३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यार्थी आन्दोलनको नेतृत्व, नीति र संगठन

क्रान्तिकारीका मुद्दा र मागमाथि देशका बौद्धिक क्षेत्रले मिहिन ढंगले छलफल र बहस गर्थे तर अहिले कसैलाई मतलव नहुने अवस्था छ ।
रञ्जित तामाङ

काठमाडौं — क्रान्तिकारीका मुद्दा र मागमाथि देशका बौद्धिक क्षेत्रले मिहिन ढंगले छलफल र बहस गर्थे तर अहिले कसैलाई मतलव नहुने अवस्था छ ।

विद्यार्थी आन्दोलनको नेतृत्व, नीति र संगठन

अखिल (क्रान्तिकारी) को एकताको २१ औं राष्ट्रिय सम्मेलन भदौ ७ गतेदेखि ११ गतेसम्म काठमाडौंमा हुँदै छ । ११ सय आयोजक कमिटीसहित २ हजार ७६ जना प्रतिनिधिले सम्मेलनको बहसमा भाग लिँदै छन् । यो सम्मेलनमा को र कस्तो प्रकारको नेतृत्व संगठनलाई आवश्यक छ भन्ने विषयमा मात्र बहस हुनेछैन । संगठनभित्र विभिन्न समयमा भएका फुट र विभाजन, एकताका कारण असंख्य पुस्ताहरूको केन्द्रीकरण छ । विधानअनुरूप २–२ वर्षमा नियमित राष्ट्रिय सम्मेलन भएको भए आज नेतृत्व हस्तान्तरण मात्र नभएर पुस्तान्तरण भएको हुन्थ्यो । सम्मेलनमा बदलिँदो समयसँगै आजका विद्यार्थी पुस्तालाई आकर्षण गर्नेखालको नीति, योजना, कार्यक्रम र नेतृत्वको आवश्यकताबारे क्रान्तिकारी विद्यार्थीहरूबीच विहंगम बहस हुँदै छ । कतै सहमति त कतै निर्वाचनको बहस पनि छ । कतै आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित प्रतिनिधित्वको सवाल पनि तीव्र रूपमा उठिरहेको छ । कतै जिल्लाहरूको वर्गीकरण नमिलेको, प्रतिनिधि छनोट, पदाधिकारीको संख्या र केन्द्रीय समितिको संख्या नमिलेको विषय पनि बेजोड रूपमा उठेको छ । सँगै केन्द्रीय सम्मेलनमाथि गम्भीर आशंका गर्दै औंला पनि तेर्सिन थालेका छन् ।

अनेक आशंका र अन्योल चिर्दै सम्मेलन भव्य र सभ्य रूपमा सम्पन्न गर्नु क्रान्तिकारीको दायित्व भएको छ । संगठनलाई यतिबेला पुस्तान्तरणसहित चुस्तदुरुस्त नेतृत्व पनि चाहिएको छ । सहमति वा निर्वाचनले यसको फैसला गर्ने नै छ । त्यसका लागि समावेशी सहभागिताको विषयलाई सम्बोधन गरी अन्य विषयलाई पनि अधिकतम रूपमा मिलाएर संगठनले तयार पारेको कार्यविधिअनुरूप सम्मेलनको वातावरण तयार गर्नुपर्छ । आन्दोलनलाई कस्तो बनाउने भनेर नीति, योजना र कार्यक्रम बनाउने विषयमा बहस, छलफल र चिन्तन गर्नुपर्छ । विद्यार्थी संगठन स्थायी हो तर विद्यार्थी नेता आवधिक हुन् । गुटगत मानसिकताभन्दा माथि उठेर आग्रह—पूर्वाग्रह त्यागेर हार्दिक र मर्यादित बहस जरुरी छ ।

अबको संगठन
हामी बाहिर संगठनसँग पाँच लाख सदस्य छन् भन्छौं तर खासमा ५० हजार पनि छैनन् । कमिटीहरू विधि र पद्धतिअनुसार व्यवस्थित बन्न सकेका छैनन् । नेतृत्व छनोटमा असाध्यै धेरै असन्तुष्टि र गुनासा बढेका छन् । गुटगत मानसिकता, व्यक्ति केन्द्रित कमिटी, खस्कँदो वैचारिक र राजनीतिक चेतना हाम्रो संगठनात्मक जीवनका दुर्बल पक्ष छन् । नियमित प्रकारको भेला–बैठक, योजना, कार्यक्रमसहितको परिचालन पटक्कै छैन । एक प्रकारले संगठन आन्दोलनको मेरुदण्ड भए पनि यो खिइएको वा मक्किसकेको जस्तो भएको छ । संगठन अस्तव्यस्त र बेथितिग्रस्त छ । यसर्थ यो संगठनलाई कसरी पुनर्जीवन दिने, कसरी शैक्षिक संस्थातर्फ फर्किएको संगठन र कार्यकर्तातर्फ उत्तरदायी नेतृत्व बनाउने, आजका ज्वलन्त प्रश्न हुन् । यो संगठन समाज परिवर्तनको संघर्षको अग्रदस्ता हो । यो एक प्रकारले नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना पनि हो । त्यसैले लथालिंग भएको कारखानालाई व्यवस्थित बनाउने बहस गर्नुपर्छ ।

कुनै बेला अखिल (क्रान्तिकारी) ले शैक्षिक मुद्दा उठाउँदा सिंगो देश तरंगित हुन्थ्यो । क्रान्तिकारीका मुद्दा र मागमाथि देशका बौद्धिक क्षेत्रले मिहिन ढंगले छलफल र बहस गर्थे । शिक्षा क्षेत्रमा रूपान्तरणको नयाँ आशा झल्कन्थ्यो । तर, पछिल्लो समय क्रान्तिकारीको मुद्दा र मागमा कसैलाई पनि मतलव नहुने अवस्था देखिन्छ । मुद्दा र एजेन्डा दमदार रहेनन् । माग सम्बोधन हुने अवस्था पनि क्षीण बन्दै गएको छ । यसको मतलव शैक्षिक आन्दोलनको प्रवृत्तिमा ह्रास आएको छ । हामी कहीं न कहीं चुकेका छौं । कहीं न कहीं सम्झौता गरेका छौं । शैक्षिक बहस र आन्दोलनको भुत्ते धारमा यो सम्मेलनले साँध लगाउनुपर्छ । स्कुल–कलेज र विश्वविद्यालयका पदाधिकारीसँग डिनर र लन्च खाएर शैक्षिक रूपान्तरणको नारा घन्काउने तरिका बदल्ने हिम्मत गर्नुपर्छ । शैक्षिक दलाल र माफियाको चंगुलबाट विच्छेद नगराउने हो भने शिक्षा क्षेत्रमा उज्याला दिन आउनेछैनन् ।

सार्वजनिक शिक्षा क्षेत्रमा सुधारका मुख्य मुद्दालाई नजरअन्दाज गरेर निजी शिक्षण संस्थाका शुल्क वृद्धिविरुद्धको आन्दोलन मात्र अखिल क्रान्तिकारीको शैक्षिक कार्यक्रम बन्नु हुँदैन । सार्वजनिक शिक्षाको सुधारलाई जोड दिँदै शिक्षामा मौलाइरहको व्यापारीकरण र माफियाकरणलाई नियन्त्रण गर्ने गरी दुवै मुद्दालाई सँगसँगै लैजानुपर्छ । हिजो अखिल क्रान्तिकारीले नि:शुल्क र सर्वसुलभ शिक्षाका लागि गरेको कुर्बानीकै कारण शिक्षा मौलिक हकका रूपमा स्थापित भएको छ । हामीले नयाँ शिक्षा ऐनमार्फत भएको शिक्षाको वर्गीकरण र व्यवस्थापनको अभियान चलाउन सकेका छैनौं भने कसरी अभिभावक र तमाम विद्यार्थीको विश्वास आर्जन गर्न सक्छौं ? यसर्थ हामीले शिक्षा क्षेत्रको बहस नयाँ सिराबाट सञ्चालन गर्नु छ र यो संगठनलाई शैक्षिक आन्दोलनको साँच्चिकै नेता संगठन बनाउनु छ ।

पारदर्शिता
संगठनमा पारदर्शिता संवेदनशील विषय हो । संगठनको आयस्रोत व्यवस्थित र पारदर्शी बन्न नसक्दा आन्दोलनमा जवाफदेहिता रहँदैन । एक प्रकारले संगठन आर्थिक अराजकतामा फस्ने सम्भावना रहन्छ । त्यसलाई नियन्त्रण र निगरानी गर्न फलामे अनुशासन कायम गर्ने चुनौती छ । कसैले कसैका बारेमा जिम्मा पनि नलिने, आफूमातहत कमिटी पनि नियन्त्रणमा नहुने, हरेक कमिटीको हिसाब नखोज्ने र नदेखाउने तरिका बदलेर पारदर्शी बन्ने बनाउने चुनौती यो सम्मेलनले पूरा गर्न सक्नुपर्छ । संगठनलाई पारदर्शी बनाउन स्थायी पद सिर्जना गर्न पनि जरुरी छ, जस्तो कि शक्तिशाली अनुशासन आयोग, लेखा समिति आदि ।

सहमति कि निर्वाचन ?
११ सयको कमिटीलाई १ सय ९९ मा र ९९ सदस्यीय पदाधिकारीलाई २५ सदस्यीयमा झार्न चुनौतीपूर्ण छ । सहमतीय पद्धतिबाट सबैलाई चित्त बुझाउने, खुसी पार्ने काममै तल्लीन भयौं । तर यो कसैले ठीक भनेनन् । संगठनलाई चुस्तदुरुस्त बनाएपछि कामकाजी पनि बनाउनुपर्छ । सम्मेलनका प्रतिनिधिबाटै निर्वाचित हुने विधि स्वीकार गर्न सक्नुपर्छ । विद्यार्थी संगठनबाट बिदा भएकाहरू अर्को जिम्मेवारीमा जान तयार हुनुपर्छ । सहमतिबाटै जाने हो भने दुई सय वरपरको पदाधिकारी र दुई हजार हाराहारी केन्द्रीय समिति बन्न सक्ने खतरा छ । यसको मतलव फेरि पनि तदर्थवादी संगठनको निरन्तरता हो । तदर्थवादी संगठन बनाउनु भनेको सारमा विघटन र विसर्जन नै हो । नेतृत्व हस्तान्तरणको परम्परागत भद्दा तरिका अपनाउनु भनेको संगठनलाई भुत्ते बनाउनु हो । त्यसैले प्यानल नबनाई प्रतिस्पर्धा गर्ने अभ्यास आवश्यक छ । निर्वाचनले मात्रै संगठनलाई नयाँ गति प्रदान गर्न सक्छ । बरु अन्य विद्यार्थी संगठनहरूको जस्तो साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर निर्वाचन जित्ने भद्दा तरिका अपनाउनु हुँदैन । हार र जित स्वाभाविक रूपमा लिने संस्कार विकास हुनुपर्छ ।

भावनात्मक एकता
हामी विभिन्न कालखण्डमा विभाजन भयौं र पुन: फरक समय र सन्दर्भसहित एकीकृत भयौं । यसको मूल कारण कहिले विचारको भिन्नता त कहिले विचारमा समानता र बुझाइको एकरूपता हो । अत: अहिले कुनै फरक विचार समूह छैन तर संगठन र भावनामा अझै कहींकतै एकरूपता नभएको प्रतीत हुन्छ । त्यसैले यो सम्मेलनबाट फरक संगठन र फरक भावनालाई पनि एकरूपता दिनुपर्छ । निर्वाचन विधिमा पनि सबै प्रकारका मनोविज्ञानलाई संगठनभित्र स्थान दिने, सबैको भावनाको सम्मान गर्ने संकारको विकास गर्नुपर्छ । तब मात्र संगठन सबै मनोविज्ञानको साझा बन्छ र राष्ट्रिय सम्मेलन पनि सार्थक सिद्ध हुन सक्छ ।
तामाङ अखिल (क्रान्तिकारी) का उपाध्यक्ष हुन् ।

प्रकाशित : श्रावण २२, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?