गरिसकेका छन्। यद्यपि छापिएका धेरै पुस्तक बाँकी रहेको भन्दै यस वर्ष सच्याउन नसकिने पाठ्यक्रम विकास केन्द्रको भनाइ छ। विगतका त्रुटि सच्याउँदै अब विद्यार्थीलाई वर्णविन्यासमा अलमलमा पार्नु हुन्न।

प्रकाशित : श्रावण १६, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?