१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘प्रो–एक्टिभ’ कूटनीति आवश्यक

नेपाल राजनीतिक महत्त्व र रणनीतिक क्षेत्रमा पर्छ । हामी भूगोलको जेलमा झैं छौं । तर निकै सानो र थोरै अर्थतन्त्र भएको मुलुकको रूपमा हामी खुम्चिनु हुँदैन । त्यो सोचबाट मुक्त हुन जरुरी छ ।

‘प्रो–एक्टिभ’ कूटनीति आवश्यक

सानो भन्ने भावना गलत हो । ‘छिमेकी मात्र प्राथमिकता’ भन्ने सोचबाट मुक्त हुनुपर्छ । हाम्रा कार्यकारीले पहिला भारत–चीन मात्र भ्रमण गर्ने, अन्यत्र भ्रमण कम हुनुले यसलाई संकेत गर्छ । विश्वमा भू–परिवेष्टित र अल्पविकसित दुवै अवस्थाका मुलुक निकै कम छन् । ती मध्येमा हामी एक हौं । भू–परिवेष्टित भएकै मध्ये पनि हामी दुई सामरिक शक्ति मुलुक बीच छौं । एउटा छिमेकी विश्व शक्तिको खेलाडी र अर्को उदाउँदो शक्तिको रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । यसर्थ दुवै छिमेकीको आँखामात्र हामीकहाँ पर्दैन । ती दुई छिमेकीलाई हेर्ने अहिलेका र पुराना शक्तिराष्ट्रहरूको आँखा हाम्रोमा परिरहेको छ । त्यो स्वाभाविक हो ।

जसरी उदाउँदो शक्तिले पुराना शक्ति र नयाँ शक्ति मुुलुकलाई हेर्न/घेर्न नजिकका ससाना मुुलुकमा उपस्थिति बढाउने गर्छन्, त्यसको ठिक उल्टो उदाउँदा शक्तिलाई हेर्ने सोच पनि उस्तै छ । जुन अस्वाभाविक होइन । त्यही दुई विन्दुमा रहेर हामीले अध्ययन र विश्लेषण गर्न जरुरी छ । हामी जस्तो भौगोलिक जेलमा रहेको मुलुकले त्यस्तो अध्ययनमा जुट्नु टड्कारो छ । आर्थिक प्रतिस्पर्धासँगै विश्वशक्तिको होडमा रहेका ती मुलुकहरूबीच रहेका हामीले कूटनीतिक दायरा फराकिलो पार्दै आफ्नो हैसियतलाई माथि लैजान सकिन्छ । कुनै पनि मुलुकमा आर्थिक परिवर्तन तत्काल हुँदैन । प्रक्रियागत रूपमै हुन्छन् । मंगोलिया, रुवान्डा, पाराग्वे लगायत केही मुलुकसँग दाँज्दा हामी कमजोर छैनौं । स्वीट्जरल्यान्ड पनि भू–परिवेष्टित मुलुक हो । एक सय पचास वर्षअघि यसको हालत पनि यस्तै थियो । उनीहरूको त्यो इतिहासबाट सिक्न सकिन्छ । हो, उनीहरूको तुलनामा हाम्रो चुनौती निकै जटिल छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार, मानव विकासमा नेपालले धेरै काम गरेको छ । गाउँ–गाउँमा विद्यालय, स्वास्थ्य पहुँच र सचेतना पुगेको छ । यही सूचकांकले हामी अति कम विकसितबाट माथि उठ्दैछौं । यसले मुुलुकमा लगानी भित्र्याउन र विकासको मोडल परिवर्तन गर्न निकै ठूलो काम गर्नेछ । त्यसपछि हाम्रो मुलुक विकासशीलमा परिणत हुन्छ ।  

सकारात्मक परिवर्तन
हामी जस्तो आर्थिक हैसियत भएको मुलुकलाई अन्तर्राष्ट्रिय समुदायले सधंै उस्तै चासोमा राख्दैनन् । नेपालको भू–राजनीतिको कारणले हामी चासोमा भने छौं । कहिलेकाहीं हाम्रोमा उनीहरूको ध्यान ह्वात्तै बढ्छ । विश्वका राजनीतिक खेलाडीले हामीलाई ‘न पूर्ण राम्रो नै मान्छन्, नत नराम्रो’ । नेपालमा जुन प्रकारको परिवर्तन भएको छ, यसले विश्वको ध्यान तानेको छ । नेपालको समस्या समाधानबारे उनीहरूको कौतुहलता बढेको देखिन्छ । नेपालले १० वर्षे लामो द्वन्द्व आफैले समाधान गरेर विश्वलाई अचम्मित पारेको छ । प्राप्त गरेको त्यो सफलतालाई हामीले ‘सेल’ गर्नसकेका छैनौं । सरकार छिटोछिटो परिवर्तन भइरहनाले कूटनीतिक, वैदेशिक सहायता परिचालन गर्ने जस्ता संयन्त्र बलियो हुनसकेको छैन । अहिलेको हाम्रो राजनीतिक संरचना हेर्दा अझै हाम्रो परराष्ट्र नीति यही शैलीमा अघि बढ्ने देखिन्छ । 

कमजोर दीर्घकालीन सोच 
परराष्ट्र मन्त्रालयमा रहेकाहरूले भू–राजनीति र रणनीति बुझ्दा–बुझ्दै पनि ‘लङ टर्म थिङकिङ’मा कमजोर हुँदै गएको छ । दिगो सोचाइ राख्ने क्षमता कमजोर छ । मन्त्रीहरू छिटोछिटो परिवर्तन भइरहेको छ । मन्त्री परिवर्तन भए पनि सत्तामा रहने दलहरू भने उही/उही छन् । हामीले ‘भिजन’, ‘पोलिसी’ र ‘मोनिटरी’ र ‘अप्सन’ खुला गर्न आवश्यक छ । अर्को समस्या भनेको सबै सम्बन्धका सबै ‘पिलर’ नहेर्नु पनि हो । भारत र चीनसँग मात्र ‘बग डाउन’ हुनुभएन । सबै मुलुकसँग चासो र सम्बन्ध राख्नुपर्छ । भारत र चीनसँगै शक्ति मुलुकको चासो, रेमिटेन्स भित्र्याउने मुलुकहरूसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय संघ–संगठनको भूमिका खोजी गर्न सक्नुपर्छ । तेस्रो मुलुकसँगको व्यापार र लगानीमा जोड दिनुपर्नेमा हामी छिमेकमा मात्रै अलमलिएका छौं । समय–समयमा काम कति भएको छ, त्यसको मूल्यांकनसहित कमजोरी सल्टाउँदै बढ्न सक्नुपर्छ । विज्ञहरूले पनि आस र त्रासमा वा कतै ढल्केर होइन कि यथार्थ अध्ययन गरी सुुझाउन सक्नुपर्छ ।

हामी बढी ‘रियाक्टिभ’ भएका छौं । नेपाल जस्तो मुलुकले ‘प्रो–एक्टिभ’ कूटनीतिमा सक्रिय हुनु आवश्यक छ । परराष्ट्र मन्त्रालय अन्तर्गत कुनै थिंकट्यांक स्थापना गर्ने र लामो कोर्सको घोडाझैं बढ्न आवश्यक छ । नेपाल जस्तो मुलुकले कूटनीतिक रूपमा अब्बल क्षमता देखाउने नै हो । त्यसका लागि दैनिक पत्राचारले मात्र पर्याप्त हुँदैन । त्यस निम्ति प्रभावकारी ‘थिंकट्यांक’ चाहिन्छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । बहुपक्षीय सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्नुपर्छ । 

हामी कहाँ छौं ?
भारत र चीनबीच सिमाना विवाद छँदैछ । त्योसँगै उनीहरूबीच प्रतिस्पर्धा पनि उत्तिकै छ । उनीहरूबीच सीमामा द्वन्द्व देखिएको छ । यो कुनै नौलो कुरा होइन । अहिल्यै उनीहरूबीच युद्ध हुने अवस्था पनि छैन । यी दुई छिमेकी धेरै मिल्दा र धेरै द्वन्द्व गर्दा दुवै हाम्रालागि हितकर हुँदैन । दुवै शक्ति मुलुक रहेका कारण द्वन्द्व हुनु स्वाभाविक हो । तिब्बत पश्चिमाको ‘सफ्ट बेली’ हो । उदाउँदो शक्तिको चियो सबैले गर्छ । उदाउँदाले जसरी शक्ति मुलुकको चियो गर्छन्, छेउछाउमा लगानी गर्छन्, त्यो पारा सबैको हुन्छ । यस्तो अवस्थामा शक्ति संघर्ष अर्थात् ‘पावर टसल’ पनि हुन्छ । ‘पावर ब्यालेन्स’ सधैं हुँदैन, ‘विन–विन’ भन्ने विषय खेर गइरहेको हुन्छ । 

नेपालमा पश्चिमा चासो पहिले देखिकै हो । हामीले नचाहिँदो ढंगले कसैको बीचमा नपरी उनीहरूबाट आफूलाई फाइदा हुने कुरा लिनेमात्र हो । मुलुकलाई फाइदा नहुने अवस्थामा ‘नो’ भन्न सक्ने क्षमता हामीमा हुनुपर्छ । अझ कूटनीतिक ‘डिल’ गर्ने निकायमा त्यस्तो रणनीति हुनुपर्छ । आफूलाई फाइदा नहुने हो भने त्यस्तो सहयोग के काम ? 

संविधानमा उल्लेख गरे अनुरुपको परिपक्वता राजनीतिक दलहरूको परराष्ट्र नीतिमा देखिँंदैन । जनदबाबका कारण अलिअलि एकरूपता आउन सुरु हुन्छ । अनि फेरि त्यो त्यसै हराएर जान्छ । कुनै पनि मुलुकको परराष्ट्र नीति दल वा व्यक्तिको हुँदैन, हुनु पनि हँुदैन । दलहरू बीच परराष्ट्र नीति हेर्ने संयन्त्र बलियो बनाउने र छलफल गर्ने संयन्त्र बनाउनुपर्छ । दलहरू बीच परराष्ट्र मामिलामा ‘इस्टिच्युसनल मेकानिजम’ चाहिन्छ । परराष्ट्र मामिलामा प्रतिपक्ष हुँदैन । चित्त नबुझ्दा भित्र छलफल गर्ने, तर बाहिर हल्ला गर्नु हुँदैन । कूटनीतिमा त्यो परिपक्वता आवश्यक हुन्छ । हाम्रो सन्दर्भमा अन्तर्राष्ट्रिय सम्बन्धका ठूलठूला विषयमा गहन छलफल भएकै छैन । भ्रमण, सीमाको समस्या समाधान नियमित विषय हुन् । यी बाहेक दीर्घकालीन हितका अन्य विषयमा गम्भीरतापूर्वक सोच्ने, छलफल गर्ने र मुलुकले एउटै आवाज निकाल्नु नै परिपक्व परराष्ट्र नीति हो । 

संयुक्त राष्ट्रसंघका निवर्तमान उपमहासचिव आचार्यसँग चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित । 

प्रकाशित : भाद्र २, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?