१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उत्तर–आधुनिक बन्दै तीज

महिना दिनअघिदेखि नै सहर तीजको उत्कर्षमा छ। बजार गर्माएको छ। सारी तथा गहनाका पसलहरूमा भीड लागेको छ। पार्टी–प्यालेसहरू भरिभराउ छन्।

उत्तर–आधुनिक बन्दै तीज

फुर्सदिला र आर्थिक हैसियत केही राम्रो भएका महिलालाई तीजको दर र नाचगान कार्यक्रमले भ्याइनभ्याइ छ। टेलिभिजनका नेपाली च्यानलहरू तीजका गीत र नृत्यले झपक्कै ढाकेका छन्। सामाजिक सञ्जालका भित्ताहरू राताम्मे सारी/लेहेङ्गा र किसिम किसिमका गहनाले सुसज्जित नारीका तस्बिवरहरूले भरिएका छन्। तस्बिरका दिदीबहिनीका भाव उन्मुक्त लाग्छन्। पछिल्ला केही वर्षदेखि तीजको सेरोफेरोमा पार्टी–प्यालेसहरूमा मर्कने कम्मर र बजारमा आउने ‘भिजुअल’ गीतका भावभङ्गिमा हेर्दा विशेषगरी हिन्दु नारीको सांस्कृतिक पर्व मानिने तीज उत्तर–आधुनिक बन्दै गइरहेको प्रतित हुन्छ। 
आधुनिक तीज विगतको जस्तो माइतीको आँगनमा मात्र सीमित रहेन र त पार्टी प्यालेसहरू दर कार्यक्रमका लागि अपरिहार्य बन्दै गए। आमाले पकाउने दरले मात्र तीजले सन्तोष मानेन, विविध पक्वान्नसाथ वाइन, ह्वीस्की आदिले पनि दरमा प्रवेश पाए। यसरी बदलिँदो तीज र यसका विविध आयामले समाजशास्त्रीय बहसको ध्यान खिच्न थालिसकेको छ। समाजशास्त्रीहरू तीजका भाकामा रम्दै र नृत्यमा झुम्दै गरेका उत्तर–आधुनिक नारीका दिनचर्यालाई समाजशास्त्रीय सिद्धान्तसँग जोडेर हेर्नुपर्नेमा सहमत छन्। 

हाम्रा परम्परा र संस्कृतिका जराहरू कतै न कतै धर्मसँग जोडिएका हुन्छन् नै। तीजको सन्दर्भमा पनि त्यस्तै व्याख्या छँदैछ। तर, अहिले तीजको सन्दर्भमा गरिएका व्याख्यामा ‘पतिको दीर्घायुका लागि वा राम्रो वर पाउन व्रत बस्ने’ जस्ता भनाइ कि त ठट्यौली बनेका छन् कि बहस गर्ने माध्यम। बदलिँदो समय र समाजसँगै हाम्रा मान्यता र संस्कृति पनि बदलिन्छन् नै। पहिले–पहिले आम नेपालीको पारिवारिक अर्थतन्त्रको प्रमुख आधार कृषि र पशुपालन नै थियो। खेतीपातीको काममा कुनै निश्चित मौसममा अलि व्यस्त हुनु परे पनि पशुपालनले भने वर्षैभरि फुर्सद मिल्दैनथ्यो र यस्ता काममा बुहारीहरूको भूमिका बढी नै हुने गथ्र्यो। त्यस्तै यातायातको विकास नभइसकेको अवस्थामा चेलीहरू यसो माइती आएर फर्कने भन्ने पनि सम्भव हुन्थेन। यसका लागि केही दिनको फुर्सद निकाल्नैपथ्र्यो। यस्तो समयमा वर्षमा मुस्किलैले एकाध पटक माइतीसँग हुने भेटघाट आफैंमा सुखद हुन्थ्यो भने जीवनसँगका गुनासा सुनाउने अवसर पनि। त्यसैले त त्यतिखेरका तीजका गीतमा गुनासा अनि माइतीसँगको भेटका खुसियाली समेटिएका हुन्थे। 

समय फेरिएको छ। शिक्षाको अवस्था, वैदेशिक रोजगार आदिका कारण विस्तारै निर्बाहमुखी कृषि अर्थतन्त्रमा परिवर्तन आएको छ। बुहारीहरूले गर्नुपर्ने श्रमको चरित्रमा परिवर्तन आउन थालेको छ। पुरुष वैदेशिक रोजगारमा जाने र महिला बालबच्चाको शिक्षाका लागि सहरी क्षेत्रमा बस्ने क्रम बढेको छ। महिलाहरू शिक्षामा उपलब्धिसँगै जागिरमा संलग्न हुन थालेका छन्। आर्थिक स्रोतमा महिलाको पहुँच र नियन्त्रण बढ्दै गएको र आजका महिला पहिलेजस्तै सम्पूर्ण कुरामा पुरुषआश्रित हुनुपर्ने अवस्थाको कमी हुँदै गएको छ। अर्कोतर्फ यातायातको विकास तथा सूचना प्रविधिको विकासले पनि माइती–चेलीलाई धेरै नजिक ल्याएको छ। त्यसैले त जीवनका खुसी तथा गुनासा सुनाउन तीज नै कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। परम्परा र संस्कृतिको रूपमा मनाइने तीज मूलत: खुसी बाँड्ने पर्वको रूपमा विकास भएको छ। 

हिन्दु महिलाको चाड भनिने तीजमा आजभोलि गैरहिन्दु महिलाको उपस्थिति तथा सहभागिता पनि उल्लेख्य देखिन्छ। पहिचानको मुद्दाले देशको राजनीति तातेका बेला केही समय पहिले केही वर्ग, समुदाय र सम्प्रदायका परिवारमा मात्र सीमित चाडपर्वहरू अहिले विस्तारै साझा बन्दै गएका छन्। पछिल्ला वर्षहरूमा ल्होसार, छठजस्ता पर्वमा सबैको सहभागिता बढेजस्तै तीजमा पनि गैरहिन्दुहरूको सहभागिता बढ्नु स्वाभाविकै हो। यस्ता अभ्यासले बहुजाति, बहुभाषी र बहुधार्मिक नेपाली समाजमा एक–अर्काप्रतिको सम्मान र बढ्दो मैत्रीभाव पनि प्रतिबिम्बित गर्छ। यसले नेपाली संस्कृतिको आधार धार्मिक कम र सामाजिक बढी भएको देखाउँछ। त्यसो त बढ्दो अन्तरजातीय विवाह तथा बसाइँसराइको कारण बनेको मिश्रित समाजले पनि एक–अर्का जाति तथा समुदायका चाडपर्व साझा पर्वका रूपमा स्थापित हुँदै गएका छन्। 

तीजको सन्दर्भमा बहस गर्दैगर्दा केही तारे होटल र पार्टी–प्यालेसमा कम्मर मर्काउँदै गरेका महिलाले नेपालको आधा धर्ती ओगट्ने सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्छन् त (?) भन्ने प्रश्न महत्त्वपूर्ण रूपमा अगाडि आउँछ। धेरैजसो कामकाजी महिला यस्ता कार्यक्रममा रम्न त परै जाओस् यस्ता कार्यक्रमको एक झलक टेलिभिजनमा हेर्न खोज्दाखोज्दै झुपुक्कै निदाइसक्छन्। माथि चर्चा गरिएझैं नेपाली परिवारको अर्थतन्त्रको आधार परिवर्तन भए पनि कामकाजी महिलाको श्रमको सारमा खासै भिन्नता आएको छैन, भलै रूपमा परिवर्तन देखिएको किन नहोस्। ग्रामीण महिलाको मात्र होइन अधिकांश सहरी कामकाजी महिला पनि अफिसको कामसँगै घरयासी कामलाई एकल दायित्वको रूपमा निर्वाह गर्न अभिशप्त छन्। त्यसैले एकाध पार्टी–प्यालेसका तीजका कार्यक्रम हेरेर आम गरिखाने वर्गका महिलालाई पनि सामान्यीकरण गर्नु तथ्यपरक विश्लेषण हुन सक्दैन। 

खुलाबजार अर्थतन्त्रको प्रभाव भने सहरदेखि गाउँसम्म फैलिरहेको छ। विकासको उत्कर्षमा रहेको पुँजीवादले तीज सुरु हुनुभन्दा झन्डै २ महिनाअघिदेखि नै तीजलाई लक्षित गरेर नयाँ–नयाँ ‘डिजाइन’ का गरगहना र लुगा बजारमा भित्र्याए। आकर्षक सजावटमा आएको बजारी सौन्दर्यले महिलालाई स्वाभाविक रूपमा नै तानेको हुन्छ भने साथीसँगी र आफन्तले चित्ताकर्षक लुगा तथा गहना सहितका तस्बिरहरू ‘फेसबुकका वालमा अपलोड’ गरेको देख्दा आफूलाई नियन्त्रणमा राख्न कठिन हुन्छ। कतिपय पत्रपत्रिकामा तीजलाई गहनाको पर्व भनिन्छ भनेर पनि लेखिए। हामी संस्कृति भनिरहेका हुन्छौं तर बजार हाम्रो संस्कृतिमा यसरी प्रवेश गरिसकेको हुन्छ कि हामी संस्कृतिको नाममा बजारको ‘प्रमोसनल एजेन्ट’ भइसकेका हुन्छौं, त्यो पनि आफैं खर्च गरीगरी। मेरा केही दिदीबहिनी, भाउजू र साथीहरू बजारमा आएका मनपर्ने जति लुगा किन्छन् र त्यसैअनुरूपका गहनाहरू किन्न थाल्छन्। फुर्सद भएका र आर्थिक हैसियत राम्रा भएका धेरैको अवस्था यस्तै छ। सामान्य कमाइ भएका कति घरपरिवारमा यसले आपसी वैमनस्यता र कलह पनि निम्त्याएको छर यो खुलाबजारको देन हो। धर्म संस्कृतिको आवरणमा हाम्रो परिवारमा बजार प्रवेश गरेको छ। यसले कि त परिवारमा कलह भित्र्याएको छ, कि केही दिनपछि बैंकका ‘लकर’ हरूमा थुप्रिने अनुत्पादक क्षेत्रमा करोडौं लगानी गराएको छ। तीजको समयमा देखिने बजार प्रवृत्तिलाई सरसर्ती हेर्दा अर्थतन्त्र चलायमान बनाउन सहयोगी देखिए तापनि यसले कि त अनुत्पादक क्षेत्रमा खर्च गर्न उक्साएको छ कि आयात बजारलाई बढावा दिन। 

लैंगिक दृष्टिमा तीजलाई महिला स्वतन्त्रताको पर्वका रूपमा पनि हेरिएको पाइन्छ। महिलामाथिका विभेदका कुरा तीजको समयमा मुखरित भएको पहिलेदेखि नै हो। अहिले तीजको समयबाहेक अन्य मञ्चमा पनि यस्ता बहस भएका छन्। तीज हाम्रो संस्कृति हो, नारी आवाजलाई मुखरित गर्ने ठूलो मञ्च पनि हो तर यो विशाल मञ्चमाथि बजारले पूर्णत: कब्जा त जमाइसकेको छैन (?) सोच्नुपर्ने बेला भइसकेको छ। 

प्रकाशित : श्रावण १८, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?