२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विपद् व्यवस्थापनमा सबै जुटौं

सम्पादकीय

अविरल वर्षाका कारण बाढीपहिरो गएर र डुबान भएर मुलुकका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेको छ । बिहीबारदेखि जारी वर्षाले विपद् निम्त्याउँदा तराईका झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, बाँके, बर्दिया, दाङलगायतका जिल्लामा हजारौं घर डुबेका/बगेका छन् ।

 विपद् व्यवस्थापनमा सबै जुटौं

तराईमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने केही व्यक्ति बेपत्ता छन् । पाँचथर, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्लामा पहिरोले भौतिकसँगै मानवीय क्षति पनि गरेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षा अझै केही दिन जारी रहने अनुमान गरेकाले थप विपद्को जोखिम पनि कायमै छ । यस्तो अवस्थामा विपद्मा परेकाहरूका लागि खोज, उद्धार र राहत वितरण कार्यमा सक्रिय रहँदै सम्भावित जोखिमबाट जोगिन/जोगाउन सबै जुट्नुपर्ने भएको छ । 

तराई क्षेत्रमा नदी तथा खहरे खोलामा आएको बाढी गाउँ पसेर कटान र डुबान गर्दा क्षति भएको हो । बाढीपहिरो र डुबानले धेरै जिल्लामा जनजीवन अस्तव्यस्त बनाएको छ । विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हवाई सेवासमेत प्रभावित भएको छ । बाढी र डुबानका कारण ठाउँ–ठाउँमा सञ्चार सेवामा बाधा पुगेको छ । मुलुकका धेरै ठाउँमा पानी परिरहेकाले तराईका धेरै भूभागमा डुबानको खतरा अझै छ । झापा, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर, कैलाली र बर्दियाका धेरैजसो नदी जलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ । नदी जलाधार क्षेत्रमा पानीको सतह अझै बढ्ने अनुमान गरिएकाले जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिनुपर्छ । 

बाढी पूर्वानुमान शाखाले बिहीबार दिउँसै नेपालभर मनसुन थप सक्रिय रहेको सूचना जारी गर्दै पूर्वको कन्काई, कोसी, कमला, मध्यको वाग्मती, पूर्वराप्तीलगायत नदी जलाधारका तटीय तथा डुबान भइरहने क्षेत्रमा बहावले खतराको तह पार गर्ने जनाएको थियो । शाखाले ती क्षेत्रका सर्वसाधारण, सरोकारवाला निकायलगायतलाई सजग रहन र पूर्वतयारी गर्न तथा प्रतिकार्यका लागि तयार रहन अपिल गरेको थियो । बाढी पूर्वानुमानको सूचना प्रचारले व्यापकता नपाउँदा र सर्तकता नअपनाउँदा धेरै ठाउँमा क्षति पुगेको छ । पूर्वानुमान शाखाले सामाजिक सञ्जाल विशेष गरी ट्वीटरमार्फत पूर्वानुमानलगायतका सूचना अद्यावधिक गराइरहेको छ, जोखिममा रहेका सर्वसाधारणलाई एसएमएसमार्फत जानकारी गराइरहेको छ, जुन कार्य प्रशंसनीय छ । पूर्वसूचना प्रवाह प्रभावकारी बन्दा कम्तीमा मानवीय क्षति कम हुन सक्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । निर्देशनबमोजिम सम्बन्धित निकाय परिचालित हुन जरुरी छ । खोज, उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको समन्वयकारी परिचालन प्रभावकारी हुन्छ । यो विपद्मा सुरक्षा निकायहरू परिचालित पनि छन् । विपद्का बेलाको प्राथमिकता जनधनको सुरक्षा रहेकाले राज्यले आवश्यक स्रोतसाधन यथासमयमै परिचालन गर्न सक्नुपर्छ । राज्यका अन्य निकाय, विभिन्न संघसंस्था एवं व्यक्तिको स्वयंसेवी भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । बाढी–डुबानमा परेका बेला महामारी फैलने जोखिमसमेत उच्च रहने हुनाले त्यसका लागि पनि सचेतना प्रवाह र पूर्वतयारी गर्न जरुरी छ । 

बाढीपहिरो प्राकृतिक प्रकोप भए पनि जोखिम मानवीय क्रियाकलापले नै बढाउने हो । नदी–खोला आसपासमा ढुंगा–बालुवा उत्खनन, वन फँडानी, डोजर प्रयोगजस्ता कार्य नियन्त्रण र नियमन गरेर जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । तराईमा पक्की तटबन्ध निर्माण र निकासको व्यवस्था मिलाएर डुबान र बाढीको जोखिम घटाउन सकिन्छ । त्यसैले सरकारले बाढीपहिरो जोखिमलाई दीर्घकालीन रूपमै न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रम बनाउन जरुरी छ । यसलाई स्थानीय सरकारले पनि प्राथमिकता दिनुपर्छ । 

प्रकाशित : श्रावण २९, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?